Saturday, March 14, 2015

अनि बाटो मोडियो

गत सोमबार । म अहिले पोखरामा छु । एउटा अौपचारिक कार्यक्रमको निम्तो अलि पृथक थियो । मलाई सहकर्मी शिव शर्माले देखाए -'एउटा डाकु साधुको जीवन बाँचिरहेको छ । उसैको पत्रकार सम्मेलन ।' जिज्ञासा स्वभाविक थियो । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र गइयो । करीब १ घण्टा उनका कुरा सुनियो । सवालजवाफ गरियो । केही स्न्याप फोटा खिचियो । मैले अरू सहकर्मीका समाचारहरू सम्पादन गर्नुपर्ने थियो । त्यसैले ती पूर्वडाकुको समाचार शिवजीले लेखे । करीव तीन सय शब्दको । साथमा उनले भने 'यो मान्छेको बारेको समाचार हाम्रो पत्रिकामा शायद कपिलवस्तुबाट हुनुपर्छ, छापियो ।'  मैले त्यो समाचार हेरेको रहेनछु । धेरै बिचार गरिएन । समाचार पनि औपचारिक पाराको सानो आकारको प्रकाशित भएको रहेछ । 
साँझ हामी केन्द्रलाई समाचार इमेल गर्न केही ढिला भइरहेका थियौं । शिवजीले लेखेको समाचार सामान्य सम्पादनपछि केन्द्रमा पठाइयो । भोलिपल्ट बिहानै अखबार हेरियो, छापिएनछ । भोलिपल्ट बिहान लाग्यो- यी मान्छे एउटा सामान्य सामाचारमा मात्रै अँटाउने पात्र होइन । केही लेख्न पर्छ, बिस्तृत नै लेख्नपर्छ । मैले हिजोका आफूले गरेका नोट डायरीमा हेरेँ । एउटा पठनीय कोसेली स्टाइलको रिपोर्ट हुनसक्ने विषय बन्छ भन्ने लाग्यो । सामान्यभन्दा केही पृथक कुरा थिए, जसलाई हामी अनौपचारिक समाचारमा समेट्न सक्थ्यौ‌‌ ।
 त्यसपछि जे लेखियो, त्यो यस्तो भएर आयो । छापिएका कुरा अब तल छन् । 


पूर्वडाँका सरदारको बयान

यसमा कुनै शंका छैन, जब उमेर ढल्कन्छ, ज्यान कमजोर हुन्छ, मुहारमा मुजा पर्छन्, युवावस्थाजस्तो जोश रहन्न । ती बेला मान्छे लड्नेभिड्ने कुरा पटक्कै गर्दैन । उनका पनि कुरा लड्ने-भिड्ने छैनन् । युवावस्था डाकाको सरदार भएर बिताएका पञ्चमसिंह चौहान अहिले कुनै पनि कोणबाट अतितको झल्को दिने खालका छैनन् ।

सन् १९७२ मा आफ्ना ५ सय ५० जनाको जत्थासहित तत्कालीन भारतमा इन्दिरा गाँधी सरकारसँग आठ शर्तसहित आत्मसमर्पण गरेका उनी गत सोमबार नेपाल भ्रमणका क्रममा पोखरामा भेटिए । ९२ वर्षका यी मनुवाले आफ्ना अनुभव एक घण्टा धाराप्रवाह सुनाएर अन्तिममा भने 'त्रास र अपरोधबोधमुक्त जीवननै सार्थक हुन्छ । मैले यही बुझेको छु ।'   
सिनेमाका कथा घटनाप्रेरित हुन्छन् । केही यथार्थका अंश, केही कल्पनाशीलता । कथाअनुसार पात्रका पोशाक र परिवेश । डाकु कस्ता हुन्छन् ? लुटेर खाने, हत्याहिंसा गर्ने खलपात्रलाई हिन्दी सिनेमा राम्रो स्वरुपमा चित्रण गर्दैन । काँधमा बन्दुक, छातीमा गोलीगठ्ठा भिरेका, तेज गतिमा घोडा दौडाउँदै लुटपाट र आतंक मच्चाउने डाकाको चित्र हामीलाई सिनेमाले देखाएका छन् । तर, भुक्तभोगी चौहानले भने 'सिनेमाले डाकाको सबै कुरा ठीक ठीक चित्रण गर्दैन ।' उनका अनुसार सन् १९६० देखि ७० को दसकसम्मका डाकाहरू घोडा होइन जीप कुदाउँथे । प्रहरी र हुनेखानेका सवारीसाधन खोस्थे । इन्धन खोस्थे । दिनहुँ राम्रो धनमाल हाल पर्ने गाउँबस्ती चियो गरेर लुटपाटका योजना बनाउँथे । प्रतिकार हुन नसक्ने वातावरण बुझेपछि घेरा हाल्थे र, अन्न, धनमाल लुट्थे ।
सन् ६० दसक नजिक आफ्नो पिहोवा गाउँ बीबीपुरको पञ्चायत निर्वाचनताका विपक्षकाहरूले उनलाई बेस्सरी कुटे । अस्पतालमा २० दिन भर्ती भएर डिस्चार्ज भइ आएको दिन त्यही समूहले फेरि उनका बाबुलाई उसैगरि कुटे । 'मलाई खपीनसक्नु भयो । बदलाको भावना यति बिघ्न बढ्यो कि म जे पनि गर्न सक्थें', उनी फ्ल्यासब्याकमा गए, 'म चम्बलघाटीका डाकुका सरदार मान सिंहकहाँ पुगें । उनले मेरो कुरा सुने । अनि आफ्नो समूहमा बस्न दिने भए ।' उनले आफू उक्त समूहका लागि योग्य भएको टेष्ट दिनुपर्ने भयो । मान सिंहले आफ्नो जत्थाका १२ साथी उनको साथ लगाएर हतियारसहित पठाए । आफ्नो गाउँ आएका उनमा रीस उस्तै थियो । पहिले कुट्नेहरू छानी छानी ६ जनाको हत्या गरे । र, फेरि त्यही जत्थामा फर्किए । घर आउने, सामान्य दिनचर्या बिताउने जीवनको बाटो फेरियो । 
नाइकेको खास विश्वासपात्र बनेकाले उनी छिटै कुख्यात डाका बने । समय आयो सरदार पनि भए । 'हामी पढेलेखेकालाई समूहमा लिँदैनथ्यौं', उनले भने, 'पढेलेखेकाहरू धेरै सोच्छन् । असल-खराब छुट्याउँछन् र, इनामको लोभमा परेर हामीलाई सिध्याउन लागिपर्छन् भन्ने बुझाइ थियो ।' समाजसँग बदलाको भावना राख्ने, पढलेख नगरेका, बलिया ज्यान परेकाहरू डाका समूहमा सदस्य हुन योग्य मानिन्थे ।
जस जसको परिवारका लोग्नेमान्छे लुटेराको समूहमा पसेका थिए, उनीहरूको पारिवारिक जीवन भने जोखिममा रहन्थ्यो । प्रहरी आउने पक्रने । केरकार गर्ने, दुःख दिने । समाजले पनि टाढै राख्ने, मन नपराउने । 'हामीमध्ये धेरैका परिवार आफ्नो घर छाडेर आदिवासीका बस्तीमा गएर लुकी बस्थे', उनले भने, 'हामी लुटपाटबाहेक त्यस्तालाई दुःख दिन्थ्यौं जसले हाम्रो परिवारलाई सताउँछ । सिलसिला निरन्तर चलिरहने थियो ।' डाका समूहभित्र पनि समाजबाटै गएका मान्छेहरू । बानीबेहोरामा माया, मोह, काम र क्रोध ।

***

उनी आफूले विपन्नमाथि अत्याचार नगर्ने, महिलालाई दुर्व्यवहार नगर्ने भएपनि केही तत्वमाथि आफ्नो सधैं नियन्त्रण रहँदैनथ्यो । केही हतियारको बलमा किसान परिवारका छोरीचेलीमाथि कुकृत्य पनि गर्थे । आफूहरूले नगर्ने भनेको कर्म गर्नेहरूलाई समूहभित्रै सजाय गरिन्थ्यो । सजाय यति क्रुर हुन्थ्यो कि त्यसका प्रत्यक्षदर्शीले त्यस्तो कर्मबारे सोचाइ आएपनि हच्किनु परोस् । 'एकपल्ट त्यस्तै घटना आयो । मेरो समूहको एउटा साथीले किसानको छोरीलाई बलात्कार गरेको रहेछ', उनले सुनाए, 'उसले रुँदै आएर मलाइ भनेपछि साथीलाई बाँधेर ज्यूँदै जलाइयो ।' अपराधकर्ममा कुनै पछुतो थिएन । डाकाहरू देवीको पूजा गर्थे । हुनेखानेलाई लुट्थे । लुटको पैसाले गाउँमा देवीको मन्दिर बनाउन लगाएका चौहान एकपल्ट निकै हतास भए । 'अपराधको बाटोमा धेरै मान्छेलाई परिस्थितिले पुर्‍याउँछ । म पनि त्यसकै सिकार थिएँ', उनले भने 'म जानेर नहुनेको नलुट्ने, चेलीको इज्जत गर्ने । नहुनेलाई दिनपर्छ भन्ने । तर, मेरै परिवार ज्यान जोगाएर भागीभागी हिड्नुपर्ने अवस्थामा थियो ।'
हिन्दी चलचित्रमा देखाइने चम्बल क्षेत्र नदिको नामले बनेको थियो । यमुना नदिमा मिसिने यो सहायक नदिले जसरी राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशका विभिन्न भुभाग छोएको छ । त्यसरी नै किनार आसपासका गाउँ लुटेराको आतंकले आजित क्षेत्र थिए । जसरी डाँकाबाट स्थानीय प्रशासन र सरकार हैरान थियो, त्यसरी नै डाँका आफै पनि असहज जीवनले हैरान थिए ।

***

'एक दिन मलाइ लाग्यो भगवान भनेको अन्धविश्वास रहेछ', उनले सुनाए, 'त्यसपछि मैले आफ्नो जत्था जुन गाउँ पुग्छ मन्दिर भत्काउन लगाए“ । मुर्ति फुटाएँ ।' आफ्नो आतंक रहेका क्षेत्रमा पूजापाठमा बाधा पारेपनि न मन शान्त भयो, न त जीवन सहज । छटपटिको अवस्था यस्तो बन्यो कि उनलाई कतै भागेर जान मन भयो । जहाँ परिवारका साथ शान्तिको सास फेर्न सकियोस् । यो अवस्था उनले सहकर्मी लुटेरालाई सुनाउन पनि सकेनन् । सरदारबाट उनीहरू कुशल नेतृत्व चाहन्थे । आफूहरूको दबदबा नघटोस् भन्ने चाहन्थे । सरदार मनबाट केही लाचार भएको र शान्तिको जीवन चाहेको बताउन मिल्ने अवस्था पनि थिएन । कारण, कमजोर हुनेबितिकै आफ्नै साथीबाट मारिने डर । 
एकातिर सरकारले डाका समूह जिउँदो या मृत भेटे, सूचना दिए ठूलो धनराशिको पुरस्कार राख्यो । अर्कातिर लुक्दै भाग्दै, परिवारको चिन्दा गर्दै बाँच्नु जोखिमले भरिपूर्ण थियो । त्यहीबेला तत्कालीन इन्दिरा गाँधी नेतृत्वको सरकारका विपक्षी नेता जयप्रकाश नारायण (जेपी)ले चौहानलाई सन्देश पठाए । रतन दासको  'जयप्रकाश नारायण : हिज लाइफ एण्ड मिसन' नामको पुस्तकमा पनि यो प्रसङ्ग छ । गाँधीवादी नेता नारायणले आत्मसमर्पण गरे तत्कालीन सरकारबाट सजायमा सहुलियत दिलाउने खबर पठाएपछि डाँका समूहले एउटा बैठक डाक्यो । 
'खासमा हामीमध्येका धेरैजना लुटेर खाँदै बाँच्नका लागि डाका बनेका थिएनौ', चौहानले भन्छन्, 'अन्यायमा परियो, प्रतिशोधको भावना आयो । बदला लिँदालिँदै यस्तो दलदलमा पुगियो जहाँबाट जिउँदो फिर्न सकिन्छ भन्ने आस कसैलाई थिएन ।' समूह छाडेर गए आफ्नै समूहको जोखिम । नछाडी बसे सरकारी गोलीको सिकार हुने भय । पंचममाथि दुइ सयजनाको हत्या र अढाइ सयजनाको अपहरण गरेको मुद्दा थियो । करीव पाँच सयको समूहमा धेरैको टाउकाको मोल इनामी थियो । 'हामीले आठ शर्त राख्यौं', पंचमले सुनाए 'हामीबाट पीडित परिवार र हाम्रा परिवारलाई ३०/३० बिघा जमिन दिनुपर्ने, खुला जेलमा राखिनुपर्ने, फाँसी दिन नपाइनेलगायत थिए । सरकारले सबै शर्त मान्छ भन्ने विश्वास जेपीले दिलाए ।' यो भारतीय लुटेराको इतिहासमै अनौठो घटना थियो । सन् १९७२ को यो घटना संसारकै आतंकको इतिहासमा नौलो थियो । पाँच सयजना बढीले आत्मसमर्पण गरे । त्यसबेला अमेरिकी पत्रिका टाइम्समा संवाददाता विलियम स्ट्रेवार्टले लेखेका छन् - हत्या हिंसाको मार्गमा रहेकाहरूका लागि शान्तिको मार्गमा ल्याउन यो ठूलो घटना थियो ।
'तर, मलाइ अदालतले फाँसीको सजाय दिने सुनायो । शर्तअनुसार नारायणले राष्ट्रपतिलाई अपील गरे',  चौहानले भने, 'मेरो सजाय आठ वर्षमात्रै हुने भयो ।' सरकारका लागि डाँकाभित्रको अपराधीलाई सज्जन बनाउनु ठूलो चुनौति थियो । अन्ततः राजयोग सेवा केन्द्रका अगुवालाई आग्रह गरियो, जेलमा गएर डाँकालाई साधु बनाउ । 
'मैले राजयोगका तालिमहरू लिएँ । जीवनमा शान्तिको मार्ग बुझेँ', उनले भने, 'मभित्रको आपराधिक मान्छे आत्मसमर्पण गर्दाताका नै गलिसकेको थियो । जेलबाट निस्कँदा म पुरै साधु भएँ ।' १४ वर्षम्म जंगल, गुफा र पहाडी क्षेत्रमा लुक्दै भाग्दै आतंकको जीवन बिताएका उनी आठ वर्षे जेल जीवनपछि पुरै फेरिए । प्रजापिता ब्रम्हकुमारी इश्वरीय विद्यालयको उनी एक साधक भएर निस्किए । त्यसयता उनी प्रवचन दिँदै हिडेका छन् । उनको समूहका करीव दुइ सयजना यो विद्यालयका स्वयंसेवक भएर क्रियाशील छन् । उनले भने 'अपराधकर्म विहीन जीवन नै सार्थक जीवन हो । हामीलाई धेरैपल्ट आवेस, लोभ र क्रोधले असल मार्गबाट पर धकेल्छ । असल जीवन बाँच्ने हो भने बेलैमा फर्कन सक्नुपर्छ ।'

(कान्तिपुर कोसेलीमा २०७१ फाल्गुन ३० मा पृ्ष्ठ 'ख' मा प्रकाशित)

No comments: