एक हुल तन्नेरी छिरे। अँध्यारो थियो। अनुहार प्रष्ट बुझिने अवस्था थिएन। आइतबार बेलुकी ९ बजे। बत्ती थिएन। सोध्नै नपाइ उनीहरुले नै भने - 'होटलबाट सेक्स काण्डमा पक्राउ परेका छन् नि। तिनमा एक जना हाम्री दिदी पनि परिछन्। खबर नछाप्ने आग्रह गर्न आएका हौँ।'
यतिखेर हामी विराटनगरस्थित एक स्थानीय अखबारको कार्यालयको छतमा थियौँ। बिजुली गएको थियो। करिब ३७/३८ डिग्री अधिकतम तापक्रम। सबैतिर बाफ। त्यो साँझ प्रहरीले यहाँका शेर-ए-पञ्जाब र यति भन्ने दुई होटलबाट १० जोडी समातेको खबर आएको थियो। प्रहरीले सञ्चारकर्मीलाई कोठा नम्बर, समातिएकाको नाम मात्र उपलब्ध गराएको थिएन, तस्बिर पनि खिच्न दिएको रहेछ।
संयोगले त्यो बेला म चाहिँ त्यो खबर कभर गर्न पुग्न पाएनछु। नभए अहिले तीमध्येका केही भद्र तस्बिर यहाँ राख्न हुन्थ्यो होला। समातिनेहरुमा संभ्रान्त भनिने केही परिवारका जिम्मेवार बाबु, तरुनी आमा र केही भारतीय थिए। एक भारतीय महिला पनि रहिछन्।
विराटनगरमा पछिल्ला केही महिना यौनकर्मीका गतिविधि बढेको छ। यो पनि पेसा रहेछ। डर मान्दा मान्दै विस्तारै साँढे हुने प्रवृत्ति ! त्यसैले हुनुपर्छ रेस्टुराँहरुमा मोडलजस्ता वेटरले काम गर्न थालेका। यद्यपि सबै रेस्टुराँका महिला वेटर त्यस्ता छैनन्। अधिकांश सस्ता रेस्टुराहरुमा मदिरा र चुरोट पारखीका लागि छिल्लिएर जिस्किएको, काखमा बसेर चुरोट बालिदिएको देख्ता भद्र भन्न मन पराउनेका लागि अलि असजिलो दृश्य नौलो छैन। तर, भद्र भन्न मन पराउने बानी भएकाहरु त्यस्ता ठाउँमा पुग्नु नै आफैंमा अभद्रता हुँदै हो।
व्यवसाय चलेको छ। सीमावर्ती क्षेत्रबाट भारु लिएर पस्ने र लरखराउदै फिर्ने ग्राहक तानिने भएपछि लिप्तहरु मक्ख छन्। सुरक्षा निकायलाई नजराना पुगेकैले हुनुपर्छ, प्रहरी मौन छ। तर, हिजो चाहिँ समातेछ। अघिल्लो साता यहाँको कलेज रोडस्थित सरस्वती गेष्ट हाउसमा इटहरीकी महिला मृत फेला परेकी थिइन। एउटा युवकले २ हजार दिने सहमतिमा ल्याएर श्रीमानश्रीमती भन्दै छद्म नाउँ लेखाइ बसेका रहेछन्। बिहान त्यो युवक छिटै हिँड्यो। चेकआउटको समयमा पनि महिला बाहिर नआएपछि प्रहरीले खोलेर हेर्दा उनी पलंगमा मृत थिइन। मुखबाट सेतो फिँज निस्केको थियो।
ती महिलाको श्रीमान वैदेशिक रोजगारीमा, नानीहरु छन् भन्ने खुल्यो। उनको बाटो बिग्रिएको रहेछ। प्रहरीले घटनामा संलग्न युवकलाई समातेको छ। टाउको दुख्यो भनेपछि एउटा औषधि खुवाएको बताएका युवकले एकपटक संसर्ग गरेपछि बिहान हेर्दा मृत देखेर डराइ भागेको प्रारम्भिक बयान दिएका छन्। सम्भवतः त्यही घटनापछि प्रहरीले हिजो छापामारी गरेको हो।
अब तातो छानो र ती युवा जमातका कुरा। उनीहरुले आफूहरु रंगेलीबाट आएको बताए। उनीहरुकी दिदी भनाउने महिलाका नानीहरु छन्। श्रीमान मोरङसँगै जोडिएको अर्को जिल्लामा काम गर्छन्। अहिले घरमा छैनन्। 'परिवारका सबैलाई थाहा भयो भने मर्नु न बाँच्नु हुन्छ त्यसैले समाचार नछापे ठीक हुन्थ्यो' भन्ने प्रस्ताव उनीहरुको थियो।
हामीसँगै रहेका उद्घोषका सम्पादकले भन्नुभयो, 'हामी सस्तो पत्रकारिता गर्दैनौँ। त्यसरी महिलाबारेमा स्पष्ट जानकारी आउनेगरी छापेर पत्रिका बेच्ने नियत हाम्रो छैन।' उनीहरुलाइ भनियो - जानकारी प्रहरीले सबै पत्रकारलाई दिएको छ। तस्बिर लिएका छन्। रुमको नम्बरसहित जोडीको नाम उपलब्ध गराइएको छ। कहाँ-कहाँ गएर समाचार नछाप्न आग्रह गर्नुहुन्छ ?
केहीबेर अकमकिए पनि उनीहरु एक ठाउँ गरेको आग्रह पुरा होस् भन्ने चाहनामा थिए। उनीहरु गए। आज समाचार महिलाको पुरा परिचय खुल्नेगरी आएका छैनन्। प्रकाशनको यो तरिका ठीकै हो। तर, समाचारमा मात्र पर्दा लगाएर यस्ता कार्य निरुत्साहित हुने पक्कै होइनन्। कता जाँदैछ समाज ?

No comments:
Post a Comment