Sunday, August 1, 2010

मुरी फलाउनेहरु

किसान व्यस्त छन्। गएको बिहीबार विहान ८ बजे छाडेको विराटनगर दिउँसो ४ बजे फेरि टेकेपछि मैले फेसबुकको स्टाटसमा यति मात्र लेखेको थिएँ। 

अमेरिका पुगेका सञ्चारकर्मी दाजु राजेश कोइरालाले कमेन्ट लेखे, 'तैपनि चामलको भाउ घटेको थाहा छैन।' एक जना साथीले उहाँको प्रतिक्रियामाथि प्रतिक्रिया लेखे, 'आफ्नु तलब बढाउनु। चामलको भाउ घटाउनु।' उनले त्यसको जवाफमा फेरि लेखे, 'किसानको के दोष र ? भाउ बढाउने धेरै फ्याक्टर छन्।'

तीन शब्दको छोटो वाक्यमा प्रतिक्रिया थपिएको देखेर म फेरि त्यसमै लेख्न बाध्य भएँ। मैले थपेँ, 'बढेको भाउ सोझै किसानले खान पाउने मुलुक होइन यो। भाउ बढाउने र बढेको खान पाउने बीचमा अरु नै छन्। वर्षाको सिजन हो, यतिखेर उनीहरु रोपाइमा व्यस्त छन् मैले भनेको हो। अन्यथा होइन।'
 
फेसबुकको एउटा सानो स्टाटस अप्डेटको शृंखलालाई यतै थाती राखौं। आफ्नो अवस्था बारे वा मन लागेका कुरा लेख्न मिल्ने इन्टरनेटको यो सामाजिक सञ्जालमा लेख्नका लागि जे चाहृो त्यही सम्भव छ। सम्पर्कमा रहेकाहरुले मात्र आफ्ना कुरा देख्ने भएपछि आफूले लेखौँ वा अरुले लेखेका वाक्यमा प्रतिक्रिया दिउँ, सजिलै सकिन्छ।
 
बिहीबार साँझ मेरो स्टाटस चामलको बढेको वा घटेको भाउसँग सम्बन्धित थिएन। यसको कारण थियो - तेतरियाका एउटा किसानसँगको भेट। फोटोपत्रकार मित्र संजीव खनाल र मैले विराट चोकबाट विराटनगर फर्कदा बाटोबाट करिब २०० मिटर पर पूर्व खेतमा मधु साह नामका किसानलाई देखेका थियौँ। ढाडमा स्प्रे मेसिनको पम्प भिरेर डढेलो लागेका धानका बोटमा उनी असिनपसिन हुँदै स्प्रे गरिरहेका थिए। सडकमा बाइक अड्याएर उनको तस्वीर लिने निधो गरियो। आली हिलाम्य थियो। जोगिएर उनीसम्म पुगियो। सोधियो - 'किन स्प्रे ?  के भएको हो धानलाई ?' उनले सहज उतर दिए, 'डढुवा लागेको हो। हेर्नुस्न्, जोगिन्छ कि भनेर स्प्रे मारेको।'
 
लगाएको धान रंजीत भनिने मन्सुली हो भन्ने उनले नै बताए। उनको एक बिघा र नजिकका धेरै किसानको खेतमा डढुवाले आक्रमण गरेको पनि सुनाए। हामीले सुन्यौँ। तस्वीर खिच्यौँ। अनि फिरेर मोटरसाइकलसम्म आइपुग्दा एकजना साइकलयात्री पर्खिरहेका थिए। उनले हत्तपत नमस्कार गरे अनि भने, 'हजुरहरु कृषिबाट हो ? हेर्नुस्न मेरो पनि धानमा डढुवा लाग्यो। के औषधि हाल्ने थाहा छैन। लौ न भन्दिनुस्।' उनको बुझाइ देखेर हाँस्न मन लाग्यो। हाँसिहाल्दा पनि असजिलो हुने। 

ढाडमा ब्याग छ। हात-हातमा क्यामेरा। उनले कृषिका प्राविधिक ठानेछन्। हतपत उनलाइ भनियो, 'दाइ, हामीहरु कृषिका मान्छे होइन। हामी पत्रकार। त्यही डढुवाको फोटो खिचेर फिरेको।' उनी केही भन्न खोज्दै थिए। तर, हामी अघि बढिहाल्यौँ। बाटामा एक घण्टे झरीले छेक्यो। झोराहाटको पिडारवनी चोकमा ओत लागेर बसियो। मनमा ती दुई मानो रोपेर मुरी फलाउनेहरुका कुरा खेल्यो।

खेतीमा कछुवा गतिमा परम्परागत प्रविधि विस्थापित हुने क्रममा छ। कतिपय गराहरुमा ट्याक्टरले खनजोत गर्दै रहेको देख्न गाह्रो छैन। परम्परागत प्रविधि हटिहाल्ने अवस्था नहुनुका पछि किसानको उक्सिन नसकेको आर्थिक अवस्था हुँदै हो। तर, किसानका माझबाट खरायो दौडेजसरी हाम्रा परम्परागत बिउबिजन हराएका छन्। सबैथोकमा हाइब्रिड हावी भएको छ। जनसंख्या, उद्योग र बढ्दो आवासका कारण जग्गा खण्डीकरण बढेको छ। जग्गाको आकार बढ्दैन। मान्छे र घरहरु बढ्छन्। त्यसैले सानो आकारको जग्गामा धेरै र छिटो फल्ने प्रविधिमा अघि बढ्न किसान दबाबमा छन्। धेरै किसान काम गर्नका लागि मात्र किसान छन्। जग्गाधनी अरु नै र अन्तै छन्। जग्गाधनीको रुचि र अवस्था अनुसार अर्को बाली लगाउने नलगाउने निर्णय हुन्छ।

अनि हाइब्रिड। केही महिनाअघि मकैको घोघामा दाना नलागेपछि किसानहरुले प्रदर्शन गरे। सरकारले केही स्थानमा राहत दिने घोषणा पनि गर्‍यो। बाली लगाउनका लागि उन्नत प्रविधिको बिउ छनोट गरिन्छ भने त्यसका लागि जग्गाको अवस्थामा गरिनुपर्ने तयारीका मापदण्ड पनि भिन्न छन्। बिउ उन्नत ल्याए पनि हाम्रा धेरै किसानले त्यस्तो प्रविधिमा अघि सरिहाल्ने अवस्था छैन। त्यसैले मधु साहजस्ता किसान पीडामा छन्। कृषिको व्यावसायिक विकास लागि नाराबाजी र वकालत गर्नेहरुले बेलैमा सल्लाह दिए जाति होला। अन्यथा डढुवा हुने क्रम बढेर किसान फेरि प्रदर्शनमा उत्रिएमात्र हेर्ने प्रवृति हितकर हुँदैन।

No comments: