गहिरिएर बगेको सेती नदिमाथि पोखराको बजार क्षेत्रमा चिप्लेढुंगा र रानीपौवालाई जोड्न पक्की पुल छ । नाम महेन्द्र पुल । वारि एकातिर पुस्तकालय र अर्कातिर आर्ट ग्यालरी छ । पुस्तकालयको भर्याङ छेउ एउटा सालिक छ । त्यो सालिक जनआन्दोलन-२ का प्रथम सहीद भीमसेन दाहालको हो ।
वर्षेनी चैत २६ मा उनको प्रतिमामा माल्यार्पणको कार्यक्रम आयोजना गरिन्छ । उनलाई नजिकबाट चिन्नेहरू स्मरण गर्छन् । राजनीतिक परिवर्तनले शासन सत्तामा आलोपालो जिम्मेवारी पाएका दलका नेता-कार्यकर्ता भाषणमा उनको योगदान अतुलनीय रहेको भन्न छुटाउँदैनन् ।
०००
नेपाल टेलिकममा जागिर थालेका दाहालले एउटा परियोजनामा अल्पकालीन जागिरबाट राम्रो आम्दानी हुने बाटो देखेका थिए । सामान्य आर्थिक अवस्था रहेको घरका उनी कान्छा छोरा थिए । जागिरबाट बेतलवी विदा लिए । परियोजनाको जागिरे भएर पोखरा आए । परियोजनाको कामले धनगढी पुर्यायो । ६ महिना बसेर फेरि पोखरा नै फर्किए ।
रानीपौवाको एउटा घरमा तीन युवक डेरा गरि बसेका थिए । काभ्रेका दाहाल, दाङका विक्रम पंत र विराटनगरका गौतम योञ्जन । 'भीमसेनको एउटा गुण अनौठो थियो, उ कहिलेपनि अनुहारमा उदासी आउन दिँदैनथ्यो,' गौतम सम्झन्छन्, 'उसले प्रोजेक्ट छाडेर टेलिकम फर्किएर पनि आफ्नो इलेक्ट्रोनिक्सको व्यापारको काम थालेको थियो ।' घरेलु र व्यवसायिक समस्याका तनाव उसले कहिल्यै आफूमा हावी हुन नदिने बानी अचम्मको लाग्ने उनले बताए । 'उ राजनीतिक मान्छे थिएन, उसका सपना आम नेपानी जो सजिलोसँग इमानदार पेशा गरिखान चाहन्छन्, त्यही थियो,' उनी भन्छन्, 'चासो राख्थ्यो तर, सत्ता र सरकारको कुरा धेरै गर्दैनथ्यो । गरिखान सजिलो कसरी हुन्छ त्यही विषयमा उ बहस गर्थ्यो ।' साइबर चलाउने भएकाले धेरै प्रकारका पेशा व्यवसायमा लागेकाहरूसँग मित्रवत सम्बन्ध भएपनि दाहाल आफ्नो पेशामा इमानदार रहेको उनले बताए ।
०००
पोखराको बजारमा अब साइबर क्याफे छैनन् भन्दा पनि हुने भइसकेको छ । २०६० तिर हात हातमा मोबाइल सहज भइसकेको थिएन । टेलिकमले ल्याण्डलाइन फोन पनि माग्नेवित्तिकै ग्राहकलाई उपलब्ध गराइहाल्ने सुविधा थिएन । फोन र मोबाइल सीमित हुँदा गति लिएको व्यवसाय साइबर क्याफे थियो । त्यो गरे राम्रै फाइदा पाउने दाहालले बुझेका थिए । पृथ्वीचोकको आनन्द बतासको होटलको भूइँतलामा उनले क्याफे चलाएका थिए । पोखराका होटलहरूमा इन्टरकम जडानको काम गरिरहेका थिए । प्राविधिक काम गर्दागर्दै उनले आफ्नै व्यवसाय गर्न जागिर छाडेका थिए । 'त्यो घटनाको दिन सम्झँदा पनि बडो नरमाइलो लाग्छ,' पंत भन्छन्, 'उ अग्लो थियो । भीडमा परैबाट उसलाई चिनिनु अग्लो हुनुको मात्रै खुबी थिएन, साथीभाइसँग घुलमिल हुने र समस्या पर्दा सहयोग गर्न अघि र्सर्ने उसको गुण मायालु थियो ।' दाहाललाई स्मरण गर्दा उनको सहयोगी बानी बिर्सन नसक्ने उनले बताए ।
२०६२ चैत २६ को दिन महेन्द्र पुलमा रहेको टेलिकमको भवन बाहिर आन्दोलनकारीको नाराबाजी सुरु हुँदा छतमा तैनाथ सुरक्षाकर्मीले गोली चलाएका थिए । सडकमा दाहाल ढलेका थिए । 'त्यो भीड उग्र थिएन तर, न चेतावनी न त लाठीचार्ज । एकैपल्ट गोली हानिएपछि आन्दोलनको आगोमा घ्यु थपेको स्थिति भएको थियो,' पंतले भने, 'अस्पतालमा हामीले लास हेर्न जाँदा उसका साथी सबै शोकाकुल थियौं ।'
दाहालका दुइ श्रीमती र तीन छोराहरू छन् । काभ्रेमा जेठी पत्नी देवकी र छोराहरू दीनेश र विवेक । पोखरामा कान्छी सविता र छोरा विस्तृत । जनआन्दोलनको प्रथम सहिद बन्दा दाहालका कान्छा छोरा डेढ वर्षका थिए । पहिले साइबर क्याफे रहेको ठाउँमा हिजोआज सेल्फ म्यानेज रेमिटको कार्यालय छ । यसका साझेदार सञ्चालक इलामका कमल गुरूङ र दाहाल पत्नी सविता हुन् । देवकीलाई जनआन्दोलनपछि सरकारले टेलिकममा करारको जागिर दिएको छ । जेठा छोरा दीनेश मेकानिकल इञ्जिनियरिङमा स्नातकोत्तरका लागि यतिबेला चीनमा छन् । माहिला छोरा १२ मा पढ्छन् भने कान्छोले एसइइ दिएका छन् । काभ्रेमा रहेकी देवकी र पोखराकी सविता दुवैको एउटै भनाइ छ - 'सहिदका परिवारले आफ्नो को गुमायौं भनेर नसोधियोस् । उनीहरूको अवस्था सोध्न राज्यकै संयन्त्र हुनुपर्छ । आफैं गएर सुविधा माग्दा चित्त दुख्छ ।'
१२ वर्षदेखि टेलिकममा अवधि थप हुँदै करारको जागिरमा रहेकी देवकी स्थायी होस् भन्ने चाहन्छिन् । राज्यले दिएको आर्थिक सुविधा लिन चार वर्षदेखि दुवैजना सम्बद्ध निकायमा गएका छैनन् । सरकारले पनि उनीहरू किन लिन आएनन् भनेर खोजी गरेको छैन । 'हामीभन्दा पनि नराम्रो अवस्था अरु परिवारको होला, उनीहरूका लागि राज्यले सोच्नुपर्छ,' देवकी भन्छिन्, 'सहिदको बलिदानले देशमा सबै नागरिकले सुव्यवस्था चाहेका हुन् । त्यो हुनुपर्छ ।' सहिदका परिवार सधैं आफ्नो वेदना सुनाएर फाइदा लिने पक्षमा नभएको राज्यले बुझ्नुपर्ने उनले बताइन । राज्यबाट सुविधा नलिएकी सविता भीमसेन स्मृति प्रतिष्ठानकी अध्यक्ष छिन् । उनी उक्त प्रतिष्ठानमार्फ सामाजिक काम गर्न चाहन्छिन् । 'सबै ठाउँमा आफैं पुगेर बिलौना गाउँदै जीवन चल्दैन,' उनी भन्छिन्, 'सहिदप्रति सम्मान गर्न चाहने हो भने राज्यले नै व्यवस्था गर्नुपर्छ । राज्यले सबैथोक गर्नुपर्छ भनेर हामी हात बाँधेर बस्छौं भन्ने पनि होइन तर, खोजी गर्ने संयन्त्र भएमात्रै सम्मान अनुभव हुने रहेछ ।'
(२०७६ बैशाख ११ मा कान्तिपुर गण्डकी संस्करणमा प्रकाशित)
No comments:
Post a Comment