'अन्न किन फाल्नु हुन्छ, तपाइलाई रुचेन ? म खाइदिउँ ? ' एक गाँस जति नै खानेकुरा छाडेर प्लेट जुठेल्नामा राख्नै लाग्दा चम्मच खसिसकेको थियो। एकाएक जुठो प्लेट समातेर १४/१५ वर्षकी छोरीजस्ती केटीले सोधेका प्रश्नले ती अधबैंसे महिलालाई परेको अप्ठ्यारो अनुहारबाटै झल्किरहेको थियो। उनले आत्तिँदै भनिन्, 'होइन होइन मेरो जुठो किन खानु हुन्छ ? पर्दैन।' अब ती किशोरी अलि कडा देखिइन्। भनिन्, 'त्यसो भए अन्नको मान राख्नुस्। खुरुक्क खानुस्।' महिलाले प्रतिवाद गरिनन्। बरु हातैले खाइन र, खाली परेपछि प्लेट बल्ल तह लाउन पाइन।
करिब एक हजार मान्छे खाइरहेका थिए। हल्ला थिएन। सानो हल्ला कतै सुनिन्थ्यो भने अघिकी किशोरी र खाना खाइसकेर प्लेट राख्न खोज्ने बीचका त्यस्ता संवादमात्रै। म अनौठो कार्यक्रममा सरिक थिएँ - नाम थियो मर्यादा सभा।
यो खान्कीको मेलो त्यही कार्यक्रमका अतिथिका लागि थियो। भारत राजस्थान विकानेरको गंगासहरमा आयोजित यो सभामा विभिन्न भागबाट करिब २० हजार सहभागी थिए। दिउँसो चार घण्टाको सभापछि आचार्य तुलसीको समाधिस्थल छेउको सामुदायिक विश्रामगृह आशिर्वाद भवनमा मेलाजस्तै थियो। जहाँ आयोजकले सहभागीका लागि खानाको प्रबन्ध गरेका थिए। त्यहाँ २५ रूपैयाँको टिकट लिएर खाना पाइन्थ्यो। त्यहाँ पुग्नअघि बाटामा अन्य दुई यस्ता खानाका स्टल थिए, जसका आयोजक आफ्ना सहयोगीसँगै उभिएर आउजाउ गर्नेलाई सितैंमा आफ्नो खाना-नास्ता खाइदिन आग्रह गरिरहेका थिए। प्लाष्टिक बोटलका पानी बाँडिरहेका थिए। यो सितैंको खाना खानेका लागि मूल आयोजकको जस्तो 'अन्न फाल्न नहुने' नियम थिएन।
०००
संजय दुगडले झोला खोले। त्यसमा ५० वटा ढाका टोपी थिए। टोलीका सदस्य भेला गरेर उनले पूर्वनियोजित कार्यक्रम सुनाए - 'सभा हलमा पस्दा सबैले ढाका टोपी लगाएको हुनुपर्छ। यो हामी नेपालीको पहिचान हो।' अस्ति भर्खर संविधानसभा-२ को पहिलो बैठकका दिन मेरा आँखा झल्झली आए। विभिन्न जात समुदायको पहिचानका खातिर सभासदका पहिरनका तस्बिर जो अखबार र अनलाइनहरूमा देख्न पाइएको थियो।
हामी नेपालभन्दा करिब २ हजार किलोमिटर टाढा थियौं। विराटनगरबाट महिला, बालबच्चा र बलियाबांगा गरि ६४ जनाको टोली आइपुगेको थियो। गंगासहरमा सप्तरी, झापा, पर्सा, इलाम, काठमाडौं र नेपालगञ्ज लगायतबाट आएकाहरू मिसिँदा संख्या सय नाघेको थियो। यो मारवाडीको सभा थियो। सहभागीमध्ये ९० प्रतिशतको व्यवसाय उद्योग-व्यापार थियो। केहीले आफ्ना लागि आफै ढाकाटोपी लिएर आएका थिए।
'हामीले दौरा-सुरुवाल र कोट-टोपी लाउनु पर्छ भनेका हौँ तर, तयारीमा समय पुगेन,' दुगडले सुनाए, 'त्यसैले ढाकाटोपीमात्रै भए पनि हामीलाई यसले नेपाली हुन् भन्ने फरक परिचय दिन्छ।' गंगासहर मारवाडी बहुल रहेछ। स्थानीयसँग संवादका लागि दुगद लगायत हाम्रा टोलीका धेरै सहभागीलाईभाषामा समस्या थिएन। ढाकाटोपी लगाएर अगाडि नेपालको झण्डा लिइ कार्यक्रमस्थलमा पस्दा नेपाली टोलीले तालीको स्वागत पायो। बस्नका लागि अग्रस्थानमा छुट्टै ठाउँ पायो। टोली संयोजक मालचन्द सुरानाले आफ्ना कुरा राख्ने मौका पनि पाए। उनले भने, 'सन् १५ को चतुर्मासमा हामी आचार्यलाई विराटनगरमा स्वागत गर्न आतुर छौँ।'
०००
जैन तेरापञ्थका ११ औ आचार्य महाश्रमणको यो कार्यक्रम जैनीहरूको धार्मिक समारोह थियो। सेता लुगामा बीचमा बसेका महाश्रमणका अघिपछि उस्तै लुगामा साधक र साध्वीहरू थिए। कतै फूलमाला र रंग थिएन। बेला-बेला आचार्य बोल्थे। अतिथिलाई पनि पालो दिइन्थ्यो। सात्विक जीवनका बारेमा सुनेर बसेमध्येको ठूलो जमातका जीवनशैली आधुनिक देखिन्थ्यो।
भारत आकारमा जति विशाल छ, त्यति नै धार्मिक विविधता पनि छन्। धर्मले डोर्याएको जमातलाई दल र नेताहरूले पनि शक्तिका रुपमा हेर्ने गरेका छन्। यसैको झल्को मिल्यो सभामा। तीनदिने सभाको पहिलो कार्यक्रममा भारतका वित्तमन्त्री पी. चिदम्वरम आए। दोस्रो दिन विपक्षी नेता डा. मुरलीमनोहर जोशी, डा. हर्षवर्धन र प्रवेश वर्मा आए। उनीहरूले जैन श्वेताम्वर तेरापञ्थ धर्म र अहिंसाका पक्षमा आचार्य र अनुयायीका काम बारे आफ्ना भनाइ राखे। कतै-कतै आफैंसँग सम्बन्ध रहेका सन्दर्भ पनि सुनाए। दिल्ली विधानसभा सदस्य तथा भाजपाका युवा नेता प्रवेश वर्माको भनाइ अलि फरक थियो। उनले आफ्ना पिता र आचार्य तुलसीको सम्बन्धबारे सुनाएपछि भने, 'यस्तो सभा हाम्रा लागि परलोकको ब्यालेन्सीट ठीक राख्नका लागि हो। यहाँको ब्यालेन्सीट जसरी चले पनि सबैलाई धर्मले परलोकमा राम्रो ठाउँ चाहिएको छ।'
चिदम्वरमले आचार्य तुलसीको चित्र अंकित भारतको ५ र २० रूपैयाका सिक्का अनावरण गरे। जैन धर्मका आचार्य तुलसी नवौं सन्त थिए। ८३ वर्षको उमेरमा उनी सन् १९९७ मा दिवंगत भएका हुन्। अहिंसाको सन्देश दिने जैन धर्ममा सन्तहरू मुखमा सेतो पट्टी लाएर साधना र प्रवचन गर्छन्। आफ्ना जीउका लुगाबाहेक एक जोर अरु बोक्ने। बेलुकी भोजन नगर्ने र खाली खुट्टा पैदल यात्रा गर्ने सन्तको जीवन आफैंमा अनौठो भएको बुझ्न मिल्यो। दिनको ६/७ किलोमिटर पैदल यात्रापछि पुगिएको ठाउँमा विश्राम गर्ने, प्रवचन दिने र रात बिताएर अर्को गन्तव्यमा निस्कने आचार्यको टोली सवा सय जना हाराहारीको थियो।
यसपटक आचार्य तुलसीको समाधिस्थल पनि रहेको गंगासहरले अलि लामो समय पाएको थियो। नेपाली टोलीका अगुवा मालचन्द सुरानाले भने, 'आचार्य वर्षामा हिँड्दैनन्। जहाँ पुग्छन् त्यहाँ चार महिना बस्छन् र प्रवचन दिन्छन्।' भिक्षा मागेर भोजन जुटाउने भनिएका आचार्य महाश्रमणको बसाइ सरल थियो। बोली प्रभावशाली थियो भने शैली सरल देखिन्थ्यो। आचार्य जति सरल देखिन्थे, कार्यक्रम अपत्यारिलो रुपमा भव्य थियो। करिब अढाइ बिघा क्षेत्रफलमा सभाको पण्डाल लगाइएको थियो भने कार्यक्रम स्थानीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण चलिरहेको थियो।
खेलकुद वा कन्सर्ट खिच्ने जसरी ट्रलीमा मुभी क्यामेरा तल-माथि गरिरहेका थिए। सभास्थलको प्रवेशद्धारदेखि समाधिस्थलसम्म मानौँ मेला लागेको थियो।
०००
कार्यक्रमले सहरका कुनै धर्मशाला, होटल र सरायहरू खाली थिएनन्। सितैं खाना खुवाउनेदेखि आगन्तुकलाई घुमाउने र किनमेल गर्ने विशेष व्यवस्था थियो। आगन्तुकलाई भाडामा टेम्पो र ट्याक्सीले नठगुन् भनेर उनीहरुका संगठनसँग सभाका आयोजकले सम्झौता गरेका रहेछन्। बजार जहाँ गए पनि टेम्पोमा ५ रूपैयाँ। ट्याक्सीमा मिटर वा आपसी सहमति।
कार्यक्रमस्थल बाहिर बसमा एम्बुलेन्स थियो। पाँचवटा क्याविन भएको उक्त एम्बुलेन्समा स्वास्थ्य जाँच गराउनेको लामो लाम थियो। बसका कर्मचारी पालो मिलाइ बिरामीलाई भित्र जान दिँदैथिए। बसका इञ्चार्ज रोहित दुगडले भने, 'हामी मुम्बईबाट आएका हौं। यसमा पाँचजना डाक्टर र हामी १२ जना कर्मचारी छौँ। ट्रष्टले चलाएको हो।'
तीन वर्षअघि राजस्थानको अमेठबाट सञ्चालनमा ल्याइएको बस अनौठो अस्पताल थियो। स्वास्थ्य जाँच गर्ने, औषधि दिने गरेको बस आचार्यको कार्यक्रमस्थलमा पछिपछि हिँडाइने उनले बताए। 'आचार्य आफ्ना साधकहरूसँग पैदल यात्रा गर्नुहुन्छ। हामी पछि-पछि उहाँ बसेको ठाउँ पुग्छौं,' उनले भने 'आचार्य बसुञ्जेलको अवधि बसेर बिरामीलाई सेवा दिन्छौँ। भित्र चस्मा बनाउने, एमआरआइ, एक्स-रे, प्याथोलोजी ल्याबका सबै सुविधा छन्।'
गंगासहरमा कार्यक्रम आयोजनाका लागि जिम्मेवारी लिएका हीरालाल मालुको अनुभवमा सन्तको सभालाई नगरपालिका, स्थानीय प्रशासन र दलहरूले पनि सघाउने गरेका छन्। 'यहाँ यो कुनै खास समुदायको मात्रै कार्यक्रम हो भन्ने छैन। सबैको सहयोग छ। त्यसैले ठूला पार्टीका नेताहरूले कार्यक्रममा आउन सहयोग मागिरहन्छन्,' उनले भने, 'आचार्यको स्वीकृतिमा मात्रै हामीले उनीहरूलाई समय दिन्छौँ।' चालु वर्षको चतुर्मासका लागि आचार्यको दिल्ली जाने कार्यक्रम तय भएको बताए। भने 'यो कार्यक्रमका लागि एक दर्जन समिति सक्रिय छन्। सबैको समन्वयले यति ठूलो कार्यक्रम गर्न सम्भव भएको छ।'
०००
मारवाडी समुदायभित्र श्वेताम्वर, दिगम्वरलगायत विभिन्न सम्प्रदाय छन्। जैन श्वेताम्बर तेरापञ्थको यो कार्यक्रममा भाजपा नेता डा. मुरलीमनोहर जोशीले सम्बोधनका क्रममा भने, 'जैन समुदायलाई अल्पसंख्यक भनिन्छ, यो तरिका मलाई अलि मन पर्दैन। थोरै भएकाले यसो भनिएको होला।' जोशीको भनाइको प्रत्युत्तरमा आचार्य महाश्रमणले भने, 'मलाई यस्तो लाग्छ कुनै पनि समुदायलाई अल्पसंख्यक भनिनु हुँदैन। बरु संविधानबाट अल्पसंख्यक भन्ने शब्द नै झिकिदिनु नि।'
सभामा भारतका विभिन्न ठाउँबाट आएका सहभागीको जमात रिझाउन नेताहरू लागिपरेका देखिन्थे। आचार्य आफैं मोबाइल बोक्तैन रहेछन्। उनको टोली पनि मोबाइल बोक्तैन रहेछ। तर, उनीहरुका कार्यक्रम तय गरिदिन संगठनका ठूला सञ्जाल सक्रिय थियो। यहाँ भेटिएका तेरापञ्थ युवक परिषद्का राष्ट्रिय अध्यक्ष अविनास नाहरले भने, 'महाराजका लागि हुने जुनसुकै कार्यक्रमका स्वयंसेवी हामी हौँ। देशभरि हाम्रो संगठन छ। हामी सञ्चारमा मोबाइल एप्ससम्म पुगेका छौँ।'
संगठनले २१ देखि ४५ वर्ष उमेरका युवालाई समेट्ने भएकाले यही जनशक्ति धेरै खटिएका हुने उनले सुनाए। भारतभरका ३३० परिषद्मा चार हजार युवा संलग्न रहेको उनले बताए। 'सबैले आफ्नो श्रम र धन लगाउँछन् अनि महाराजका कुरा सुन्छन्,' उनले भने 'हाम्रा आचार्यलाई कुनै लालसा छैन। हामी यी महान मान्छेका फलोअर हौँ।' परिषद्ले नशामुक्तिका लागि अभियान पनि सञ्चालन गरेको उनले बताए।
शायद यसैको प्रभाव हुँदो हो, कार्यक्रमस्थलको निकै पर परसम्म पनि चुरोट, खैनी र गुट्खा राखिएका थिएनन्। भारतमा त्यसै पनि मदिराको बेचबिखन नियन्त्रित छ। हामीकहाँ जसरी जथाभावी पाइँदैन। जहाँ पाइन्छ त्यो ठाउँ धार्मिक स्थलभन्दा निकै पर र चर्चाविहीन हुन्छ। खुला रुपमा बेचबिखन हुँदैन। मान्छे मातेर हिडेका भेटिंदैनन्। यहाँ त्यस्तै सादा जीवन थियो।
०००
मुलुकको पुरानो औद्योगिक सहर विराटनगरको सय वर्षअघिको इतिहासले भन्छ- मारवाडीका ६ परिवारलाई तत्कालीन बडाहाकिमले विराटनगर बोलाएका थिए। त्यसबेला मोरङमा ठूलो जंगल थियो। विराटनगर जुट मिल पनि बनिसकेको थिएन। मारवाडीका परिवारलाई २/२ बिघा जमिन दिएर बसोबास गर्न लगाइयो। उनीहरूले धान-चामल र जुटको खरिदबिक्रीका लागि गोला खोल्दै गए। ऋणको कारोबार थाले। शताब्दी वर्ष मनाउने तयारी गरिरहँदा अहिले उपमहानगरको बजार क्षेत्रमा मारवाडीकै घर धेरै छन्।
सन् २०१५ मा विराटनगरमा जैन चतुर्मासा हुनेछ। आचार्य महाश्रमण पैदल यात्रा गर्दै आइपुग्ने छन्। नेपाली भूभागमा उनको चार महिने कार्यक्रम हुन लागेको यो पहिलो हुनेछ। समारोह आयोजनाका संयोजक मालचन्द सुराना भन्छन्, 'सबै भाषाभाषी र संस्कृतिका नेपालीले आफ्नो पहिचान कायम गरि आफ्नो संस्कार मान्ने वातावरण बन्नु नै हामीले पनि खुलेर जिउने अवस्था आएको भन्ने बुझ्छु।' संस्कारमा कानुनी संकुचन रहने हो भने नेपालमा मारवाडीले निर्धक्क बाँच्ने वातावरण नहुने उनको बुझाइ छ।
चतुर्मासा आयोजनाका लागि करिब १० करोड बराबरका भौतिक पूर्वाधार निर्माणका काम युद्धस्तरमा जारी छ। सुरानाका अनुसार उक्त समारोहमा भारत र विभिन्न भागबाट करिब चार लाख श्रद्धालु आउने छन्। उनले भने, 'उनीहरूलाई खान-बस्न र सजिलो गरि सभामा सहभागी गराउने जिम्मेवारी नेपाली मारवाडीको काँधमा छ।'
***
(२०७०/११/१० को कान्मातिपुर कोसेलीमा प्रकाशित सामाग्रीमा केही थपथापसहित ब्लगमा साभार)

No comments:
Post a Comment