
दिल्लीबाट पढेर फर्केलगत्तै नाटक निर्देशन थाल्दा कलाकर्मी सुनील पोखरेल तन्नेरी थिए । २०४३ मा राष्ट्रिय नाचघरमा मञ्चनका लागि सेक्सपियरको 'ह्याम्लेट' को पूर्वाभ्यास चलिरहेको थियो । 'रवि शाह दाइले मेरो नाउँ भन्नुभएको रहेछ,' पोखरेल सम्झन्छन् ।
फ्रेञ्च कल्चर सेन्टरका त्यसबेलाका निर्देशक झँ रोम्नी सिआन र कल्पना घिमिरे उनलाई भेट्न आए । झँले नेपालमा कस्ता नाटक मन पराइन्छन् भनेर सोधेपछि कल्पनाले हास्य र मेलोड्रामा मन पराइने जवाफ दिएकी थिइन् । उनले मोलियर भनिने फ्रान्सेली प्रसिद्ध नाटककार बाप्तिस्त पोक्लाँको 'स्कापाको दाउपेच' पढ्न दिए ।
आरोहण गुरुकुलको 'नेपथ्य त्रैमासिक' मा चार वर्षअघि उनले लेखेकी छन्, 'मोलियरको नाटक नेपालीमा अनुवाद गरेपछि त्यसको मञ्चनका लागि तयारी थालियो ।' फ्रान्सेली चलनअनुसार नाटकको आलेख विभिन्न निर्देशकलाई दिएर मञ्चन प्रस्ताव गरियो । हाम्रा अग्रज निर्देशकहरूले अरूले हेरेको आलेखमा काम गर्न मानेनन् । नाचघरले तन्नेरी निर्देशक पोखरेलको परिचय गरायो ।'ह्याम्लेट' को पूर्वाभ्यास हेरेर फिरेपछि कल्पनालाई निर्देशकीय क्षमतामा पत्यार भएन । उनले रोम्नी सिआनलाई भनिन्, 'त्यस्तो ठिटोले पनि के काम गर्न सक्ला ?' जवाफमा उनले भर्खर पढेर फिरेका तन्नेरी निर्देशक प्रयोग गर्न हिचकिचाउँदैनन्, मान्छेलाई उमेर होइन खुबीले योग्य बनाउने बताए ।
नाचघरमा 'स्कापाको दाउपेच' डेढ महिना अपार भीडका साथ चल्यो । त्यही नाटक 'चतुरेको दाउपेच' का रूपमा टेलिशृंखलामा पनि आयो । सरोज खनाललाई कलाकारितामा ल्यायो । खेम शर्मा र वीरेन्द्र हमालजस्ता कलाकारलाई लोकपि्रय बनायो । दुई दशकपछि पनि पोखरेलको सक्रियता उस्तै छ । उनकै निर्देशनमा विराटनगरस्थित सुशीला कोइराला नाटकघरमा यो साता 'चतुरेको दाउपेच' मञ्चन भइरहेको छ । यसपटक राजधानीमा रहेका पुराना र नाम चलेका कलाकार मञ्चमा छैनन् ।तर, नाटकको स्वाद लिन थालेका पूर्वेली दर्शकका लागि युवा कलाकार कृष्णप्रसाद धिताल, विरोज लामिछाने, मिलन नेपाली, दीपा पोखरेल, खेम नेपाली, लक्ष्मणपुण्य लामिछाने, उद्धव सापकोटा, रामकुमार प्याकुरेल, सीता न्यौपाने र सम्झना आचार्यलगायतले अभिनय कौशल प्रस्तुत गरेका छन् । दुई चरणमा गरी १५ दिन प्रदर्शनको लक्ष्य राखिएको नाटकमा भीड भएर दर्शकले मजा मानेका छन् । बाबुको सहमति बेगर छोराहरूले विवाह गरेपछि दुई परिवारबीच वातावरण सहज बनाउन चतुरे नामक पात्रले गरेको चलाखीपूर्ण भूमिका नाटकमा छ । यसपटक युवा कलाकर्मी धिताल चतुरेको भूमिकामा छन् ।
(१२ असोज विहीवारको कान्तिपुर/कला र शैली पृष्ठमा प्रकाशित)
No comments:
Post a Comment