एउटा अर्को गर्दै धेरैले लगातार खेदन थाले। मानौँ कमेन्टको बाढी आएको हो। चरा समूहको फेसबुक पेजभित्र मैले अमीश पटेलको फोटो देखेपछि गरेको कमेन्ट तेस्रो नम्बरमा थियो। भारत गुजरातको जामनगरका पटेल लामो समयदेखि वाइल्डलाइफ फोटोग्राफीमा छन्। उनले इन्टरनेटको सामाजिक सञ्जालभित्रको चरा समूहको पेजमा त्यस दिन चमेराको फोटो अपलोड गरेका थिएँ। समूहमा पनि पुरानै सदस्य हुन्। तर, चमेरा चरा होइन, त्यसैले विरोधका कमेन्ट आए। पेजमा 'एडमिन' (म्यानेजर) ले पनि उनलाई फोटो हटाउन आग्रह गरेर लेखे। केही घण्टापछि त्यो फोटो हटाइयो।
पटेलले नबुझेर राखेका थिएनन्। मलाइ लाग्यो उनले टेष्ट लिएका थिए। समूहका बग्रेल्ती सदस्यमा शायद उनी गम्भीरता छ कि छैन भनेर हेर्न चाहन्थे। सामाजिक सन्जालमा चराका तस्बिर खिच्नेहरूको समूह अलि फराकिलो प्लेटफर्म हो। जे रुचि छ त्यसका समूह छन्।
आसपास देखिने/भेटिने पशुपन्छीका नाम हामीलाई थाहा भएन भने सोध्न सकिने बाटो इन्टरनेटले खोलेको छ। त्यसमध्येको एउटा चौतारी 'चरा समूह' हो। सदस्यको ध्यानाकर्षण गराउनैका लागि भए पनि नयाँ केही गरियो भने चर्चा हुन्छ। तर, पटेल जसरी चमेरो मैले त्यो पेजमा अपलोड गरेको छैन। यसको 'इन्टरकोर्स' खिचेको केही हप्तायता एउटा रमाइलो समस्या सामना गर्नु परिरहेको रहेको छ। त्यो के हो भने भाले चमेराको गुप्तांग। जसले जसले यसलाई नजिकबाट देखेका छन्। छक्क परेका छन्।
बाटामा भेटियो भने मैले सामना गर्ने एउटा प्रश्न अहिले सामान्य जस्तो लाग्छ, 'खै त्यो चमेराको क्लोजअप हेरौं हेरौं।' टार्न सकिनेलाई टारिन्छ। टार्न नसकिनेलाई ल्यापटप खोलेर देखाउनुको विकल्प हुँदैन। प्रकृतिको अनुपम सिर्जनाभित्र पर्ने यो जीवबारेमा तथ्य जति खोतल्यो त्यति रमाइला छन्। यसका विषयमा रुचि एउटा संयोगले जगाएको थियो।
०००
विराटनगरको शहीद रंगशालामा योगगुरु रामदेव आउने कार्यक्रम थियो। उत्तर कुनामा मञ्च बनाइएको थियो। उनका लश्कर प्रवेश गर्नेबित्तिकै हेलिकोप्टरले आकाशबाट पुष्पवृष्टि गराउने कार्यक्रम रहेछ। १० मिनेटअघि नै हेलिकोप्टर रंगशालाको आकाशमा देखियो। फूल झार्न थाल्यो। म केही साथीहरूका साथ कार्यक्रमका तस्बिर लिन पुगेको थिए।
सबैको ध्यान फूलवर्षाले तान्यो। मेरो ध्यान हेलिकोप्टरको चर्को आवाजले बिथोलिएका चमेराले ताने। रंगशालाको उत्तर पर्खालछेउ मोरङको जिल्ला प्रशासन कार्यालय, सभाकक्ष र प्रजिअ बस्ने क्वाटर छ। फराकिलो यो क्षेत्रमा दुई/तीनवटा ठूला पुराना रुख छन्। त्यसमा चमेरा बस्छन्। यो रुटमा जिल्ला प्रशासन हातादेखि गोल्छा परिवारको आवास गृह हाताको चार सय मिटर क्षेत्रमा जहिल्यै चमेरा देख्न पाइन्छ। सिडिओ क्वाटर, कि गोल्छा अर्गनाइजेशन। पालो मिलाइ-मिलाइ ठाउँ सरेर बस्छन्।
मैले पुष्पवृष्टिको साटो आकाशमा चमेराका चर्तिकला खिचें। त्यसको केहीबेरपछि औपचारिक कार्यक्रम भयो। रामदेव आए। योगका कुरा गरे। त्यसबेलाका मन्त्री र नेता आए। रामदेवलाई ढाकाटोपी लगाइदिने नाटक देखाइयो। मञ्चमा रामदेवको योग सुरु भयो। रुखमा चमेरा त उल्टो आसनमा सधैं बसेकै थिए। छुट्याउन गाह्रो थियो, चमेराको सिको योगगुरुले गरेका हुन् कि उनको त्यो जीवले। अफिस आइयो। खबर लेखियो।
यसबीचमा केही दिनअघि विद्युत प्राधिकरणको ट्रलीमा चढेर मित्र संजीव खनालले चमेराका केही तस्बिर खिचेका थिए। उनीबाट मैले दुई स्न्याप लिएर 'कसैले यो जीवबारे लेख्ने भए काम लाग्छ' भनेको थिएँ। चार दिनपछि फुर्सदमा आफ्ना आर्काइभमा चमेराका तिनै संजीवजी र आफैंले खिचेका तस्बिर हेरेपछि मलाई इन्टरनेटमा खोज्न मन लाग्यो - नेपालमा चमेराको अवस्था कस्तो होला ?
'ब्याट्स इन नेपाल' सर्च गर्दा गुगलले धेरैवटा लिंक देखायो। तीमध्येका एउटा लिंक छानेर खोलियो। त्यसमा एकजना विदेशी अध्ययनकर्ताले नेपालका गुफामा पाइने चमेराका बारेमा गरेको शोधमा आधारित लेख थियो। लेखका मुन्तिर एकजना पाठकको प्रतिक्रिया थियो। नाम हरि अधिकारी, वनविज्ञान अध्ययन संस्थान पोखरा। इमेल फलानो, फोन नम्बर फलानो।
मैले त्यो नम्बरमा फोन गरें। उताबाट जवाफ आयो -'म हरि होइन। भाइ निरन्जन हो। दाजु जर्मनीमा पढ्न जानु भएको छ। सम्पर्क गर्नु छ भने इमेल लेख्नुस्।' मैले त्यही गरें। दोस्रो दिन हरिको जवाफ प्राप्त भयो। उनले इमेलमा भनेका थिए 'चमेराका बारेमा तपाइँको जिज्ञासाका बारेमा थाहा पाउँदा खुशी लाग्यो। लौ कुरा गरौं। स्काइप (भिडियो च्याट)मा आउनुस्।'
तेस्रो दिन अफिस जाँदा ल्यापटप लिएर गइयो। स्काइप डाउनलोड गरेर युजर बनाइयो। अनि खुला राखेर प्रतीक्षा गरियो।
हरि अनलाइन भए। करिब २५ मिनेटको कुराकानीमा उनले आफ्ना बारे बताए। साथमा चमेराका अवस्था र चेतनामूलक गतिविधि बढाउन किन आवश्यक छ भन्ने पनि बताए। साथै नेपालमा चमेराको अध्ययन गर्नेहरूका विषयमा पनि सम्पर्क हुन माध्यम इ-मेल गरिदिने वाचा गरे।
बुटबलका यी युवा दिगो विकासमा स्नातकोत्तरका लागि जर्मनीमा अध्ययन गर्दै थिए। मामाघर पाल्पा जाँदा फिरन्तेहरूले चमेरा सिकार गरेको देखेर नराम्रो लाग्थ्यो। पछि स्नातक तहको अध्ययनका लागि पोखरा आए। कलेजमा 'ब्याट फ्रेण्ड्स' समूह बनाए। पकेट खर्च भेला पारेर केही पम्पलेट तयार पार्न थाले। समूहले विभिन्न विद्यालयमा गइ चमेरा जोगाउनु किन आवश्यक छ भन्नेमा विद्यार्थीलाई बुझाउने अभियान चलायो।
हरिका इमेलबाटै धेरै शोधकर्ताका सूची प्राप्त भए। सबैसँग सम्पर्क गर्दा प्राप्त हुने सूचना भद्रगोल पनि हुन सक्थ्यो। मैले केही खास नाम छनोट गरें। म विराटनगरमा रहेर इन्टरनेटको माध्यमले जानकारी बटुलिरहेको थिएँ। पूर्वका विभिन्न क्षेत्रमा अध्ययन गरेमध्येका संजन थापालाई भेट्दा अझ धेरै जानकारी पाइने भयो। विराटनगरको पोखरिया घर भएका उनी पढाइ सकेर काठमाडौंमा रहेछन्। मैले फेसबुकमा खोजें। धेरै लिंकमध्ये एउटा संजनको आफ्नो प्रोफाइल तस्बिरको ठाउमा चमेरा थियो। मैले मित्र प्रस्ताव पठाएँ। उनलाई म्यासेज पनि लेखें। जवाफ आयो। यसपटक म हरिसँग जसरी भिडियो च्याटबाट सन्तुष्ट हुने अवस्था थिएन। किनभने म विज्ञानको विद्यार्थी थिइँन। मलाई वन्यजीवनबारे बुझ्न प्रकाशित पुस्तक र शोधपत्र पढ्नैपर्ने थियो। र, त्यसको सजिलो बाटो शोधार्थीले नै मलाई बुझाउनुपर्ने थियो।
०००
एउटा कार्यक्रममा पाएको निम्तोलाई उपयोग गरेर उपत्यका खाल्डोको यात्रा तय भयो। मेरो मस्तिष्कमा भने चमेराका विषयमा जानकारी बटुल्ने लहड थियो। काठमाडौं पुगेर दुई विद्यार्थी भेटियो। उनीहरू थिए संजन र मंजित विष्ट। साना स्तनधारी जीवका बारेमा अध्ययन गर्ने समूह बनाएका संजन र पढ्दै रहेका विष्ट, दुवैका अनुभव फरक थिए।
समाज कल्याण परिषद् हाताका घना रुखहरूमा चमेराको ठूलो झुण्डको बास थियो। ती रुख छिमोलिए। बासस्थान विनास देखेर विष्ट दुखी थिए। चितवनका विभिन्न भागमा पुगेर अध्ययन गरिरहेका संजन जोगाउने अभियानमा तल्लीन थिए। विभिन्न स्थानमा चमेराका लागि बस्न र लुक्न मिल्ने गुँड बनाउने र राखिदिने, कहाँ कस्तो प्रजाति कति संख्यामा देखिए भन्ने जानकारी बटुल्ने सञ्जनको समूहले गरिरहेको रहेछ। एमएस्सी र बीएस्सीका विद्यार्थी मिलेर उनीहरुले साना स्तनधारी अध्ययन तथा संरक्षणका लागि संस्था दर्ता गरी जुटेका रहेछन्। खोज्दै बुद्धनगरको अफिस पुगियो । यहाँ पुग्दा एउटा नौलो कुराले मलाई पर्खिरहेको थियो। त्यो थियो स्मल म्यामल फाउण्डेसन दर्ता गरेपछि सञ्जनको समूहले निकालेको पुस्तक। यसमा थोरै-थोरै भए पनि नेपालमा हालसम्म देखिएका प्रजातिबारे सचित्र जानकारी रहेछ। थापाले बताए - 'चमेरा चेपाङहरूले खान्छन्। जाल थापेर सिकार गर्छन्।'
काठमाडौंमा संजनको समूह भेटेपछि थाहा भयो, नेपालमा हालसम्म चमेराका ५३ प्रजाति पाइएका छन्। संसारभर हालसम्म पाइएमध्ये ७० प्रतिशत चमेरा फलाहारी छन्। बाँकी ३० प्रतिशत कीरा, फट्याङ्ग्रा, मासू र रगत खानेहरू छन्।
इन्टरनेटको विश्वज्ञानकोष 'वीकीपेडिया' को 'ब्याट' पेजमा भनिएको छ- संसारभर हालसम्म पाइएका स्तनधारी जीवमध्ये धेरै संख्या भएकाहरूमा चमेरा दोस्रो स्थानमा पर्छ। चमेराको संख्या अरु स्तनधारीका तुलनामा २० प्रतिशत छ। मूल जाती र प्रजाति गरि संसारभर हालसम्म १२४० प्रकारका चमेरा पाइएको रेकर्ड छ। मेगाचिरोप्टेरा र माइक्रोचिरोप्टेरा गरि चमेरा दुइ प्रकारका छन्। माइक्रो साना आकारका चमेरा हुन्। यो जीवको विशेषता समूहमा बस्नु हो। यिनीहरू एक्लै बस्दैनन्।
नेपालमा गुफामा बस्ने चमेराको ठूलो झुण्ड हेर्नु परे पोखराको चमेरे गुफा पुग्नु पर्छ। चमेरा सिकार गरेको वा खाएको हेर्नुपरे चितवन र मकवानपुरका भित्री गाउँहरूका चेपाङ बस्ती पुग्नु पर्छ। संजनले सुझाएका क्षेत्रमध्ये मकवानपुरको काँकडा पुग्न सजिलो थिएन। लोथर नजिकैबाट चार घण्टा उकालो बाटो। चितवनमा त्यसबेला माओवादी लडाकुको शिविर रहेको शक्तिखोरमा अलि सजिलो लोकेसन थियो। मोटरसाइकलमा पुग्न सकिने भएकाले मैले चितवन छाने।
म कलेजका लागि शोध गरिरहेको थिइँन, न त यो विषय मेरो अखबारले दिएको कुनै 'एसाइन्मेन्ट'मै पर्थ्यो। तर, तस्बिरहरू खिचेपछि गुगलमा एउटा क्लिकबाट थपिएको जिज्ञासा शान्त पार्न म पोखरा र चितवन पनि जाने भएँ।
तीनदिने राजधानी बसाइपछि पोखरा पुगें। त्यहाँ वन विज्ञान अध्ययन संस्थान गइयो।
नेपालमा जंगली कुकुरका बारेमा शोध गरेका विद्यार्थी अम्बिका खतिवडा भेटिए। उनका विषयमा मैले केहीअघि क्यामेरा ट्रयापमा मिल्के' लेखिसकेको थिएँ। उनले प्राध्यापक र केही जानकार विद्यार्थी भेट गराए। मेरा लागि गाइडको काम गरे। चमेरे गुफा र धजे डाँडा गइयो। पोखरामै चमेरे गुफा र धजे डाँडामा पाइने चमेराका आकार फरक थिए।
पोखरापछि चितवन पुग्नु थियो। पुगियो। शक्तिखोर गाविसको शक्तिखोला बहुदल बजार। चेपाङका घर खोज्दै साँझपख पुगेको त्यो सानो बजारमा मलेखुका माछा जसरी बाँसका कप्टेरामा चमेरा उनेर बेच्न राखेको देखियो। म तन्नेरी चेपाङ दिलबहादुर प्रजाको पसलमा रोकिँए। जान्नु पर्ने कुरा सोधें। स्थानीय वृद्ध दलबहादुर प्रजासँग कुरा गरें। उनका अनुसार एक दशकयता पहिलेजस्तो धेर संख्यामा चमेरा भेटिंदैनन्। चिउरी फुल्छ। यसको रस खान आउने चमेरालाई चेपाङले भुवा भनिने जालमा पार्दा रहेछन्। हिर्काएर मार्यो । तातो पानीमा चोप्यो, अनि आगोमा झर्कायो। नुन-खुर्सानीसँग त्यसै खाए हुने, मन लागे भुटेर पकाए पनि हुने।
यो जानकारी मेरा लागि अलि नौला थिए। चेपाङको सिकार हुने चमेरा मझौला आकारका करिब करिब डांग्रे रुप्पी जत्रो हुने रहेछ। यसरी सिकार गरिने प्रजाति फूलका रस मन पराउनेहरू रहेछन्।
०००
विराटनगर फर्किएर आएको एक सातासम्म चमेरोको कथाका लागि उपयुक्त 'लीड' (पहिलो वाक्य) फुरेन । करिब २५/२६ वर्षअघि विराटनगरको मेनरोडमा कतै बरको एउठा ठूलो रुख थियो। बजार भएर हिँड्दा यहाँ चमेराको ठूलो झुण्ड हल्ला गरिरहेको देखिन्थ्यो। आफू सानोछँदा त्यो बाटो परे म हेरिरहन्थेँ। कुकुर जस्तो थुतुनो भएको यो जीव अलि डर लाग्दो पनि भान हुन्थ्यो।
अतितका पाना पल्टाएर मैले अहिले त्यो रुख कहाँ थियो होला भनेर खोजें। रुख काटिएछ। त्यो ठाउँ फेन्सी पसल उम्रिएछ। ग्यालेक्सी नामको त्यो फेन्सी पसलमा म पुगें। ग्राहक आएको ठानेका पसले चमेराका बारेमा सोध्दा तीनछक परे। सुभास सेठियाका कुरा आफैंमा रमाइला थिए। रुख मात्र मासिएन। चमेरोको पुरानो बास मासियो। तर, उनलाई बाटामा कतै चमेराका झुण्ड देखे अझै त्यो ठूलो रुखको सम्झना आउने रहेछ।
यिनै पात्रका अनुभवबाट मेरा लागि चमेराको कथा सुरु गर्ने बाटो खुल्यो। त्यसपछि 'चमेरो विचरो' लेखियो । यहाँसम्म त्यो कथाको ब्याकग्राउण्ड स्टोरी थियो। अब त्यो इन्टरकोर्सको प्रसंगतर्फ विस्तारै फिरौं।
एउटा कथा लेख्ने प्रयासले चिनिएका नौला मान्छेहरू अहिले मेरा फेसबुक, स्काइप र इ-मेलमार्फ कुरा भइरहने साथी बनेका छन्। राजधानी बसेर काम गरिरहेका संजनले साना स्तनधारी जीवको खोजीमा आफूलाई क्रियाशील गराएका अप्डेट्सहरू मैले उनका स्टाटसबाट पढ्न पाइरहेको छु। उनी विराटनगर आएका थिए। हामीले चमेरोले आहारमा मन पराउने कदम र अम्बकका बिरुवा जिल्ला प्रशासन कार्यालय हातामा रोपेका थियौं। ती बिरुवा हुर्कदैछन्।
प्रकृतिको अनुपम सिर्जनामध्येको उड्ने स्तनधारी जन्तुबारेको जिज्ञासाहरू अझै शान्त भएका छैनन्। चमेरोले फूल पार्दैन। गाइवस्तु, बाख्रा वा मान्छे जसरी ब्याउँछ। गुँड बनाउँदैन। हाँगामा झुण्डिएर बित्ने उनीहरूको जीवन शैली अध्ययनको अनौठो विषय हो।
०००
जीवहरूमध्ये चमेरोको सबैभन्दा अनौठो तथ्य के हो भने पोथीको इच्छानुसार मात्रै गर्भधारण गर्ने क्षमता। भालेसँगको समागमपछि बिउ लिएर ऊ आफूलाई सुरक्षित महसुस गरेमात्रै गर्भधारण गर्छे, यसबारे १५ माघ २०६७ को कोसेलीमा लेखेपछि मलाई धेरै इ-मेल, फोन र एसएमएस आए। केही साथीले ठूलो झुण्डको बास रहेका नयाँ ठाउँको भ्रमण गर्न पनि सुझाए।
नेपालमा ठूलो संख्यामा यो जीव बसेको हेर्न परे रुकुम, नेपालगञ्ज, पोखराको चमेरे गुफा, धजे डाँडा, झापाको रतुवामाई संरक्षण आयोजना र विराटनगरको जिल्ला प्रशासन कार्यालय हाता भन्ने सूची बनेको छ। बेला-बेला देखिएका नौला ठाउँका बारेमा जानकार, शुभचिन्तक र साथीहरूले सुझाउने पनि गरेका छन्। एउटा कुरा पक्का छ, त्यो के भने यिनीहरू संकटमा छन्। कतै सिकार गरिन्छ। धेरै ठाउँ यसका बासस्थान विनास भएका छन्। म विज्ञानको विद्यार्थी नभए पनि यसका बास र क्रियाकलापमाथिका जानकारी बटुल्ने रुचि घटेको छैन।
मलाई लाग्छ झापा केर्खाको रतुवामाइ वृक्षरोपण आयोजना हाता र विराटनगरको जिल्ला प्रशासनको हातालाई संरक्षित क्षेत्र बनाउन सकिन्छ। यी क्षेत्रमा चमेराले मन पराउने रुखबिरुवा बढाउने हो भने अध्ययन र अवलोकनकर्ताका लागि नौलो ठाउँ बन्नेछ।
वन्यजन्तु र जैविक विविधतामा आधारीत फोटोग्राफीका लागि डेढ दशकदेखि क्रियाशील मेरा मित्र यात्रा थुलुङ एक दिन भने 'हामी एकपटक चमेराको इन्टरकोर्स खिचौं। सकिन्छ होला।' विचार रमाइलै हो। हामीले एक दिन त्यही ठाउँ छनोट गर्यौं, जहाँ पहिलोपल्ट हेलिकोप्टरको आवाजले ती निशाचरको ध्यान भंग गरेको थियो।
छनोटमा परेको दिन हामी दुई भाइ प्रमुख जिल्ला अधिकारीको सरकारी आवासको छतमा उक्लेर करिब चार घण्टा बस्यौं। सुरक्षाकर्मी छक्क परे। उनीहरू भन्दा धेरै हामी पनि छक्क पर्यौं। कारण- भाले चमेराका अंग। तीन वर्षदेखि निरन्तर रुचि राखे पनि यो जीवका गुप्तांग कस्ता होलान् भन्ने हेक्का थिएन। हेक्का थियो भने चमेरो किसानको साथी हो। राती उड्छ। दिउँसो झुण्डिएर बस्छ। फलफूल खानेको संख्या धेरै छ। यो झुण्डिएको क्षेत्र आसपास विष्टाका कारण फोहर हुन्छ। चमेरो रुखमा मात्रै होइन मान्छेका घर-गोठका चोटा-बुईकलमा पनि बस्छ आदि आदि।
आठ सय एमएमको लेन्सले सजिलो देखिने एउटा फूर्तिलो चमेराको फलो गर्यो। त्यो फूर्तिलोले निकैबेर लाएर पोथी फकायो। उसका अंगहरू क्रियाशील भए। दुवै एकअर्कामा आलिंगनबद्ध हुँदा पखेटाले छोपछाप पार्ने रहेछ। केहीबेरको रतिक्रिया पछि भाले आनन्दित अवस्थामा बस्दो रहेछ। भालेहरूबीच झगडा पनि पर्दो रहेछ। हामीले खिचेका चमेरालाई नेपालीमा बदुरा र अंग्रेजीमा इण्डियन फ्लाइङ फक्स भनिने रहेछ। नेपालमा पाइएमध्ये यो सबैभन्दा ठूलो आकारको फलाहारी चमेरोको प्रजाति हो। यो रुखका हाँगामा यसरी झुण्डिएर बस्छ।
जति प्रयास गरेपनि हामीले जैविक विविधतासम्बन्धी रिर्पोट देखाउने टेलिभिजन च्यानल जसरी उनीहरूका गतिविधि क्यामेरामा कर्याप्प पार्न सकेनौँ। पहिलो प्रयासले उनीहरुका बारेमा बुझन पाइयो। दोस्रोमा कसरी सहवास गर्छन् र प्रजनन अंग कस्ता हुन्छन् भन्ने थाहा भयो। फेरि पनि यिनलाई पच्छ्याउने प्रयास जारी रहनेछ।
(१७ फागुन २०७० को कान्तिपुर कोसेली मध्यपृष्ठमा 'निशाचरका पोजहरू शिर्षकमा छापिएको आफ्नै सामाग्रीलाई केही थपथापसहित ब्लगमा साभार )
यसअघिको पढन मन लागे थिच्नुहोस 'चमेरो बिचरो'
यसअघिको पढन मन लागे थिच्नुहोस 'चमेरो बिचरो'



No comments:
Post a Comment