नेपाल सम्बन्धी समान्यज्ञान



 भौगोलिक अवस्थिति

नेपाल अधिराज्यको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. अर्थात् ५६,८२७ वर्गमील छ । नेपालको सरदर लम्बाइ ८८५ कि.मी. र चौडाइ १९३ कि.मी. छ । नेपाल अक्षांशअनुसार २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र देशान्तरअनुसार ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा पर्दछ । नेपालको क्षेत्रफलले विश्वको ०.०३५ र एशिया महादेशको ०.३५ भाग ओगट्छ ।
धरातलीय आधारमा विभाजन
१) तराई प्रदेश - पहाडी भागदेखि दक्षिणतर्फ भारतको सिमासम्म पूर्व-पश्चिम फैलिएको नेपालको समतल भू-भागलाई तराई प्रदेश भनिन्छ । समुन्द्रसतहबाट ७० देखि ६०० मी. को उचाइसम्म पर्ने यस प्रदेशले नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भू-भाग ओगटेको छ । यसको चौडाइ बढीमा ६० कि.मी. र कम्तीमा ४० कि.मी. छ । यहाँ नेपालको ४६.७ प्रतिशत जनसंख्या बस्छ । पहाडी क्षेत्रको मलिलो माटो वर्षाको पानीको कारणले बग्दै आउने भएकाले यो प्रदेश अत्यन्त उर्वरशील छ । यसलाई नेपालकै अन्नभण्डार मानिन्छ । यो प्रदेशको उत्तरर्फ चुरेको ठकि मुनि ढुंगा कंकडयुक्त ठाउँ भएकाले त्यहाँ खेती हुँदैन र जंगलले ढाकेको छ । जसलाई चारकोशे झाडी भनिन्छ । यस प्रदेशमा नेपालका २२ जिल्ला छन् ।
२) पहाडी प्रदेश - हिमाली प्रदेशभन्दा दक्षिण र तराई प्रदेशको उत्तरमा पहाडी प्रदेश पर्छ । यो प्रदेशले नेपालको सबभन्दा बढी अर्थात् ६८ प्रतिशत भू-भाग ओगटेको छ । यहाँ नेपालको ४५.५ प्रतिशत जनसंख्या बसोबास गर्छन् । यो समुन्द्र सतहबाट ६०० देखि ४००० मीटरसम्मको उचाइमा छ । यसै प्रदेशमा नेपालका ५ वटै विकास क्षेत्रका सदरमुकाम, अग्ला-होचा पहाड, टार, बेसी, उपत्यका तथा भित्रीमधेश पर्छन् ।
३) हिमाली प्रदेश - पहाडी प्रदेशको उत्तरतर्फ ४००० मी. भन्दा बढी उचाइको क्षेत्रमा पूर्व-पश्चिम फैलिएको हिमाली प्रदेश छ । नेपालको कुल भू-भागको १५ प्रतिशत ओगट्ने यस प्रदेशमा ५००० मीटरमा हिमरेखा पर्ने र यहाँ नेपालका विश्व-प्रसिद्ध हिमशिखरहरू पर्ने भएकाले यहाँ मानव बस्ती र खेतीयोग्य जमिन कम छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा समेत यसै प्रदेशमा छ । अत्यन्त चिसो हावापानी, जटिल भू-बनावट र कठोर जनजीवन शैलीका कारण यहाँ नेपालको ७.८ प्रतिशत जनसंख्या मात्र बसोबास गर्छन् । यस प्रदेशको चौंडाइ करिब ३४ कि.मी. देखि ४८ कि.मी. छ ।
नदीका आधारमा विभाजन
१) कोशी प्रदेश - कोशी नेपालको सबैभन्दा ठूलो नदी हो । यसका सातवटा सहायक नदीहरू- तमोर, अरूण, दुधकोशी, लिखु, तामाकोशी, सुनकोशी र इन्द्रावती छन् । यिनै नदीहरूले सिंचित हुने सम्पूर्ण क्षेत्रलाई कोशी प्रदेश भनिन्छ । कोशी नदीलाई बिहारको दुःख पनि भनिन्छ । यस नदीको लम्बाइ ७२० कि.मी. (तिब्बतबाट बगी आएको समेत) छ । नेपालको करिब ४० प्रतिशत भू-भाग यस क्षेत्रमा पर्दछ ।
२) गण्डकी प्रदेश - नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदीका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेती, मादी, दरौंदी, मर्स्याङ्गदी र त्रिशुलीले सिंचित हुने सम्पूर्ण क्षेत्रलाई गण्डकी प्रदेश भनिन्छ । गण्डकी नदी चितवनमा प्रवेश गरेपछि नारायणी भनिन्छ । यसको लम्बाइ ३३८ कि.मी. र जलप्रवाह क्षेत्रफल २६,००० वर्ग कि.मी. भूमि रहेको छ । यसलाई भारतमा "सरयु" नामले चिनिन्छ । यो नदी गोहीका लागि प्रख्यात् छ ।
३) कर्णाली प्रदेश - नेपालको सबैभन्दा लामो कर्णाली नदीका सहायक नदीहरू हुम्ला कर्णाली, मुगु कर्णाली, ठुली भेरी, सानी भेरी, तिला, बुढीगंगा र सेती नदीद्वारा सिंचित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ । कर्णाली नदीको कुल नेपालभित्रको लम्बाइ लगभग ५०७ कि.मी र जलप्रभाहित क्षेत्र ४९,००० वर्ग कि.मी छ ।
जंगल (वनस्पति)
नेपालमा प्राकृतिक वनस्पति (जंगल) मुख्यतया पाँच प्रकारका छन् । जुन यसप्रकार छ -
१. उष्णप्रदेशीय सदाबहार जंगल - १२०० मीटरसम्मको उचाइका क्षेत्रमा ताप र वर्षा अधिक हुने हुनाले ठूला तथा अग्ला रूखहरू र अन्य बुट्यानहरू समेतका सदाबहार जंगल छ । यहाँ पाइने वनस्पतिमा साल, सिसौ, खयर आदि हुन् । यसमा नेपालको तराई, भावर तथा चुरे पहाड पर्छन् । यसै क्षेत्रमा नेपालको चारकोशे झाडीसमेत पर्छ ।
२. समशीतोष्ण पतझड जंगल - समशीतोष्ण पतझड जंगल १२०० मी. देखि २१०० मी. सम्मको उचाइ क्षेत्रमा पर्दछ । यस क्षेत्रमा हिउँदमा ठण्डा र वर्षामा निकै गर्मी हुने भएकाले अधिकांश रूखका पातहरू र्झदछन् । यसप्रकारका वनस्पतीमा सल्ला, देवदारू, चाँप, कटुस, ओखर, गुराँस आदि पर्छन् ।
३. समशीतोष्ण कोणधारी जंगल - २१०० मी. देखि ३३५० मि. सम्मको उचाइमा महाभारत पर्वतको क्षेत्रमा समशीतोष्ण कोणधारी जंगल पाइन्छ । यहाँ रूख र रूखका पातहरू चुच्चो परेका हुन्छन् । यहाँ सल्ला, देवदारू, धूपी, सिमल, चिलाउने आदि जातका रूखहरू पाइन्छन् ।
४. लेकाली वनस्पती - ३३५० मी. देखिमाथि पहाडी तथा हिमाली क्षेत्रमा जलवायु वर्षभरि नै चिसो र शुष्क हुने हुँदा अग्ला रूखहरू हुर्कन पाउँदैनन् । ३६०० मीटरसम्मको उचाइमा केही झाडी जस्ता रूखहरू र त्यसभन्दा माथि घाँस मात्र पाइन्छ ।
५. टुण्ड्राको वनस्पती - ५००० मीटरभन्दा माथि सधैं हिउँले ढाक्ने हुँदा र पानी समेत जमिरहने हुनाले रूख, विरूवाहरू पाइँदैनन् । केवल काई र लेउ पाइन्छ 
प्रामाणिक समय
कुनै पनि ठाउँको समय देशान्तर रेखाको आधारमा निर्धारण गरिन्छ । सोहीबमोजिम गौरीशंकर हिमालयलाई काटेर गएको ८६ डिग्री १५ मिनेटको पूर्वीदेशान्तर रेखाका आधारमा नेपालको प्रामाणिक समय निर्धारित गरिएको छ । यो निर्धारण २०४२ साल वैशाख १ गतेदेखि कायम गरिएको हो । निर्धारित समय ग्रीनवीच समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ ।
 नदीको विभाजन
नेपालका यी कूल नदीलाई ३ भागमा बाँड्न सकिन्छ, ती हुन्-
१. हिमालयमा मूल भएका - हिमालयमा मूल भएका नदीले बार्‍है महिना जलप्रवाह गर्छन् । यिनलाई प्रथम स्तरका नदीहरू पनि मानिन्छ । यसमा कोशी, गण्डकी र कर्णाली पर्छन् ।
२. महाभारतमा मूल भएका - महाभारतमा मूल भएका नदीहरूमा कन्काई, राप्ती, महाकाली, बागमती, कमला, बबई, बाणगङ्गा, मेची, तिनाउ र मोहना पर्छन् । जसलाई द्वितीय स्तरका नदी मानिन्छ ।
३. शिवालिकमा मूल भएका - शिवालिक पर्वतमालाबाट उत्पत्ति भई वर्षातमा निकै ठूलो रूप लिए पनि हिउँदमा पानी कम हुने वा सुक्ने अस्थायी प्रकृतिका नदीहरू जस्तै - चिसाङ, अर्जुनखोला, डुन्डुवा, सुनसरी आदि । यी नदीलाई तृतीय स्तरका नदी भनिन्छ ।
माटोका प्रकार
नेपालमा पाँच प्रकारका माटो पाइन्छन् । ती हुन् -
१. पाँगो माटो - वर्षाको नदीले बगाई ल्याई थुपारेको बालुवा र माटो कुहिएको झारपातसमेत मिलि बनेको माटोलाई पाँगो माटो भनिन्छ । यस प्रकारको माटोमा बालुवा र चिम्टे माटोको मात्रा बराबर हुनुका साथै चुन, फोसफोरस र पोटास आदि खनिज तत्वको मिश्रण हुनाले कृषिका लागि सर्वोत्तम मानिन्छ । यो माटो तराई र बेंसीमा पाइन्छ । यो माटोमा धान, सनपाट, उखु, सूर्तिको उत्पादन राम्रो हुन्छ ।
२. बलौटे पत्थरिलो माटो - बलौटे पत्थरिलो माटो पहाडबाट झरेका नदीले ल्याएका बालुवा, कंकड, पत्थर आदि मिलि बनेको हुन्छ । यस प्रकारको माटोमा पानी नअडिने र उब्जाउ कम हुन्छ । भावर, चुरे र भित्री मधेशमा यस प्रकारको माटो पाइन्छ । यो माटोमा साल, खयर, सिसौजस्ता महत्वपूर्ण रूख- बिरूवा सप्रने हुँदा यस्तो माटो पाइने अधिकांश भाग जंगलले ढाकिएको हुन्छ ।
३. रातो फुस्रो माटो - रातो फुस्रो माटो महाभारतका ठाडा भीरहरूमा ऋतु अपक्षयबाट टुक्रिएका चट्टानमा सडेका झारपात मिलेर बनेको हुन्छ । यस प्रकारको माटोमा चुन, नाइट्रोजनजस्ता तत्व कम हुने र माटोको गहिराई पनि कम हुनाले फलफूल, चिया, आलु, कोदो, मकैका लागि उपयुक्त मानिन्छ । यस प्रकारको माटोमा अम्ल, फलामजस्ता खनिज तत्व पाइन्छ ।
४. तलैया माटो - उपत्यका र फाँटहरूका ताल सुकेर बनेको माटोलाई तलैया माटो भनिन्छ । यस प्रकारको माटोमा झारपात प्रशस्त सडनाले माटो कालो र मलिलो हुन्छ । यस प्रकारको माटो धान, गहुँ, सागपातको खेतीका लागि उपयुक्त मानिन्छ ।
५. हिमाली माटो - हिमाली माटो हिम नदीले थुपारेको माटो, बालुवा, कंकड, पत्थर मिलेर बनेको हुन्छ । यस प्रकारको माटो भएको क्षेत्रमा हावापानी ठन्डा, शुष्क हुने र माटोको गहिराई एवं जैविक पदार्थ कम हुनाले उर्वराशक्ति अत्यन्त न्यून हुन्छ । यस प्रकारको माटोमा मकै, जौ, आलु, फापरजस्ता बालीमात्र लगाइन्छन् ।
चौध अञ्चलमा ७५ जिल्ला
नेपालका १४ अञ्चलमा यी जिल्लाहरु छन् -
(क) मेची अञ्चल
१. ताप्लेजुङ २. पाचथर ३. ईलाम ४. झापा
(ख) कोशी अञ्चल
५. मोरङ ६. सुनसरी ७. धनकुटा ८. तेर्‍हथुम ९. संखुवासभा १०. भोजपुर
(ग) सगरमाथा अञ्चल
११. सोलुखम्बु १२. ओखलढुंगा १३. खोटाङ १४. उदयपुर १५. सप्तरी १६. सिराहा
(घ) जनकपुर अञ्चल
१७. धनुषा १८. महोत्तरी १९. सर्लाही २०. सिन्धुली २१. रामेछाप २२. दोलखा
(ङ) बागमती अञ्चल
२३. सिन्धुपाल्चोक २४. काभ्रेपलाञ्चोक २५. ललितपुर २६. भक्तपुर २७. काठमाडौं
२८. नुवाकोट २९. रसुवा ३०. धादिङ
(च) नारायणी अञ्चल
३१. मकवानपुर ३२. रौतहट ३३. बारा ३४. पर्सा ३५. चितवन
(छ) गण्डकी अञ्चल
३६. गोरखा ३७. लमजुङ ३८. तनहूँ ३९. स्याङ्जा ४०. कास्की ४१. मनाङ
(ज) धवलागिरी अञ्चल
४२. मुस्ताङ ४३. म्याग्दी ४४. पर्वत ४५. बाग्लुङ
(झ) लुम्बिनी अञ्चल
४६. गुल्मी ४७. पाल्पा ४८. नवलपरासी ४९. रुपन्देही ५०. कपिलवस्तु ५१. अर्घाखाँची
(ञ) राप्ती अञ्चल
५२. प्यूठान ५३. रोल्पा ५४. रुकुम ५५. सल्यान ५६. दाङ
(ट) भेरी अञ्चल
५७. बाँके ५८. बर्दिया ५९. सुर्खेत ६०. दैलेख ६१. जाजरकोट
(ठ) कर्णाली अञ्चल
६२. डोल्पा ६३. जुम्ला ६४. कालिकोट ६५. मुगु ६६. हुम्ला
(ड) सेती अञ्चल
६७. बाजुरा ६८. बझाङ ६९. अछाम ७०. डोटी ७१. कैलाली
(ढ) महाकाली अञ्चल
७२. कञ्चनपुर ७३. डडेलधुरा ७४. बैतडी ७५. दार्चुला
 क्षेत्रिय वर्गिकरण
नेपाललाई ५ विकासक्षेत्र, १४ अञ्चल र ७५ जिल्लाहरुमा विभाजन गरिएको छ।
विकासक्षेत्र
विकासक्षेत्र यि हुन-
१) पूर्वाञ्चल विकासक्षेत्र
२) मध्यमाञ्चल विकासक्षेत्र
३) पश्चिमाञ्चल विकासक्षेत्र
४) मध्य-पश्चिमाञ्चल विकासक्षेत्र
५) सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र

१) पूर्वाञ्चल विकासक्षेत्र

पूर्वाञ्चल विकासक्षेत्रमा ३ अञ्चल र १६ जिल्ला छन् ।
मेची अञ्चल - जिल्लाहरु- झापा, इलाम, पाँचथर, ताप्लेजुङ
कोशी अञ्चल - जिल्लाहरु- मोरङ, सुनसरी, धनकुटा, तेरथुम, भोजपुर, सङ्खुवासभा
सगरमाथा अञ्चल - जिल्लाहरु- सप्तरी, सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु

२) मध्यमाञ्चल विकासक्षेत्र

मध्यमाञ्चल विकासक्षेत्रमा ३ अञ्चल र १९ जिल्ला छन् ।
जनकपुर अञ्चल- जिल्लाहरु- धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा
नारायणी अञ्चल- जिल्लाहरु- रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन
बागमती अञ्चल- जिल्लाहरु- काभ्रे, ललितपुर, काठमाडौं, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा

३) पश्चिमाञ्चल विकासक्षेत्र

पश्चिमाञ्चल विकासक्षेत्रमा ३ अञ्चल र १४ जिल्ला छन् ।

लुम्बिनी अञ्चल- जिल्लाहरु- नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी
गण्डकी अञ्चल- जिल्लाहरु- गोर्खा, तनहू, स्याङ्जा, लमजुङ, कास्की, मनाङ
धवलगिरी अञ्चल- जिल्लाहरु- पर्वत, वाग्लुङ, म्याग्दि, मुस्ताङ

४) मध्य-पश्चिमाञ्चल विकासक्षेत्र

मध्य-पश्चिमाञ्चल विकासक्षेत्रमा ३ अञ्चल र १५ जिल्ला छन् ।

राप्ती अञ्चल- जिल्लाहरु- दाङ, प्युठान, रोल्पा, सल्यान, रुकुम
भेरी अञ्चल- जिल्लाहरु- बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट
कर्णाली अञ्चल- जिल्लाहरु- डोल्पा, जुम्ला, कालिकोट, मुगू, हुम्ला

५) सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र

सुदूर-पश्चिमाञ्चल विकासक्षेत्र २ अञ्चल र ९ जिल्ला छन् ।

सेती अञ्चल- जिल्लाहरु- कैलाली, डोटी, अछाम, बाजुरा, बझाङ
महाकाली अञ्चल- जिल्लाहरु- कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला

विविध

नेपालका १४ अञ्चलहरूका नाम सजिलो गरि सम्झन यीमध्ये कुनै वाक्याशं याद गर्नसक्नु हुन्छ-

१) मेरा बाकसको नाम सेलुज धभेग
२) रामेको बाकस नाम सेलुज धभेग
३) मेरा भेनाको बाकसम गजलु धसे
४) मेरा बाको नाम जगभेस कलुधसे
५) जसेको भेना बासम लुक गभेरा ध

वाक्याशंका प्रत्येक अक्षरले अञ्चलको नामको पहिलो अक्षर जनाउँछ।
कोशी अञ्चल
कोशी अञ्चल नेपालको पूर्वाञ्चल विकासक्षेत्रमा पर्ने अञ्चल हो । यो अञ्चलअन्तर्गत संखुवासभा, भोजपूर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ गरी ६ जिल्ला पर्छन् । यो अञ्चलको नाम कोशी नदीबाट नामकरण गरिएको हो ।
(यो पेजमा राखिएका सामाग्री हाम्रो समाचार डटकमबाट साभार गरिएका हुन् )

नेपाल सम्बन्धी सामान्य ज्ञान र घटनाक्रमबारे जानकारी पाउन सकिने लिंकहरू
https://ne.wikipedia.org/wiki/
http://loksewasahayoginepal.blogspot.com/
http://raptitoday.com/?p=13238
http://kathmandutoday.com/2015/10/142683.html