Friday, August 13, 2010

खेदी खेदी मारियो राँगो


देउतालाई भाकल गरी चढाएको भन्दै छाडेको राँगोले आतंक मच्चाएपछि मंगलबार त्यसलाई  मोरङको रंगेलीमा गोली हानी विभत्स तरिकाले मारिएको छ । सीमावर्ती भारतको सिक्टी घर भएका एक व्यक्तिले भाकल गरी देवतालाई भन्दै छाडेको रागो (भैसीको साँढे ) ले मान्छे र पशुलाई देखेर टाढै लखेट्दै आउँथ्यो । त्यसलाई देखेर केटाकेटी डराउँथे । अधिकांश समय त्यो राँगो रंगेली आसपासकै क्षेत्रमा घुमिरहन्थ्यो ।
मंगलबार बिहान ८ बजे त्यसले रंगेली-९ का अशोक साहको बाछोलाई लखेटीलखेटी हिर्काएर सख्त घाइते बनायो । त्यही पीरले केही बेरमै बाछो मर्‍यो । त्यसपछि आक्रोशित गाउँलेले राँगोलाई धपाए । प्रहरीसँग सहयोग माग गरे । जनधनलाई अप्ठ्यारो पारेपछि राँगोलाई मार्नु परेको मोरङका एस्पी दीपक थापाले बताउनुभयो ।
गाउँलेले लखेटेर रंगेली-२ स्थित सामुदायिक वन क्षेत्रको बक्राहा खोला किनारमा पुर्‍याएपछि पुगेको प्रहरी टोलीले त्यसलाई मार्न सात राउण्ड गोली चलाएको छ । पहिलो गोली त्यसको तीघ्रामा लाग्यो, ढलेन, बरू अघि अघि भाग्न थाल्यो । त्यसपछि थ्री नट थ्रीबाट प्रहरीले चार राउण्ड गोली चलाएपछि घाइते भयो । तैपनि मरेन । त्यसपछि गाउँलेले त्यसको टाउकामा बञ्चराले हिर्काए । अझै पनि मरेन । त्यसपछि बन्दुकको नाल त्यसको कानमा छिर्राई गोली चलाएपछि बल्ल बलिष्ठ राँगाको इहलीला सकियो ।चलाइएका गोलीमध्ये एउटा मात्र त्यसलाई लागेन । मिसफायर भएर खोलामा पुग्यो । गोली चलाउनका लागि जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको आदेश लिइएको रंगेलीका प्रहरी निरीक्षक राजेश थापाले बताउनुभयो ।
(विराटनगरको  उदघोष दैनिकको ०६७ साउन २७ अंकबाट साभार)

No comments: