Friday, January 31, 2014

Youth for blood (युथ फर ब्लड) को कति राम्रो अभियान !

- 'ब्लड ग्रुप बी पोजिटिभ हो नि ?'
- 'हो'
- 'तुरुन्तै कञ्चनबारीको नोबेल अस्पताल आउनुपर्‍यो ।'
फोनमा सुरज सुवेदी थिए । मलाई थाहा थियो, उनी युथ फर ब्लडका सदस्य हुन् । अस्पताल पुगेपछि उनले अझ हतार गराए । रक्तदानका लागि तयार भएपछि मात्रै थाहा भयो, मैले ताप्लेजुङको दोखु ८ का १७ वर्षीय सन्देश पालुङ्वाका लागि रगत दिन लागेको रहेछु । उनका लागि तत्काल दुई पिन्ट 'बी' पोजेटिभ ताजा रगत चाहिएको रहेछ ।
सुरजले रक्तदान गर्दाको मेरो तस्बिर खिचिदिए । अर्को पिन्ट रगतका लागि उनले जिल्ला विसका कर्मचारी पीताम्बर वस्तीलाई बोलाएका थिए । उनलाई रक्तचाप उच्च भएको देखियो । रगत दिन मिलेन । बन्दना वस्तीले रक्तदान गरिन् । तर पछिमात्रै थाहा भयो, उनको रक्त समूह 'ए' पोजेटिभ रहेछ । सुरजले फोनमा अर्का रक्तदातालाई आइदिन आग्रह गरे ।  
त्यसपछि सन्देशलाई भेट्न पाइयो । उनलाई रक्तअल्पता भएको थियो । उनले भने, 'तीन महिनाअघि स्कुलबाट घर आएपछि बेहोस भएछु । त्यसपछि फुङलिङको अस्पताल गइयो । रोग थाहा भएको थिएन । चल्दै थियो । म रगत नभएजस्तो सेतो हुँदै आएँ । अनि यहाँ आइपुगें ।' सन्देशकी आमा सुषमा लिम्बूका अनुसार ताजा रगत व्यवस्था हुन नसकेपछि घर जान आमा-छोरा फकर्ंदै  थिए । बिहानै सोझै गाडी चढ्न भनेर इटहरीस्थित अतिथि होटलमा बास बसे । होटल सञ्चालक अर्जुन बस्नेतले फेसबुक पेजमार्फत 'युथ फर ब्लड' बारे थाहा पाएका रहेछन् । उनले फोन गरे । 'रक्तदाता हामी खोजिदिन्छौं, फर्काउनुस्' भन्ने जवाफ पाएपछि उनलाई ल्याइयो । सन्देशकी आमाले देउता भेटिएजस्तो गरिन् । मैले भने सुरज भाइ र उनको युथ फर ब्लडलाई धन्यवाद दिएर आफ्नो अफिसतिर लागें ।
यो समूहको फोन आएपछि विराटनगरमा रक्तदानका लागि रक्तसञ्चार केन्द्र र अस्पताल पुग्ने म एक्लो होइन । करिब तीन वर्ष पुग्न लागेको यो स्वयंसेवी समूह अहिले विस्तार भएर काठमाडौं, चितवन, दमक, इटहरी र लहानसम्म पुगेको छ । कसरी सुरु भयो ? समूहका संयोजक सरोज कार्की सुनाउँछन्, 'मेरो साथी जोगेन्द्रको मामालाई रगत चाहिएको थियो । उसका लागि रगतको व्यवस्था गरेलगत्तै यस्तो समूहको सोच आयो । अनि साथीहरूबीच सल्लाहले सुरु भयो ।'
***
झोराहाटका मफतलाल उरावलाई क्षयरोग थियो । उपचारका क्रममा चिकित्सकले 'फ्रेस ब्लड' चाहिने बताए । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्नातकका विद्यार्थी भान्जा जोगेन्द्र उराव रक्त सञ्चार केन्द्रमा पुगे । केन्द्रले स्टोरमा रहेको दिन सकिने भए पनि फ्रेसका लागि रक्तदाता आफै खोजेर ल्याउनुपर्ने जवाफ दियो । जोगेन्द्र तनावमा परे । उनले आफ्नो कक्षाका सहपाठी सरोज कार्कीलाई यो कुरा सेयर गरे ।
पातला ज्यानका सरोजले यसअघि कसैका लागि रक्तदाता खोजिदिने काम गरेका थिएनन् । उनले समस्या सुनाएपछि अर्का साथी दशरथ साह र मुस्कान कटुवाल रक्तदानका लागि राजी भए । दशरथलाई लिएर साइकलमा सरोज रेडक्रसको रक्तदान केन्द्रमा पुगे । त्यहाँ रक्तदानपछि बाहिरिँदै गर्दा उनलाई अप्रत्याशित घटना आइलाग्यो । इलामको गोर्खे गाविस १ का बमप्रसाद लिम्बू ठोक्किए । उनले भने, 'भाइले अभर परेकाका लागि रक्तदाता खोजिदिनु हुँदोरहेछ । लौ मलाई पनि मद्दत
गर्नुस् ।'
बमप्रसादकी पत्नी मीना पाठेघरको अप्रेसनका लागि सप्तकोसी नर्सिङ होममा भर्ना थिइन् । चिकित्सकले रगत व्यवस्था भएमात्रै अप्रेसन थाल्ने बताएपछि खोज्न निस्केका बमप्रसाद निराश थिए । 'उहाँको अनुरोध सुनेपछि सकस भयो । अब म कसलाई खोजिदिऊँ ?,' सरोज भन्छन्,  'मैले अशोक गिरी भन्ने साथीलाई
फोन गरें । उहाँ पनि आएर रक्तदान गर्नुभयो ।'
त्यसपछि रक्तसञ्चार केन्द्रमा आएर आफ्ना पीडा सुनाउनेहरूको लर्को देख्दा समस्या चर्को रहेको भान परेको उनले सुनाए । 'मैले यस्तो सामाजिक कामका लागि युवा साथीहरूले जुटेर केही गर्नुपर्छ भनेर सेयर गरें,' उनले भने, 'पहिलो दिनको पुण्य कर्मलाई फेसबुकको स्टाटसमार्फत सेयर गर्दा धेरै लाइक र कमेन्ट आए ।'
***
काम पुण्यको भए पनि यो कुनै पैसा आउने काम थिएन । तन्नेरी उमेरमा खर्च चाहिन्छ । खर्च घरले भरथेग गरेर पुग्दैन । त्यसमाथि अर्काका लागि यस्तो ब्लड बैंक र अस्पताल धाउने काममा तन्नेरीको चासो कसरी तान्ने भन्ने जुक्ति खियाउनु सजिलो थिएन । सरोजको सल्लाहमा उनी जसरी नै ब्याचलर पढ्दै गरेका सुरज सुवेदी, नताशा शर्मा, दशरथ साह, सर्वज्ञराज पाण्डे र अशोक गिरीले एउटा समूह बनाए ।
आ-आफ्ना साथीमार्फत समूहका लागि काम थपिँदै आयो । रक्तदाताको नाम, उमेर, रक्त समूह र फोन नम्बर भेला पार्दै सूची तयार पार्दै लगेको समूहले नाम जुरायो, 'नेपाली युथ फर ब्लड ।' २०६८ जेठदेखि अभियान थालेका कलेजका तन्नेरीहरूको पहिलो समूहमा ६ जना थिए । पछि विस्तारै सदस्य थपिए । उनीहरूको रक्तदाताको सूचीमा नाम थपिँदै आयो ।
समूहमा जोडिएका धेरै तन्नेरीलाई टि्वटर, फेसबुक र समूहको वेबसाइटले जोड्यो । दुई वर्ष सक्रिय रहेपछि सुबुना बस्नेत र रवीन चापागाईं काठमाडौं गए । उनीहरूले त्यहीँबाट समूह बनाएर काम थाले । गत महिना पढ्न उतै लागेका सुरज सुवेदी पनि उतै सक्रिय भएका छन् । झापाको दमकका सिजन दाहालले अहिले विराटनगर छँदाको सक्रियता समूह बनाएर आफ्नै गृहनगरमा अभ्यास गरिरहेका छन् ।
समूह अहिले चितवन, धरान र लहानमा पनि सक्रिय छ । अहिले समूहको फेसबुक पेजमा २३ हजार सदस्य छन् । समूहमा पहिलेदेखि सक्रिय सदस्य नयाँ समूहमा अतिथि वक्ता भएर जान्छन् ।
कसरी काम गर्न सकिन्छ भन्ने आफ्ना अनुभव सेयर गर्छन् । समूहकी सदस्य नताशा भन्छिन्, 'हामीलाई अहिले दिनदिनै फोन आउँछ । हामीले रक्तदाता खोजेर बिरामीका लागि रगत जुटाइदिन सक्दा फरक खालको आनन्द लाग्छ ।' कहिलेकाहीँ कुनै रक्त समूहका लागि दाता सजिलै भेटिँदैन । त्यसबेला सामाजिक सञ्जाल फेसबुक र टि्वटरको सहारा लिइन्छ । साथीहरूलाई
एसएमएस गरिन्छ ।
***
मिलन चोकको सानो कोठामा साताका एक दिन फुर्सद पारेर भेला हुने जमातले आ-आफ्नो अनुभव साटासाट गर्छन् । वेबसाइट अपडेट गर्छन् । आफ्ना 'पकेट मनी' भेला पारेर समूहको खर्च चलाउँछन् । समूहको काम मानवीय सहयोग भए पनि त्यसले पढाइलाई असर नपार्ने बाटो खोजिएको छ । त्यसैले समूहले पालो मिलाएको छ । स्नातककी विद्यार्थी ज्वाला दाहाल भन्छिन्, 'हामी आलोपालो खटिन्छौं । कोही ब्लड बैंकमा बस्छौं । कोही अफिसमा ।' धेरै काम फोनबाट हुने भएकाले एसएमएस, फोन र इन्टरनेटका सामाजिक सञ्जालको अधिकतम उपयोग गरिन्छ ।
  सामाजिक सञ्जालमा कतिले आफ्ना नामका अघि आफ्नो रक्त समूह लेखेका छन् । धेरैले आफूलाई युथ फर ब्लडको सदस्य भन्न पाउँदा गर्व गरेका छन् । विराटनगरमा फोटो स्टुडियो सञ्चालक गोविन्द सुवेदीको बुझाइमा समूहको योगदान धेरै छ । उनलाई कसैले अस्पतालमा रगत नपाएर बिचल्ली परेको थाहा भएपिच्छे भन्छन्, 'युथ फर ब्लडका भाइबैनीलाई फोन गर्नुस् ।'
समूहले विराटनगरको हेलो एफएममा हरेक शुक्रबार साँझ ८ बजेदेखि एक घन्टा 'युवा साथी' कार्यक्रम चलाउने गरेका तन्नेरीले कसरी समाजमा युवाको सकारात्मक योगदान हुन सक्छ भन्ने विषयमा बहस चलाउने गरेको छ ।  एफएमले कार्यक्रम चलाउन समूहसँग शुल्क लिँदैन । कार्यक्रम उत्पादनका लागि कसैको आर्थिक सहयोग छैन । तैपनि नताशा शर्मा, सरोज, कल्याण घिमिरे, विवेक दाहाल र सुरजलगायतका युवा तन्नेरीका चासोका विषय बहसमा ल्याउन लागिपरेका छन् । समूहका केही सदस्य बाहिरबाट उपमहानगरमा पढ्न आएकाहरू हुन् भने केही यतै घर भएकाहरू छन् ।
रक्तदाता खोजिदिँदा शुल्क लिन मिल्दैन । त्यसैले पनि यो काम भित्री आनन्दका लागि भएको विवेक सुनाउँछन् । विराटनगरको रक्तसञ्चार सेवा केन्द्रका अधिकृत विनोदुकमार मिर्धा भन्छन्, 'कलेज पढ्ने केटाकेटीले चलाएको यो अभियान कति राम्रो भनेर म शब्दमा भन्न सक्दिनँ । उनीहरूले गरेको सामाजिक योगदान अतुलनीय छ ।' 


कान्तिपुर दैनिकको हेलो शुक्रवार परिशिष्टांकमा २०७० माघ १७ मा प्रकाशित 


- See more at: http://www.ekantipur.com/np/2070/10/17/full-story/383451.html#sthash.i9NuOiA9.dpuf

No comments: