विवाहका तीन बर्षपछि आफ्नो यौन क्षमतामा कमि आएको शंका गर्दै धरानका सगुन राइ (छदम नामथर) उत्तेजक औषधी खोज्दै विभिन्न क्लिनिक र सडक छाप चिकित्सकहरुकहाँ धाउन थाले ।
पत्नीसग संसर्ग सुरु नगर्दै वीर्य स्खलन भएर सधै आजित भएका उनले क्लिनिक पुगेर सोध्ने गरेका थिए 'सेक्सको समयलाई कम्तिमा एक घण्टा कायम राख्ने औषधी छ ? यौन क्षमता बढाउन अरु उपाय के के छन् ?' औषधी बिक्रेताले आधा दर्जन ब्राण्डका औषधी देखाएर यौन दुर्बलता कम गर्ने नाममा जे उपलब्ध छ त्यही दिएर उनलाई पठाए । क्लिनिकबाट ल्याएको औषधीले उनको समस्या समाधान भएन । झन् चिन्ता थपियो ।
पत्नीबाट उनले नपुंसकको संज्ञा पाउन मात्र बाँकी थियो । यौन सन्तुष्टी आफुले दिन नसके जीवनसंगिनीको परायासँग सम्बन्ध बढला भन्ने पीरले मनमा घर गर्यो । धेरै दिन भौतारिए । अन्ततः केही सातापछि एक दिन धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभागमा पुगे । त्यहाँ परामर्श लिएपछि भने उपचार भयो । उनी मानसिक रुपमा शीघ्र पतनको शिकार भएका थिए ।
परामर्श र साधारण औषधिकै भरमा चिन्तामुक्त भएपछि उनी भन्छन् 'भन्न नहुने । नभनी पनि नहुने यस्ता समस्या धेरैका होलान् ।' उनले भनेजस्तै छ समाज । यौनका कुरा गर्न धक मान्छ । समस्याबाट आजित भएपछि बाहिर नआउने भन्ने कुरा त छैन आखिर । क्लिनिक, नर्सिङ होम र अस्पताललगायतका सबैजसो उपचार केन्द्रमा यौन विशेषज्ञ सजिलै उपलब्ध छैनन् । सडकमा पसल थापेर यौन शक्तिवर्धक ओखती पाइन्छ भनी माइक लगाउनेका वरपर झुम्मिने भीडमा सगुनजस्ता धेरैले समस्याको निदान पाउने आश गरिरहेका भेटिन्छन् । सडकमा बसेका झोले क्वाकले दिएका ओखती र सल्लाहको भरमा धेरै दम्पति यौन दुर्वलताको उपचार गर्नबाट बन्चित भएका छन् । कतिपय त भारतको जोगबनी, सिलिगुढीसम्म पनि जाने गरेका छन । लुकीलुकी हेरिने नीलो चलचित्रमा देखाइएजस्तो क्रिडाको क्षमता किन नभएको होला भन्दै मनमा कुण्ठा पाल्नेहरु विस्तारै मनोविमर्शकर्तातर्फ परामर्शमा अग्रसर भएका छन् ।
प्रतिष्ठानको मानसिक रोग विभागमा सगुनको भन्दा अलिक फरक घटना लिएर एक दम्पती आए । उमेरले भर्खरै ३० नाघेका उनीहरुको समस्या थियो- पत्नीको यौन चाहना एकाएक घट्यो । विवाह गरेको एक दसक बित्यो । दम्पतीमध्ये एक जनामा यौन इच्छा हराउन थालेपछि अर्कालाई चिन्ता लाग्नु स्वभाविक थियो । पत्नीको चाहनामा कमि मात्र आएन, पतिलाई अस्व्भाविक लाग्ने सल्लाहसमेत दिन थालिन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्राडा प्रमोद स्याङवाकहाँ आएका उनीहरुले समस्या सुनाए । संसर्गका बेला पत्नी भन्थिन् 'मलाई चाहना छँदैछैन, दुख्छ । बरु, पैसा दिन्छु बाहिर कतै गएर त्रि्रो यस्तो इच्छा पुरा गर ।' यस्तो सल्लाह दिने गरी पत्नीमा शारीरिक र मानसिक रुपमा केही न केही गडबडी छ भन्ने लागेर उनीहरु मानसिक रोग विभागमा सुटुक्क समाधानको उपाय खोज्दै आएका थिए ।
'उनीहरुको पारिवारिक-समाजिक परिवेश अध्ययन गरियो, अनि जाँच गर्न लगाइयो, डा. स्याङ्वाले भने 'योनीमा इन्फेक्सन थियो । त्यसैले त्यस्तो भएको रहेछ ।' महत्वपूर्ण अंगमा हुने कुनै पनि संक्रमणले मान्छेको प्राकृतिक बानीमा फेरबदल हुनसक्ने उनले बताए । उपचारपछि उनीहरु फिरेका छैनन् । अस्पतालको बुझाइमा उपचार पाएकाले अब उनीहरु पुनः शिकायत लिएर आउने छैनन् ।
खुला उपभोक्तावादी समाज, शहरीया जीवनशैली, चलचित्र, खानपान र रात्री जीवन आदिको प्रभावले युवायुवती र दम्पतीले यौनलाई सुख-आनन्द दिलाउने प्रमुख शक्तिका रुपमा मानिरहेको अवस्था छ । तर, विभिन्न कारणले धेरैलाई सुखद अनुभव नभएका अवस्था पनि छन् । जैविक, मनोवैज्ञानिक, सामाजिक, परिवारिक, धार्मिक, परम्परा र संस्कृतिलगायत जेसुकै मुल कारक हुन्, पीडितहरु भन्न नचाहेरै पनि शक्तिवर्धक अवस्थाको खोजी गरिरहेको डा. स्याङबा बताउछन् । भन्छन्, 'यौन क्षमता कति हो भन्ने नै थाहा नपाएका कारण धेरै दम्पतीहरु अनावश्यक मानसिक तनावमा पनि पर्ने गरेका छन् । यस्ता दम्पतीहरु धेरै छन् समाजमा ।'
उनको बुझाइमा यौनउत्तेजना बढाउने औषधी, विधि र प्रक्रियाको खोजी आधुनिक समयमा मात्र भएको होइन । मानव सभ्यताको प्रारम्भदेखि नै यस्ता खोजी हुदै आएका छन् । पछिल्लो समय जीवनलाई आनन्द र सुख अनुभव गराउने मुख्य कार्य मान्न थालिएपछि बढी बैज्ञानिक अध्ययन-अनुसन्धान भएका छन् । उनका अनुसार यौनलाई विज्ञानले पनि आधारभूत शारीरिक आवश्यकतामा राखेपछि सन्तुष्टी पाउनका लागि के गर्न सकिन्छ भनेर झन धेरै उपायका खोजी पनि भएका छन् ।
यौन क्रिया मानिस त के कुनै पनि जीव जन्तु, पशु पंक्षिको अस्तित्व नै नहुने यथार्थ एकातर्फ छदैछ । अर्कातिर सन्तान उत्पादनका लागि मात्र भन्दा पनि चरम आनन्द लिने बानी परेकाहरु धेरैलाई दुर्बलताको कमजोरीमा परामर्श र उपचार सेवा लिइरहेको भेटन सकिन्छ । जुन जीवमा यौन दुर्बलताको असर पर्छ त्यसको वंश वा प्रजाति कुनै पनि बेला समाप्त हुने विषयमा बैज्ञानिकहरु पनि सहमत छन् । प्राणीमा यौन क्षमता प्रकृतिले नै दिएको हो ।
०००
यौन क्रियालाई सरल रुपले बुझने हो भने यो जटिल मानवीय व्यवहार भएको मनोविमर्शकर्ताहरुको भनाइ छ । यौनलाई सहज, आनन्ददायक, सुखदायक र दम्पतीको लागि सर्वस्वीकार्य बनाउन मानवीय शरीरको स्नायु प्रणालीदेखि समाज, धर्मसंस्कृति, रीति, खानपान, रहनसहन, समय र सान्दर्भिकताबीच सामान्जस्यता हुनुपर्ने उनीहरु बताउछन् ।
प्रकृतिले मानिसलाई यौन क्षमताले भरिपूर्ण बनाएपनि विभिन्न जैविक, सामाजिक, पारिवारीक, धार्मिक कारणले दुर्वल बनाउने गरेको छ । यौन दुर्वलताका कारणहरु बारे डा. स्याङबा भन्छन्, 'यौन दुर्बलता निम्ताउने प्रमुख कारणमा स्नायु प्रणालीको अहंम भूमिका हुन्छ । जसरी हाम्रो ब्रेनमा भोक प्यास, न्रि्रा थाहा पाउने स्नायु केन्द्रहरु हुन्छन्, त्यस्तै यौन चाहना कायम राख्ने हाइपोथेलामस स्नायु प्रणाली हुन्छ ।' हाइपोथेलामस स्नायु प्रणालीमा कुनै कारणले क्षति पुगेमा यौन दुर्बलता देखिने उनी स्पष्ट पार्छन् । त्यस्तै शरीरको स्नायु प्रणालीमा विपरित लिङ्गीप्रति आकर्षित हुने केन्द्र पनि हुन्छन् । ती केन्द्रमा पनि क्षति पुगेमा पनि यौनाकर्षणमा कमि हुने उनले बताए ।
मेरुदण्डको पेरीफेरल सेन्ट्रल नर्भस सिस्टममा कुनै प्रकारको आघात परेर क्षति पुगेमा पनि यौन क्षमतामा कमि आउछ । यी बाहेक अरु पनि कारणहरु हुनसक्छन् । यौनका बारेमा खुला समाज र बन्द समाजको प्रभावले पनि यौन क्षमतामा असर पर्ने गरेको छ । मनोवैज्ञानिक अध्ययनअनुसार खुला समाजमा यौनलाई सामान्य र सकारात्मक प्रक्रियाका रुपमा लिने गरिएकाले स्वतन्त्रता बढी छ । यसले यौन चाहना र क्षमतामा वृद्धि हुन्छ भने बन्द समाजमा पाप, घृणित काम, व्यभिचारीको रुपमा लिइने भएकोले यौन आनन्द लिएपछि पनि कतिपय अवस्थामा आत्मग्लानी भएको महसुस गर्दै मानिसहरु बाच्न बाध्य छन् ।
डा. स्याङबा भन्छन् 'घर पारिवार र समाजको वातावरण अति धार्मिक परिवेशको भएमा पनि व्यक्तिको यौन क्षमतामा कमि आउन सक्छ । धार्मिक प्रवृत्तिका मान्छेले यौनलाई सामान्यतया सन्तान उत्पादनका माध्यमको रुपमा मात्र हेर्छन् । आनन्दका लागि होइन भन्ने संकुचित दृष्टिकोणका प्रभावले कतिपय अवस्थामा यौन क्षमता घट्न सक्छ ।' यस्तै, महिला र पुरुषमा कुनै प्रकारको मानसिक आघात परेको बेला पनि यौन चाहना वा क्षमतामा कमि आउने गरेको उनी बताउछन् । संसर्गका लागि परिपक्व हुनअघि नै बलात्कृत भएमा वा यौन दुर्व्यवहार खेपेका महिलामा पनि यौन चाहना कम हुने विभिन्न अनुसन्धानले देखाएको प्रसङ्ग कोट्यादै डा. स्याङबाले बताए 'त्यस्ता महिलाले जिन्दगी भरि पुरुषलाई विश्वास नै गर्दैनन् । कतिपयमा यौनलाई हेर्ने दृष्टिकोण पुरै नकारात्मक भएको हुन्छ ।'
शारीरिक-मानसिक तनाव भएको बेला पनि व्यक्तिमा यौन दुर्बलता उत्पन्न हुन्छ । नवविवाहित वा पहिलोपटक यौन सम्पर्क गर्दा विभिन्न डर त्रास, हतार आदिको कारण चाडै वीर्य स्खलन हुनु स्वाभाविक मानिन्छ । तर, यही घटनालाई लिएर कुनै पुरुषले आफ्नो शारीरिक कमजोरी मान्न थाल्यो भने त्यसले उसलाई अनावश्यक तनावतिर डोर्याउछ । एक दुइपल्ट यौन सम्पक गर्दा शीघ्रपतन भएमा आफुलाई नपुंसक सम्झन थाल्दा यौन साथीले पनि थोरै मात्र प्रतिक्रिया दिनाले त झन समस्या बढाउने गरेको छ । चिकित्सकहरु यस्तो समस्यालाई प्रिमाच्योर इज्याकुलेसन भन्छन् । यौन साथीलाई पनि पुरुषमा हुने कतिपय यस्ता क्रियाहरु बारे थाहा नपाएर साच्चै नै यौन सन्तुष्टि नदिने हो की भन्ने अन्धविश्वासले तत्काल प्रतिक्रिया जनाउने गर्छन् । जसले थप यौन दुर्वलता मात्र होइन मानसिक तनाव र चिन्ता बढाउन मद्दत गर्ने गरेको मनोचिकित्सकको भनाइ छ ।
यौन क्षमतालाई बढाउन र कायम राख्न जैविक पक्षको मात्र सुधार गरेर हुदैन । सबैभन्दा पहिले त स्वस्थ रुपमा मनोवैज्ञानिक तयारी हुनुपर्छ । जैविक स्वस्थतासगै सामाजिक, मनोवैज्ञानिक, पारिवारिक वातावरण स्वस्थ भएमा स्वतः यौन क्षमता कायम रहने मनोवैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ ।
-प्रदीप मेन्याङबो
pdpmdharan@gmail.com
(कान्तिपुर कोसेलीको २०६७ कात्तिक १३ को पूर्वाञ्चल संस्करणबाट साभार । उक्त अंकमा यो सामाग्री 'धेरै सोचेर समस्यामा' शिर्षकमा प्रकाशित भएको थियो)
No comments:
Post a Comment