Monday, July 3, 2017

बसबाट फोहोर कता फाल्ने ?

पाल्पाको बर्तुङबाट पोखराको बसयात्रामा मैले गत साता झ्यालबाट मिल्काइदिऊँ जस्तोजस्तो लागेको पानीको खाली बोतल फालिनँ । सहचालकलाई सोधेँ, ‘भाइ यो कता फाल्ने ?’ उनले सिटमाथिको सामान राख्ने ठाउँ (लगेज र्‍याक) देखाए, त्यसमै राख्न इसारा गरे । त्यसै गरेर गाडीले खाना खान गल्याङ रोकेपछि सोधें, ‘त्यस्तो प्लास्टिक बोतल कहाँ फाल्नुहुन्छ ?’ उनले हाँसेर टारे । भने, ‘के ठट्टा गर्नुहुन्छ ! त्यस्तो जाबो चीज फाल्न जता मन लाग्यो त्यतै नि । कल्ले पो सोध्छ ।’ 
सामान्यतया यो ठूलो कुरा होइन । तर, दिनमा हजारौं सवारीसाधन गुड्छन् । लाखौं लिटर पानी खपत हुन्छ । अनि धेरै प्लास्टिकका बोतल मिल्काउने बेला हामी गाडी स्टाफलाई सोध्दैनौं । गाडीहरूले पनि भित्रै डस्टबिनव्यवस्था गरेर यात्रुका खानेकुराका खाली प्याकेट, फलफूलका बोक्रा र पानीका बोतल भेला पार्दै तह लाउने चलन बसेकै छैन । 
गत मंसिरको अन्तिम साता सञ्चारमाध्यमहरूले बसबाट बाहिर फोहोर फाले जरिवाना हुनेखबर प्राथमिकतासाथ दिएका थिए । सभ्य व्यवहारका लागि राम्रो मानिएको उक्त खबरमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरिसकेको उल्लेख थियो । गत पुसदेखि लागू हुने भनिएको उक्त नियमअनुसार सबै यात्रुवाहक सवारीसाधनले भित्रै डस्टबिनव्यवस्था गर्ने र पहिलो चरणमा सहचालकमार्फत यात्रुलाई बाहिर फोहोर नफाल्न सचेत पारिने भनिएको थियो । अभियानका रूपमा सुरु गरिने भनिएको नियम उल्लंघन गरी बाहिर फोहोर फाल्नेलाई पाँच सयदेखि पाँच हजारसम्म जरिवाना गर्न सकिने खबरमा उल्लेख थियो ।
राजधानीबाट मुलुकभर लागू हुने भनिएको खबर आयो । त्यसको फलोअप हरायो । हाम्रो व्यवहार जस्तो थियो, त्यस्तै छ । सरसफाइका लागि लागू गर्न कुनै भार नपर्ने यो नियमबारे चासो बोलेको देखिँदैन । सवारीसाधनले डस्टबिनव्यवस्था गरी संकलन हुने फोहोर कुनै निश्चित स्थानमा लगेर तह लगाउन नसक्ने पनि होइनन् । यात्रुले पनि बाहिर नफाल्नुस्, ऊ त्यो भाँडोमा हाल्नुस्भनिदिए प्रतिवाद गर्नुपर्ने पनि कारण हुँदैन । लोकप्रिय लाग्ने अभियान घोषणामा रमाउनेहरूले अनुगमन गरे निश्चय पनि यो व्यवहारमा लागू हुने नै छ । 
लामो दूरिका सवारीसाधनले बीच बाटोमा कतै रोकेर यात्रुलाई दिसापिसाब गराउने चलन पनि हट्न सकेको होइन । त्यसमाथि खानेकुराका प्याकेट र पानीका बोतल जथाभावी फाल्न हुँदैन कसरी भन्लान् । सरसफाइका लागि हेर्दासुन्दा सामान्य लाग्ने यो चलन बसाउन तामझामका साथ मन्त्री, सरकारी अधिकारी वा यातायात व्यवसायीमजदुरका अगुवाले उद्घाटन गरिरहनु अवश्य पर्दैन ।
प्लास्टिक र कागज पुनप्र्रयोग हुनसक्छन् । फलफूलका बोक्रा सड्ने भएकाले निश्चित स्थानमा तह लगाउन सकिन्छ । पुनप्र्रयोग हुनसक्ने वस्तु सहरबजारमा संकलकहरू दिनरात खोजी हिँडेका छन् । सवारी आउजाउ गरिरहने चोकचौरस्ता र बसपार्कहरूमा सवारीसाधनले आºना डस्टबिनखन्याउन मिल्ने व्यवस्थाका लागि स्थानीय तहले पहल गर्नसक्छ । फोहोर बाहिर नमिल्काऊँ भनेर यात्रुलाई यातायातकर्मीले अनुरोध गरेमात्रै पनि पुग्छ । बढ्दो सहरीकरणसँगै यतिबेला गाउँहरू बजारमा रूपान्तर भइरहेका छन् । सबैजसो ठाउँमा सवारी आवागमन भई नै रहेको छ । जहाँजहाँ यात्रु लिएर सवारी पुग्छन्, त्यहाँ प्याकेटका खानेकुरा र पानीका बोतल पुगेकै छन् । तर, वस्तु उपभोगपछि फालिने चीजबिजका लागि निश्चित स्थान तोकेर राख्ने चलन सुरु हुन सकेको छैन । 
गाडी रोकिने ठाउँहरू र बसपार्कहरूमा सार्वजनिक शौचालयको प्रबन्ध हुनुपर्छ । शौचालय भएका स्थानमा सरसफाइ नियमित हुनुपर्छ । सवारीसाधनले रोकेर बीच बाटामा कतै त्यस्तो व्यवहार नगर्न/नगराउन सामान्यरूपमा सचेत गराउन जरुरी छ । लामो तथा छोटो दूरीका सवारी आउजाउ भइरहने क्षेत्रमा सार्वजनिक शौचालयमै मलमूत्र त्याग गर्न लगाउने चलन बसाउन कुनै ठूलो आन्दोलन पनि खाँचो हुने कुरा होइन । 
एक महिनामात्रै यो विषयमा सरकारको सम्बद्ध निकाय, यातायातकर्मी र यात्रुले सचेत भइदिए हाम्रो व्यवहार बस्छ । यतिबेला सार्वजनिक सवारीभित्र धूमपान गरेको भेटिँदैन । कसैले भित्र धूमपान गरे यातायातकर्मी र अन्य यात्रुले पनि नगर्नुस्भनेकै देख्न पाइन्छ । एक दशकअघिसम्म यात्रामा सवारीसाधनभित्रै धूमपान गर्नेहरू भेटिन्थे । त्यो व्यवहार अहिले परिवर्तन भएको छ भने फोहोर निश्चित स्थानमा तह लगाउने बानी पनि बसाउन सकिन्छ । कुनै ठूलो जरिवानाको त्रास देखाएर नियम लागू गर्नु/गराउनुको साटो सामान्य प्रयासबाट यो अपनाउन सकिने व्यवहार हो । 

(१६ असार २०७४, कान्तिपुर दैनिकको विविधा पृष्ठमा प्रकाशित)




No comments: