आयकरको नयाँ नियमसँग असन्तुष्ट विराटनगरका व्यापारी २०३६ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटन पुगे । आफ्नो परिचय दिने बेला टोलीमा गएका सुभास सेठियाले भने 'तपाइँ मलाई चिन्नुहुन्न होला, बजारमा ठूलो बरको रूख छ नि । धेरै चमेरा बस्ने, हो त्यहीँ छ मेरो घर ।' उनको कुरा सुनेर सबै हाँसे । तर, थापाले भने, 'ए त्यो धेरै चमेरा भएको रूख मलाइ थाहा छ ।'
विराटनगरमा ग्यालेक्सी फेन्सी पसलका सञ्चालक सेठियाको ठेगाना अब चमेरासँग जोडिएर आउदैन । किनकी बर काटियो । त्यहाँ व्यापारिक भवन बनाएको दुई दसक पुगेको छ । पुराना पुस्ताको सम्झनामा मात्र रूखको झझल्को छ ।
'अहिले पनि कतै चमेरा उडेको देखें भने म त्यो बरको रूख सम्झन्छु,' सेठिया भन्छन्, 'मान्छेले बाँच्न जसरी सजिलो हुन्छ, त्यही गर्नुपर्ने प्रकृतिकै नियम हो नि ।' पुरानो थलो मासिए पनि चमेरा विराटनगरबाट हराएका छैनन् । मोरङ जिल्ला प्रशासन हाता र गोल्छा हाउस आसपासका रूखमा दिउँसो हल्ला गर्दै झुण्डिएका देख्न सकिन्छ ।
०००
नारायणहिटीस्थित परराष्ट्र मन्त्रालयका पश्चिमी क्षेत्र। धेरै रूख। तिनमा धेरै चमेरा, बकुल्ला र अरू चरा। लाजिम्पाटस्थित डेरा आउँदा-जाँदा काभ्रेको महेन्द्रज्योति गाविस-२ का मंजित विष्ट (२४) मक्ख पर्थे। झुण्डिएकाहरू हेरिरहन्थे। पोखराको वन विज्ञानमा बीएस्सीका यी छात्रले भने, 'त्यहाँ बाटोका रूख काटिएछन्।' पखेटाधारी झुण्ड लैनचौरस्थित समाज कल्याण परिषद् हाताका रूखहरूमा सर्यो। जिज्ञासा हुनुका पछि चमेरा नै उनको पढाइको विषय थियो। केही दिनमै चमेरा बस्ने ती हाँगा पनि काटिए। 'मैले खप्न सकिँन, गएर किन काटेको ? भनेर सोधें,' उनी भन्छन्, 'तर, मैले जिम्मेवार मान्छे भेटिनँ। नराम्रो लाग्यो।'
०००
चिसो र घुप्प अँध्यारो छ। रिचार्जेबल लाइटको प्रकाश मद्धिम लाग्छ। ओडारमा मास्तिर हजारौं चमेरा चुपचाप झुण्डिएका देखिन्छन्। आनन्द महसुस गर्छन् फिनल्याण्डका लार्ल होल्म (३५) । काठमाडौं विश्वविद्यालयका लागि स्रोत व्यक्तिका रूपमा आएका उनी पोखरास्थित चमेरे गुफामा भेटिए। 'फर्कने दिन आयो। घुम्न आइयो,' उनले भने, 'यहाँभित्र छुट्टै आनन्द लाग्यो।'
पोखरा, पृथ्वीनारायण क्याम्पसमा बीएस्सीकी छात्रा ज्योति तिमिल्सिना भन्छिन्, 'गुफामा केही चेन्ज छैन। धेरै चमेरा मिलेर बसेका छन्।' बरू नजिकैको महेन्द्र गुफामा भित्र बत्ती लगिएपछि चमेरा देख्न नपाइएको उनी सुनाउँछिन्। भन्छिन्, 'अँध्यारोमा बस्नेलाई असजिलो पारेकाले यस्तो भएको हो। जीवको बासलाई बाधा पार्नु ठीक होइन।' नेपालगञ्ज-१२ का घनश्याम श्रेष्ठ (५१) लाई चलचित्रको रात्री दृश्यभित्र पसेजस्तो लाग्यो। भन्छन्, 'यति धेरै चमेरा बाहिर एकसाथ देखेको छैन।'
२०५४ देखि चर्चामा आएको पोखराको चमेरे गुफामा घुमन्तेहरू दिनमा ५ सय हाराहारीमा आइपुग्छन्। स्थानीय गाइड कृष्णबहादुर परियार (४३) का अनुसार पहिले एक लाख रूपैयाँ वार्षिक ठेक्कामा जाने ओडारले हाल ११ लाख कमाउने गरेको छ। 'डिस्टर्ब भएन भने चमेरा बस्छ,' उनी भन्छन्, 'यो झुण्ड जाडोमा बढछ, गर्मिमा घट्छ। अहिले २०/२५ हजार होलान्।'
०००
पाल्पा, मदनपोखरास्थित मामाघर जाँदा बुटबल-११ का हरि अधिकारी देख्थे - एक समूहद्वारा चमेरो समातिन्थ्यो। भारत, उत्तरप्रदेशबाट आउने फिरन्तेले सके आफैं समात्थे। अरूले ल्याएका भेटिए किन्थे। उनीहरू खान्थे। मावली आउजाउमा ती दृश्यले जिज्ञासू उनले पोखराको वनविज्ञान अध्ययन संस्थान भर्ना भएपछि 'ब्याट फ्रेण्ड्स' समूह बनाए। हाल जर्मनीको टेक्निक युनिभर्सिटीमा दिगो व्यवस्थापनमा स्नातकोत्तर गर्दैरहेका अधिकारीले इस्काइप च्याटमा भने, 'पछि म साथीहरूसँग त्यहाँका स्कुलमा चमेरा जोगाउ कार्यक्रम लिएर गएँ। अब समात्ने, किनबेच र मार्ने-खाने कुरा सुनेको छैन।'
विद्यार्थी चेतनाले सकारात्मक काम भएको उनलाई लाग्छ। साथीहरूसँग मिलेर उनले संरक्षणका लागि पुस्तिका नै तयार पारेका छन्। 'प्रकृतिको सन्तुलनमा चमेराको विशेष भूमिका छ,' उनी भन्छन् , 'तर, यो प्राणी अब संकटमा छ।'
०००
चार दसकअघि जंगलभित्रको बस्तीमा बसाइँ आएका रेशम श्रेष्ठ (५७) लाई आतिथ्यमा परेको असजिलो हिजै हो जस्तो लाग्छ। उनी चितवनको शक्तिखोरमा होटल चलाउँछन्। 'चेपाङ गाउँको मेजमानीमा परियो, खानेकुरामा के दिए भनेर यसो हेरेको त सिंगो चमेरो र नुन-खुर्सानी,' उनले भने, 'सकिँन मैले त। अर्थोक भए देओ यो सक्दिन भनेँ।' अरूले खाए। उनी हेरिरहे। 'हेर्छु, थालमा सिंगो ङिच्च गरिहेजस्तो !,' उनले सुनाए, 'मैले लौ न म यो खान्न। फर्सीसर्सी भए नि हुन्छ मलाइ त भनेर पन्छिएँ।'
अहिले उनैलाई स्वादिलो लाग्छ। 'अब त यताका सबैले मजाले खान्छन्। पहिले चेपाङको मात्रै स्वादिलो खान्की थियो,' उनी थप्छन्, 'अब पहिले जसरी छ्यास्सछ्यास्ती पाइँदैन पनि।' राती आहाराको खोजीमा हिँड्ने चमेरोलाई चेपाङहरू भुवा (जाल) मा पारेर समात्छन्। भन्छन्, 'तर, मान्छेले खाने चमेरो फल र फूलको रस खाने जातका मात्र हुन्छन्।'
श्रेष्ठको होटलभन्दा करिब डेढ किलोमिटर उत्तर बहुदल बजार छ। माओवादीका लडाकुको शिविरबाट करिब सात किलोमिटर पूर्व-उत्तर शक्ति खोला किनारमा चेपाङ संग्रहालयसमेत रहेको शक्तिखोर-५ को यो बजारमा देउरालीका चेपाङ तन्नेरी दिलबहादुर प्रजा (२३) को पनि पसल छ। बाँसको सिकोमा माछा उने जसरी झुण्ड्याइएको छ। 'के हो यो ?' दिलबहादुर हतपत भन्छन्, 'चमेरो। पकाएर बेचेको ३० रूपैयाँ पीस।'
भुवा थाप्न सिपालुले ल्याउँछन्। 'मुटुमा थिचिन्छ। उसिनेर बेच्न ल्याइन्छ,' भन्छन्, 'च्युरीको घ्युमा भुटेर पकाएको मिठो हुन्छ।'
शक्तिखोर-३ सुपार बाङसुराङका दलबहादुर प्रजा (५६) लाई भुटुनमा च्युरीको घ्यु नभए पनि चल्छ। भन्छन्, 'विकासे मौरीले च्युरी फुल्नै घटायो। कम्ता फुलेर चमेरा थोरै आउँछन्, गेडा लाग्दैन।' जानकारहरूका भनाइमा रस चुस्न चमेरा भुम्मिन्छन्। बाहिर छाडेका रस मौरीको भोजन हुन्छ। च्युरीलाई मौरीले हानि गर्दैन, न त चमेराले गर्छ। दलबहादुर भन्छन्, 'पहिले यता मौरी चराउने आउँदैनथे, चमेरो धेरै आउँथ्यो। च्युरी धेरै फुल्थ्यो, गेडा लाग्थ्यो, घ्यु पनि धेर हुन्थ्यो। अहिले घट्यो।'
०००
काठमाडौं, बुद्धनगर पश्चिम गल्लीको सानो कोठामा तन्नेरी जमात भेटिन्छ। प्राणीशास्त्रका स्नातक र स्नातकोत्तरका विद्यार्थी साना स्तनधारी संरक्षण तथा अनुसन्धान फाउण्डेसन गठन गरेर चमेराको खोजी र संरक्षण जुटेका छन्।
चार वर्षअघि जु-आउटरीचले दक्षिण एसियाली मुलुकका जीवविज्ञानमा स्नातकोत्तरका विद्यार्थीलाई चमेराबारे बताउन एउटा कार्यक्रम गरेको थियो। त्यसमा विश्व संरक्षण संघका स्तनधारीविज्ञ स्कटल्याण्डको एभरडीन विश्वविद्यालयका प्राध्यापक पल रेसी आएका थिए। बीएस्सीका छात्र संजन थापा (२६) ले पनि मौका पाए। 'मलाइ चमेरोबारे बढी रूचि भएकाले सामेल हुन पाइयो,' उनी भन्छन्, 'त्यो क्लासपछि रूचि थपियो। पछि थेसिस नै चमेरामा गरें।'
फाउण्डेसनका अनुसार नेपालमा हालसम्म चमेराका ५३ प्रजाति पत्ता लागेको छ। थापा भन्छन्, 'बासस्थान विनास, आहाराको कमी र सिकारले चमेरा घटेका छन्।' फाउण्डेसनमा उनीसँगै सुजीता, अनिता श्रेष्ठ, सागर दाहाल, रामेश्वर घिमिरे, दिव्यराज दाहाल र नारायण लामिछाने छन्। राजधानीमा पढ्न बसेका यी तन्नेरी बिदा वा घर जान लागेका बेला खोजीको योजना बुन्छन्। 'जो घर जान्छ, उसको साथ लागेर २/३ जना जान्छौं,' थापा बताउँछन्, 'त्यो जिल्लामा चमेराको अवस्था खोजी गर्छौं।' चार वर्षको अध्ययनले उनीहरूलाई 'ब्याट्स अफ नेपाल' पुस्तक निकाल्ने सफलता मिलेको छ।
उनी भन्छन्, 'काठमाडौं भ्यालीमा १९९७ मा २५ प्रजाति रेकर्ड थियो। अहिले २०१० मा १२ मात्र भेटिए।' नेपालमा मान्छेलाई हानि गर्ने प्रजाति भेटिएका छैनन्। झापाको रतुवामाइ आयोजना हाता मुलुकमै धेरै संख्यामा चमेरा बस्ने ठाउँ हो।
०००
'कुकुर, बिरालो, गाई, स्याल वा मान्छेजस्तै बच्चा जन्माउने, दूध चुसाउने भएकाले चमेरो स्तनधारी वर्गको जन्तु हो, धरान हात्तिसारको केन्द्रीय प्रविधि क्याम्पसमा प्राणीशास्त्रका सहायक प्रध्यापक रामचन्द्र अधिकारी भन्छन्। चमेरा दुई किसिमका हुन्छन्। फलफूलमात्र खाने ठूला मेगाचिरोप्टेरा र भुसुना खाने साना खालका माइक्रोचिरोप्टेरा। भन्छन्, 'संसारभर १११६ प्रजातिमध्ये ७० प्रतिशत साना खालका छन्। जसले भुसुना लगायतका कीरा खान्छन्।' पाकेका फल र फूलका रस खाने शाकाहारी आँखा देख्छन्। कीरा-फटयाङग्रालाई आहारा बनाउनेहरू देख्तैनन्। तिनमा श्रवण क्षमता अत्यधिक हुन्छ।
पोखरा, वनविज्ञान अध्ययन संस्थानमा पढाउने जीवनाथ पाण्डे (५२) लाई विद्यार्थीका शोधका ठेली कलेजमै थन्किनु राम्रो लाग्दैन। 'रिसर्चले जीवजन्तुको अवस्था मात्र बताउँदैन, संरक्षणका सुझाव पनि हुन्छ,' उनले भने, 'जोगाउने उपाय समुदायले थाहा पाए पो जोगिन्छ।' संसर्गपछि पोथीले अनुकूल अवस्था हेरेर मात्र गर्भ बोक्छे, असुरक्षित छु भन्ने लागे बिउ बाहिर फालिदिन्छे। उनले भने, 'स्तनधारीमा यो तथ्य अचम्मको छ।'
गाँस-बासको अनुकूलता हेरी गर्भधारण तथा प्रजननको समय निर्क्यौल क्षमता चमेराका केही प्रजातिमा मात्र पाइएको छ। वर्षमा एकपटक बढीमा तीनवटासम्म बच्चा जन्माउने यसले ६ देखि ८ हप्ताको भइन्जेल पखेटामा अल्झाएर राख्छ। त्यसपछि उड्न थाल्छ। बढीमा ३० वर्षसम्म बाँच्न सक्ने यी जीव २० किलोहर्जभन्दा धेरै आवृत्तिको आवाज निकाल्न र सुन्न सक्छन्। देख्ने क्षमता कम तर, सुन्ने अधिक भएकाले आफ्नै प्रतिध्वनि सुनेर उडान गन्तव्य र सिकार पत्ता लगाउँछन्। परावैजनी किरण देख्न सक्छन्।
चमेरा नआउने ठाउँमा भुसुना लगायतका साना कीराको बिगबिगी हुन्छ। एउटा चमेराले एक घण्टामा लामखुट्टे र यो जत्रा किरा ६ सयदेखि ८ सय वटासम्मलाई आहारा बनाउन सक्छ। वनस्पतिलाई परागसेचन प्रक्रियामा मद्दत गर्छ। वर्षौं खाली पाखा र जमिनहरूमा झाडी-बुटयान उमार्न चमेराको बिष्टाहुँदै पुगेको बीउको भूमिका हुन्छ। लामो दूरीसम्म उडने र पुर्खा बसेकै हाँगा पहिल्याएर बस्ने विशेषता पनि छन्।
सहप्राध्यापक अधिकारी भन्छन्, 'अमेरिकामा रेडनेल भन्ने वैज्ञानिकको अध्ययनले १५० वटा चमेराले काँक्रामा लाग्ने किरा १ वर्षमा ३८ हजारवटा खाइदिएर १ अर्ब डलर बराबरको क्षति रोके भन्ने रिपोर्ट पढ्न मिलेको थियो।' पर्यावरणीय चक्रमा यसले गर्ने हानिभन्दा फाइदा धेरै छन्।
दक्षिण एसियाली मुलुकहरूमा शुभसूचक नमानिने यो जीव चीन र हल्याण्डमा दीर्घायु तथा खुसीयालीको संकेत मानिन्छ। साइटिस महासन्धिअनुसार दक्षिण एसियामा पाइने १२३ प्रजातिमध्ये ६० लाई अन्तर्देशीय ओसारपसार गर्न पाइँदैन। बेलायतमा चमेरा समाउनु गैरकानुनी मानिन्छ। हामीकहाँ अझै यो संरक्षितको सूचीमा परेको छैन।
***
(कान्तिपुर कोसेलीमा ०६७ माघ १५ मा प्रकाशित)
No comments:
Post a Comment