पूर्व-पश्चिम, तराइ होस् वा पहाड, नेपालका हाटबजार हुन् वा सहरहरु जहिँ पनि प्राप्त हुनसक्ने एउटा लोकप्रिय खाद्यवस्तु - सिद्रा । कुनैपनि आधुनिक खाद्य प्रविधिबाट टाढा रहेर पनि यसले अझसम्म वजार गाउँ र सहरका उपभोक्ताहरुको नकारात्मक सोचाइ सहनु परेको छैन । यसलाई मन पराउने बाहेककाहरुको लागि सिद्राको गन्ध साह्रै लोभ्याउने किसिमको मानिदैन । तापनि आफ्नो उपभोक्ताहरुलाई आकर्षण गर्ने यसमा रहेको स्वादले परिकार रुचाइएको पाइएको छ । वास्तवमा घाममा अस्वस्थकर अवस्थामा सुकाएर ढाकी, बोरा आदीमा राखी बेच्ने गरिएको सिद्रालाई राम्रोसँग चिरेर गरेर हेर्ने हो भने मान्छेका लागि खान योग्य भनेर कुनै पनि खाद्य विशेषज्ञले भन्लान् जस्तो लाग्दैन । तर अनन्तकालदेखि विभिन्न जनजाति भनौ वा जो सुकैले खाँदै आएको हुनाले यसलाई खान हुँदैन भन्न त नमिल्ला । मान्छेपिच्छे खानेकुरामा रुची फरक फरक हुने भएकाले मानिसले खाइआएका खानेकुरा जस्ता भएपनि आखिर खाद्य पदार्थ नै हुन् , चाहे जे होस् ।
सिद्राको अर्थ नेपाली शब्दकोषमा सिन्की झै खाँदेर बनाइएको सानो माछा भनिएको छ । सिद्राको यो अर्थ अपूर्ण छ । वास्तवमा सिद्रालाई सिन्की जसरी खाँदेर बनाइदैन । सिद्रा माछा आफै च्याप्टो हुन्छ । सुक्दा त झन च्याप्टो हुन्छ । सिन्कीको गन्ध जस्तै सिद्राको पनि आफ्नै किसिमको गन्ध हुने भएकोले सिद्रालाइ सिन्कीजस्तै भनेर उल्लेख गरिएको हो कि । मूलाबाट बनेको सिन्कीको गन्ध जसरी अर्कै प्रकारको हुन्छ, त्यसरी नै सिद्रामाछा वा पोथी माछालाई सुकाउँदा रसायनिक परिवर्तनको कारणले बिस्तारै माछाको गन्धबाट सिद्राको गन्धमा परिणत हुन्छ । झन सुकाइएको सिद्रालाई बोरामा राख्ने हो भने त अझ गन्ध फरक भएको पाइन्छ ।
सिद्रामाछा पुन्टियस जाति अन्तर्गत पर्ने सानो चेप्टो माछाहरु हुन् । हाम्रा पानी भण्डारहरुमा पुन्टियसका १० प्रजाति पाइन्छन् । नेपालमा पाइने यी जातिका माछाहरु ठूलो नहुने भएकाले साधारण शब्दमा यी माछाहरुलाई रद्धी माछा भन्ने गरिन्छ । यी माछालाई अरु माछा नभएको अवस्थामा आलै पकाएर खाइन्छ । तर, सुकाएर सिद्राका रुपमा खान भने स्वाद पाएकाहरुले मात्र रुचाएको पाइयो ।
तराइमा पुन्टियस जातिका माछा भदौदेखि कात्तिकसम्म प्रशस्त समातिने गरिएको पाइयो । उत्पादन भएको सिद्रा जाडो महिनासम्म बजारमा पाइन्छ । अरु महिनाहरुमा भारतको नक्सलवाडीबाट आयात गरिएको सिद्राले हाम्रा हाटबजारमा ठाउँ लिएका छन् । नेपाली सिद्राले यसका स्वादे उपभोक्ताहरुको माग जसोतसो दुइदेखि तीन महिना धान्ने गरेको पाइयो । बाकी समयमा भारतबाट आयातीतले नै बजार लिने गरेको अध्ययनमा पाइएको छ । यसो हुनुको पछि केही कारणहरु छन् - हामीकहा सिमसार क्षेत्रको अवस्था नाजुक हुँदै जानु, सिमसारमा माछा मार्दा पानी सुकाएर मार्नु र विषादीको प्रयोग आदी कारणले पनि सिद्राको उत्पादन नेपालमा कम हुने गरेको हो ।
वर्षायाममा झण्डै ५० प्रतिशत भन्दा बढी सिद्राभित्र कीरा हुने गर्दछ । सुकाउदा झिंगा भन्किने र औस आएका आलो माछामा झिंगाले फूल पार्ने भएकाले, औंस परेको माछा भित्र झिँगाका लार्भा अवस्थाहरु रहन्छन् र ती लार्भाहरुले माछाको मांसपेशी खाई खोक्रो बनाइदिन्छ । त्यसैले वर्षामा सिद्राको भित्र हेर्दा केवल अस्तिपञ्जर र बाहिर कत्लासहितको छालामात्र हुन्छ । बाहिरबाट हेर्दा सिद्राको अवस्था थाहा पाउन नसकिने भएकाले उपभोक्ता त्यस्ता सिद्रा पनि खरिद गर्छन् ।
प्राय गरेर हिउदमा सिद्राको व्यापार धेरै हुने गर्छ । पहाडका उपभोक्ताले सिद्रा किनेर लैजाने र सफासग सुकाएर राखी वर्षामा खाने गर्दछन् ।
आलु जस्तै सिद्राको पनि विभिन्न परिकार बनाएर खाने गरिन्छ । कतिले सोझै तेलमा तारेर सुक्खा खान्छन् भने कतिले टमाटरका साथ पिसेर अचार खान्छन् । जहा आगोको भुंग्रँे हुन्छ त्यहा सिद्रा पोलेर खोर्सानी, अदुवाको साथमा पिसेर अचार बनाएर खाने गर्दछन् । पकाएर खाने सव्जीहरुमा पोलेर वा तारेर मिसाएर खाने गरिन्छ । हिउदे सिमी, बैगन, मूला, टमाटर, अन्य सिमीका साथमा सिद्राको कम्बिनेसन अत्यन्तै स्वादिलो हुने उपभोक्ताहरुको भनाई छ ।
सिद्रालाई प्रोटिन, क्यालसियम, फस्फोरस, भिटामीन र बोसोको माइक्रो स्रोतका रुपमा लिन सकिन्छ । यसबाहेक सिद्रा सुकाउदा माछाको पेट नफाली सुकाइने भएकाले तीतो स्वाद पाइन्छ । तापनि यो पोषिलो हुन्छ । यसलाई मन पराउने उपभोक्ता गन्धले पनि खान रुचाउने उत्पे्ररकको काम गर्ने दावी गर्छन् ।
पूर्वी नेपालमा सिद्राको व्यापार केन्द्रको रुपमा शनिश्चरे, दमक, मधुमल्ला, लेटाङ, धरानलाई लिन सकिन्छ । धरानबाट मात्र प्रति वर्ष १० टन जति बिक्री हुने यहाका व्यवसायीहरुले बताएका छन् । तुलनात्मक रुपमा तराइका हाटबजारमा यसको खुबै व्यापार भएको पाइएको छ ।
सिद्रालाई स्वास्थ्यका लागि उपयोगी बनाउन माछा सुकाउने आधुनिक प्रविधिको खाचो देखिन्छ । सुकाउनेदेखि उपभोक्तामाझ पुगुन्जेलसम्म यसको तयारीका विषयमा जानकार कमै पाइन्छन् । खाद्य वस्तुको उत्पादन, भण्डारन र बिक्रीका सबै चरण स्वस्थकर हुनु आवश्यक हुन्छ । भण्डार कार्य ठीक नभएमा खाद्यवस्तुको गुणस्तर खस्कन्छ । यसबारे सम्बन्धित निकाय साथै स्वास्थ्यसग सरोकार राख्ने सबैको उतिकै ध्यान जानु आवश्यक छ । खाद्यपदार्थको गुणस्तरवारे जनचेतना जगाएर उपयोगिता बारे उपभोक्तालाई सचेत बनाउन जरुरी छ ।
खाद्य विभाग वा नगरपालिका वा गाविसले खाद्य पदार्थको गुणस्तर प्रमाणित गरी खान योग्य भनी सिफारिस गरिएको खाद्यपदार्थमात्र हाटबजारमा बिक्री गर्न कानूनी प्रावधान हुन आवश्यक देखिन्छ ।
सिमसार क्षेत्रलाई संरक्षण गरेमा सिद्रा माछाको पनि संरक्षण हुन्छ । सिद्रा केवल मानव उपभोक्ताहरुको लागि मात्र आवश्यक नभएर खाद्यश्रृंखला र प्रकृतिक सन्तुलनको लागि पनि अत्यन्तै जरुरत पर्दछ ।
- डा. भरतराज सुब्बा
subbabharat@yahoo.com
No comments:
Post a Comment