कर नगर्नुस् कविज्यु
भाषा खेलाउनु
विरह चलाउनु
हँसाउनु अनि शब्दजालले रुवाउनु
त्यो कला पटक्कै जान्दिन
मलाइ क्यामेरा भए पुग्छ
अलि बढी फोटा अटाउने मेमोरी कार्ड
र, अलि परका विषय टिप्ने लेन्स भए पुग्छ
कसरी भ्याउला कवितामा बर्कत !
त्यो तपाइँकै जिम्मा भो
भैगो म कविता लेख्तिन ।
आँगनमा भँगेरा आएका छन्
तिनलाई हेर्छु
छर्न ठिक्क पारेका कनिका हेर्छु
यो क्रंक्रिटको जंगलभित्र
हिजोआज कहाँ छ होला गुँड ?
बाटामा ठूलो होर्डिङ बोर्ड छ
सिमेन्टले देश बनाउँछ
काठको विकल्प आयो
स्टीलका झ्याल-ढोका पाइन्छ
फुसको छानो
काठका घर
अलिकति करेसाबारी
बारीमा दुईचार बुटा रुखबिरुवा
मैले किन नदेखेको होला ?
अस्ति पहाडको होटेलमा सोलर प्यानल देखेथेँ
क्रंक्रिटको जंगल पहाड पनि चढेछ
त्यहाँ बत्तीको मास्तिर गौंथलीका गुँड थ्यो
मनुवाको फेरिएको बास
गौँथली कहाँ जाउन ?
बाँच्न सिकेछन्
तर, अचम्म
गुँडको नक्सा कसले पास गर्दो हो ।
परिवर्तन कसरी आत्मसात हुँदो हो ?
म जान्दिन
भँगेराले गौँथलीबाट सिके कि
बास पाउने ठाउँ पहिल्याए कि
उनीहरु चिरबिर गर्छन्
भाषा बुझ्दिन
एकछिन है,
मलाई तस्बिर खिच्नु छ
अलिकति कनिका हुर्याउँ
टिपनटापन गर्नेछन्
क्लिक क्लिक पारौं
साँच्चै यो कनिका कसले फलाए होलान् ?
उनीहरुका पेटले के खाए होलान् ?
अखबारमा खबर थ्यो
धानको बिउ पाइएन
खडेरी लाग्यो
मल पाइएन
खेतमा खियाउने नङ्ग्राहरू
हिजोआज फेसबुकका च्याटमा भेट्छु
भन्छन् - काम पाइएन खाडी आइपुग्यौँ
न भाषिक शृंगार जान्दछु
न त विषय चयन
कर नगर्नुस्
माफ पाउँ कविज्यु
मैले विषय भेटिँन
मैले भाषा जानिन
आफैं भन्नुस्
म कसरी कविता लेख्न सक्छु ।।
***
१८ फागुन २०७०, विराटनगर, मोरङ

No comments:
Post a Comment