
बिग्रियो, भत्कियो, नासियो र मासियो भनेर बारम्बार आइरहने नकारात्मक खबरहरूबाट ध्यान हटाएर यात्रामा रम्ने सुर कस्नेका लागि छोटो दुरीभित्र प्रशस्त गन्तव्य कतै छन् भने त्यो पोखरा नै हो । एउटै सहरभित्र ताल, गुफा, स्तुप र संग्रहालय हेर्न सकिने मात्रै होइन, सजिलो सडक र खानबस्नको सुबिस्ता पनि विशेषता भएकाले घुमन्तेका लागि यो सजिलो ठाउँ छ ।
एक्लै, साथीभाइ वा परिवारका साथ पोखरा घुम्न आउने निधो गरेकाहरूले होटल-रेस्टुरेन्टको चयन अब अनलाइनबाटै गर्न सक्छन् । इन्टरनेटको सर्च इञ्जिनमा पोखराका होटल खोजेर त्यहाँ भेटिने नम्बरमा फोन गर्दा आफ्नो बजेट अनुसारको खर्चमा बास, खानपान र घुमघामको व्यवस्थापन सजिलै हुन्छ । कार्यालयको कामविशेषले आइपुगेर गत मंगलवार पोखरा घुम्दै गरेको भेटिएका विराटनगरका पंकज वर्माले भने 'पहिले पहिलेभन्दा पोखरामा भीड बढेछ । घर, गाडी र मान्छे बढेछन् । तैपनि यो सहर घुम्न पाउनुको आनन्द बेग्लै छ ।' सहरले बढ्दो जनघनत्वसँगै घुमघामको गन्तव्य पनि थपेको पाएको उनले बताए ।
त्यसो त धेरै वर्ष अघिदेखि पोखरा उपत्यकाको मुख्य आकर्षण फेवाताल र माछापुच्छ्रे हिमाल हो । पोखराबाट माछापुच्छ्रे हिमालको हवाइ दुरी ३३ किमी मात्रै छ । संसारका अग्ला १४ हिमालमध्ये तीनवटा पोखराबाट देख्न सकिन्छ । मौसम सफा रहँदा फेवातालमा पौडी खेलेको सुन्दर आकृति देखिने माछापुच्छ्रे हिमाल ६९४७ मिटर अग्लो चुचुरो हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने उक्त चुचुरो आरोहणका लागि खुला गरिएको छैन । त्यसैले माछापुच्छ्रेलाई 'कुमारी हिमाल' पनि भन्ने गरिएको छ । गाउँपालिकाले आन्तरीक स्रोत बृद्धिका लागि उक्त हिमालमा पनि आरोहण खुला गरिनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अहिले बहसको विषय भएपनि सरकारले आरोहण खुला गरिसकेको छैन ।
पोखरा उपत्यकामा फेवातालमात्रै धेरैले र सजिलै देख्नेमा पर्छ । तर, यहाँ बेगनास, रुपा, खास्टे, दिपाङ, गु“दे, न्युरेनी, मैदी, र कमल लगायतका नौ ताल छन् । फेवाताल र बेगनासका लागि नगर बस नै सञ्चालनमा छन् । अन्य ताल पुग्न गाडीमा वा हिडेरै जान पनि सकिन्छ । फेवातालमा तालबाराही मन्दिर छ । पोखरा घुम्न आउनेले बाराहीघाटबाट प्रतिव्यक्ति ६० रूपैयाँ तिरेर मन्दिर आउजाउ गर्न सक्छन् ।
फेवा डुंगा व्यवसायी संघका सचिव रुद्र भुजेल भन्छन् 'बाराहीघाटमा डुंगा चलाउनेलाई कहिल्यै फुर्सद हुँदैन । बिहानदेखि बेलुकीसम्म घुम्न आउनेको चाप हुन्छ ।' पामेदेखि ड्यामसाइटसम्म गरेर फेवातालका आठवटा घाट छन् । बाराहीघाट मन्दिर आउजाउ गर्न चाहनेको भीड हुने ठाउँ हो भने अन्य घाटमा निश्चित समयवधिका लागि डुंगा भाडामा लिएर तालको सयर गर्न सकिन्छ ।

पोखरा उपत्यका मुलुकमै सर्वाधिक पानी पर्ने क्षेत्र हो । किन यहाँ धेरै पानी पर्छ ? हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकाल भन्छन् 'यहाँको भूबनोट नै त्यस्तै भएर हो ।' तालतलैया धेरै हुनु, हिमालको नजिक, प्रशस्त वनजंगल र पहाडले घेरिएको भएर यहाँ वर्षा नियमित भइरहने उनले बताए । 'वाष्पीकरणको प्रक्रिया चलिरहँदा वर्षा नियमित हुन्छ,' उनले भने, 'यही पानी परिहरने भएकैले यहाँको मौसम संतुलित रहन सकेको पनि हो । यो पोखराको आफ्नै विशेषता हो ।' न धेरै गर्मी न धेरै जाडो । पोखराको मौसमको यही विशेषताले हिमालीदेखि गर्मी ठाउँमा हुने वनस्पति यहाँ पाइन्छन् । सिस्नुदेखि आँप र कटहरसम्म पाइने पोखराको विशेषता यहाँको मौसममा निर्भर रहेको उनले बताए ।
जहाँ डाँडा-डाँडाबाट झरेका खोलाले तालमा पानी ल्याएका छन्, त्यहीँ गहिरिएर बगेको सेती नदि पोखराको अर्को विशेषता छ । पुरानो पोखराको मध्यभागबाट बगेको सेती नदि केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म गहिरिएर बगेको छ । रामघाटमा प्रष्ट देखिने नदिको पानी त्यहाँबाट पुनः गहिरिँदै भुमिगत भएर दक्षिणको यात्रा गरिरहेको छ ।
यहाँ प्राकृतिक गुफाहरू पनि उत्तिकै संख्यामा छन् । छोरेपाटनमा रहेको गुप्तेश्वर, बाटुलेचौरको महेन्द्र र चमेरे गुफा यहाँ घुम्न आउनेले नछुटाउने गन्व्यमा पर्छ । दुइ भागमा विभाजित गुप्तेश्वर गुफाको पहिलो भाग ४० मिटर लामो छ । त्यहाँभित्र महादेव मन्दिर बनाइएको छ । दोस्रो भाग करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स भनिने पाताले छाँगो देखिन्छ । गुप्तेश्वर पस्न अघि नै बाटोवारि छाँगो हेर्ने ठाउँ छ । घुमन्तेहरू धेरैले गुफाबाट छाँगो हेर्दैनन् । बेला बेला जलस्तर बढ्दा गुफा छाँगो हेर्ने ठाउँसम्म पुग्ने बाटो बन्द गर्ने गरिएको छ । आगन्तुकको सुरक्षाका लागि त्यसो गर्ने गरिएको हो । फेवातालको बाँधबाट पानी छाँगो हुँदै एक किलोमिटर भुमिगत यात्रा गरेर फुर्सेखोलामा पुगेको छ ।

स्तुपभन्दा केही माथि छोटो पदयात्रा रुचाउनेका लागि पुम्दीकोट छ । त्यहाँ भ्युटावरमात्रै छैन, एक रात बास बस्छु भन्नेलाई पनि सहज छ । कालाबाङ घरेडी भनिने उक्त बस्तीमा होमस्टेको व्यवस्था छ । त्यसो त पोखरा आफैंले मात्रै आतिथ्यमा आधारीत व्यवसायको लाभ लिएको छैन, प्रत्येक डाँडाकाडाका बस्ती बस्तीमा होमस्टे, होटल र रेस्टुरा पुगेका छन् । स्थानीयले पाहुनालाई आतिथ्य गर्न जानेका छन् । महानगरबाट बाहिर रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामध्ये जहाँ पुगेपनि आगन्तुकका लागि खान-बस्न सहजै पाइन्छन् ।

पश्चिमाञ्चलको जनजीवन झल्काउने क्षेत्रीय संग्रहालय नयाँ बजारमा छ । गोर्खालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुलनजिक र शक्तिघाटमा गुरुङ जनजीवनको क्होइबो छ । पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियममा पुतलीका संग्रह हेर्न सकिन्छ । यहाँ पुतलीका करीब ६ सय प्रजाति संग्रहीत छन् ।

(कान्तिपुर दैनिकको नव वर्ष परिशिष्टांक 'आरम्भ' मा २०७५ चैत २९ मा प्रकाशित)
No comments:
Post a Comment