Monday, November 3, 2014

बेड नम्बर १२६

भरसक जानै नपरोस् भन्न मन लाग्नेमा पहिलो नम्बर म अस्पताललाई दिन्छु । तर, आफूले चाहेर के हुन्छ ? जानै पर्छ । हिजो र आज म विराटनगरको कोशीअञ्चल अस्पताल पुगें । धरानका एकजना दाजैका ७२ वर्षीया दिदी भर्ती हुनुहुन्छ । दाजैले हिजो विहानै फोन गरेकाले सहयोगका लागि जानु पर्‍यो । गईयो ।
सर्जिकल फीमेल वार्ड, बेड नम्बर १२६ । उहाँलाई पत्थरीका कारण साह्रै दुखेकाले भर्ना गरिएको रहेछ । मुत्रनली र पित्तमा पत्थरी । १६ एमएम भनिएको रहेछ । डाक्टर र नर्सले हिजो 'अपरेसनको पालो पाउन ढिला हुन्छ, केही दिन भर्ना राखेर घर लैजानु । पछि माघतिर अपरेसन गर्नुपर्छ' भनेका रहेछन् । अस्पताल भर्ना भएपछि दुखाइ केही कम भएको रहेछ ।
बेलुकी ८ बजे फोन आयो । बिरामीकी छोरीले भन्नुभो 'भाइ, भोली बिहानै अपरेसन गर्नुपर्छ भने । के गर्नु ?' रोग भनेको काँडा हो, जति छिटो मिल्काउन सक्यो उति जाती । दिदीलाई मैले भने 'पालो दिन्छन र भोली नै हुन्छ भने अोके गर्नुस् ।' त्यही सल्लाह भयो । 
आज अपरेसन भयो । दुइ ठाउँमा भनिए पनि पत्थरी मुत्रनलीमा मात्रै भेटियो रे । अपरेसन थिएटरबाट प्लाष्टिकको सानो प्याकेटमा पाइएको सुपारीको कुड्कोजस्तो त्यो दुखाउने कुरो दिदीले ल्याएर देखाउनु भो । बिरामी बाहिर ल्याइयो । बेडमा राखियो । अपरेसन थिएटरको भीड बुढासुब्बामा बलि दिन भाले च्यापेर उभिएकाको लामभन्दा धेरै फरक थिएन । 
त्यो भीडमा असम्बद्ध मान्छेले ढोकाभित्र पस्न नि भएन । अल्ट्रा साउण्डको रिपोर्टमा दुइ ठाउँ पत्थरी भनिएको छ । हामीले सर्जिकलको नर्स बस्ने कोठामा गएर सोध्यौ । नर्सले बताइन-'दुइ भने पनि एक ठाउँमा मात्रै भेटिएछ ।' उनीसँग सवालजवाफ गर्ने कुरा पनि भएन । त्यो रातो बत्ती बलेको कोठामा पस्न नि पाइएन ।
यो बेला के लाग्यो भने अस्पतालमा विवाद र झगडा हुने मसिना कारण यी पनि हुन् । बिरामीको उपचार सजिलै भो, निको हुने लक्षण आयो भने ठीकै छ । कोही अझ सिकिस्त र कसैले मृत्युवरण गर्दा डाक्टर कुटिएको, तोडफोड र हुलहुज्जत भएका समाचार सुन्नमा आउँछन् । त्यस्ताको कारण यस्तै खालका अन्यौल त हुन् नि । 
बिरामीका आफन्तलाई 'तपाइको मान्छेलाई यस्तो भएको हो, यसरी उपचार गरियो' भन्न किन अस्पतालले कन्जुस्याँइ गरेको होला ?
अघिल्ला केहीपटक भन्दा यी बेड नम्बर १२६ की आमै भाग्यमानी । कारण- 'छिटै उपचार सम्भव भयो । अपरेसन भयो ।' तर, परिवारका सदस्यका दुविधा नर्सको भनाइले समाधान गरेन । मलाइ पनि स्वास्थ्योपचारबारे त्यस्तो ज्ञान छैन । तैपनि मैले दिदीलाई भने -'डाक्टर आउँदा सोध्नुहोला । नभए पछि एकपल्ट राम्ररी अल्ट्रासाउण्ड गर्नुपर्छ । पत्ता लाग्छ ।'
दिदी केही दिन अघिमात्रै काठमाडौंबाट फिरेकी हुन् । उनको भाइको १० वर्षे छोरा (भदा) लाई शरिरमा रगत नबन्ने रोग देखा परेको थियो । ६ महिना कान्ती बाल अस्पतालमा उपचार गराएर फिरेकी हुन् । केटो अझै तङ्ग्रिएको छैन ।
मैले बेड नम्बर १२६ को बिरामीलाई ख्याल गर्न लाइदिन एकजना मित्र (अस्पतालका प्रशासन कर्मचारी) लाइ भनेर बाहिरिएँ । 

No comments: