किसान व्यस्त छन् । गएको विहीवार विहान ८ बजे छाडेको विराटनगर दिउसो ४ बजे फेरि टेकेपछि मैले फेसबुकको स्टाटसमा यति मात्र लेखेको थिए । अमेरिका पुगेका एक जना सञ्चारकर्मी दाजु राजेश कोइरालाले कमेन्ट लेखे 'तैपनि चामलको भाउ घटेको थाहा छैन ।' एक जना साथीले उहाको प्रतिक्रियामाथि प्रतिक्रिया लेखे 'आफ्नु तलब बढाउनु । चामलको भाउ घटाउनु ।' उनले त्यसको जवाफमा फेरि लेखे 'किसानको के दोष र ? भाउ बढाउने धेरै फ्याक्टर छन् ।'
तीन शब्दको छोटो वाक्यमा प्रतिक्रिया थपिएको देखेर म फेरि त्यसमै लेख्न बाध्य भए । मैले थपे 'बढेको भाउ सोझै किसानले खान पाउने मुलुक होइन यो । भाउ बढाउने र बढेको खान पाउने बीचमा अरु नै छन् । वर्षाको सीजन हो, यतिखेर उनीहरु रोपाइमा व्यस्त छन् मैले भनेको हो । अन्यथा होइन ।
फेसबुकको एउटा सानो स्टाटस अप्डेटको श्रृङ्खलालाई यतै थाती राखौं । आफ्नो अवस्था बारे वा मन लागेका कुरा लेख्न मिल्ने इन्टरनेटको यो सामाजिक सञ्जालमा लेख्नका लागि जे चाहृो त्यही सम्भव छ । सम्पर्कमा रहेकाहरुले मात्र आफ्ना कुरा देख्ने भएपछि आफुले लेखौ वा अरुले लेखेका बाक्यमा प्रतिक्रिया दिउ, सजिलै सकिन्छ ।
विहीवार साझ मेरो स्टाटस चामलको बढेको वा घटेको भाउसग सम्बन्धित थिएन । यसको कारण थियो -तेतरियाका एउटा किसानसगको भेट । फोटोपत्रकार मित्र संजीव खनाल र मैले विराट चोकबाट विराटनगर फर्कदा बाटोबाट करीव २०० मिटर पर पूर्व खेतमा मधु साह नामका किसानलाई देखेका थियौ । ढाडमा स्पे मेशिनको पम्प भिरेर डढेलो लागेका धानका बोटमा उनी असिनपसिन हुदै स्प्रे गरिरहेका थिए । हामीले सडकमा बाइक अड्याएर उनको तस्विर लिने निधो गरियो । आली हिलाम्य थियो । जोगिएर उनीसम्म पुगियो । सोधियो 'किन स्प्रे । के भएको हो धानलाई ' उनले सहज उतर दिए 'डढुवा लागेको हो । हेर्नुस्न् , जोगिन्छ कि भनेर स्प्रे मारेको ।'
लगाएको धान रंजीत भनिने मन्सुली हो भन्ने उनले नै बताए । उनको एक बीघा र नजिकका धेरै किसानको खेतमा डढुवाले आक्रमण गरेको पनि सुनाए । हामीले सुन्यौ । तस्विर खिच्यौ । अनि फिरेर मोटरसाइकलसम्म आइपुग्दा एकजना साइकलयात्री पर्खिरहेका थिए । उनले हत्तपत नमस्कार गरे अनि भने 'हजुरहरु कृषिबाट हो । हेर्नुस्न मेरो पनि धानमा डढुवा लाग्यो । के औषधि हाल्ने थाहा छैन । लौ न भन्दिनुस् ।' उनको बुझाइ देखेर हास्न मन लाग्यो । हासिहाल्दा पनि असजिलो हुने । ढाडमा व्याग छ । हात हातमा क्यामेरा । उनले कृषिका प्राविधिक ठानेछन् । हतपत उनलाइ भनियो 'दाइ, हामीहरु कृषिका मान्छे होइन । हामी पत्रकार । त्यही डढुवाको फोटो खिचेर फिरेको ।' उनी केही भन्न खोज्दै थिए । तर, हामी अघि बढि हाल्यौ । बाटामा एक घण्टे झरीले छेक्यो । झोराहाटको पिडारवनी चोकमा ओत लागेर बसियो । मन ती दुइ मानो रोपेर मुरी फलाउनेहरुका कुरा खेल्यो ।
खेतीमा कछुवा गतिमा परम्परागत प्रविधि विस्थापित हुने क्रममा छ । कतिपय गराहरुमा ट्याक्टरले खनजोत गर्दै रहेको देख्न गाह्रो छैन । परम्परागत प्रविधि हटिहाल्ने अवस्था नहुनुका पछि किसानको उक्सिन नसकेको आर्थिक अवस्था हुदै हो । तर, किसानका माझबाट खरायो दौडेजसरी हाम्रा परम्परागत बीउबिजन हराएका छन् । सबैथोकमा हाइब्रिड हावी भएको छ । जनसंख्या,उद्योग र बढ्दो आवासका कारण जग्गा खण्डीकरण बढेको छ । जग्गाको आकार बढ्दैन । मान्छे र घरहरु बढ्छन् । त्यसैले सानो आकारको जग्गामा धेरै र छिटो फल्ने प्रविधिमा अघि बढ्न किसान दवावमा छन् । धेरै किसान काम गर्नका लागि मात्र किसान छन् । जग्गाधनी अरु नै र अन्तै छन् । जग्गाधनीको रुची र अवस्था अनुसार अर्को बाली लगाउने नलगाउने निर्णय हुन्छ ।
अनि हाइब्रिड । केही महिनाअघि मकैको घोघामा दाना नलागेपछि किसानहरुले प्रदर्शन गरे । सरकारले केही स्थानमा राहत दिने घोषणा पनि गर्यो । बाली लगाउनका लागि उन्नत प्रविधिको बीउ छनोट गरिन्छ भने त्यसका लागि जग्गाको अवस्थामा गरिनुपर्ने तयारीका मापदण्ड पनि भिन्न छन् । तर, बीउ उन्नत ल्याएपनि हाम्रा धेरै किसानले त्यस्तो प्रविधिमा अघि सरिहाल्ने अवस्था छैन । त्यसैले मधु साहजस्ता किसान पीडामा छन् । कृषिको व्यवसायिक विकासलागि नारावाजी र वकालत गर्नेहरुले बेलैमा सल्लाह दिए जाति होला । अन्यथा डढुवा हुने क्रम बढेर किसान फेरि प्रदर्शनमा उत्रिएमात्र हेर्ने प्रवृति हितकर हुदैन ।
No comments:
Post a Comment