Monday, August 17, 2015

हाडनाता करणी : विश्वास र सुरक्षाको अन्त्य


मान्छेको जीवन, घटनाहरूको संगालो। हो पक्कै। तर, हामी जो अरूका खबर लेख्छौं, हाम्रा कुरा भन्दैनौ। भन्न मिल्दैन, सिकाइएको छैन। अझ भनौं त्यो हाम्रो प्राक्टिसमा परेन। एकाध लेखिन-देखिन थालेका छन्। ती बिस्तारै बढ्लान्। अहिले म ५५ वर्ष र १३ वर्षका दुई मान्छेका कहानी सम्झन चाहन्छु। 

बेलुकी अबेर प्रहरीको जिल्ला कार्यालयबाट फोन आयो - 'छोरीलाई करणी गर्ने बाबुलाई समातेका छौं। इप्रकाले भोलि यहाँ ल्याइपुर्‍याउँछ।' ल्याएपछि भेटेर कुरा गरौंला भनियो। खबर लेख्न अरूबेला हतारै हुन्थ्यो। तर, योपल्ट विषय सुन्दै जाँगर आएन। 

'थुक्क त्यस्तो पनि बाउ हुन्छन् !' भन्न मन लाग्यो। जमाना फ्याक्सकै थियो। लेख्ने, कागज फ्याक्समा हाल्ने। फोटो भए, खिच्ने, ल्याब पुग्ने, क्यामेरालाई ज्याकेट लाइदिएर रील काट्ने, डेभलपरबाट नेगेटिभ बाहिरिएपछि राम्रो आउने छानेर धुलाउने। अनि खामबन्दी गरेर आफ्नो अखबारको अफिसमा कुरियर सर्भिसबाट पठाउने।  

त्यो रात अबेरसम्म निन्द्रा परेन। कस्तो बाउ होला भन्ने भइरह्यो। 

***
बसाइ इनरूवा, सुनसरी जिल्ला मेरो कार्यक्षेत्र। दिउँसो १२ बजे फोन आएपछि जिप्रका गइयो। मलाई खबर गर्ने प्रहरी निरीक्षकले भने, 'हिरासतमा राखेको मान्छेसँग तपाईले सवालजवाफ गर्छु भन्नुभो भने मैले मिल्दैन भन्छु। के गर्नुहुन्छ ?' मैले भनेँ, 'हेर्न दिनुस्। अनुहार हेर्छु। केस टिप्छु। तपाईको भनाइ लिन्छु, अनि सम्भव छ भने छोरी भेट गराइदिनुस्।' कुरा मिल्यो।

उनले त्यो बाउको हुलिया बताए। हामी हिरासत कोठाको बाहिर पु्ग्यौं, जहाँबाट भित्रका सबैलाई देख्न सकिन्थ्यो। ४/५ जना थुनुवा बसेर तास खेल्दै थिए। हुलिया बताएको मान्छे कुनामा एक्लै थियो। हामीले हेरेको देखेर उभियो। सतर्क भयो। करिब ५ फीट हाइट। झुस्स दाह्री। दुब्लो-पातलो ज्यान। 

उ एकाएक कराउन थाल्यो। हिरासतका फलामे डण्डी समातेर चिच्याउन थाल्यो। 'डण्डी बांगो भो, उ उ ...' उसले बेसुरे मान्छे जस्तो के-के भन्न थाल्यो सबै सम्झनामा छैनन्। तर, यति हो उसले प्रहरी र हामी प्रहरीजस्ता नदेखिने युवकलाई यस्तो देखायो मानौ हामीले ठान्ने छौं  -उसको मगज खुस्केको छ। यो पागल हुनुपर्छ।

बाहिरिँदा तिनै प्रहरीले फेरि भने 'तपाइँहरू नौलो मान्छे देखेर यसले एक्टिङ गरेको हो। यो पुरै सद्दे छ। हामीसँग मजाले कुरा गरेको हो। बयान दियो। मुद्दामा म्याद थपेर ल्याएको हो।' उसलाई हाडनाता करणीसँगै नाबालकलगायत के-के मुद्दा चलाउने भन्ने बारेमा तिनले बताए। 
***
बाहिर छानो हालेको चौतारो थियो। जहाँ प्रहरीले सबैलाई पहिले पर्खन लगाएर मात्रै भित्र पस्न दिन्थ्यो। मैलो मैलो लुगा लगाएकी एउटी दुब्ली-दुब्ली गोरी केटी थिइ। कुपोषण हुँदा मान्छेको अनुहार, हातगोडा दुब्ला-पातला हुन्छन्। भुँडी नसुहाउने गरि पुटुस्स उकासिएको हुन्छ भनेर हामीलाई स्वास्थ्यकर्मीले पोषणका कार्यक्रममा भनेको सम्झना भयो। उनी त्यस्तै थिइन। उनै रहिछन् मैले भेट्न खोजेको बाबुकी छोरी। 

प्रहरीले चिनाइदिए। तर, सोध्न कसरी थाल्ने भन्ने अलि संकोच भयो। तैपनि मैले 'बैनी, यस्तो कसरी भयो ?' भनेँ। पहिले रोइन। रूँदा डिस्टर्ब गरिन, हेरिरहेँ। अनि केहीबेरमा आँसु पुछ्दै उनले भनिन्, 'मेरो बाबालाई छुटाइदिनुस्। जे भो हाम्रो कुरा हो। पछि जे होला होला। मेरो बाबालाई छुटाइदिनुस्।' यो मेरो प्रश्नको उत्तर थिएन। र, म यतिखेर उनलाई मैले सोधेको कुरा भन्नैपर्छ भन्ने मुडमा पनि थिइँन। 

बिस्तारै उनको कुराको कन्तुरो फुक्यो। म सुन्दै गएँ। प्रश्न गर्नै परेन। 

***
५ वर्षअघि आमा मरिन्। एक्ली छोरी। जनबनी गरेर गुजारा गर्ने छाप्रामा बाउ-छोरी मात्रै भए। एउटा रात बाबुले रक्सी खाएर आएका थिए। जबरजस्ती गरे। दुख्यो, रोइन। बाउले करणीपछिको बिहान 'कसैलाई भनिस् भने तँलाई मार्छु, म पनि मर्छु' भनेर तर्साए। छोरी बोलिनन्। बाहिर भनिनन्। 

घटनाको एक सातापछि फेरि उस्तै रात दोहोरियो। त्यसको बिहान पनि उसैगरि तर्साए। त्यसपछि जब-जब बाबु मातेर आउँथे करणीको क्रम नियमित बन्यो। उनले स्कुल जान छाडिन्। साथी भेट्न छाडिन्। आफ्नो अवस्थाबारे कसैलाई भन्न सकिनन्।

नजिक आफन्त थिएनन्, जहाँ छोरी भागेर जान सक्थी। खपेर बस्दाका महिना बित्न थाले। छिमेकीले शंका गरे। एउटा साँझ त्यही क्रममा प्रहरी टोली आयो। पक्रेर थाना लग्यो।

***
स्वास्थ्य जाँचको कुरो त्यो साँझ प्रहरीले बतायो -' ७ महिनाको गर्भ रछ। केटीलाई हामीले माइती नेपालको जिम्मा लगायौं।' यस्ता घटना पहिले लेख्नु परेको थिएन। हाडनाता करणीका अरू धेरै घटना सुने पनि यस्तो नजिकबाट यस्तो अकल्पनीय देख्न-सुन्न परेकै थिएन। खबर लेखियो 'उफ ! कस्तो बाबु'  

माइती नेपालको एउटा आवधिक गृह इटहरीमा छ। खबर छापिएका केही हप्तापछि त्यता जाने काम पर्दा म एकजना साथी लिएर त्यहाँ पनि निस्केँ। त्यहाँका कर्मचारीले ती छोरीको आनीबानी राम्रो भएको बताए। उनी सिलाइकटाइ सिक्न थालेकी थिइन। मसँग फेरि कुरा भएन। 

***

कैयौं महिना बिते। माइती नेपालका कर्मचारीले फोनमा जानकारी दिए - 'उनको छोरी जन्मिएको छ। आमा-बच्चा सकुशल।' उनले आफ्नो सन्तानको बाबुलाई कस्तो नातामा सम्झँदी हुन् भन्ने लागिरहन्थ्यो। केहीपछि अदालतको फैसला आयो। फेरि एउटा खबर लेखियो - 'बाबुलाई सर्वस्वसहित १७ वर्ष जेल सजाय।'  

फर्केर हेर्दा १३ वर्ष बितेछ। उनीहरू कहाँ छन् भन्ने अहिले मलाई थाहा छैन। कहिलेकाही नारायण वाग्ले दाइले एकपल्ट भनेको सम्झन्छु -' हामी चट्याङ परे जस्तो खबर लेख्छौं। एकपल्ट लेख्यो, फलोअपमा ध्यानै छैन। धेरैपल्ट सुरूमा लेखेकोभन्दा पनि फलोअप जोडदार हुन्छ भन्ने बिर्सनु हुँदैन।' 

केही खबर त यस्ता हुन्छन्, जसलाई लेखेपछि बिर्सन नै मन लाग्छ। केही खबर सम्झनामा रहिरहन्छन्। अहिले ब्लगमा लेख्न मन लागेको कुरो सकियो। साहित्य छाँटेर नतन्काउँ होला। कसो ?     

No comments: