Saturday, March 1, 2014

चमेराको इन्टरकोर्स

एउटा अर्को गर्दै धेरैले लगातार खेदन थाले । मानौ कमेन्टको बाढी आएको हो । चरा समूहको फेसबुक पेजभित्र मैले अमीश पटेलको फोटो देखेपछि गरेको कमेन्ट तेस्रो नम्बरमा थियो । भारत गुजरातको जामनगरका पटेल लामो समयदेखि वाइल्डलाइफ फोटोग्राफीमा छन् । उनले इन्टरनेटको सामाजिक सञ्जालभित्रको चरा समूहको पेजमा त्यस दिन चमेराको फोटो अपलोड गरेका थिए । समूहमा पनि पुरानै सदस्य हुन् । तर, चमेरा चरा होइन, त्यसैले विरोधका कमेन्ट आए । पेजमा 'एडमिन' (म्यानेजर) ले पनि उनलाई फोटो हटाउन आग्रह गरेर लेखे । केही घण्टापछि त्यो फोटो हटाइयो । 
पटेलले नबुझेर राखेका थिएनन् । मलाइ लाग्यो उनले टेष्ट लिएका थिए । समूहका बग्रेल्ती सदस्यमा शायद उनी गम्भिरता छ कि छैन भनेर हेर्न चाहन्थे । सामाजिक सन्जालको समुह चराका तस्बिर खिच्नेहरूको समूह अलि फराकिलो प्लेटफर्म हो । जे रुची छ त्यसका समुह छन ।
आसपास देखिने/भेटिने पशुपंछीका नाम हामीलाई थाहा भएन भने सोध्न सकिने बाटो इन्टरनेटले खोलेको छ । त्यसमध्येको एउटा चौतारी 'चरा समूह' हो । सदस्यको ध्यानाकर्षण गराउनैका लागि भए पनि नयाँ केही गरियो भने चर्चा हुन्छ । तर, पटेल जसरी चमेरो मैले त्यो पेजमा अपलोड गरेको छैन । यसको 'इन्टरकोर्स' खिचेको केही हप्तायता एउटा रमाइलो समस्या सामना गर्नु परिरहेको रहेको छ । त्यो के हो भने भाले चमेराको गुप्तांग । जसले जसले यसलाई नजिकबाट देखेका छन् । छक्क परेका छन् । बाटामा भेटियो भने मैले सामना गर्ने एउटा प्रश्न अहिले सामान्य जस्तो लाग्छ 'खै त्यो चमेराको क्लोजअप हेरौं हेरौ ।' टार्न सकिनेलाई टारिन्छ । टार्न नसकिनेलाई ल्यापटप खोलेर देखाउनुको विकल्प हुँदैन । प्रकृतिको अनुपम सिर्जनाभित्र पर्ने यो जीवबारेमा तथ्य जति खोतल्यो त्यति रमाइला छन् । यसका विषयमा रुची एउटा संयोगले जगाएको थियो । 
०००
विराटनगरको शहीद रंगशालामा योगगुरु रामदेव आउने कार्यक्रम थियो । उत्तर कुनामा मञ्च बनाइएको थियो । उनका लश्कर प्रवेश गर्नेबित्तिकै हेलिकोप्टरले आकाशबाट पुष्पवृष्टि गराउने कार्यक्रम रहेछ । १० मिनेटअघि नै हेलिकोप्टर रंगशालाको आकाशमा देखियो । फूल झार्न थाल्यो । म केही साथीहरूका साथ कार्यक्रमका तस्बिर लिन पुगेको थिए । 
सबैको ध्यान फूलवर्षाले तान्यो । मेरो ध्यान हेलिकोप्टरको चर्को आवाजले बिथोलिएका चमेराले ताने । रंगशालाको उत्तर पर्खालछेउ मोरङको जिल्ला प्रशासन कार्यालय, सभाकक्ष र प्रजिअ बस्ने क्वाटर छ । फराकिलो यो क्षेत्रमा दुइ/तीनवटा ठूला पुराना रुख छन् । त्यसमा चमेरा बस्छन् । यो रुटमा जिल्ला प्रशासन हातादेखि गोल्छा परिवारको आवास गृह हाताको चार सय मिटर क्षेत्रमा जहिल्यै चमेरा देख्न पाइन्छ । सिडिओ क्वाटर, कि गोल्छा अर्गनाइजेशन । पालो मिलाइ मिलाइ ठाउँ सरेर बस्छन् । 
मैले पुष्पवृष्टिको साटो आकाशमा चमेराका चर्तिकला खिचें । त्यसको केहीबेरपछि औपचारिक कार्यक्रम भयो । रामदेव आए । योगका कुरा गरे । त्यसबेलाका मन्त्री र नेता आए । रामदेवलाई ढाकाटोपी लगाइदिने नाटक देखाइयो । मञ्चमा रामदेवको योग सुरु भयो । रुखमा चमेरा त उल्टो आसनमा सधैं बसेकै थिए । छुट्याउन गाह्रो थियो, चमेराको सिको योगगुरुले गरेका हुन् कि उनको त्यो जीवले । अफिस आइयो । खबर लेखियो । 
यसबीचमा केही दिनअघि बिद्युत प्राधिकरणको ट्रलीमा चढेर मित्र संजीव खनालले चमेराका केही तस्बिर खिचेका थिए । उनीबाट मैले दुइ स्न्याप लिएर कसैले यो जीवबारे लेख्ने भए काम लाग्छ भनेकाको थिए । चार दिनपछि फुर्सदमा आफ्ना आर्काइभमा चमेराका तिनै संजिवजी र आफैले खिचेका तस्बिर हेरेपछि मलाई इन्टरनेटमा खोज्न मन लाग्यो - नेपालमा चमेराको अवस्था कस्तो होला ? 'ब्याट्स इन नेपाल' सर्च गर्दा गुगलले धेरैवटा लिंक देखायो । तीमध्येका एउटा लिंक छानेर खोलियो । त्यसमा एकजना विदेशी अध्ययनकर्ताले नेपालका गुफामा पाइने चमेराका बारेमा गरेको शोधमा आधारीत लेख थियो । लेखका मुन्तिर एकजना पाठकको प्रतिक्रिया थियो । नाम हरि अधिकारी, वनविज्ञान अध्ययन संस्थान पोखरा । इमेल फलानो । फोन नम्बर फलानो ।
मैले त्यो नम्बरमा फोन गरें । उताबाट जवाफ आयो -'म हरि होइन । उसको भाइ निरन्जन हो । दाजु जर्मनीमा पढ्न जानु भएको छ । सम्पर्क गर्नु छ भने इ-मेल लेख्नुस् ।' मैले त्यही गरें । दोस्रो दिन हरिको जवाफ प्राप्त भयो । उनले इमेलमा भनेका थिए 'चमेराका बारेमा तपाइको जिज्ञासाका बारेमा थाहा पाउँदा खुशी लाग्यो । लौ कुरा गरौं । स्काइप (भिडियो च्याट) मा आउनुस् ।' तेस्रो दिन अफिस जाँदा ल्यापटप लिएर गइयो । स्काइप डाउनलोड गरेर युजर बनाइयो । अनि खुला राखेर प्रतीक्षा गरियो । 
हरि अनलाइन भए । करीव २५ मिनेटको कुराकानीमा उनले आफ्ना बारे बताए । साथमा चमेराका अवस्था र चेतनामुलक गतिविधि बढाउन किन आवश्यक छ भन्ने पनि बताए । साथै नेपालमा चमेराको अध्ययन गर्नेहरूका विषयमा पनि सम्पर्क हुन माध्यम इ-मेल गरिदिने वाचा गरे । बुटबलका यी युवा दिगो विकासमा स्नातकोत्तरका लागि जर्मनीमा अध्ययन गर्दै थिए । मामाघर पाल्पा जाँदा फिरन्तेहरूले चमेरा सिकार गरेको देखेर नराम्रो लाग्थ्यो । पछि स्नातक तहको अध्ययनका लागि पोखरा आए । कलेजमा 'ब्याट फ्रेण्ड्स' समूह बनाए । पकेट खर्च भेला पारेर केही पम्पलेट तयार पार्न थाले । समूहले विभिन्न विद्यालयमा गइ चमेरा जोगाउनु किन आवश्यक छ भन्नेमा विद्यार्थीलाई बुझाउने अभियान चलायो । 
हरिका इमेलबाटै धेरै शोधकर्ताका सूची प्राप्त भए । सबैसँग सम्पर्क गर्दा प्राप्त हुने सूचना भद्रगोल पनि हुन सक्थ्यो । मैले केही खास नाम छनोट गरें । म विराटनगरमा रहेर इन्टरनेटको माध्यमले जानकारी बटुलीरहेको थिए । पूर्वका विभिन्न क्षेत्रमा अध्ययन गरेमध्येका संजन थापालाई भेट्दा अझ धेरै जानकारी पाइने भयो । विराटनगरको पोखरिया घर भएका उनी पढाइ सकेर काठमाडौंमा रहेछन् । मैले फेसबुकमा खोजें । धेरै लिंकमध्ये एउटा संजनको आफ्नो प्रोफाइल  तस्बिरको ठाउमा चमेरा थियो । मैले मित्र प्रस्ताव पठाएँ । उनलाई म्यासेज पनि लेखें । जवाफ आयो । यसपटक म हरिसँग जसरी भिडियो च्याटबाट सन्तुष्ट हुने अवस्था थिएन । किनभने म विज्ञानको विद्यार्थी थिइँन । मलाई वन्यजीवनबारे बुझन प्रकाशित पुस्तक र शोधपत्र पढ्नै पर्ने थियो । र, त्यसको सजिलो बाटो शोधार्थीले नै मलाई बुझाउनु पर्ने थियो ।  
०००
एउटा कार्यक्रममा पाएको निम्तोलाई उपयोग गरेर उपत्यका खाल्डोको यात्रा तय भयो । मेरो मस्तिष्कमा भने चमेराका विषयमा जानकारी बटुल्ने लहड थियो । काठमाडौं पुगेर दुइ विद्यार्थी भेटियो । उनीहरू थिए संजन र मंजित विष्ट । साना स्तनधारी जीवका बारेमा अध्ययन गर्ने समूह बनाएका संजन र पढ्दै रहेका विष्ट, दुवैका अनुभव फरक थिए । समाज कल्याण परिषद हाताका घना रुखहरूमा चमेराको ठूलो झुण्डको वास थियो । ती रुख छिमोलिए । वासस्थान विनास देखेर विष्ट दुखी थिए । चितवनका विभिन्न भागमा पुगेर अध्ययन गरिरहेका संजन जोगाउने अभियानमा तल्लिन थिए । विभिन्न स्थानमा चमेराका लागि बस्न र लुक्न मिल्ने गुँड बनाउने र राखिदिने, कहाँ कस्तो प्रजाति कति संख्यामा देखिए भन्ने जानकारी बटुल्ने सञ्जनको समूहले गरिरहेको रहेछ । एमएस्सी र बीएस्सीका विद्यार्थी मिलेर उनीहरुले साना स्तनधारी अध्ययन तथा संरक्षणका लागि संस्था दर्ता गरि जुटेका रहेछन् । खोज्दै बुद्धनगरको अफिस पुगियो । यहाँ पुग्दा एउटा नौलो कुराले मलाई पर्खिरहेको थियो । त्यो थियो स्मल म्यामल फाउण्डेसन दर्ता गरेपछि सञ्जनको समूहले निकालेको पुस्तक । यसमा थोरै थोरै भए पनि नेपालमा हालसम्म देखिएका प्रजातिबारे सचित्र जानकारी रहेछ । थापाले बताए-'चमेरा चेपाङहरूले खान्छन् । जाल थापेर सिकार गर्छन् ।'
काठमाडौंमा संजनको समूह भेटेपछि थाहा भयो, नेपालमा हालसम्म चमेराका ५३ प्रजाति पाइएका छन् । संसारभर हालसम्म पाइएमध्ये ७० प्रतिशत चमेरा फलाहारी छन् । बाँकी ३० प्रतिशत कीरा, फ्टयाङ्ग्रा, मासू र रगत खानेहरू छन् । 
इन्टरनेटको विश्वज्ञानकोष 'वीकीपेडिया' को 'ब्याट' पेजमा भनिएको छ- संसारभर हालसम्म पाइएका स्तनधारी जीवमध्ये धेरै संख्या भएकाहरूमा चमेरा दोस्रो स्थानमा पर्छ । चमेराको संख्या अरु स्तनधारीका तुलनामा २० प्रतिशत छ । मुल जाती र प्रजाति गरि संसारभर हालसम्म १२४० प्रकारका चमेरा पाइएको रेकर्ड छ । मेगाचिरोप्टेरा र माइक्रोचिरोप्टेरा गरि चमेरा दुइ प्रकारका छन् । माइक्रो साना आकारका चमेरा हुन् । यो जीवको विशेषता समूहमा बस्नु हो । यिनीहरू एक्लै बस्दैनन् ।
नेपालमा गुफामा बस्ने चमेराको ठूलो झुण्ड हेर्नु परे पोखराको चमेरे गुफा पुग्नु पर्छ । चमेरा सिकार गरेको वा खाएको हेर्नुपरे चितवन र मकवानपुरका भित्री गाउहरूका चेपाङ बस्ती पुग्नु पर्छ । संजनले सुझाएका क्षेत्रमध्ये मकवानपुरको काँकडा पुग्न सजिलो थिएन । लोथर नजिकैबाट चार घण्टा उकालो बाटो । चितवनमा त्यसबेला माओवादी लडाकुको शिविर रहेको शक्तिखोरमा अलि सजिलो थियो । मोटरसाइकलमा पुग्न सकिने भएकाले मैले चितवन छाने । 
म कलेजका लागि शोध गरिरहेको थिइँन न त यो विषय मेरो अखबारले दिएको कुनै 'एसाइन्मेन्ट' मै पर्थ्यो । तर, तस्बिरहरू खिचेपछि गुगलमा एउटा क्लिकबाट थपिएको जिज्ञासा शान्त पार्न म पोखरा र चितवन पनि जाने भए । 
तीनदिने राजधानी बसाइपछि पोखरा पुगें । त्यहा वन विज्ञान अध्ययन संस्थान गइयो । नेपालमा जंगली कुकुरका बारेमा शोध गरेका विद्यार्थी अम्बिका खतिवडा भेटिए । उनका विषयमा मैले केहीअघि क्यामेरा ट्रयापमा मिल्के' लेखिसकेको थिए । उनले प्राध्यापक र केही जानकार बिद्यार्थी भेट गराए । मेरा लागि गाइडको काम गरे । चमेरे गुफा र धजे डाँडा गइयो । पोखरामै चमेरे गुफा र धजे डाँडामा पाइने चमेराका आकार फरक थिए ।
पोखरापछि चितवन पुग्नु थियो । पुगियो । शक्तिखोर गाविसको शक्तिखोला बहुदल बजार । चेपाङका घर खोज्दै साँझपख पुगेको त्यो सानो बजारमा मलेखुका माछा जसरी बाँसका कप्टेरामा चमेरा उनेर बेच्न राखेको देखियो । म तन्नेरी चेपाङ दिलबहादुर प्रजाको पसलमा रोकिँए । जान्नु पर्ने कुरा सोधें । स्थानीय बृद्ध दलबहादुर प्रजासँग कुरा गरें । उनका अनुसार एक दशकयता पहिलेजस्तो धेर संख्यामा चमेरा भेटिंदैनन् । चिउरी फूल्छ । यसको रस खान आउने चमेरालाई चेपाङले भुवा भनिने जालमा पार्दा रहेछन् । हिर्काएर मार्‍यो । तातो पानीमा चोप्यो, अनि आगोमा झर्कायो । नुन-खुर्सानीसँग त्यसै खाए हुने, मन लागे भुटेर पकाए पनि हुने । 
यो जानकारी मेरा लागि अलि नौला थिए । चेपाङको सिकार हुने चमेरा मझौला आकारका करीव करीव डांग्रे रुप्पी जत्रो हुने रहेछ । यसरी सिकार गरिने प्रजाति फूलका रस मन पराउनेहरू रहेछन् ।
०००
विराटनगर फर्किएर आएको एक सातासम्म चमेरोको कथाका लागि उपयुक्त 'लीड' (पहिलो वाक्य) फुरेन । करीव २५/२६ वर्षघि विराटनगरको मेनरोडमा कतै बरको एउठा ठूलो रुख थियो । बजार भएर हिड्दा यहाँ चमेराको ठूलो झुण्ड हल्ला गरिरहेको देखिन्थ्यो । आफू सानोछँदा त्यो बाटो परे म हेरिरहन्थे । कुकुर जस्तो थुतुनो भएको यो जीव अलि डर लाग्दो पनि भान हुन्थ्यो । अतितका पाना पल्टाएर मैले अहिले त्यो रुख कहाँ थियो होला भनेर खोजें । रुख काटिएछ । त्यो ठाउँ फेन्सी पसल उम्रिएछ । ग्यालेक्सी नामको त्यो फेन्सी पसलमा म पुगें । ग्राहक आएको ठानेका पसले चमेराका बारेमा सोध्दा तीनछक परे । सुभास सेठियाका कुरा आफैमा रमाइला थिए । रुख मात्र मासिएन । चमेरोको पुरानो वास मासियो । तर, उनलाई बाटामा कतै चमेराका झुण्ड देखे अझै त्यो ठूलो रुखको सम्झना आउने रहेछ । यिनै पात्रका अनुभवबाट मेरा लागि चमेराको कथा सुरु गर्ने बाटो खुल्यो । त्यसपछि 'चमेरो विचरो' लेखियो । यहाँसम्म त्यो कथाको ब्याकग्राउण्ड स्टोरी थियो । अब त्यो इन्टरकोर्सको प्रसंगतर्फ विस्तारै फिरौं । 
एउटा कथा लेख्ने प्रयासले चिनिएका नौला मान्छेहरू अहिले मेरा फेसबुक, स्काइप र इ-मेलमार्फ कुरा भइरहने साथी बनेका छन् । राजधानी बसेर काम गरिरहेका संजनले साना स्तनधारी जीवको खोजीमा आफूलाई क्रियाशील गराएका अप्डेट्सहरू मैले उनका स्टाटसबाट पढ्न पाइरहेको छु । उनी विराटनगर आएका थिए । हामीले चमेरोले आहारमा मन पराउने कदम र अम्बकका विरुवा जिल्ला प्रशासन कार्यालय हातामा रोपेका थियौं । ती विरुवा हुर्कदैछन् । प्रकृतिको अनुपम सिर्जनामध्येको उड्ने स्तनधारी जन्तुबारेको जिज्ञासाहरू अझै शान्त भएका छैनन् । चमेरोले फूल पार्दैन । गाइवस्तु, बाख्रा वा मान्छे जसरी ब्याउँछ । गुँड बनाउँदैन । हाँगामा झुण्डिएर बित्ने उनीहरूको जीवन शैली अध्ययनको अनौठो विषय हो ।
०००
जीवहरूमध्ये चमेरोको सबैभन्दा अनौठो तथ्य के हो भने पोथीको इच्छानुसार मात्रै गर्भधारण गर्ने क्षमता । भालेसँगको समागमपछि बिऊ लिएर ऊ आफूलाई सुरक्षित महसुस गरेमात्रै गर्भधारण गर्छे, यसबारे १५ माघ २०६७ को कोसेलीमा लेखेपछि मलाई धेरै इ-मेल, फोन र एसएमएस आए । केही साथीले ठूलो झुण्डको वास रहेका नयाँ ठाउँको भ्रमण गर्न पनि सुझाए । नेपालमा ठूलो संख्यामा यो जीव बसेको हेर्न परे रुकुम, नेपालगञ्ज, पोखराको चमेरे गुफा, धजे डाँडा, झापाको रतुवामाई संरक्षण आयोजना र विराटनगरको जिल्ला प्रशासन कार्यालय हाता भन्ने सूची बनेको छ । बेला बेला देखिएका नौला ठाउँका बारेमा जानकार, शुभचिन्तक र साथीहरूले सुझाउने पनि गरेका छन् । एउटा कुरा पक्का छ, त्यो के भने यिनीहरू संकटमा छन् । कतै सिकार गरिन्छ । धेरै ठाउँ यसका वासस्थान विनास भएका छन् । म विज्ञानको विद्यार्थी नभए पनि यसका वास र क्रियाकलापमाथिका जानकारी बटुल्ने  रुची घटेको छैन ।
मलाइ लाग्छ झापा केर्खाको रतुवामाइ बृक्षरोपण आयोजना हाता र विराटनगरको जिल्ला प्रशासनको हातालाई संरक्षित क्षेत्र बनाउन सकिन्छ । यी क्षेत्रमा चमेराले मन पराउने रुखविरुवा बढाउने हो भने अध्ययन र अवलोकनकर्ताका लागि नौलो ठाउ बन्नेछ ।
वन्यजन्तु र जैविक विविधतामा आधारीत फोटोग्राफीका लागि डेढ दशकदेखि क्रियाशील मेरा मित्र यात्रा थुलुङ एक दिन भने 'हामी एकपटक चमेराको इन्टरकोर्स खिचौं । सकिन्छ होला ।' विचार रमाइलै हो । हामीले एक दिन त्यही ठाउँ छनोट गर्‍यौं, जहाँ पहिलोपल्ट हेलिकोप्टर

को आवाजले ती निशाचरको ध्यान भंग गरेको थियो । छनोटमा परेको दिन हामी दुइ भाइ प्रमुख जिल्ला अधिकारीको आवास गृहको छतमा उक्लेर करीव चार घण्टा बस्यौं । सुरक्षाकर्मी छक्क परे । उनीहरू भन्दा धेरै हामी पनि छक्क पर्‍यौं । कारण- भाले चमेराका अंग । तीन वर्षदेखि निरन्तर रुची राखे पनि यो जीवका गुप्तांग कस्ता होलान् भन्ने हेक्का थिएन । हेक्का थियो भने चमेरो किसानको साथी हो । राती उड्छ । दिउँसो झुण्डिएर बस्छ । फलफूल खानेको संख्या धेरै छ । यो झुण्डिएको क्षेत्र आसपास विष्टाका कारण फोहर हुन्छ । चमेरो रुखमा मात्रै होइन मान्छेका घर-गोठका चोटा-बुईकलमा पनि बस्छ आदि आदि ।
आठ सय एमएमको लेन्सले सजिलो देखिने एउटा फूर्तिलो चमेराको फलो गर्‍यो । त्यो फूर्तिलोले निकैबेर लाएर पोथी फकायो । उसका अंगहरू क्रियाशील भए । दुवै एकअर्कामा आलिंगनबद्ध हुँदा पखेटाले छोपछाप पार्ने रहेछ । केहीबेरको रतिक्रिया पछि भाले आनन्दित अवस्थामा बस्दो रहेछ । भालेहरूबीच झगडा पनि पर्दो रहेछ । हामीले खिचेका चमेरालाई नेपालीमा बदुरा र  अंग्रेजीमा इण्डियन फ्लाइङ फक्स भनिने रहेछ । नेपालमा पाइएमध्ये यो सबैभन्दा ठूलो आकारको फलाहारी चमेरोको प्रजाति हो । यो रुखका हाँगामा यसरी झुण्डिएर बस्छ । 
जति प्रयास गरेपनि हामीले जैविक विविधतासम्बन्धी रिर्पोट देखाउने टेलिभिजन च्यानल जसरी उनीहरूका गतिविधि क्यामेरामा कर्‍याप्प पार्न सकेनौ । पहिलो प्रयासले उनीहरुका बारेमा बुझन पाइयो । दोस्रोमा कसरी सहवास गर्छन् र प्रजनन् अंग कस्ता हुन्छन् भन्ने थाहा भयो । फेरि पनि यिनलाई पच्छ्याउने प्रयास जारी रहनेछ । 

(१७ फागुन २०७० को कान्तिपुर कोसेली मध्यपृष्ठमा 'निशाचरका पोजहरू शिर्षकमा छापिएको आफ्नै सामाग्रीलाई केही थपथापसहित ब्लगमा साभार )

यसअघिको  पढन मन लागे थिच्नुहोस 'चमेरो बिचरो' 

No comments: