Wednesday, January 28, 2015

वन्यजीव मार्नबाट रोकौं


तीन दिनअघि मोरङको टकुवा घुम्न गएका मित्र विक्रम निरौलाले न्याउरी मारेर लाँदै गरेका एक युवकको फोटो खिच्नु भएछ । अलिकति बस्ती छिचोलेर गाउँ पुग्दा देखिने सुलभ दृष्य- यतिखेर उनीहरू धान खेतका मुसा खोजिरहेका भेटिन्छन् । मुसै लगेको भनेर रोक्दा उसले बोकेको न्याउरी रहेछ भन्ने निरौलाजीले भेट्नु भएछ । फोटो हेर्दा नरमाइलो लाग्यो । 
आजभन्दा ३०/३२ वर्षअघिका कुरा सम्झना हुन्छ । मेरो स्कुले बेला । म शायद ४/५ कक्षामा पढ्थेँ होला । जाडोका महिना आदिवासी सतारको धनुकाँड बोकेको टोली सिकार गर्न उखु खेततिर गएको, सिकार गरि फिरेको देख्थेँ । उनीहरूका साथ अघिपछि कुकुरहरू पनि ४/५ वटा हुन्थे । बडो अनौठो लाग्ने । वन बिरालो, स्याल, मृग, न्याउरी आदि मारेर दुई/दुईजनाले बाँसको भारमा झुण्ड्याइ फिर्दै गरेको देखिन्थ्यो । अलि बुझेका बुढापाका भन्थे 'सतारको यो सिकार संस्कार हो । यिनीहरूका कुकुरले पनि सिकार लखेटेर मार्न सघाउँछन् । धेरैपछि जब हातमा क्यामेरा आयो, मैले यस्तो दृष्य भेटेको छैन । हेरिन्छ भने टेलिभिजन च्यानलले देखाउने अफ्रिकी र त्यस्तै मुलुकका आदिवासीको रिपोर्टमा मात्रै । 
सतार तराइको अल्पसंख्यक जाति हो । मैले केही घुमघाममा यिनीहरूका बस्ती घुमेर हेरेको छु । मोरङका केही गाउँमा यी प्रकृतिपुजकका धेरै परिवार अहिले इसाइ भएका छन् । र, जति भएका छैनन् तिनको पनि पुरानो चलन फेरिएको छ । अब त्यो सिकारका लश्कर मेरा लागि फोटोमा समेट्न पाउनु दुर्लभ छ । उनीहरूको बस्तीलाई पनि वैदेशिक रोजगारीको लहरले छोएको छ । सक्नेहरू खाडी पुगेका छन्, नसक्नेहरू धान र गहुँको सीजनमा पञ्जाब, हरियाणा । 
केहीअघि आफ्ना पुराना परम्परामा आधारीत उपचार पद्धतिलाई निरन्तरता दिँदै काम गरिरहेका रंगेलीनजिकका मुर्मु परिवारका बारेमा एउटा रिपोर्ट बनाएको थिएँ - मुर्मु थेरापी । यसको तयारीका क्रममा म धेरैपल्ट लखिराम मुर्मुकहाँ पुगेको थिएँ । उनले भनेका थिए 'हामी सतारका अब थोरै परिवारमात्रै पुरानो संस्कार समातेर बसेका छौ । धेरै परिवर्तन आइसक्यो ।' शायद उनले भनेकैजस्तो भएर मैले सिकारका लावालश्कर देक्न पाउनु दुर्लभ भएको होला । तर, अब पहिलेजस्तो जंगल र चिस्यान क्षेत्र पनि त छैनन् ।

समाजशास्त्रको प्रसारवादकै सिद्धान्त केलाए पनि थाहा हुन्छ- संस्कार सर्छ । एक ठाउँ, जाति र संस्कारका धेरै गुण-अवगुण जानी नजानी फैलिन्छ । धेरै जातजाति बसेको थलोमा एकअर्काको संस्कार सर्दासर्दै मौलिकतामा फरक स्वरूप त हुँदै गएको सबैमा भेटिन्छ । केही सिकोले सरेका छन्, केही सिकेर आएर नयाँ पुस्ताको रहर, हठ र मज्जा मान्ने बानीले सारेका छन् । सिनेमा, टेलिभिजन र साहित्यले पनि सिकाएको छ । अब 'हाम्रो जातमा यै यै गर्न पर्छ' भनेर कसैले अडान राखे उ अनुदार सोचको । पुरातनवादी आदि कहलिन्छ । अन्तर्जातीय विवाहले पनि कुनै खास जातिका खास संस्कारमा पुरानो चलनलाई फेर्दै लगेको छ । 
यी यस्ता कुरा परे, जसका बारेमा हामी नमिल्ने चलन फेरिनु पर्छ पनि बराबर भनिरहेर फेरिँदै आएका अवस्थाभित्र पनि पर्छन् । गत महिना दर्वेसाको एउटा बाख्रा फार्मका सञ्चालकलाई मैले सोधेको थिएँ-'एउटै जिनका पाठापाठी नहुन् भनेर तपाइ कतिको ख्याल गर्नुहुन्छ ?' उनले बिउका लागि जमुनापारी जातको एउटा ठूलो बोको पालेका रहेछन् । ४० माउ बाख्रा । 'हाड-नाता त पार्न हुँदै हुँदैन', उनले भनेका थिए 'हेर्नुस्, यो कुरो एकदमै ध्यान दिनैपर्छ । एउटै जिनका परे भने पाठापाठी फस्टाउँदैनन् । रोगी हुन्छन् । म यहाँ जन्मेका पाठालाई राख्दिन ।' जनावरमा क्रस ब्रिडिङ धेरै महत्व राख्छ । मान्छेमा ध्यान नदिने कुरै भएन । त्यसैले पनि हुन सक्छ अन्तर्जातीय संस्कार फस्टाएको छ । नयाँ पुस्ताको स्वस्थ वृद्धिका लागि यो अचुक बाटो भएपनि फरक संस्कारमा हुर्केकाहरू मिसिँदा खास जातिका केही खास चलन हराएका छन् । यो धेरै चिन्ताको विषय पनि रहेन । जे होस् सतारको सिकार चलन अब फेरि मैले खिच्न पाउने अवस्था निकै कम छ । 
तर, मुसा मारेका भने देख्न सकिन्छ । भारतबाट धेरैपटक फिरन्तेका लश्कर नेपाल पसेको देख्छु । आफ्नो पुरै बन्दोबस्तीका सामान लिएर सपरिवार हिडेका उनीहरू कतै बसेभने बढिमा एक महिना बस्छन् । प्लाष्टिक र तम्बु गाडेर बसेका उनीहरूको जमातलाई टाढैबाट चिनिन्छ । हाम्रातिरका राउटेजस्ता । राउटे जंगल आसपास बस्छन्, ती फिरन्ते भने गाउँ-शहरका छेउछाउका खुला ठाउँमा ।  चरा र सजिलो भेटिने जनावर मारेर खान्छन् । उनीहरू पातला बाँस जोडेर लामो बनाउँदै रूखका गुँड झार्छन् । सिकार गर्छन् । उनीहरू फेरिएनन् । 
जुन हिसाबले जंगल मासिएको छ । बस्ती बढेको छ । गति यही रहिरहे वनका पशुपंछी सकिन बेर लाग्दैन । म हरेक गर्मीयाम सुरूहुँदा सामाजिक सञ्जालमा एउटा संदेश राख्न, शेयर गर्न मन पराउँछु । त्यो के हो भने हाम्रा वरपर पाइने चराका लागि कतै भाँडामा पानी राखिदिउँ । यसको कारण के हो भने हाम्रा बस्ती आसपासका चिस्यान क्षेत्र मासिए ।  रूख, झाडी मासिए/मासिदैछन् । एउटा भाँडामा पानी राखिदिएमात्रै पनि पंछीको हित हुन्छ । कुनै ठूलो अभियान हाँक्ने रहर होइन यो । सकिन्छ भने गरौ भन्ने आग्रह । धेरैले गरेका पनि भेटेको छु । थोरै चारो, एउटा सानो भाँडोमा पानी राखिदिए मात्रै पनि फोटो खिच्न चाहनेले चराका गतिविधि खिच्न टाढा जान पर्दैन ।
अब फर्कन्छु निरौलाजीको फोटोतिर । न्याउरी मार्न दिन हुँदैन । यो जन्तुले कतै कतै घरपालुवा कुखुरा खाइदिन्छ, समस्या हो । तर, यो बाहेक अरू बिगार गर्दैन । यो विचरण गरिरहने क्षेत्रमा सर्प बस्न रूचाउँदैन । सर्पबाट डराउनेका लागि न्याउरीले गुन लगाउँछ । अब पुरानो जमाना जसरी सिकार गर्नलाई समय रहेन । तर, यदाकदा यसरी मार्न छाडेका छैनन् । सकिन्छ, देखिन्छ भने सबैले रोकौ । यस्ता जन्तुको सिकार गर्नेलाई क्षणिक लाभ भएको जस्तो लाग्ला तर, यसले पर्यावणीय चक्रमा असर पार्छ ।  अहिले यति नै । 
(तस्वीर सौजन्य: विक्रम निरौला र गोविन्द पोखरेल)

No comments: