काठमाडौंको एउटा व्यस्त क्याफेमा २० वर्षीया स्नेहा आफ्नो साथीसँग कफी पिउँदै थिइन्। वातावरण निकै रमाइलो थियो, तर एक्कासि उनको पछाडिको टेबलमा बसेका जोडीले खाएको आवाजले ध्यान तान्यो। उनीहरुले चपाउँदा निस्किएको ‘चप्-चप्’ र ‘प्याक-प्याक’ आवाज स्नेहाको कानमा सामान्य ध्वनि मात्र बनेर परेन, त्यो त उनको मस्तिष्कमा सीधै किला ठोकेसरह भयो।
स्नेहाको मुटुको ढुकढुकी तेज भयो, पाखुराका रौं ठाडा भए र उनलाई ती जोडीका हातबाट प्लेट खोसेर हुर्याइदिऊँ जस्तै रिस उठ्यो। उनी एकाएक टेबलबाट उठिन् र शौचालयतिर भागिन्। बाहिरबाट हेर्दा स्नेहा ‘सन्की’ वा ‘उदासीन’ जस्ती देखिइन्, तर भित्रभित्रै उनी एउटा अनौठो मानसिक र स्नायुगत संघर्ष झेलिरहेकी थिइन्।
दोस्रो प्रसंग,
४५ वर्षका रमेश आफ्नो कार्यालयको मिटिङ रूममा बसिरहेका छन्। सहकर्मीले निरन्तर डटपेनको पछाडिको बटन एकसुरले थिच्दै ‘टिकटिक टिकटिक’ पारिरहेका छन्। रमेशको ध्यान मिटिङको मुख्य एजेन्डाबाट पूर्ण रूपमा हटेर केवल त्यो ‘टिकटिक’ आवाजमा अड्किन्छ। उनलाई आफ्नो टाउको फुट्ला जस्तै हुन्छ, जिउ पसिनाले भिज्छ र उनी सहकर्मीमाथि चिच्याउन पुग्छन् - 'बन्द गर त्यो टिकटिक !' पछि उनलाई आफूले गरेको व्यवहारप्रति ग्लानि हुन्छ, तर अर्कोपटक त्यस्तै आवाज सुन्दा उनी पुनः आफूलाई रोक्न असमर्थ हुन्छन्।
स्नेहा र रमेश दुवैलाई बिगतमा मानसिक समस्या थिएन। दुवै हिजोआज एउटा विशेष तर प्रायः ओझेलमा परेको अवस्थाबाट गुज्रिरहेका छन्, जसलाई चिकित्सा विज्ञानमा ‘मिसोफोनिया’ (Misophonia) भनिन्छ।
यसलाई अझ सजिलोसँग बुझ्नका लागि सोचौँ, हामी एउटा यात्रामा छौँ। बस रोकियो खाना खाने होटलमा। सबै यात्रु ओर्लिए। हातमुख धुन र दिसापिसाब गर्न होटल कर्मचारीले बताएको दिशामा लागियो। अचानक एकजना जंगिदै बाहिर आए, बेसिनमा खकारीरहेका युवकलाई दुई-चार चड्कन लगाए। कराए, 'भित्र यत्राविधि मान्छेहरु खाना खाइरहेका छन् भन्ने थाहा हुँदाहुँदै यस्तरी खकार्ने? कमन सेन्स छैन?'
अचानकको घटनाको कारण स्वाभाविक थिएन। दुवैबीच हात हालाहाल भयो। झगडा बढ्ने अवस्था भएपछि अरु यात्रु आए, दुवैलाई सम्झाए, छुट्याए। ती जंगिने मान्छेले त्यसपछि खाना खाएन। उ त्यसै बसमा चढ्यो। अशान्त रहेको भाव अनुहारमा थियो। उनी जंगिनु स्वाभाविक थियो, हात हालाहालमै उत्रनु अस्वाभाविक। कतै कुनै सामान लिन वा शुल्क तिर्न आफू लागेको लाममा पालो मिच्दै छिरेकाको बोली सुनेर, गाडीको हर्न सुनेर अस्वाभाविक रूपमा जंगिनेमा तपाइँ-हामी परिरहेका हुन्छौँ। दैनिक जीवनमा कहिलेकाहीँ लाग्छ - 'ठूलो कुरै थिएन, यस्तरी रियाक्ट नगरेको भए पनि हुने थियो।' त्यो आक्रामक र अस्वाभाविक प्रतिक्रिया 'मिसोफोनिया' हो।
के हो यो समस्या ?
'मिसोफोनिया' शब्द ग्रीक भाषाका दुई शब्द 'Misos' (घृणा) र 'Phone' (आवाज) मिलेर बनेको हो। यसको शाब्दिक अर्थ हुन्छ, 'आवाजप्रतिको तीव्र घृणा।'
सामान्यतया मानिसहरूलाई ठूलो बाजा, हर्न वा कोलाहलले झर्को लाग्नु स्वाभाविक हो। तर मिसोफोनिया भएका मानिसहरूलाई कुनै ठूलो कोलाहलले होइन, बरु हाम्रै दैनिक जीवनका साना, सामान्य र नियमित आवाजहरूले असर गर्छन्। जस्तै: कसैले खाना चपाएको, घुट्क्याएको, नाक स्याँर्र स्याँर्र गरेको, आवाज आउनेगरी साँस फेरेको, किबोर्डमा टाइप गरेको वा घडीको ‘टिक-टिक’। यी आवाजहरू उनीहरूका लागि केवल झर्को लाग्ने विषय मात्र हुँदैनन्, यी आवाजले उनीहरूको मस्तिष्कमा 'Fight-or-Flight' (लड्ने वा भाग्ने) संकटकालीन प्रतिक्रिया (Survival Mechanism) सक्रिय गराइदिन्छन्।
सुरु हुन्छ कसरी, ल्याउँछ कस्ता समस्या ?
मिसोफोनिया प्रायः सुस्त गतिमा सुरु हुन्छ। सुरुका दिनहरूमा व्यक्तिलाई परिवारका कुनै एक सदस्यको खास आवाज (जस्तै: कसैले खाना चपाएको, खकारेको, नाकका आवाज) ले मात्रै बिथोल्न थाल्छ। तर समयसँगै यो बढ्दै जान्छ र अन्य व्यक्तिहरूका उस्तै आवाजहरू पनि 'ट्रिगर' बन्न थाल्छन्।
यसले व्यक्तिमा केवल मानसिक होइन, शारीरिक र सामाजिक समस्याहरूसमेत निम्त्याउँछ।
शारीरिक समस्या : ट्रिगर हुने आवाज सुन्ने बित्तिकै मुटुको धड्कन बढ्नु, पसिना आउनु, मांसपेशी तानिनु र मनिङ वाक वा व्यायाम गर्दा जस्तै शरीरमा एड्रेनालिन (Adrenaline) हर्मोनको बाढी आउनु। यसरी एड्रेनालिन हर्मोन एक्कासी अनियन्त्रित रूपमा बग्दा शरीर लगातार 'हाइ अलर्ट' (High Alert) को स्थितिमा रहन्छ। यसले गर्दा व्यक्तिमा दीर्घकालीन शारीरिक थकान, उच्च रक्तचाप, र टाउको दुख्ने जस्ता समस्याहरू देखिन थाल्छन्। निरन्तरको यो तनावले पाचन प्रणालीमा असर पार्नुका साथै राति निद्रा नलाग्ने (Insomnia) समस्या पनि निम्त्याउँछ। सामान्य आवाजलाई पनि मस्तिष्कले 'शारीरिक आक्रमण' ठानेर यसरी प्रतिक्रिया दिँदा व्यक्ति मानसिक र शारीरिक दुवै रूपमा छिट्टै गलिसक्छ।
भावनात्मक विस्फोट : अत्यधिक रिस, निराशा, छटपटी र कहिलेकाहीँ आक्रामक व्यवहार। यस्तो भावनात्मक विस्फोटले व्यक्तिको व्यक्तिगत र व्यावसायिक जीवनमा गम्भीर असर पुर्याउँछ। आवाज सुन्ने बित्तिकै आउने तीव्र आक्रोशका कारण साथीभाइ, परिवार र सहकर्मीहरूसँगको सम्बन्ध बिग्रिँदै जान्छ। पछि गएर आफूले देखाएको आक्रामक व्यवहारप्रति अपराधबोध र ग्लानि महसुस हुनाले मानिसलाई भित्रभित्रै कमजोर बनाउँछ। यसले गर्दा व्यक्तिमा हीनभाव जाग्ने, निरन्तर चिन्ता (Anxiety) बढ्ने र बिस्तारै समाज तथा मानिसहरूबाट पूर्ण रूपमा टाढिएर टोलाउने वा गम्भीर डिप्रेसनको अवस्थामा पुग्ने जोखिम उच्च रहन्छ।
सामाजिक पृथकीकरण (Social Isolation) : मानिसहरू आफ्ना प्रियजनसँग बसेर खाना खान डराउँछन्। फिल्म हल, क्याफे, वा शान्त पुस्तकालय जान छाड्छन्। यसले गर्दा उनीहरू एक्लोपन र डिप्रेसनको सिकार हुन पुग्छन्। यसरी सामाजिक जीवनबाट टाढा रहँदा व्यक्ति परिवार र समाजबाट पूर्ण रूपमा अलग थलग पर्न थाल्छ। उत्सव, भोजभतेर वा सामूहिक बैठकहरूमा जान छोड्नाले उनीहरूका घनिष्ठ सम्बन्धहरू बिस्तारै कमजोर हुँदै जान्छन्। निरन्तरको एक्लोपनले मानिसलाई "मलाई कसैले बुझ्दैन" भन्ने नकारात्मक सोचतिर धकेल्छ। बिस्तारै काम वा पढाइमा ध्यान नजाने, आत्मविश्वास घट्दै जाने र गम्भीर प्रकारको डिप्रेसनको जोखिम बढ्छ। अन्ततः, आवाजबाट बच्न खोज्दा व्यक्ति आफ्नै भावना र सोचहरूको बन्दी बन्न पुग्छ।
मिसोफोनिया कहिले पत्ता लाग्यो, कुन उमेरमा हुन्छ ट्रिगर ?
मिसोफोनिया मानव इतिहासमा पहिलेदेखि नै भए तापनि यसलाई वैज्ञानिक रूपमा ढिलो मात्र नामकरण गरियो। सन् २००१ मा अमेरिकी न्युरोवैज्ञानिक (Neuroscientists) पावेल जास्ट्रेबोफ (Pawel Jastreboff) र मार्गरेट जास्ट्रेबोफ (Margaret Jastreboff) ले पहिलोपटक यो शब्दको प्रयोग गरेका हुन्। उनीहरूले कानको बज्ने समस्या (Tinnitus) र आवाज सहन नसक्ने अवस्था (Hyperacusis) भन्दा यो भिन्नै अवस्था हो भनी पहिचान गरे।
कुन उमेर समूहमा यो ट्रिगर हुन्छ?
अनुसन्धानहरूका अनुसार मिसोफोनिया ट्रिगर हुने मुख्य उमेर ९ देखि १३ वर्ष (किशोरावस्थाको सुरुवात) हो।
यो उमेरमा बालबालिकाको मस्तिष्कमा व्यापक परिवर्तन भइरहेको हुन्छ र उनीहरू ध्वनिसम्बन्धी संवेदनशीलताप्रति बढी प्रवण हुन्छन्।
यद्यपि, यो उमेरभन्दा पछि पनि देखा पर्न सक्छ, तर अधिकांश वयस्कहरूले आफ्नो बाल्यकाल वा किशोरावस्थाबाट नै यो समस्या सुरु भएको अनुभव सुनाउँछन्।
मनोविज्ञान तथा न्युरोवैज्ञानिक व्याख्या
मिसोफोनिया केवल 'कानको समस्या' वा 'अतिसंवेदनशीलता' मात्र होइन भन्ने पुष्टि गर्न मनोवैज्ञानिक र वैज्ञानिकहरूले विभिन्न अध्ययन र प्रयोगहरू गरेका छन्।
न्यूकासल विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता डा. सुखविन्दर कुमार र उनको टोलीले सन् २०१७ मा मिसोफोनियामा मस्तिष्कको भूमिकाबारे एउटा ऐतिहासिक प्रयोग गरे। उनीहरूले मिसोफोनिया भएका र नभएका दुवै समूहका मानिसहरूलाई एमआरआई (fMRI) मेसिनभित्र राखेर तीन प्रकारका आवाजहरू सुनाए। सामान्य आवाज (जस्तै: पानी परेको), अप्रिय आवाज (जस्तै: बच्चा रोएको) र ट्रिगर आवाज (जस्तै: चपाएको वा साँस फेरेको)।
एमआरआई स्क्यानले देखायो कि जब मिसोफोनिया भएका मानिसहरूले ट्रिगर आवाज सुने, उनीहरूको मस्तिष्कको Anterior Insular Cortex (AIC) भाग अत्यधिक सक्रिय भयो। यो भागले हाम्रा भावनाहरू र शारीरिक संवेदनाहरूलाई जोड्ने काम गर्छ। साथै, आवाज सुन्ने भाग र भावना नियन्त्रण गर्ने भागहरू बीचको न्युरोनल नेटवर्क असामान्य रूपमा जोडिएको पाइयो। डा. कुमारले भनेका छन् - 'मिसोफोनिया केवल आवाज मन नपर्नु होइन, यो मस्तिष्कको संरचनात्मक र कार्यात्मक भिन्नता हो। मिसोफोनिया भएका व्यक्तिहरूमा मस्तिष्कले सामान्य ध्वनिहरूलाई 'खतरा' वा 'आक्रमण'को रूपमा व्याख्या गर्छ।'
अहिल्यै खोजेर पढ्छु भन्नेका लागि उनको यो अध्ययन प्रसिद्ध वैज्ञानिक जर्नल ‘Current Biology’ (फेब्रुअरी २०१७) मा 'The Brain Basis for Misophonia' शीर्षक अन्तर्गत प्रकाशित छ।
यही विषयमा अर्को कोणबाट डा. जेनिफर जोडोफ (Dr. Jennifer Brout)ले अध्रययन गरेकी छन्। मनोवैज्ञानिक डा. जोडोफ (जसले मिसोफोनिया अनुसन्धान र शिक्षा सञ्जालको नेतृत्व पनि गर्छिन्) ले यसलाई 'Sensory Processing Regulation Disorder' (संवेदी प्रशोधन नियमन विकार) को रूपमा व्याख्या गरेकी छन्।
उनले क्लिनिकल अध्ययनहरू मार्फत मानिसहरूको संवेदी प्रतिक्रिया (Sensory Response) र व्यावहारिक मनोविज्ञानको अध्ययन गरिन्। उनका अनुसार मिसोफोनिया भएका मानिसहरूले कुनै ध्वनि सुन्दा त्यसलाई 'कन्डिसन्ड रेस्पोन्स' (Conditioned Response) का रूपमा लिन्छन्। अर्थात्, मस्तिष्कले त्यो आवाजलाई कुनै पुरानो असजिलोपन वा तनावसँग जोडेर तुरुन्तै प्रतिक्रिया दिन्छ।
उनले भनेकी छन् - 'मिसोफोनिया भएका व्यक्तिहरू नाटक गरिरहेका हुँदैनन्। उनीहरूको स्नायु प्रणाली (Nervous System) ले ती आवाजहरूलाई शारीरिक सुरक्षाका लागि खतरा मान्छ, जसले गर्दा उनीहरू नियन्त्रण बाहिर पुग्छन्।' उनका लेख र अनुसन्धानहरू ‘Journal of Clinical Psychology’ तथा उनको पुस्तक 'Regulating Misophonia' मा विस्तृत रूपमा पढ्न पाइन्छ।
आफैंमा रोग हो वा कुनै अर्थोकको लक्षण
यो आधिकारिक रूपमा एउटा 'रोग' नभएर एउटा 'विकार' वा 'अवस्था' (Condition / Disorder) हो। चिकित्सा विज्ञानमा 'रोग' (Disease) र 'विकार/अवस्था' बीच अलिकति फरक हुन्छ। रोग भन्नाले कुनै भाइरस, जीवाणु (Bacteria), वा शरीरको कुनै अंग बिग्रिएर हुने निश्चित शारीरिक बिरामीलाई बुझाउँछ। मिसोफोनिया कुनै सङ्क्रमण वा शारीरिक खराबीले हुने होइन।
यो के हो त ? यो एउटा न्युरो-साइक्याट्रिक विकार (Neuropsychiatric Disorder) वा संवेदी प्रशोधन सम्बन्धी अवस्था (Sensory Processing Condition) हो। यसमा कान वा मस्तिष्क बिग्रिएको हुँदैन, तर मस्तिष्कले ध्वनि प्रशोधन गर्दा देखाउने प्रतिक्रिया सामान्यभन्दा फरक र अति संवेदनशील हुन्छ।
मिसोफोनियालाई अहिले अन्तर्राष्ट्रिय रूपमा मानसिक वा शारीरिक रोगहरूको मुख्य वर्गीकरण पुस्तिका (जस्तै: DSM-5 वा ICD-11) मा औपचारिक रूपमा एउटा अलग्गै रोग वा मानसिक बिरामीका रूपमा दर्ता गरिसकिएको छैन। तर विश्वभरका न्युरोलोजिस्ट र मनोरोग विशेषज्ञहरूले यसलाई अत्यन्तै वास्तविक र गम्भीर स्नायु सम्बन्धी अवस्थाका रूपमा स्वीकार गरिसकेका छन्। यसलाई छुट्टै विकारका रूपमा वर्गीकरण गर्न अहिले पनि व्यापक अनुसन्धानहरू भइरहेका छन्।
मिसोफोनिया कुनै भाइरस वा कीटाणुले लाग्ने ‘रोग’ होइन। यो मस्तिष्कको न्युरोनल नेटवर्क र भावनाबिचको सम्बन्ध अति-सक्रिय हुँदा देखिने एउटा ‘न्युरोलोजिकल अवस्था’ (Neurological Condition) हो। तर, चिकित्सा विज्ञान र मनोरोग विशेषज्ञहरूका अनुसार कतिपय अवस्थामा मिसोफोनिया अन्य केही मानसिक, स्नायु सम्बन्धी वा संवेदी विकारहरू (Psychiatric or Neurological Disorders) को प्रारम्भिक लक्षण वा त्यसैसँग जोडिएर आउने (Comorbid) सहयोगी अवस्था पनि हुन सक्छ।
मुख्यतया निम्न रोग वा मानसिक अवस्थाहरूको प्रारम्भिक वा विकासोन्मुख चरणमा मिसोफोनियाको लक्षण देखिन वा तीव्र हुन सक्छ -
१. अटोइम्युन वा अटोइम्युनिटी सम्बन्धी संवेदी विकार (Sensory Processing Disorder - SPD)
हाम्रो मस्तिष्कले वातावरणका दृश्य, गन्ध वा ध्वनिहरूलाई सही तरिकाले प्रशोधन (Process) गर्न नसक्दा संवेदी प्रशोधन विकार (SPD) हुन्छ। धेरैजसो मानिसमा SPD को पहिलो वा प्रमुख लक्षणका रूपमा कुनै खास आवाजप्रतिको तीव्र घृणा अर्थात् मिसोफोनिया देखा पर्छ।
संवेदी प्रशोधन विकार (Sensory Processing Disorder - SPD) आफैंमा सोझै शरीरको प्रतिरक्षा प्रणाली बिग्रिएर हुने 'अटोइम्युन रोग' (Autoimmune disease) भने होइन।
यसरी संवेदी सूचनाहरू (Sensory Inputs) अस्तव्यस्त हुँदा व्यक्तिको मस्तिष्कले दैनिक वातावरणलाई निरन्तर 'अति-उत्तेजक' (Overwhelming) मान्न थाल्छ। परिणामस्वरूप, मानिसहरू कपडाको ट्याग, चम्किलो बत्ती, वा मानिसको भीडभाडबाट पनि तर्सिने र मानसिक रूपमा थाक्ने हुन्छन्।
२. अब्सेसिभ-कम्पल्सिभ डिसअर्डर (OCD)
मिसोफोनिया र OCD बिच निकै गहिरो सम्बन्ध छ। OCD को प्रारम्भिक चरणमा मानिसहरू कुनै विशेष आवाजप्रति 'अब्सेस्ड' (Obsessed) वा अति-केन्द्रित हुन थाल्छन्। त्यो आवाज सुन्ने बित्तिकै आत्तिने र त्यसबाट बच्नका लागि कान थुन्ने वा त्यहाँबाट भागिहाल्ने जस्ता बाध्यकारी व्यवहार (Compulsive Behavior) देखाउँछन्।
OCD मा मस्तिष्कको 'सुरक्षा र नियन्त्रण' प्रणाली अति-सक्रिय हुन्छ, जसले व्यक्तिलाई बारम्बार एउटै कुरा वा विचारमा अड्याइराख्छ। जब मिसोफोनिया OCD सँग जोडिन्छ, ट्रिगर आवाज सुन्ने बित्तिकै मानिसभित्र अनियन्त्रित डर र छटपटी पैदा हुन्छ। यसबाट बच्न उनीहरू कान थुन्ने, कोठाको ढोका थुनेर बस्ने, वा आवाज बन्द गर्न आदेश दिने जस्ता बाध्यकारी (Compulsive) व्यवहार दोहोर्याउन थाल्छन्। समयक्रममा यो चक्र यति बलियो बन्छ कि व्यक्ति आवाज आउनुअघि नै त्यसको काल्पनिक डरले चिन्तित (Anticipatory Anxiety) हुन थाल्छ, जसले उनीहरूको दैनिक जीवन, अध्ययन र कार्यक्षमतालाई ठूलो बाधा पुर्याउँछ।
३. अटिजम स्पेक्ट्रम डिसअर्डर (Autism Spectrum Disorder - ASD)
अटिजम भएका मानिसहरूको स्नायु प्रणाली वातावरणका ध्वनिहरूप्रति अतिसंवेदनशील हुन्छ। विशेषगरी बालबालिकामा अटिजमका अन्य स्पष्ट लक्षणहरू (जस्तै: कुराकानी गर्न गाह्रो हुनु वा आँखा नमिलाउनु) पूर्ण रूपमा नदेखिँदै, सुरुवाती चरणमा सामान्य आवाजले उनीहरूलाई असाध्यै असजिलो वा आक्रामक बनाउने (Misophonia/Hyperacusis) लक्षण देखिन सक्छ।
अटिजम भएका व्यक्तिहरूमा मस्तिष्कको संवेदी प्रशोधन गर्ने प्रणाली (Sensory Processing System) ले वातावरणबाट आउने ध्वनिहरूलाई व्यवस्थित तरिकाले फिल्टर गर्न सक्दैन। यसले गर्दा अरूका लागि सामान्य लाग्ने दैनिक आवाजहरू उनीहरूका लागि 'सहनै नसकिने काँडा' जस्तै बन्छन्। बालबालिकामा भाषा वा सामाजिक व्यवहारको विकास हुनुअघि नै यस्ता ट्रिगर आवाजहरूका कारण रोइकराई गर्ने, कान थुनेर भुइँमा पछारिने वा आफ्नो टाउको भित्तामा ठोक्ने जस्ता आक्रामक प्रतिक्रियाहरू (Meltdowns) देखिन सक्छन्। यसलाई सुरुमा केवल 'चकचके' वा 'उग्र स्वभाव' मानिए तापनि यो वास्तवमा ASD को प्रारम्भिक संवेदी अतिसंवेदनशीलताको लक्षण हुन सक्छ।
४. एन्जाइटी डिसअर्डर र पोस्ट-ट्रमाटिक स्ट्रेस (PTSD)
जब मानिसको शरीर निरन्तर मानसिक तनाव वा कुनै पुरानो आघात (Trauma) बाट गुज्रिरहेको हुन्छ, मस्तिष्कको 'Amygdala' (खतरा पहिचान गर्ने भाग) सधैँ हाइ-अलर्टमा रहन्छ। एन्जाइटी वा PTSD को प्रारम्भिक चरणमा मस्तिष्कले सामान्य आवाजलाई पनि 'खतरा' ठानेर तुरुन्तै प्रतिक्रिया दिन्छ।
मानसिक आघात वा निरन्तरको एन्जाइटीले गर्दा मस्तिष्कको ‘Fight-or-Flight’ (लड्ने वा भाग्ने) प्रणाली सधैं अति-सक्रिय (Hyper-vigilant) अवस्थामा पुग्छ। यस्तो बेला मस्तिष्कले वातावरणमा भएका सामान्य र साना ध्वनिहरूलाई पनि आफ्नो सुरक्षाका लागि 'ठूलो सम्भावित खतरा' वा 'आक्रमण'को रूपमा गलत व्याख्या गर्न थाल्छ।
परिणामस्वरूप, मानिसले सानो कुरामा पनि एक्कासि तर्सिने, मुटुको धड्कन तीव्र हुने, र अत्यधिक छटपटी महसुस गर्ने गर्छ। PTSD वा एन्जाइटी सुरु हुने यो प्रारम्भिक चरणमा व्यक्तिमा देखा पर्ने आवाजप्रतिको यस्तो तीव्र संवेदनशीलता र घृणा नै बिस्तारै मिसोफोनियाको रूपमा विकसित हुन्छ। यदि यस अवस्थालाई समयमै पहिचान गरेर ट्रमा थेरापी वा मानसिक परामर्श नदिने हो भने, यो केवल आवाजको समस्या मात्र नरहेर दीर्घकालीन र जटिल मानसिक समस्या बन्न पुग्छ।
५. टिनिटस (Tinnitus) र कान सम्बन्धी समस्या
कानभित्र निरन्तर ‘सिँटी बजेको’ वा ‘गुञ्जिएको’ आवाज आउने अवस्था (Tinnitus) सुरु हुनुअघि वा त्यसको प्रारम्भिक चरणमा अडिटोरी नर्भहरू (Auditory Nerves) को अतिसंवेदनशीलताका कारण मिसोफोनियाको लक्षण प्रखर भएर आउन सक्छ।
टिनिटस हुँदा कानभित्र निरन्तर आउने आन्तरिक आवाजका कारण मस्तिष्कको श्रवण प्रणाली (Auditory System) अत्यधिक थाक्छ र संवेदनशिल बन्छ। यसले गर्दा अडिटोरी नर्भहरूले बाहिरी वातावरणका साना ध्वनिहरूलाई पनि सहन सक्दैनन्। जब कानभित्रको त्यही निरन्तरको सिट्ठी बज्ने वा गुञ्जनले व्यक्तिलाई मानसिक रूपमा तनावग्रस्त बनाउँछ, बाहिरबाट आउने खाना चपाएको वा टिक-टिक परेको आवाजले उसलाई झनै उग्र र विचलित बनाउन थाल्छ। यसरी कान र मस्तिष्कको श्रवण नलीमा आउने यो प्रारम्भिक गडबडीले गर्दा टिनिटससँगै वा त्यसको सुरुआती संकेतका रूपमा मिसोफोनिया विकसित हुन पुग्छ।
निष्कर्षमा यदि मिसोफोनियाका लक्षणहरू एक्कासि देखा परेका छन् र त्यसका साथमा सोच, व्यवहार वा ध्यान केन्द्रित गर्ने क्षमतामा पनि परिवर्तन आइरहेको छ भने, यो केवल एउटा छुट्टै आवाजको समस्या मात्र नभई माथि उल्लेखित अन्य कुनै स्नायु वा मानसिक अवस्थाको प्रारम्भिक संकेत (Early Warning Sign) हुन सक्छ। त्यसैले समयमै विज्ञको सल्लाह लिनु बुद्धिमानी हुन्छ।
'सिभिक सेन्स छैन ?'
जो अरूले खाना चपाएको, सार्वजनिक यातायातमा ठूलो स्वरमा कुरा गरेको वा भिडियो बजाएको, खोकेको, वा कलम टिक-टिक गरेको जस्ता सामान्य कुराहरूमा पनि एक्कासि उग्र भएर 'सिभिक सेन्स छैन ?' भन्दै जंगिन्छन्, उनीहरूलाई मिसोफोनिया वा यस्तै संवेदी अतिसंवेदनशीलता (Sensory Overload) भएको हुन सक्छ।
यसका पछाडि मुख्य रूपमा निम्न मनोवैज्ञानिक र स्नायुगत कारणहरू जोडिएका हुन्छन् -
मस्तिष्कको 'Fight-or-Flight' प्रतिक्रिया : मिसोफोनिया भएका व्यक्तिहरूको मस्तिष्कले यस्ता सामान्य आवाजलाई 'खतरा' को रूपमा लिन्छ। त्यो आवाज सुन्ने बित्तिकै उनीहरूभित्र अनियन्त्रित रिस, घृणा र छटपटी पैदा हुन्छ। आफूलाई भइरहेको त्यो आन्तरिक पीडालाई रोक्न उनीहरू अरूमाथि आक्रामक रूपमा खनिन्छन् र आफ्नो असजिलोपनलाई 'सिभिक सेन्स' को आवरण दिन्छन्।
नियन्त्रण गुमाएको महसुस (Loss of Control) : उनीहरूलाई ती आवाजहरूले शारीरिक र मानसिक रूपमै यति धेरै तनाव दिन्छन् कि उनीहरू त्यो आवाज तत्काल बन्द गराउन चाहन्छन्। जब आवाज बन्द गराउन उनीहरूको नियन्त्रण चल्दैन, तब उनीहरूको रिस झनै विस्फोटक बन्छ र जंगिन पुग्छन्।
यद्यपि, फरक छुट्याउनु महत्त्वपूर्ण छ
सार्वजनिक स्थलमा साँच्चिकै असभ्य व्यवहार गर्नेहरूप्रति रिसाउनु वा सामाजिक मर्यादाको कुरा गर्नु सामान्य हो। तर, यदि कुनै व्यक्तिको रिस अस्वाभाविक रूपमा ठूलो छ, एक्कासि सुरु हुन्छ र विशेषगरी सास फेरेको, चपाएको, पानी निलेको वा औँला पड्काएको जस्ता साना र विशिष्ट आवाजहरूप्रति मात्र लक्षित छ भने, त्यो पक्कै पनि व्यवहारिक समस्या नभएर स्नायुगत अवस्था (Misophonia) कै लक्षण हो।
उनीहरू वास्तवमा जानीजानी रिसाएका वा 'जान्ने सुन्ने' हुन खोजेका होइनन्, उनीहरूको मस्तिष्कले त्यो आवाज सहन नसकेर 'आत्मारक्षा' को लागि त्यस्तो कडा प्रतिक्रिया मात्र जनाइरहेको हो।
गर्नुस् आफैंलाई परीक्षण (Self-Assessment)
यदि तपाईंलाई निम्न लक्षणहरू महसुस हुन्छन् भने तपाईंलाई मिसोफोनिया भएको हुन सक्छ:
| प्रश्न | उत्तर (हो/होइन) |
| १. कसैले खाना चपाएको वा ढिलो सास फेरेको आवाजले झनक्क रिस उठाउँछ ? | [ ] |
| २. त्यो आवाज सुन्दा तुरुन्तै त्यहाँबाट भागौँ वा त्यो आवाज बन्द गराऊँ जस्तो हुन्छ ? | [ ] |
| ३. के यी आवाजहरूले गर्दा मुटुको ढुकढुकी बढ्ने वा शरीर तानिने महसुस हुन्छ? | [ ] |
| ४. के परिवारसँग बसेर खाना खान वा मिटिङमा बस्न डराउन थाल्नुभएको छ ? | [ ] |
| ५. अरूले 'केही भएकै छैन' भन्दा पनि तपाईंलाई त्यो आवाजले असह्य हुन्छ ? | [ ] |
(यदि तपाईंले ३ वा सोभन्दा बढी प्रश्नको उत्तर 'हो' दिनुभयो भने, तपाईंमा मिसोफोनियाको लक्षण हुन सक्छ।)
यदि समस्या छ भने निदान र व्यवस्थापन कसरी गर्ने?
स्मरण रहोस्, मिसोफोनिया कुनै पागलपन होइन। यो जोकसैलाई हुन सक्छ। र, यसको पूर्ण उन्मूलन गर्ने निश्चित औषधि नभए तापनि यसलाई व्यवस्थित गर्न सकिन्छ।
आफूले अपनाउने उपायहरू:
- नोइज-क्यान्सेलिङ हेडफोन (Noise-Canceling Headphones): यात्रा गर्दा वा काम गर्दा यस्ता हेडफोन वा इयरप्लगको प्रयोग गर्नाले ट्रिगर आवाजहरू कानसम्म पुग्न पाउँदैनन्। यसले व्यक्तिलाई आफ्नो एकाग्रता कायम राख्न र अनावश्यक मानसिक तनावबाट बच्न मद्दत गर्दछ। विशेषगरी भीडभाड हुने ठाउँ, कार्यालय, वा सार्वजनिक यातायातमा यो प्रविधि एउटा सुरक्षा कवच जस्तै बन्न सक्छ। यसको नियमित प्रयोगले ट्रिगर आवाजहरूबाट तत्काल राहत मिल्ने हुनाले, मिसोफोनिया भएका व्यक्तिहरूलाई सामाजिक र व्यावसायिक जीवनमा सक्रिय रहन थप आत्मविश्वास र सहजता प्रदान गर्दछ।
- वाइट नोइज (White Noise) को प्रयोग: पृष्ठभूमिमा पङ्खाको आवाज, पानी परेको आवाज वा शान्त संगीत बजाएर ट्रिगर गर्ने आवाजलाई दबाउन सकिन्छ। यसले वातावरणमा एउटा स्थिर र शान्त ध्वनिको तह (Sound Layer) निर्माण गर्छ, जसले खाना चपाएको वा डटपेन थिचेको जस्ता एक्कासि आउने तिखा ट्रिगर आवाजहरूलाई सहजै छोपिदिन्छ। घरमा अध्ययन गर्दा, सुत्ने समयमा, वा काममा ध्यान केन्द्रित गर्नुपर्दा वाइट नोइज मेसिन वा विभिन्न मोबाइल एपहरूको प्रयोग निकै प्रभावकारी हुन्छ। यसले मस्तिष्कलाई निरन्तर 'अलर्ट' हुनबाट रोक्दै स्नायु प्रणालीलाई शान्त राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
- कग्निटिभ बिहेभियरल थेरापी (CBT): मनोवैज्ञानिकहरूसँग परामर्श लिएर सीबीटी थेरापी गर्नाले मस्तिष्कलाई ट्रिगर आवाजहरूप्रति कम आक्रामक प्रतिक्रिया दिन अभ्यस्त बनाउन सकिन्छ। यस थेरापीले व्यक्तिलाई ट्रिगर आवाज सुन्दा आउने नकारात्मक विचार र स्वचालित प्रतिक्रियाहरूलाई पहिचान गरी तिनलाई पुनर्परिभाषित (Reframing) गर्न सिकाउँछ। नियमित CBT अभ्यासले मानिसलाई आफ्नो भावना र शारीरिक प्रतिक्रियामाथि नियन्त्रण कायम राख्न मद्दत गर्छ। यसले आवाजप्रतिको 'लड्ने वा भाग्ने' (Fight-or-Flight) उग्र आवेगलाई बिस्तारै कम गर्दै लैजान्छ, जसले गर्दा व्यक्ति तनावपूर्ण स्थितिमा पनि शान्त रहन सक्षम हुन्छ।
- माइन्डफुलनेस र टेपिङ (Mindfulness): आवाज सुन्ने बित्तिकै गहिरो साँस फेर्ने र आफ्नो ध्यान अन्यत्र मोडने अभ्यास गर्ने। यस अभ्यासले व्यक्तिलाई तत्कालीन शारीरिक र भावनात्मक तनावबाट तत्काल बाहिर ल्याउन मद्दत गर्छ। ट्रिगर आवाज सुन्ने बित्तिकै गहिरो साँस फेर्ने (Deep Breathing) र शरीरका निश्चित अकुप्रेसर बिन्दुहरूमा औँलाले सुस्तरी थिच्ने वा हान्ने (Tapping - Emotional Freedom Technique) गर्दा मस्तिष्कको संकटकालीन प्रणाली शान्त हुन्छ। यसले ध्यानलाई अप्रिय ध्वनिबाट हटाएर आफ्नै शरीरको गतिमा फर्काउँछ, जसले गर्दा एक्कासि आउने रिस र छटपटी नियन्त्रणमा आउँछ।
अरूलाई छ भने उपचार र जीवनमा कसरी सघाउने?
यदि तपाईंको साथी, जीवनसाथी वा सन्तानलाई मिसोफोनिया छ भने उनीहरूलाई सहयोग गर्न निम्न कुराहरूमा ध्यान दिनु बुद्धिमानी हुन्छ।
'नाटक गरेको' वा 'सन्की' भनेर जिस्क्याउने नगर्नुस् : बुझ्नुस् यो उनीहरूको नियन्त्रणबाहिरको स्नायुगत अवस्था हो। मिसोफोनिया भएका मानिसलाई जिस्क्याउँदा वा आलोचना गर्दा उनीहरूको मानसिक तनाव झनै गुणात्मक रूपमा बढ्छ। जब परिवार वा साथीहरूले उनीहरूको असजिलोपनलाई 'नाटक' भनेर बेवास्ता गर्छन्, उनीहरू आफूलाई एक्लो र असहाय महसुस गर्न थाल्छन्। त्यसैले, यो उनीहरूको जानाजानी गरिएको व्यवहार नभई स्नायु प्रणालीको स्वचालित प्रतिक्रिया हो भन्ने बुझेर सहानुभूति र सहयोगको व्यवहार देखाउनु अति आवश्यक हुन्छ।
खुला कुराकानी गर्नुहोस् : उनीहरूलाई कस्ता आवाजले समस्या पार्छन् भनेर सोध्नुहोस् र ती आवाजहरू उनीहरूको अगाडि नगर्ने प्रयास गर्नुहोस् (उदा. मुख बन्द गरेर खाना चपाउने)। सहानुभूतिपूर्वक गरिएको खुला संवादले मिसोफोनिया भएका व्यक्तिलाई सुरक्षित र बुझिएको महसुस गराउँछ। उनीहरूसँग स्पष्ट रूपमा कुरा गरेर ट्रिगर आवाजहरू पहिचान गर्दा अनावश्यक द्वन्द्व र तनाव टर्छ। उनीहरूको अगाडि साना-साना व्यवहारिक सुधारहरू (जस्तै: बिस्तारै खाना चपाउनु वा डटपेन नबजाउनु) गरिदिनाले उनीहरूप्रतिको सम्मान र माया झल्किन्छ, जसले आपसी सम्बन्धलाई झनै प्रगाढ बनाउँछ।
सुरक्षित वातावरण बनाइदिनुहोस् : यदि उनीहरू पारिवारिक जमघट वा खाना खाने टेबलबाट उठेर जान चाहन्छन् भने दबाब नदिनुहोस्। उनीहरूलाई आफ्नो अनुकूल वातावरण छान्ने छुट दिनुहोस्। यस्तो छुट दिनाले उनीहरूमाझ 'मेरो असजिलोपनको कदर भइरहेको छ' भन्ने आत्मबल जाग्छ। जबरजस्ती जमघटमा राखिराख्दा उनीहरूमा भावनात्मक विस्फोट वा तीव्र छटपटी हुन सक्छ। उनीहरूलाई आफ्नो अनुकूलता अनुसार छुट्टै बस्ने वा ब्रेक लिने स्वतन्त्रता दिँदा उनीहरू मानसिक रूपमा सुरक्षित महसुस गर्छन् र पारिवारिक सम्बन्धमा अनावश्यक तिक्तता आउन पाउँदैन।
विशेषज्ञकहाँ लैजानुहोस् : यदि समस्याले दैनिक जीवन नै अस्तव्यस्त बनाएको छ भने न्युरोलोजिस्ट वा अडियोलोजिस्ट र मनोवैज्ञानिकको परामर्श लिन सघाउनुहोस्। प्रारम्भिक चरणमै विशेषज्ञको परामर्श लिनाले समस्याको सही पहिचान हुन मद्दत पुग्छ। न्युरोलोजिस्ट, अडियोलोजिस्ट र मनोवैज्ञानिकको संयुक्त टोलीले व्यक्तिलाई उपयुक्त थेरापी र परामर्श प्रदान गर्न सक्छन्। यसले व्यक्तिलाई आफ्नो भावना व्यवस्थापन गर्न र दैनिकीलाई पुनः सहज एवम् व्यवस्थित बनाउन ठूलो राहत पुर्याउँछ।
मिसोफोनिया देखिँदा सामान्य लाग्ने तर झेल्ने व्यक्तिलाई भित्रभित्रै पगाल्ने एउटा सूक्ष्म समस्या हो। स्नेहा वा रमेश जस्ता लाखौँ मानिसहरू हरेक दिन हाम्रै वरपर यस्ता आवाजहरूसँग अदृश्य युद्ध लडिरहेका छन्। मिसोफोनियालाई ‘स्वभावको खराबी’ नभई एउटा ‘न्युरोलोजिकल अवस्था’का रूपमा बुझिदिने र सहानुभूतिपूर्वक व्यवहार गरिदिने हो भने, यो समस्याबाट पीडित मानिसहरूको जीवन धेरै सहज र शान्त बन्न सक्छ।


No comments:
Post a Comment