एक हुल तन्नेरी धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिरबाट निस्कन्छन्। हातहातमा पातला धागोका रंगीन माला छन्। मन्दिर परिसरमा ठुटे बासझ्याङ छ। झ्याङ जोगाउन त्यसको मुन्तिर तारजालीको बार लगाइएको छ। जाली नै नदेख्नेगरी यहाँ रङविरंगी धागोका माला बाँधिएका छन्। मालाका भीड पन्छाएर तन्नेरीको जमातले आफ्ना लागि ठाउँ बनाउँछ। अनि तीमध्येको एउटा बोल्छ, 'यसरी यहाँ धागो बाध्यो भने मनोकांक्षा पुरा हुन्छ रे।'
उनले बोलेजस्तै छ बुढासुब्बा मन्दिर परिसरको बासझ्याङको फेदी। तीन वर्ष अघिसम्म यहाँ तारजाली थिएन। बाँसैपिच्छे युवाहरुले आफ्नो नाम वा नामको पहिलो अक्षरसँग प्लसको संकेत दिएर प्रेमिकाका नाम कोरेर जान्थे। त्यसबेला बाँस कुनै पनि खाली थिएनन्। जुनमा हेर्यो 'फलानो प्लस फलानी' लेखिएका थिए। फेदीमा जाली लगाइयो। कसैले माला बाँधेर भनिदिएछ, 'यसो गरे मनोरथ पुरा हुन्छ।' अनि अहिले यहाँ सबै उमेर समूहकाहरु तारजालीमा माला बाँध्न तल्लीन भेटिन्छन्। बुढासुब्बा र सुब्बिनीको मन्दिर पस्ने, पूजा गर्ने, अनि रंगीन डोरो तारजालीमा बाँधेर मनोकांक्षा पुरा होस भन्दै फिर्ने।
०००
गेरुवा वस्त्र लगाएर झापाको बुधबारे-९ बाट आएको जमात बुढासुब्बाकै मन्दिर ताकी आएका होइनन्। बोलबम भन्दै निस्केको जमातको पहिलो लक्ष्य पिण्डेश्वर शिव मन्दिर। दोस्रो दन्तकाली र तेस्रोमा यो मन्दिर परेको हो। धरानको भानुचोकबाट केही पूर्व उकालो लागेपछि लहरै एकपछि अर्का यी मन्दिर बाटाबाटै छन्। यी धरानको विजयपुर डाँडाका सदाबहार तीर्थस्थल हुन्। आदिवासी जनजातिको बाहुल्य भएको यो लाहुरे सहरका तीर्थस्थलले हिन्दु र किरात धर्मावलम्बीलाई यिनैका माध्यमले जोडेको पनि छ।
झापा, मोरङ, सुनसरीका समथर क्षेत्रमात्र होइन, सीमावर्ती भारतको विहार र बंगालबाट आउने तीर्थयात्रीलाई थोरै पहाडी हिँडाइको कसरत दिने विजयपुर डाँडाले धार्मिक शीतलतामात्र होइन मोहक हरियालीको आनन्द दिने क्षमता पनि राखेको छ। यहाँको तापक्रम पनि धरानको बजार, विराटनगर र इटहरीजस्ता सहरी क्षेत्रभन्दा कम छ। गर्मीको तापले असजिलो मान्दै बसेकाहरु यहाँ फरक प्रकारको शीतल अनुभव गर्न सक्छन्।
एकपटक आएकाहरुलाई यहाँको वातावरणले तानिरहेको दिनहुँको घुइँचोबाट थाहा हुन्छ। वराहक्षेत्र पुगेर कोसीको जल ल्याइ १५ किलोमिटरको यात्रापछि थाक्दै आफैंलाई जगाउदै लाम लागेर पूजाको पालो कुरेर बसेकाहरुको जमातमा एक प्रकारको उत्साह देखिन्छ।
०००
'चार वर्ष भयो आउन थालेको,' पेसाले ट्याक्सी चालक बुधबारेका दीनेश थापाले भने, 'खै आउन मन लाग्छ वर्षमा एकपल्ट।' २२ वर्षे यी युवा गाउँमा सल्लाहपछि १५ जनाको टोलीमा यहाँ आइपुगेका हुन्। धर्मकर्म उमेर र पेसाले त्यति भरपर्दो नमाने पनि उनलाई तीर्थ आउँदा नियमित रुटिन जीवनबाट राहत महसुस हुने सुनाउँछन्। 'वर्षमा एकबाजी यसरी हिँड्यो,' उनी भन्छन्, 'आफ्नो दिनहुँको काम त छँदैछ अघिपछि पनि।'
मन सधैं धर्मकर्ममा लागिरहँदैन। तर, वर्षमा एकपल्ट यसरी गाउँलेका साथ घरबाट टाढाको तीर्थ आउदा थकाइ मर्ने र फेरि काममा जाँदा नयाँ प्रकारको अनुभव हुने उनलाई लाग्छ। उनीसँगै रहेका २६ वर्षीय रन्जीत राजवंशीलाई पनि त्यस्तै लाग्छ। भन्छन्, 'उमेरमा धर्मकर्म गर्ने नगर्ने आफ्ना कुरा हुन् तर, यसरी बोलबम आएपछि रमाइलो हुन्छ।' पेसाले सिकर्मीको काम गर्दै आएका राजवंशीलाई तीर्थको माहोलमा गाउँले टोली मिसिन पाउँदा निकै रमाइलो लागेको छ। तीर्थालुका भीडमा धेरै संख्या राजवंशी र थापाको जस्तै हाराहारी उमेर समूहको छ।
धेरैको चाहना शिवजीले दिउन नदिउँन माया, शान्ति र जागिर रहेको पाइन्छ। जनविश्वासमा तीर्थ यात्राको अनुभव आफैंमा शरीरलाई स्फूर्ति दिने प्रकारको अनुभव उनीहरुको छ। १२ कक्षाको परीक्षा दिइ बसेका झापाली तन्नेरी रोजित कोइरालाको यो वर्ष बोलबम तीर्थको जीवनमै पहिलो अनुभव हो। 'ग्रुपमा आउँदा मजा आउने रहेछ,' उनले भने, 'अरु खासै लागेन।' झापाली टोलीले घरदेखि चतरा र धरानसम्मको यात्राका प्रतिव्यक्ति आठ सय खर्च भएको बतायो। तुलनात्मक रुपमा उनीहरुका लागि पिण्डेश्वर तीर्थयात्रा सस्तोमा रमाइलो अनुभव गराउने प्रकारको भएको छ।
०००
पूर्वी तराईमा अहिले बोलबम टाढाको तीर्थ छैन। जहाँ जहाँ शिवालय छन् तिनमा पूजा गर्नेको आफ्नै प्रकारको घुइँचो छ। बर्सेनि शिवालय थपिने क्रममा पनि छन्। तर, धरानका कुरा बेग्लै भएको झापाकी शशि कार्की बताउँछिन्। भन्छिन्, 'वर्ष वर्ष लगातार ६ पल्ट आएँ। चार वर्ष ग्याप भो। अहिले फेरि यसपाली आएकी छु।' यातायातका दृष्टिले सुगम। शान्ति-सुरक्षा र एउटा तीर्थको यात्रामा तीनवटा मन्दिरको घुमाइ हुने भएकाले धेरैलाई धरानले तान्ने गरेको हो भन्ने उनलाई लाग्छ। 'रोगकष्ट हुँदैन , शान्ति हुन्छ भन्ने विश्वास छ,' उनी भन्छिन्, 'विश्वासले नै हो पहिलो तान्ने कुरा।'
इनरुवा-९ बलाहाबाट आएका दिदी-भाइ रीता र विष्णु पुरीको बुझाइमा समाजले धर्म मान्नुपर्छ भन्ने सिकाएकाले यही युवा पुस्तामा परेको असरले तीर्थ गराउँछ। 'मान्नेले मानेका छन्, पुगेको जस्तो लाग्छ,' रीता भन्छिन्, 'त्यसैले मान्छे तीर्थमा कष्ट भए पनि धाउँदा रमाएका होलान्।' आठ कक्षाका विद्यार्थी विष्णुलाई भने यात्रा आफैंमा नौलो अनुभव भएको छ। बेग्लै रंगका लुगा लगाएर। लाम लागेर बोलबमको नारा दिँदै पूजामा सरिक हुनु आफैंमा फरक अनुभव हो भन्ने उनलाई लाग्छ। भन्छन्,'यसरी आएकाले मात्र रमाइलो नरमाइलो अनि नौलो अनुभव गर्न सक्नेरहेछन्।' धरान आउनु टाढाको तीर्थ होइन। तर, उनीहरु दिदीभाइ चतरा भने पुगेनन्।
०००
धरानको पिण्डेश्वर शिवमन्दिरका बोलबम यात्री अधिकांश चतरा पुगेर त्यहाँको पानी लिइ मन्दिर आइपुग्छन्। १५ किलोमिटरको यात्रा सहज छैन। कारण, बाटामा दुइवटा साना खहरे तरेर माटो, ढुंगा, ग्राभेल र कालोपत्रे सडक छिचोल्दै अघि बढ्ने पैदल यात्रा खाली खुट्टा हिड्नेका लागि सजिलो अवश्य होइन। 'धर्मकर्म भनेजस्तो सजिलो कहाँ हुन्छ !,' तीर्थालुका लागि सरबत वितरणको संयोजन हेर्दै गरेकी धरान-१५ की मीना पुलामी भन्छिन्, 'तर, अप्ठ्यारो बाटोबाट यात्रा गरेर, कष्ट खपेर गरेको तीर्थले मान्छेलाई शान्ति अनुभव हुन्छ। मान्छे त्यसैले ओइरिएका हुन्।' लायन्स क्लव अफ दन्तकालीसम्बद्ध यी महिलाको बुझाइमा धरानको तीर्थमा कष्टजतिकै आनन्दले पनि यात्रुलाई तानेको छ। तीर्थालुका लागि पिण्डेश्वर बोलबम व्यवस्थापन समितिलाई लायन्स, सत्यसाई सेवा केन्द्र, प्रहरी र स्थानीय युवा समूहले सघाएका छन्।
'यसपालि राती १२ बजेपछिदेखि ढोका खोलिदिने व्यवस्था गरिएको छ,' पिण्डेश्वर मन्दिर व्यवस्थापन संयोजक कृष्णप्रसाद श्रेष्ठ भन्छन्, 'त्यसैले भीड व्यवस्थापन अलि सजिलो भयो। अनि भक्तजनले दर्शन र पूजा गर्न सजिलोसँग पाएका छन्।'
तीन दसकदेखि भारतीय तीर्थको सजिलो विकल्पका रुपमा तीर्थालुले आउन मन पराएको पिण्डेश्वरमा पालोका लागि लाइन मिलाउनेदेखि प्राथमिक उपचारसम्मका लागि स्वयंसेवी खटिएका छन्। साउने सोमबारहरु गेरुवाका भीडले विजयपुर डाँडालाई रंगीन बनाएका बेला स्वयंसेवीलाई पनि भ्याइनभ्याइ छ।
***
(२०६७/०४/१५ शनिवार कान्तिपुर कोसेली, पूर्वाञ्चल संस्करणमा)



No comments:
Post a Comment