Monday, September 5, 2016

अपांगमैत्री पर्यटनका चिन्तक

सत्र वर्षको उमेरमा क्यान्सरको सिकार भएका पढाकु युवकले उपचारमा हिम्मत हारेनन् । उपचारको एउटा जोखिम थियो, कि मृत्यु कि शरिरका कुनै अंग बेकामे हुनसक्ने । पहिलो जोखिम टर्‍यो, दोस्रोले उनलाई ह्वीलचियरमा बसायो । 
अमेरिकामा अपांगता भएकाहरूको अधिकारका लागि लड्ने अभियन्तामा अग्रणी उनै डा. स्कट रेन्स् एउटा पृथक कार्यक्रम लिएर चितवनको जगतपुरस्थित टाइगरल्याण्ड रिसोर्टमा प्रवचन दिइरहेका भेटिए । ६० वर्षका यी गोरालाई अमेरिकाको न्यु मोबिलिटी म्यागजिनले सन् २००९ मा 'वर्षव्यक्ति' को उपाधि दिएको थियो । संसारभर अहिले अपांगता भएकाहरूको पर्यटकीय यात्रामा चाहिने पुर्वाधारका लागि वकालत गर्दै हिडेका उनले भने 'मलाई बुद्धको देश आउन मन थियो । आउन पाइयो । यहाँ पनि अपांगतामैत्री प्रयास थालनी भएको रहेछ ।'
कम्मर मुनिका भाग नचल्नेका लागि कतैको पनि यात्रा सहज छैन । अझ ह्वीलचियरबाट बोकेर गाडीमा हाल्दा होस् वा शौच गर्न बस्दा दुवै अवस्था कष्टकर छन् । 'संसारभरका पर्यटक संख्याको १० प्रतिशत कुनै न कुनै प्रकारका अपांगता भएकाहरूको संख्या छ', उनी भन्छन् 'दिमाग ठिक रहेर शरिरका अरु अंगमा समस्या छन् भने मनले अरुजस्तै रहर गर्छन् । हाँस्न मन लाग्छ, हिँडडुल गर्न मन लाग्छ । घुम्न मन लाग्छ ।' यसरी मन गर्नेलाई परिवारका सदस्यले कुनै ठाउँमा चाहिने पुर्वाधार नभएकै कारणबाट पछाडि राखिदिने भएकाले कम्तीमा एउटा स्थान सुरक्षित हुन जरुरी रहेको उनले बताए । 
एक साताका लागि नेपाल आएका उनलाई राजधानीको स्वालम्वन जीवन पद्धति केन्द्रका जोशबहादुर केसीले सघाएका छन् । 'डाक्टरले सकभर आफूले सक्ने काम आफै गर्छन्, नसक्नेमा मात्रै सघाउनु पर्छ', उनले भने, 'अपांगता भएका क्षेत्रका अलि जानकार सबैले उनलाई चिन्दा रहेछन् ।'
अमेरिकाको क्यालिफोर्नियाका यी बासिन्दा लामो समयदेखि अपांगता अधिकारका सवालमा लागि परेका छन् । 'अपांगता भएकाहरूको अधिकारका लागि सपांगको सकारात्मक सोच चाहिन्छ', डा. रेन्स् भन्छन् 'यो एकैपल्टमा परिवर्तन आइहाल्ने कुरा होइन । सरकारी कार्यालय, सेवा दिने निजी क्षेत्र होस् वा सवारी साधन, सबैमा अपांगका लागि के व्यवस्था छ भनेर जसले सोच्छ उसले परिवर्तनमा सघाउँछ ।' हीनताबोध हुने वातावरणले अपांगता भएकाहरूको प्रतिभा र क्षमता तिखार्न नसक्ने भनाइ उनको छ ।
अपांगता मैत्री पर्यटनका लागि संसारभर नाम चलेका उनलाई नेपाल ल्याउने चाँजो फोरसिजन ट्राभल्सले मिलाएको हो । यसका निर्देशक पंकज प्रधानांगले भने 'मैले डा. रेन्स्का बारेमा अनलाइनहरूमा पढेको थिएँ । इ-मेल लेख्दा उनी बुद्धको देश आउन सजिलै तयार भए ।' अघिल्लो वर्षदृष्टिविहीन क्यानडेली जोडीलाई नेपाल टुरको प्रबन्ध गर्दामात्रै पर्यटक अपांग आउँदा सेवा दिने व्यवस्था बारे चासो भएको उनले बताए । 'उनीहरूलाई घुमाएर पठाइयो । अनि त्यसपछि यस्ता पर्यटक आउँदा हाम्रो सेवाको गुणस्तर छ/छैन भनेर चासो भयो', उनले भने, 'त्यही चासोले डा. रेन्स्लाई नेपाल ल्याएर हाम्रा पर्यटन व्यवसायीसँग अन्तक्रिर्या गराउने सन्दर्भ अहिलेको हो ।' उनका अनुसार राजधानीका आधा दर्जन ठूला होटलमा मात्रै अपांगमैत्री पुर्वाधार छ । उनले भने 'आवश्यक छ भनिएन भने बसमा पनि अपांगका लागि सीट राख्ने चलन बस्दैन । यो बुझाउने प्रक्रिया हो ।'  
क्षेत्रीय होटल संघका महासचिव सुमन घिमिरेका अनुसार अलि महंगो लगानीमा खोलिएका होटलले अपांगमैत्री पुर्वाधार राख्ने गरेको बताए । उनले भने 'अब होटलहरूले सबै खालका पर्यटकमा विभेद नहुने पाराको पुर्वाधार बनाउनु आफ्नै स्तर बढाउनु जस्तो हो ।' 

(५/१८/२०१४ मा कान्तिपुरमा प्रकाशित यो समाचार संग्रहका लागि ब्लगमा राखिएको हो)

आज ती दिनको सम्झना 
धेरै कुरा अकारण हुन्नन् । मेरो यी डा. रेन्ससँग कहिलेकाही फेसबुकको च्याटमा कुरा हुन्थ्यो । हिजोआज हुँदैन । यो समाचार लेख्दाको एउटा रमाइलो अनुभव छ ।
त्योबेला म विराटनगरमा पत्रकारिता गर्थेँ ।  जैविक विविधतामाथि काम गर्ने बिद्यार्थीहरूको संस्था स्मल म्यामल फाउण्डेसनले सौराहामा एउटा तालिम आयोजना गरेको थियो । मलाइ त्यसमा २ घण्टाका लागि फोटोग्राफीको कक्षा लिन बोलाइएको थियो । म पुगेँ । चराचुरुंगी, वनवातावरणबारे लेख्न रुचाउने मेरा लागि त्यो यात्रा रमाइलो थियो ।
डब्लुडब्लुएफको सहयोगमा हुन लागेको ५ दिने तालिमका प्रक्रिया चाहिँ झण्झटिला थिए । मलाइ प्रशिक्षक भएर आउन संयोजक सागर दाहाल भाइले निम्तो दिएका थिए । आफ्ना प्रमाणपत्रदेखि नागरिकताको प्रतिलिपि आदि धेरै कागजी प्रक्रिया पुर्‍याउनु परेको थियो । त्यो चाहिँ झण्झटै लागेको हो । तर, राम्रै अवसर थियो । २ घण्टाको कक्षाका लागि २ दिन सौराहाको बसाइँ । पारिश्रमिक पनि ठीकठीकै ।
विज्ञानमा यी विषय पढ्ने स्नातक र स्नातकोत्तर तहका भाइबैनीलाई फोटो कसरी राम्रो खिच्ने भनेर सिकाउँदा नयाँ पुस्तासँग चिनजान हुने र सौराहा पनि घुम्न पाइने दोहोरो फाइदा । चराचुरुंगीकै मात्र फोटो खिच्न रुचाउने मेरा सुनसरीका मित्र यात्रा थुलुङ काठमाडौंमा थिए । उनी बुटवल आउने र हामी दुवै सौराहाको कार्यक्रम सकेर कपिलवस्तु पुग्ने, त्यहाँ सारस खिच्ने अर्को प्लान पनि बनाइयो ।
फेसबुकमा एकजना मेरा मित्र थिए सुमन घिमिरे । घिमिरे भएकाले साथी भएका होइनन्, उनी कवि । संजोग त्यस्तै परो । उनका कवि मित्र निष्प्रभ सजी (कास्की, हेम्जाका । हाल - अष्ट्रेलिया) मार्फत साथी भइयो । हुन त म पनि थोरथोरै साहित्यिक चिजबिज लेख्न मन पराउँछु । सौराहा यात्रामा सुमनजीसँग भेट हुने पक्का थियो । आयोजकले मलाइ गैंडा लजमा बसाए । त्यो टीका गिरी दाइको होटेल रहेछ । हामी पहिले एकपटक कोसी टप्पुमा भेट भएका थियौं । चराबारे लेख्ने बनेर उनले मलाइ चिनेका थिए । अतः गिरी दाइ र सुमनजीसँगको भेट सुखद रह्यो ।
तालिमका क्रममा मेरो कक्षाको पालो सकिएपछि म एक दिन सुमनजीको होटलमा बसेँ । खाली बसेको दिन । सुमनजीले 'जगतपुरको एउटा रिसोर्टमा कार्यक्रम छ जाउँ' भन्नुभो । घुम्न आको मान्छे ! म किन नजानु । गइयो । त्यो कार्यक्रम डा. रेन्सको रहेछ । उनलाई सुनियो । घत पर्‍यो । मैले औपचारिक कार्यक्रम सकिएपछि उनीसँग कुरा गर्न समय मागेँ । करीब आधा घण्टा कुराकानी भयो । अपांग भइकन यात्राको उनको रहर बडो रमाइलो थियो ।  शरीरका अंग सबैका समान होलान् तर, घुमघाम र प्रकृति, वातावरण हेर्ने रहर सबैको उस्तै हुन्छ । पर्यटनकर्मीले सबैका लागि सेवा दिन सक्नेगरि पुर्वाधार बनाउनुपर्छ भन्ने उनको तर्क थियो । उनी आफैं एउटा सहयोगीका साथ थिए । जसले उनको ह्वीलचियर गुडाइदिने, उठ-बस गराइदिने गर्थे ।
सुमनजी र म भरतपुर आयौं । कान्तिपुरको भरतपुर कार्यालयमा बसेर समाचार लेखियो । संयोजक मित्र दीपेन्द्र बडुवालले समाचार पठाइदिनु भयो । म त्यो रात बसेर भोलिपल्ट बिहान बुटवलतर्फ लागेँ । त्यहाँ थुलुङजी आउने कुरा थियो । म सारस खिच्न कपिलवस्तु जान चाहन्थेँ ।
समाचार भित्री पेजमा श्यामश्वेत छापिएछ । बुटवल नपुग्दै केन्द्रीय कार्यालयका एकजना वरिष्ठ साथीको फोन आयो । उनले मलाइ मज्जाले हकारे । उनको भनाइ थियो - 'समाचार विज्ञापनजन्य भयो, ट्राभल्सले लेखाउन लगाएको जस्तो । यस्ता सामान्य औपचारिक समाचार मैले आफ्नो डेटलाइन बाहिर पुगेर लेख्न पाउँदिन । फर्मल रूपमा चितवनकै कसैलाई लेख्न लाउनुपर्थ्यो । कारवाही हुन्छ ।' एक हिसाबले साँच्चै मैले गल्ती नै गरेको थिएँ । गल्ती यो मानेमा की चितवन मेरो डेटलाइन होइन । तर, ट्राभल्सको विज्ञापनजन्य भन्ने तर्कमा म सहमत थिइँन । थोरै वादविवाद जस्तो कुरा भयो । मलाइ उनले 'तुरुन्त विराटनगर फर्कनुस्' भने । म रेन्ससँग प्रभावित भएर ठूलो गल्ती पो गरेछु की जस्तो लागिरह्यो । बसबाट बुटवल उत्रेर मैले थुलुङजीलाई फोन गरेँ ।  भनेँ 'अफिसले विदा नदिने भएकाले म तुरून्त फिर्नु पर्ने भयो, कपिलवस्तु फेरि कुनैबेला जाउँला, यात्रा क्यान्सिल गरौं ।'
अफिसबाट मलाइ जसले फोन गरेका थिए, उनले धेरैपल्ट मलाइ नौलो पाराका लेखाइमा हौस्याएका पनि थिए । लेख्न जाँगर, हौसला बढाइदिने सिनियरसँग इख पाल्ने कुरा केही थिएन । मलाइ लाग्यो, उनलाई कसैले जे भने उनले पनि मलाइ त्यही भने । खबर पढेर त्यसको आशय केलाएनन् । धेरैपल्ट यस्तै हुन्छ ।
दिउँसो बुटवल उत्रिएको म त्यही साँझको गाडी चढेर विराटनगर फर्किएँ । दैनिकी सामान्य भयो । फेरि थर्काउने फोन दोहोरिएन । ती जसले मलाइ हकारेर फोन गरेका थिए, उनैसँग धेरैपटक फेरि अफिसियल कुराकानी हुन्थ्यो, त्यो प्रसंग खै किन हो मलाइ पुनः सुनाएनन् । मैले पनि प्रसंग कोट्याइँन ।
डा. रेन्ससँग फेसबुकमा साथी बनियो । उनका पोस्टमा कमेन्ट पनि लेखियो । कहिलेकाही कुराकानी हुँदैथियो । फेरि लामो समय बित्यो न उनले बोलाए, न मैले ।
आज इमेलका सेन्ट आइटमहरू हेर्दै जाँदा उनको बारेको समाचार पठाएको फेला परो । युनिकोडमा रुपान्तर गरेर ब्लगमा जतन गरेँ । अनि एकपटक गुगलमा उनको नामबाट के भेटिन्छ भनेर खोजेँ । उनी बैशाख १८ अर्थात ३० अप्रील २०१६ मा बितिसकेछन् । उनको वीकीपेडियाको पेजमा उल्लेख रैछ । गुगलले फेसबुकमा डिजेबिलीटी राइट प्रमोसन इन्टरनेसनल सम्बद्ध सागर प्रसाइँको लिंक देखायो । प्रसाइँ डा. रेन्सबाट धेरै प्रभावित रहेछन् । उनले लेखेका रहेछन् 'उनी बाटै सिकेर आजकल म पनि खुब घुम्ने भा'को छु। म पनि पोखरा गए, उनले चढे जस्तै ढुङ्गा चढे र उनको सिको गर्दै "अल्ट्रा फ्लाईट" (सानो प्लेन) मा उडेँ। अर्को पल्ट चितवन जान्छु, सबै कुरा मिले- हात्ति पनि चढ्छु।'

No comments: