Friday, January 31, 2014

Youth for blood (युथ फर ब्लड) को कति राम्रो अभियान !

- 'ब्लड ग्रुप बी पोजिटिभ हो नि ?'
- 'हो'
- 'तुरुन्तै कञ्चनबारीको नोबेल अस्पताल आउनुपर्‍यो।'

फोनमा सुरज सुवेदी थिए। मलाई थाहा थियो, उनी युथ फर ब्लडका सदस्य हुन्। अस्पताल पुगेपछि उनले अझ हतार गराए। रक्तदानका लागि तयार भएपछि मात्रै थाहा भयो, मैले ताप्लेजुङको दोखु-८ का १७ वर्षीय सन्देश पालुङ्वाका लागि रगत दिन लागेको रहेछु। उनका लागि तत्काल दुई पिन्ट 'बी' पोजेटिभ ताजा रगत चाहिएको रहेछ।

सुरजले रक्तदान गर्दाको मेरो तस्बिर खिचिदिए। अर्को पिन्ट रगतका लागि उनले जिल्ला जिविसका कर्मचारी पीताम्बर वस्तीलाई बोलाएका थिए। उनलाई रक्तचाप उच्च भएको देखियो। रगत दिन मिलेन। बन्दना वस्तीले रक्तदान गरिन्। तर पछिमात्रै थाहा भयो, उनको रक्त समूह 'ए' पोजेटिभ रहेछ। सुरजले फोनमा अर्का रक्तदातालाई आइदिन आग्रह गरे।
  
त्यसपछि सन्देशलाई भेट्न पाइयो । उनलाई रक्तअल्पता भएको थियो। उनले भने, 'तीन महिनाअघि स्कुलबाट घर आएपछि बेहोस भएछु। त्यसपछि फुङलिङको अस्पताल गइयो। रोग थाहा भएको थिएन। चल्दै थियो। म रगत नभएजस्तो सेतो हुँदै आएँ। अनि यहाँ आइपुगें।' 
सन्देशकी आमा सुषमा लिम्बूका अनुसार ताजा रगत व्यवस्था हुन नसकेपछि घर जान आमा-छोरा फर्कँदै थिए। बिहानै सोझै गाडी चढ्न भनेर इटहरीस्थित अतिथि होटलमा बास बसे। होटल सञ्चालक अर्जुन बस्नेतले फेसबुक पेजमार्फत 'युथ फर ब्लड' बारे थाहा पाएका रहेछन्। उनले फोन गरे। 'रक्तदाता हामी खोजिदिन्छौं, फर्काउनुस्' भन्ने जवाफ पाएपछि उनलाई ल्याइयो। सन्देशकी आमाले देउता भेटिएजस्तो गरिन्। मैले भने सुरज भाइ र उनको युथ फर ब्लडलाई धन्यवाद दिएर आफ्नो अफिसतिर लागें।

यो समूहको फोन आएपछि विराटनगरमा रक्तदानका लागि रक्तसञ्चार केन्द्र र अस्पताल पुग्ने म एक्लो होइन। करिब तीन वर्ष पुग्न लागेको यो स्वयंसेवी समूह अहिले विस्तार भएर काठमाडौं, चितवन, दमक, इटहरी र लहानसम्म पुगेको छ। 

कसरी सुरु भयो ? समूहका संयोजक सरोज कार्की सुनाउँछन्, 'मेरो साथी जोगेन्द्रको मामालाई रगत चाहिएको थियो। उसका लागि रगतको व्यवस्था गरेलगत्तै यस्तो समूहको सोच आयो। अनि साथीहरूबीच सल्लाहले सुरु भयो।'

***
झोराहाटका मफतलाल उरावलाई क्षयरोग थियो। उपचारका क्रममा चिकित्सकले 'फ्रेस ब्लड' चाहिने बताए। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्नातकका विद्यार्थी भान्जा जोगेन्द्र उराव रक्त सञ्चार केन्द्रमा पुगे। केन्द्रले स्टोरमा रहेको दिन सकिने भए पनि फ्रेसका लागि रक्तदाता आफैं खोजेर ल्याउनुपर्ने जवाफ दियो। जोगेन्द्र तनावमा परे। उनले आफ्नो कक्षाका सहपाठी सरोज कार्कीलाई यो कुरा सेयर गरे।

पातला ज्यानका सरोजले यसअघि कसैका लागि रक्तदाता खोजिदिने काम गरेका थिएनन्। उनले समस्या सुनाएपछि अर्का साथी दशरथ साह र मुस्कान कटुवाल रक्तदानका लागि राजी भए। दशरथलाई लिएर साइकलमा सरोज रेडक्रसको रक्तदान केन्द्रमा पुगे। त्यहाँ रक्तदानपछि बाहिरिँदै गर्दा उनलाई अप्रत्याशित घटना आइलाग्यो। इलामको गोर्खे गाविस-१ का बमप्रसाद लिम्बू ठोक्किए। उनले भने, 'भाइले अभर परेकाका लागि रक्तदाता खोजिदिनु हुँदोरहेछ। लौ मलाई पनि मद्दत गर्नुस्।'

बमप्रसादकी पत्नी मीना पाठेघरको अप्रेसनका लागि सप्तकोसी नर्सिङ होममा भर्ना थिइन्। चिकित्सकले रगत व्यवस्था भएमात्रै अप्रेसन थाल्ने बताएपछि खोज्न निस्केका बमप्रसाद निराश थिए। 'उहाँको अनुरोध सुनेपछि सकस भयो। अब म कसलाई खोजिदिऊँ ?,' सरोज भन्छन्,  'मैले अशोक गिरी भन्ने साथीलाई फोन गरें। उहाँ पनि आएर रक्तदान गर्नुभयो।'

त्यसपछि रक्तसञ्चार केन्द्रमा आएर आफ्ना पीडा सुनाउनेहरूको लर्को देख्दा समस्या चर्को रहेको भान परेको उनले सुनाए। 'मैले यस्तो सामाजिक कामका लागि युवा साथीहरूले जुटेर केही गर्नुपर्छ भनेर सेयर गरें,' उनले भने, 'पहिलो दिनको पुण्य कर्मलाई फेसबुकको स्टाटसमार्फत सेयर गर्दा धेरै लाइक र कमेन्ट आए।'

***
काम पुण्यको भए पनि यो कुनै पैसा आउने काम थिएन। तन्नेरी उमेरमा खर्च चाहिन्छ। खर्च घरले भरथेग गरेर पुग्दैन। त्यसमाथि अर्काका लागि यस्तो ब्लड बैंक र अस्पताल धाउने काममा तन्नेरीको चासो कसरी तान्ने भन्ने जुक्ति खियाउनु सजिलो थिएन। सरोजको सल्लाहमा उनी जसरी नै ब्याचलर पढ्दै गरेका सुरज सुवेदी, नताशा शर्मा, दशरथ साह, सर्वज्ञराज पाण्डे र अशोक गिरीले एउटा समूह बनाए।

आ-आफ्ना साथीमार्फत समूहका लागि काम थपिँदै आयो। रक्तदाताको नाम, उमेर, रक्त समूह र फोन नम्बर भेला पार्दै सूची तयार पार्दै लगेको समूहले नाम जुरायो - 'नेपाली युथ फर ब्लड ।' २०६८ जेठदेखि अभियान थालेका कलेजका तन्नेरीहरूको पहिलो समूहमा ६ जना थिए। पछि विस्तारै सदस्य थपिए। उनीहरूको रक्तदाताको सूचीमा नाम थपिँदै आयो।

समूहमा जोडिएका धेरै तन्नेरीलाई टि्वटर, फेसबुक र समूहको वेबसाइटले जोड्यो। दुई वर्ष सक्रिय रहेपछि सुबुना बस्नेत र रवीन चापागाईं काठमाडौं गए। उनीहरूले त्यहीँबाट समूह बनाएर काम थाले। गत महिना पढ्न उतै लागेका सुरज सुवेदी पनि उतै सक्रिय भएका छन्। झापाको दमकका सिजन दाहालले अहिले विराटनगर छँदाको सक्रियता समूह बनाएर आफ्नै गृहनगरमा अभ्यास गरिरहेका छन्।

समूह अहिले चितवन, धरान र लहानमा पनि सक्रिय छ। अहिले समूहको फेसबुक पेजमा २३ हजार सदस्य छन्। समूहमा पहिलेदेखि सक्रिय सदस्य नयाँ समूहमा अतिथि वक्ता भएर जान्छन्।

कसरी काम गर्न सकिन्छ भन्ने आफ्ना अनुभव सेयर गर्छन्। समूहकी सदस्य नताशा भन्छिन्, 'हामीलाई अहिले दिनदिनै फोन आउँछ। हामीले रक्तदाता खोजेर बिरामीका लागि रगत जुटाइदिन सक्दा फरक खालको आनन्द लाग्छ।' कहिलेकाहीँ कुनै रक्त समूहका लागि दाता सजिलै भेटिँदैन। त्यसबेला सामाजिक सञ्जाल फेसबुक र टि्वटरको सहारा लिइन्छ। साथीहरूलाई एसएमएस गरिन्छ।

***
मिलन चोकको सानो कोठामा साताका एक दिन फुर्सद पारेर भेला हुने जमातले आ-आफ्नो अनुभव साटासाट गर्छन्। वेबसाइट अपडेट गर्छन्। आफ्ना 'पकेट मनी' भेला पारेर समूहको खर्च चलाउँछन्। समूहको काम मानवीय सहयोग भए पनि त्यसले पढाइलाई असर नपार्ने बाटो खोजिएको छ। त्यसैले समूहले पालो मिलाएको छ। स्नातककी विद्यार्थी ज्वाला दाहाल भन्छिन्, 'हामी आलोपालो खटिन्छौं। कोही ब्लड बैंकमा बस्छौं। कोही अफिसमा।' धेरै काम फोनबाट हुने भएकाले एसएमएस, फोन र इन्टरनेटका सामाजिक सञ्जालको अधिकतम उपयोग गरिन्छ।

सामाजिक सञ्जालमा कतिले आफ्ना नामका अघि आफ्नो रक्त समूह लेखेका छन्। धेरैले आफूलाई युथ फर ब्लडको सदस्य भन्न पाउँदा गर्व गरेका छन्। विराटनगरमा फोटो स्टुडियो सञ्चालक गोविन्द सुवेदीको बुझाइमा समूहको योगदान धेरै छ। उनलाई कसैले अस्पतालमा रगत नपाएर बिचल्ली परेको थाहा भएपिच्छे भन्छन्, 'युथ फर ब्लडका भाइबैनीलाई फोन गर्नुस्।'

समूहले विराटनगरको हेलो एफएममा हरेक शुक्रबार साँझ ८ बजेदेखि एक घन्टा 'युवा साथी' कार्यक्रम चलाउने गरेका तन्नेरीले कसरी समाजमा युवाको सकारात्मक योगदान हुन सक्छ भन्ने विषयमा बहस चलाउने गरेको छ।  एफएमले कार्यक्रम चलाउन समूहसँग शुल्क लिँदैन। कार्यक्रम उत्पादनका लागि कसैको आर्थिक सहयोग छैन। तैपनि नताशा शर्मा, सरोज, कल्याण घिमिरे, विवेक दाहाल र सुरजलगायतका युवा तन्नेरीका चासोका विषय बहसमा ल्याउन लागिपरेका छन्। समूहका केही सदस्य बाहिरबाट उपमहानगरमा पढ्न आएकाहरू हुन् भने केही यतै घर भएकाहरू छन्।

रक्तदाता खोजिदिँदा शुल्क लिन मिल्दैन। त्यसैले पनि यो काम भित्री आनन्दका लागि भएको विवेक सुनाउँछन्। विराटनगरको रक्तसञ्चार सेवा केन्द्रका अधिकृत विनोदुकमार मिर्धा भन्छन्, 'कलेज पढ्ने केटाकेटीले चलाएको यो अभियान कति राम्रो भनेर म शब्दमा भन्न सक्दिनँ। उनीहरूले गरेको सामाजिक योगदान अतुलनीय छ।' 

***
२०७०/१०/१७ को कान्तिपुर दैनिकको 'हेलो शुक्रवार'मा प्रकाशित 

No comments: