Saturday, March 22, 2014

थारु गाउँको होम-स्टे

गैंडा बाली चर्न आएको थियो । त्यो बलिष्ठ जन्तु देखेर थारुको छोरो डराएन । सोच्यो - 'यसलाई पुच्छर समातेर पछार्छु । डराएर भाग्छ ।' गैडा भागेन । बरु त्यसले खेद्यो । शोभाराम थारु खेतका आलीमा पछारिए । त्यसपछिका दइ दशकमा उनलाई गैंडाका त के कुरा, कुनै पनि वन्यजन्तु राम्रो लागेन । 
फागुन तेस्रो साता उनको गाउँ नवलपरासीको अग्यौली बाघखोर टोलमा भेट्दा ५० वर्षीय थारुले भने 'अब मलाई गैंडामात्रै होइन वनका सबै जन्तु मन पर्छ । उनीहरू ज्युँदो रहनुपर्छ । हामीले जोगाउनु पर्छ जस्तो लाग्छ ।' सकारात्मक सोचाइ आउनुका केही वर्षअघिसम्म न उनलाई वन्यजन्तु मन पर्थे, न त घर छेवैको घना वन । बस्ती छेउमा वन रहिरहे जनावरले बाली खाइरहन्छन् । द्वन्द्व भइरहन्छ भन्ने बुझेका उनका लागि गैंडाको सामना जीवन रहेसम्म सम्झीरहने घटना भएको छ । 
घरको बरण्डामा बैशाखी अड्याएर बात मार्दा उनले धेरैपल्ट आफ्नो दाँया तीघ्रा हेरिरहे । गैंडाले उनलाई कुल्चिएको थियो । चोट यति गहिरो थियो, एउटा खुट्टा नै गुम्यो । वन्यजन्तु हेर्न आउने पर्यटक रिझाउन खोलिएको टाइगर टप्स रिसोर्टमा उनी 'कुक' थिए । घर आएका बेला घटना भयो । उपचारका लागि उनलाई भरतपुर अस्पताल लगियो । चिकित्सकले खुट्टा काट्नु पर्छ भने । उनले मानेनन् । राजधानीको त्रिवि शिक्षण अस्पताल पुगे । त्यहाँ पुगेर पनि खुट्टा जोगिएन । हातमा बैशाखी आयो । घाइते कर्मचारीको उपचार खर्च रिसोर्टले तिरेपनि उनी पहिले जसरी खट्न र काम गर्न नसक्ने भए । त्यसपछिका दिन सहकर्मीलाई अराउपराउको हलुका जिम्मेवारी लिएका आशाराम अहिले जागिरबाट रिटायर्ड भएका छन् । 
'हाम्रो गाउमा होम-स्टे सुरु भएपछि पाहुना आउन थालेका छन्', उनले भने, 'टुरिस्ट खानबस्न मात्रै आउने होइनन् । यहाको जंगल, अनि यहाँ देखिने गैंडा, बाघ र चरा हेर्न आउँछन् । यो जोगियो भने त हेर्न आउने हुन् नि ।' चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ किलोमिटरमा फैलिएको छ । निकुञ्ज जोडिने चितवन, नवलपरासी, पर्सा र मकवानपुरका गाविसका भुभाग समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति बनाइएको छ । मध्यवर्तीका ३७ गाविसमध्ये नारायणी नदि पारीको एउटा हो शोभारामको अग्यौली । 
उनको आगनमा गत बैशाखमा एउटा नयाँ झुप्रो थपियो । दुइ कोठा, भित्रै बाथरुम र शौचालय भएको झुप्रो । पाहुना आए यसमा वास बस्न पाउँछन् । उनकै भान्सामा पिर्कामा बसेर खाना खान्छन् । थारु बहुल गाउँका २० घरमा सुरु भएको होम-स्टेमा कसलाई कता वास बसाउने भन्ने समितिले तोक्छ । पुर्जी काट्छ । पाहुनाले तिर्ने शुल्कको १० प्रतिशत सेवा शुल्क काटेर ९० प्रतिशत रकम शोभारामजस्ता घरमुलीको हात पर्छ । 
नारायणघाटबाट बुटबल जाने बाटोमा ३६ किमि अघि बढेपछि डण्डा आइपुग्छ । डण्डाबाट पूर्व-पश्चिम राजमार्गलाई छाडेर करीव आठ किलोमिटर दक्षिण-पूर्व लागेपछि बाघखोर आइपुग्छ । यो नै शोभारामको गाउँ हो । 
०००
परम्परागत पोशाक र गहनामा सजिएर थारु महिला पाहुनाको स्वागत गर्छन् । आफ्नै भाषाका नाचगानसहितका सांस्कृतिक कार्यक्रम पनि देखाउँछन् । 'हामीलाई सुरु सुरुमा निकै गाह्रो परेको हो', होम-स्टे समितिका म्यानेजर धनिराम गुरउले भने, 'घर ईटाले बन्न थाले । लुगा बजारका लाउन थालियो । टेबलमा बसेर खान थालियो । कता गए हाम्रा लुगा कता पुगे ती पुराना गहना ।' होम-स्टे यहाँ गत जेठदेखि सुरु भएको हो । परम्परा झल्काउने पुराना कुरा जुटाएपछि बल्ल अलि सजिलो भएको उनले सुनाए । 'हामीले अलि पर गाउँबाट गीत गाउन र नाच्न जान्नेलाई झिकायौं । रहर गर्ने धेरैले सिके', उनले भने 'अहिले पनि हामी हाम्रो पुराना संस्कारसँग जोडिएका कुरा खोज्दै भेला पार्दैछौ ।' 
टोलको नाम राणाकालीन सिकार परम्परासँग जोडिएको छ । उनले भने 'त्यो जमानामा यहाँको जंगलमा सिकार गर्न आएकाहरूले बाघ पक्रेर यहाँ खोर बनाइ थुन्ने रहेछन् । हामीले पनि कथामात्रै सुन्न पायौ ।' अब वन्यजन्तु सिकारको जमाना छैन । उनीहरुलाई जोगाएमात्रै आम्दानी हुन्छ । गुजारा राम्ररी चल्छ । वन्यजन्तुका लागि वन जोगाउनु पर्छ । वन जोगाउन आयआर्जनका अन्य विकल्पको खोजी गर्दै रोजगारी र इन्धनको विकल्प पहिल्याउनु पर्छ भन्ने चेत आएको छ । यही खोजीको क्रममा थपिएको नयाँ कार्यक्रम होमस्टे पनि हो । 
निकुञ्ज र संरक्षित क्षेत्र जहाँ जहाँ छन्, त्यहाँको व्यवस्थापन र स्थानीयवासीको सम्बन्ध बिग्रिन्छ । यसको कारण व्यवस्थापन पक्ष वन्यजन्तु र वनको सुरक्षामा कानुनका भाषा बोल्छन् । स्थानीयहरू आफ्नो परम्परागत घाँसदाउरा, चरिचरन र आयआर्जनको क्षेत्रमाथि अधिकार दावी गर्छन् । संरक्षित घोषणा गरिएको क्षेत्रमा तैनाथ सरकारी कर्मचारी र सुरक्षाकर्मीसँग चिसोपन रहिरहन्छ । वनमा गएर काठ-दाउरा ल्याए कार्वाहीमा परिने, वनका जन्तुले बाली खाइदिने र जीउज्यानकै जोखिम भइरहने अवस्था नै द्वन्द्वका कारण हुन् ।
'सामुदायिक वन, सीप सिकाउने कार्यक्रम, सहकारी, उपभोक्ता समिति र होमस्टेलगायतका गतिविधि त्यही चिसोपन हटाउनका लागि हो', चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष यमबहादुर परियार भन्छन् 'जो पर्याप्त छैन तर, केही नहुनुभन्दा थोरै भएपनि केही काम भएको संकेत गर्न प्रशस्त छन् ।' 
मुलुकका सबैजसो संरक्षित क्षेत्र छेउछाउ जहाँ यस्ता समिति गठन भएका छन्, त्यहा द्वन्द्व समाधानका काम पनि भएका छन् । संरक्षित क्षेत्रले गर्ने आम्दानीको आधा हिस्सा यस्ता समितिमा जान्छ । समितिले स्थानीयको आवश्यकताअनुसारका विकासमा टेवा पुर्‍याउन कार्यक्रम बनाइ खर्च गर्छ । स्थानीयको दैनिकीसँग जोडिएका क्षेत्रमा वनको व्यवस्थापन उनीहरुकै हातमा पुगेको छ । 'पहिलो कुरो हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ पछि नया ऐन आएकै छैन', उनले भने 'जल, जमिन र जंगललाई सुरक्षा जनताले दिने नै दिगो हुन्छ । त्यसैले जनतालाई रिझाउने कार्यक्रम सधैं चाहिन्छ ।' कानुनको भाषा परिवर्तनलाई आत्मसात गर्नका लागि ऐन परिमार्जन पहिलो आवश्यकता भएको उनको बुझाइ छ । 'द्वन्द्व घटाउने कार्यक्रम नआएका होइनन तर, कतिपयका कार्यान्वयन फितलो भए', उनले  भने 'कतिपय हाम्रा अपेक्षाअनुसारका छैनन् । पहिलो कुरो नीति बनाउने सवालमै सरकार गम्भिर भएको छैन ।' 
संरक्षित घोषणा गरिएका क्षेत्रको सुरक्षाका लागि स्थानीय बासिन्दालाई रिझाउनुको विकल्प छैन । चितवनमा सौराहा धेरैपटक पुगेकाहरू निकुञ्ज क्षेत्र घुम्न नयाँ बाटो खोज्छन् । त्यस्ताका लागि नवलपरासीको अग्यौली उपयुक्त छ । यो क्षेत्रबाट पनि पर्यटकले गैंडा, बाघ र चराचुरूङ्गी अवलोकन गर्न सक्छन् । सामुदायिक वनले यसको व्यवस्था मिलाएको छ । थारुगाउँको होमस्टेबाहेक पनि यहाँ निजी क्षेत्रका दुइवटा गुणस्तरीय रिसोर्ट छन् । 
०००
'मेरो झोलामा जहिल्यै एउटा किताब हुन्छ', चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत कमलजीत कुँवरले भने 'त्यो किताब भनेको नेपालका चराहरु भन्ने हो ।' बाघखोरमा लाटोकोसेरो तथा हुचिल महोत्सवको अवसर पारेर आएका उनले विस्तारै आफूलाई चरा हेर्ने, चिन्ने र उनीहरुका गतिविधिमाथि रुची बढेको बताए । 'नेपालमा झण्डै आठ सय प्रजातिका चरा पाइनेमा चितवनमा मात्रै ५ सय ७५ थरि रेकर्ड भएको रहेछ', उनले भने, 'चराका कुरा जति बुझयो त्यति रमाइला छन् । चिन्ताका कुरा मानवीय हस्तक्षेपले उनीहरूको बसाइँमाथिको बढदो संकट कसरी घटाउने भन्ने हो ।' 
चितवन बाघ र गैंडाका लागि चर्चित छँदैछ । यो निकुञ्ज सजिलै यी जन्तुको अवलोकन गर्न सकिने भएर मात्र चर्चामा आएको होइन । यहाँ लगानी आएको छ । निजी क्षेत्रका होटल र रिसोर्टका आँखा परे । राजधानीबाट नजिकै सडक दूरिको क्षेत्र भएकाले मुलुकभरिका अरु संरक्षित क्षेत्रका तुलनामा सरकार र पर्यटकको ध्यान तानेको छ । उतिकै शोधकर्ता र जैविक विविधताको विभिन्न पाटोमा कार्यक्रम चलाउनेको ध्यान पनि खिचेको छ । 
भ्रमणमा आएकी विश्व वन्यजन्तु कोष (डब्ल्यु डब्ल्यु एफ) की अध्यक्ष युलाण्डा काकाबेसले भनिन् 'जैविक विविधता संरक्षणका लागि समुदायमा आधारीत विकास कार्यक्रम नै आवश्यक छ । समुदायलाई संरक्षित क्षेत्रबाट बन्देजहरू लगाउनुभन्दा आयआर्जनका कार्यक्रम दिन सकियो भने उनीहरूले नै संरक्षण गर्ने रहेछन् भन्ने उदाहरण यो थारु गाउँ पनि हो ।' कोषले दिएका विभिन्न कार्यक्रममध्ये होमस्टेका लागि घर बनाएकाहरूले ५०/५० हजार मात्रै पाएका छन् । करीव ३ लाख ५० हजार खर्च गरिएको घर निर्माणको लगानी स्वयं घरधनीको हो । अमलटारी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष प्रेमशंकर मर्दनियाका अनुसार अमलटारी उपभोक्ता समिति गुन्द्रही ढकना सामुदायिक वनअन्तर्गत पर्छ । यहाँ अग्यौली, कुमारवर्ती र कोल्हुवा गाविस गरि १ हजार ९ सय ९२ घरधुरी उपभोक्ता छन् । 'हामीले कार्यक्रम विभाजन गरेका छौ । होमस्टेका २० वटा घरमात्रै पुरा कार्यक्रम होइन', उनले भने, 'बोटेका लागि माछापालनको पोखरी, मुसहरका लागि तरकारी खेतीलगायतका धेरै कार्यक्रम छ ।'
सबै कार्यक्रम वैकल्पिक क्षेत्रबाट आयआर्जन बढाएपछि वन संरक्षणमा समुदायको चेतनास्तर बृद्धि हुन्छ भन्नेमा लक्षित छ । उनी भन्छन् 'तीन वर्षअघिसम्म पनि संरक्षणका कुरा गर्दा मलाई धेरैले उडाउँथे । अहिले धेरै खालका कार्यक्रम ल्याइएपछि सामुदायिक वनले मात्रै आम्दानी बढाएन, घरघरसम्म आयस्रोत बढेको छ ।' अग्यौली आएर यहाँको वनमा जो कसैले बाघ, गैंडा र चरा हेर्नेमात्रै होइन समुदायमा आधारीत कार्यक्रमको नमुना बुझेर जाने गरेको उनले बताए । 

०००
पोखराबाट आएका रवि आचार्यले थारु होमस्टेको फरक अनुभव गर्न पाएको बताए । 'घरमा पाहुना राखेर आफ्नै संस्कारको स्वागत र खानपानको व्यवस्था सजिलो होइन । तर, यहाँ व्यवस्थित रहेछ', उनले भने 'आएर बस्न खान र जंगल सजिलोसँग घुम्न पाउदा मलाई चितवनको सौराहा गएभन्दा फरक अनुभव भयो ।' 
सबै घरहरू अगाडि होमस्टेका नम्बर छन् । पाहुनाको स्वागत परम्परागत पोशाकमा गरिन्छ । साँझ परम्परागत गीत सुनाइन्छ । गुन्द्रही ढकना सामुदायिक वनका अध्यक्ष देवनारायण महतो भन्छन् 'संरक्षणका कार्यक्रम नारामा रमाइला लाग्दा रहेछन् । जबसम्म समुदायले आफूलाई यसबाट कस्तो लाभ छ भन्ने बुझ्दैनन् तबसम्म संरक्षण सजिलो छैन ।' थारुको परम्परागत संस्कारमा मिसिएको आधुनिकताबाट मुल संस्कृतिको खोजी गर्ने अभियान होमस्टेबाट सुरु भएको उनले बताए । 'अहिले हाम्रा तरकारी, कुखुरा, खसी र माछा बेच्न अरुतिर लानु पर्दैन', उनले भने 'हाम्रो वनमा डुलेर पर्यटकले तिर्ने शुल्क समितिमा जम्मा हुन्छ । आयआर्जनका गतिविधिले अरु विकासे कार्यक्रमको बाटो खोलेको छ ।' 



(८ चैत २०७० को कान्तिपुर कोसेलीमा प्रकाशित)
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=316974

No comments: