दुई साथी थिए, विक्रम र अर्जुन। दुवैसँग जमिन थियो, रहर थियो व्यावसायिक कृषिमा राम्रो आम्दानी दिने काम थाल्ने। एक दिन गाउँमा एक वृद्ध आए। उनले दुवैलाई एउटै प्रकारको बीउ दिए र भने, 'यसलाई रोप, तर यसको फल तिम्रो बानीमा निर्भर गर्छ।'
विक्रम अधीर थियो। उसले सोच्यो - 'छिटो र धेरै उत्पादन लिन पुरानो पारा काम छैन।' बजारबाट रासायनिक मल ल्यायो, पानी धेरै हाल्यो र बिरुवालाई छिटो बढाउने उपाय खोज्न थाल्यो। उसका खेतमा केही दिनमै त्यो बिउका बिरुवा हलक्क भए, बोट छिटो बढ्यो, हरियो देखियो। उसलाई निकै खुसी लाग्यो।
अर्जुन अलि फरक थियो। उसले बिस्तारै पानी हाल्यो, घाम लाग्ने ठाउँ मिलायो, समय दिएर प्रांगारिक मल चलायो। दुवैका खेतनिक-नजिक। हेर्थ्यो, विक्रमका तुलनामा आफ्नो खेतमा बिरुवा निकै ढिलो बढिरहेका थिए। कहिलेकाहीँ उसलाई शंका पनि लाग्थ्यो - 'पुरानो पाराले लगाउनु गल्ती पो भयो की। म ढिला त भइँन ?'
त्यस बेला वृद्ध फेरि आए र भने - 'यो बीउ वास्तवमा तिमीहरूको मस्तिष्कजस्तै हो। छिटो-छिटो पाइने खुशी, जस्तै धेरै रासायनिक मल हाल्नुले डोपामाइनलाई तुरुन्त बढाउँछ, तर जरा कमजोर बनाउँछ। बिस्तारै, धैर्यका साथ पाइने खुशी - मेहनत, अभ्यास, सम्बन्ध। यसले डोपामाइनलाई सन्तुलित राख्छ र जीवन बलियो बनाउँछ।'
सन्तुलन राख्दा सामान्य जीवनका साना खुसीहरू पनि गहिरो र अर्थपूर्ण बन्न थाल्छन्। डोपामाइन मस्तिष्कमा पाइने एउटा महत्त्वपूर्ण रासायनिक पदार्थ (न्युरोट्रान्समिटर) हो, जसले खुसी, प्रेरणा, ध्यान र व्यवहार नियन्त्रणमा ठूलो भूमिका खेल्छ।
***
सरल भाषामा बुझ्दा, डोपामाइनलाई 'रीवार्ड केमिकल' पनि भनिन्छ। जब तपाईंले कुनै राम्रो काम गर्नुहुन्छ (जस्तै लक्ष्य पूरा गर्नु, मिठो खाना खानु, सामाजिक प्रशंसा पाउनु), तब दिमागले डोपामाइन रिलिज गर्छ र राम्रो महसुस गराउँछ। यही कारणले हामी फेरि त्यही काम गर्न प्रेरित हुन्छौं। डोपामाइन हाम्रो शरीरको त्यो ऊर्जा हो जसले हामीलाई अगाडि बढ्न, सिक्न र खुसी हुन मद्दत गर्छ। तर, यसको अति प्रयोग (जस्तै धेरै मोबाइल चलाउनु) ले भने मस्तिष्कलाई थकाउन सक्छ।
डोपामाइनले मुख्य रूपमा तीन कुरा प्रभावित गर्छ :
- प्रेरणा (मोटिभेसन) : काम सुरु गर्ने र पूरा गर्ने ऊर्जा दिन्छ।
- आनन्द (प्लिजर) : सन्तुष्टि र खुशीको अनुभव गराउँछ।
- सिकाइ (लर्निङ) : 'के राम्रो हो' भन्ने कुरा दिमागले सिक्छ।
तर सन्तुलन बिग्रियो भने समस्या आउँछ :
- धेरै डोपामाइन (जस्तै: लगातार मोबाइल, गेम, सामाजिक सञ्जाल) - ध्यान भंग, लत जस्तो व्यवहार।
- कम डोपामाइन - उत्साह घट्ने, थकान, कहिलेकाहीँ डिप्रेसनसँग सम्बन्ध।
ओसीडीसँग पनि यसको सम्बन्ध देखिन्छ। अनुसन्धानले देखाउँछ कि मस्तिष्कका केही भागमा डोपामाइन र अन्य रसायन (जस्तै सेरोटोनिन) को असन्तुलनले बारम्बार सोच र कम्पल्सनलाई बढाउन सक्छ।
डोपामाइन खराब होइन, यो आवश्यक हो। तर छिटो खुशी दिने कुरामा धेरै निर्भर हुँदा दिमाग त्यसैमा अभ्यस्त हुन्छ। त्यसैले सन्तुलनका लागि नियमित व्यायाम, पर्याप्त निद्रा, सामाजिक सम्बन्ध र लक्ष्य पूरा गर्ने साना उपलब्धि आवश्यक छन्।
डोपामाइनले हामीलाई कुनै काम गर्न प्रेरित गर्छ। हामीलाई कुनै कुराले खुसी दिन्छ भन्ने थाहा पाउनेबित्तिकै मस्तिष्कले डोपामाइन छोड्छ। जस्तै: परीक्षामा राम्रो अंक आउने सोच्दा वा मनपर्ने खानाको बारेमा सोच्दा। यसले हामीलाई कुन कुरा राम्रो हो र कुन कुराले फाइदा गर्छ भनेर सम्झिन मद्दत गर्छ।
आजको जमानामा हामीलाई डोपामाइन पाउन जंगल धाउनु पर्दैन। फेसबुक वा इन्स्टाग्राममा 'लाइक,' 'कमेन्ट' आउँदा, भिडियो गेममा एउटा लेबल पार गर्दा र मिठो खानेकुरा खाँदा नै डोपामाइन पाउँछौं। डोपामाइन राम्रो कुरा हो, तर जब हामी मोबाइल वा नराम्रो लतमा झुम्मिन्छौं, हाम्रो मस्तिष्कले धेरै मात्रामा डोपामाइन खोज्न थाल्छ। यसले गर्दा साधारण कुरामा हामीलाई खुसी लाग्न छोड्छ र हामी 'लत' (एडिक्सन) मा फस्न सक्छौं।
त्यसैले, प्राकृतिक रूपमा व्यायाम गरेर, नयाँ कुरा सिकेर वा लक्ष्य पूरा गरेर डोपामाइन प्राप्त गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ।
डोपामाइनको मनोविज्ञान र यसले मानव व्यवहारमा पार्ने प्रभावका बारेमा विभिन्न समयमा मनोवैज्ञानिक र न्युरोसाइन्टिसहरुले महत्त्वपूर्ण धारणाहरू राखेका छन्।
मिसिगन विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक केन्ट बेरिजले डोपामाइनको बारेमा एउटा क्रान्तिकारी तथ्य पत्ता लगाए। उनले डोपामाइनलाई 'आनन्द' भन्दा पनि 'चाहना'सँग जोडेका छन्। सन् १९९० को दशकको अन्त्यतिर आफ्नो शोध पत्र 'पुरस्कारका घटकहरु छुट्याउँदा (डिस्सेक्टिङ कम्पोनेन्ट्स अफ रीवार्ड) मा उनले भनेका छन् - डोपामाइन 'चाहना' वा 'लालसा' सँग सम्बन्धित छ, 'मन पराउनु' वा 'आनन्द' सँग होइन।
उनले मुसामाथि गरेको अनुसन्धानले देखायो, डोपामाइन नभएका मुसाहरूले अगाडि राखिएको गुलियो खानेकुरा खान त खान्थे (आनन्द लिन्थे), तर त्यो खानका लागि थोरै पनि मेहनत गर्दैनथे (चाहना हुँदैनथ्यो)। यसले के प्रस्ट पार्छ भने डोपामाइनले हामीलाई कुनै काम गर्न 'हौसला' मात्र दिन्छ, त्यो काम सकिएपछिको 'सुख' अर्कै रसायनले दिन्छ।
स्ट्यानफोर्ड विश्वविद्यालयका प्रसिद्ध जीववैज्ञानिक र मनोवैज्ञानिक रोबर्ट सापोलस्कीले डोपामाइनलाई 'प्रतिफलको आशा' सँग जोडेका छन्। सन् २०११ मा 'वायर्ड' म्यागजिन र पछि उनको पुस्तक 'बीहेभ' मा चर्चा गरिएको भनाइ छ - 'डोपामाइन प्रतिफलको बारेमा होइन, यो त प्रतिफलको आशा वा प्रतीक्षाको बारेमा हो।'
सापोलस्कीका अनुसार, जब कुनै काम गर्दा शतप्रतिशत पुरस्कार पाइन्छ भन्ने निश्चित हुन्छ, त्यहाँ डोपामाइन ठिक्क मात्रामा निस्किन्छ। तर जब पुरस्कार पाउने सम्भावना ५०-५० प्रतिशत मात्र हुन्छ, अनसर्टेनिटीको त्यो अवस्थामा डोपामाइनको मात्रा सबैभन्दा उच्च हुन्छ। यही कारणले गर्दा मानिसहरू जुवा वा अनिश्चित खालका खेलहरूमा बढी आकर्षित हुन्छन्।
स्ट्यानफोर्ड विश्वविद्यालयकै मनोचिकित्सक डा. अन्ना लेम्केले आधुनिक समयमा डोपामाइनको अधिकताले कसरी मानिसलाई दुखी बनाइरहेको छ भन्ने व्याख्या गरेकी छन्। सन् २०२१ मा प्रकाशित आफ्नो चर्चित पुस्तक 'डोपामाइन नेशन'मा उनले भनेकी छन् - 'मस्तिष्कले सुख र दुःखलाई एउटै ठाउँमा प्रशोधन गर्छ... र यिनीहरूले तराजुको सन्तुलन जस्तै काम गर्छन्।'
उनले 'प्लिजर-पेन ब्यालेन्स' को अवधारणा ल्याएकी छन्। जब हामी डिजिटल ग्याजेट वा जंक फूडबाट धेरै डोपामाइन (सुख) लिन्छौँ, हाम्रो मस्तिष्कले सन्तुलन मिलाउनका लागि 'दुःख' तर्फ झुकाव बढाउँछ। यसैले गर्दा धेरै रमाइलोपछि मानिसलाई अचानक रिक्तता वा 'डिप्रेसन' महसुस हुन्छ।
डोपामाइनको बारेमा थप बुझ्नका लागि केही यस्ता रोचक र व्यावहारिक पक्षहरू छन्, जसले हाम्रो दैनिक जीवनलाई प्रत्यक्ष प्रभाव पार्छन्।
१. डोपामाइन 'डिटक्स' अवधारणा
अहिलेको युगमा हामी 'सस्तो डोपामाइन'को सिकार भइरहेका छौं। सामाजिक सञ्जालको स्क्रोलिङ, छोटो भिडियोहरू र अनलाइन सपिङले मस्तिष्कलाई यति धेरै डोपामाइन दिन्छ कि साधारण कामहरू (जस्तै: किताब पढ्नु वा गहिरो कुराकानी गर्नु) हामीलाई झ्याउ लाग्ने हुन्छन्।
समाधान: हप्तामा एक दिन वा दिनको केही घण्टा ग्याजेटबाट टाढा रहेर मस्तिष्कलाई 'रिसेट' गर्नु नै डोपामाइन डिटक्स हो।
२. डोपामाइन र समयको अनुभूति
के तपाईंले कहिल्यै महसुस गर्नुभएको छ - कुनै दिन समय एकदम छिटो गएको जस्तो लाग्छ, त कहिले एकदम ढिलो?
जब तपाईं रमाइलो गरिरहनुभएको हुन्छ, मस्तिष्कमा डोपामाइनको स्तर उच्च हुन्छ। यसले हाम्रो 'आन्तरिक घडी' लाई छिटो चलाउँछ, जसले गर्दा समय बितेको पत्तो हुँदैन।
यसको उल्टो, जब हामी बोर हुन्छौं वा दुखी हुन्छौं, डोपामाइन कम हुन्छ र समय बिस्तारै गएको जस्तो महसुस हुन्छ।
३. शारीरिक स्वास्थ्य र डोपामाइन (पार्किन्सन्स डिजिज)
डोपामाइन केवल मानसिक खुसीसँग मात्र होइन, शरीरको चाल (मुभमेन्ट) सँग पनि सम्बन्धित छ।
मस्तिष्कको एउटा निश्चित भाग (Substantia Nigra) मा डोपामाइन बनाउने कोषहरू नष्ट भएमा पार्किन्सन रोग लाग्छ।
यसले गर्दा शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र मांसपेशीहरू कडा हुने समस्या देखिन्छ।
४. डोपामाइन बढाउने प्राकृतिक तरिकाहरू
औषधि वा लतको सहारा नलिई पनि डोपामाइनको स्तर सन्तुलनमा राख्न सकिन्छ :
प्रोटिनयुक्त खाना : अण्डा, माछा, र गेडागुडीमा पाइने 'टाइरोसिन' नामक एमिनो एसिडले डोपामाइन बनाउन मद्दत गर्छ।
व्यायाम : शारीरिक कसरतले डोपामाइन रिसेप्टरहरूलाई बढी सक्रिय बनाउँछ।
संगीत : मनपर्ने संगीत सुन्दा मस्तिष्कले प्राकृतिक रूपमै डोपामाइन उत्सर्जन गर्छ।
चिसो पानीले नुहाउनु : केही अध्ययनका अनुसार चिसो पानीले नुहाउँदा डोपामाइनको स्तर २५०% सम्म बढ्न सक्छ।
५. डोपामाइनको एउटा 'कालो पक्ष' : सन्तुष्टिको अभाव
डोपामाइनको एउटा मुख्य गुण भनेको यसले कहिल्यै 'अब पुग्यो' भन्दैन। यसले सधैं 'अझ धेरै' (More) खोज्छ। 'दिल मांगे मोर' भनेजस्तो।
'Dopamine is the chemical of more.' - Daniel Z. Lieberman
तपाईंले एउटा लक्ष्य पूरा गर्नुहुन्छ, डोपामाइनले एकछिन खुसी दिन्छ र तुरुन्तै अर्को ठूलो लक्ष्यको खोजीमा तपाईंलाई दौडाउँछ। यसैले मानिसहरू धेरै पैसा वा सफलता पाएर पनि कतिपय अवस्थामा असन्तुष्ट देखिन्छन्।
अन्तिममा के भनौँ भने डोपामाइनलाई सामान्यतया फील गुड हर्मोन भनिन्छ किनभने यसले हाम्रो मस्तिष्कमा आनन्द, उत्साह र प्रेरणाको संचार गर्छ। जब हामी कुनै उपलब्धि हासिल गर्छौं वा मनपर्ने काम गर्छौं, मस्तिष्कले यो रसायन छोडेर हामीलाई पुरस्कृत भएको महसुस गराउँछ।
यसले हामीलाई लक्ष्यप्रति आकर्षित गराउने र जीवनमा अघि बढ्ने ऊर्जा दिने काम गर्छ। तर, यसको मुख्य भूमिका केवल क्षणिक आनन्दमा मात्र सीमित नभई हामीलाई भविष्यका अवसरहरू चिन्न र तिनलाई प्राप्त गर्न संघर्ष गर्न सिकाउनु पनि हो। सन्तुलित डोपामाइनले नै मानिसलाई मानसिक रूपमा स्वस्थ, सक्रिय र आशावादी बनाइराख्न मद्दत पुर्याउँछ।
तपाईंको डोपामाइन सन्तुलित छ कि छैन ? आफैं जाँच गर्नुहोस्। मोबाइल बिना एकछिन बस्न गाह्रो हुन्छ? के सानो उपलब्धिमा तपाईंलाई खुसी लाग्न छोडेको छ?

No comments:
Post a Comment