Wednesday, January 6, 2010

गरुड गाउँ



करमका अग्ला रुखको टुप्पामा गुँड बनाएका अग्ला चरा। चुचाले माछा र सर्प उडाउदै पुर्‍याउँछन्। एकोहोरो आवाजले कराउँछ। घरि घरि आकाशमा फन्को मार्छ। अनि फेरि गुँडमा फर्किएर बचराको स्याहारमा जुट्छ। मोरङको उर्लावारी-६ मंगलवारेको चन्दनेमा गाउँले यसलाई 'टङर्‍याङ' भन्छन्।

गरुड प्रजातिको यो भुँडीफोर (लेसर एटजुटेन्ट स्टोर्क) हो। सेता लामा खुट्टा, जीउ र चुच्चो। अनि काला पखेटा र पँहेलो घाँटी। यसको आकृति आफ्नै प्रकारको छ। धेर हल्ला र बाधा सबै पशुपन्छीका लागि रमाइला छैनन्। यसलाई पनि त्यस्तै हो। तर, बस्तीको छेउ भएपनि छेडखानी गर्नेहरु नहुँदा यो दुर्लभको सूचीमा परेको चराको ठूलो झुण्ड चन्दनेमा वर्षौंदेखि बसेको छ।

'हाम्लाई केही गर्दैन विचरो चरो,' स्थानीय भगवती खडकाले भनिन्। उनका अनुसार यहाँ दुई दशकदेखि यी चराका गुँड छन्। जोडीले जोडी बचरा हुर्काएर उडाउन्जेल माउहरु शिथिल हुने र मर्ने उनले बताइन। सिमसार र नजिकका खेतबाट माछा, सर्प र अन्य सरिसृप खोजेर गुँडमा ल्याउँदै बचरा हुर्काउँदा कमजोर भएका माउहरु रुखबाट खसेर मर्ने गरेको उनले सुनाइन। एउटा जोडीले वर्षमा दुई-तीनवटा बचरा हुर्काउछन्।

चन्दनेवासीका लागि नौलो नभएपनि यो चरो भारतीय क्षेत्रबाट यदाकदा पस्ने 'किचक' भनिने फिरन्तेहरुको सिकार हुने गरेको छ। गत वर्ष यहाँ आइपुगेका चरा सिकारी फिरन्तेहरुले सातवटा यस्ता चरा रुखबाट खसालेको गाउँलेले बताए। लगतै थाहा पाएपछि जुटेका गाउँलेले उनीहरुलाई कुटपिट गरि धपाएका थिए।

चरा संरक्षणका लागि यहाँ त्यस्तो कुनै औपचारिक अभियान र कार्यक्रम छैन। र, गाविस वा कुनै सरकारी निकायले पनि ध्यान दिनेगरी यहाँ केही गरेको देखिदैन। तीन वर्षअघि पन्छी संरक्षण संघलगायत विभिन्न संस्थाले आएर गाउँलेसँग समान्य कुराकानीपछि दुइवटा चेतनामूलक बोर्ड राखिदिएका छन्। जसबाट यो चराको प्रजाति , बानी, आहारा र महत्त्वबारे जान्न चाहनेले थाहा पाउन सजिलो भएको छ।

चन्दनेमा यही बोर्ड राखिएपछि पनि चरालाई छेडखानी गर्न नहुने रहेछ भन्ने भान गाउँलेमा परेको छ। विराटनगरको स्नातकोत्तर क्याम्पसका प्राणीशास्त्रका प्राध्यापक डा. भरतराज सुब्बा भन्छन्, 'लेसरले यहाँ बाधा नभएरै बास नछाडेको हो।' उनका अनुसार दुर्लभ चराका लागि एकपटकमात्र कसैले गरेको चेतनाका कुराले संरक्षण बलियो भएको छ। वन क्षेत्रको मासिँदा अग्ला रुखहरुबाट विस्थापित भएका भुँडीफोर जोडीहरु यहाँ आइबसेका हुन्। 

डा. सुब्बा भन्छन्, 'हामीले यहाँ ५० वटा लेसर भेट्यौँ, एकै ठाउँमा यत्रो संख्या भेटिनु ठूलो कुरा हो।' उनका अनुसार सिमसार क्षेत्रको व्यवस्थापन हुन सके यस्ता प्रजातिका चरा संरक्षण हुनसक्दछ। यसले वातावरण सन्तुलित राख्न मद्दत गर्छ।

चन्दनेमा गाउँलेलाई चरा नौलो नलागे पनि यहाँ आउने आगन्तुकका लागि यसको क्रियाकलाप हेरिरहुँ जस्तो लाग्छ। नेपालमा गरुडका सात प्रजातिहरु चराविदहरुले रेकर्ड गरेका छन्। यिनमा लेसर, ओपनविल, उलीनेक्ड, ब्ल्याक नेक्ड लगायत छन्।

***
(कान्तिपुरको कोसेलीमा प्रकाशित)

2 comments:

Aakar said...

पहिले पत्रिका मा नै पढेँ कि पढिन त थाहा भएन तर आज यहाँ पढ्दा एउटा अर्को नयाँ कुरा जान्ने मौका मिल्यो । धन्यवाद भिम जी !

वसन्त बलामी said...

लेसरको बारे जान्न पाइयो धन्यवाद भिम जी ।