धेरैपटक सजिला विषयहरु मञ्चन हुन्छन् । ती हेर्दा पनि रमाइला लाग्छन् । गत मंगलवार विराटनगरमा यस्तै एउटा नाटक हेर्न मिल्यो । जनकपुरको मिथिला नाटय परिषद् (मिनाप) को प्रस्तुती ' बुधियार छौडा आ राक्षस ' अर्थात बुद्धिमान केटो र राक्षस । लोककथाको सामान्य लाग्ने विषय ।
मञ्चको सज्जा पनि सरल । भुमि प्रशासन चोकछेउको खुला मैदानमा भएको नाटक बालबालिकाका लागि थियो । त्यसैले दर्शकमा उनीहरुकै बाहुल्य थियो । डेनिस परियोजना डानिडाको सहयोगमा दुइटा टोलीले नाटक प्रदर्शनको काम पाएका रहेछन् । मिनापले जनकपुर, नारयणी, कोसी र मेचीका विभिन्न जिल्लाका १५ स्थानमा देखाउन यो नाटक र मण्डला थिएटरले पश्चिम नेपालका जिल्लामा देखाउन 'घुम्रिएको कपाल' । त्यसैले मिनाप इटहरीपछि विराटनगर आइपुगेको रहेछ ।
नाटक हेरेपछि मिनापका सूनील मल्लिकसँग केहीबेर कुरा गरियो । धेरैपटक कुनै खास प्रकारको दवाव रहने प्रदर्शनमा यसपटक लोकथा , अनि बालबालिकाका लागि गर्दा त्यस्तो केही छैन । रमाइ-रमाइ गरिरहेका छौ भन्ने उनको भनाइ रमाइलो लाग्यो । हामीकहा अवस्था यस्तो आएको छ, कोही दाता निस्केन भने केही पनि नहुने । नाटक पनि दाताले सघाएमात्रै देखाउने चलन आएछ । यो सोच्दा मन अमीलो हुन्छ । तैपनि विराटनगर गुरुकुल सुस्ताएका बेला मिनापको नाटक हेर्न पाउनु रमाइलै मान्नु पर्यो ।
खुला ठाउमा नाटक देखाउ“दा मञ्च मिलाइरहेका कलाकार परैबाट चिन्न सकिन्छ । उनीहरु पालो मिलाएर आफ्नो भागको काम गर्छन् र साथीका लागि मञ्च व्यवस्थापन सघाउँछन् । मैथिली भाषा बुझन असजिलो छैन । हेरियो, अनि केही लेखियो, जसले यो टोलीलाई नाटक प्रदर्शनमा हौसला मिलोस् । हेरियो, लेखियो । जो यस्तो थियो-
चौरमा कौडाको खेल
विराटनगर - धेरैपटक कुनै खास विषय देखाउने तनावले काम गराउँछ । भाषा, अधिकार र सचेतनाका मुद्दा बोकेर हिँड्ने मिथिला नाटय परिषद् (मिनाप) मंगलबार केही फरक देखियो । फरक यस अर्थमा कि कलाकर्मी विराटनगरको खुला चौरमा थिए । दर्शकदीर्घामा स्कुले बालबालिका । भुइँमा एउटा ल्यापटप, साउन्ड मिक्सचर र डिभिडी प्लेयर ।
मञ्च भनेर छुट्याइएको ठाउँमा मिथिला संस्कृति झल्काउने चित्र अंकित एक मान्छे अग्ला छ-सात वटा साना पर्दा छन् । केहीमा रूखको नक्सा पनि कोरिएका छन् । ग्रामीण क्षेत्रको एउटा घरबाट दृश्य सुरु हुन्छ । घरको एक्लो लाठे छोरो कम्मरको रातो थैली फुकाउँछ । आँगनमा कौडा फाल्छ, अनि गन्ती गर्छ- 'एक, दुई, तीन, चार ।'
आमा आउँछिन् र कान निमोठछन् । गाई बाँध्न, दुहुन र परालको कुटी काटेर हाल्न लगाउँछिन् । आमा यताउता लागेको देख्यो कि ऊ घरि कौडा खेल्छ घरि दलिनमा झुन्ड्याइएको धनुबाण खेलाउँछ । नेपथ्यबाट चर्को आवाज सुनिन्छ, मानौं कुनै ठूलो संकटको संकेत हो । एउटा बलिष्ठ राक्षस आउँछ । केटो भाग्छ । राक्षस गाईलाई जुरुक्क बोक्छ र स्वादिलो हुने संकेत गर्दै काँधमा बोकेर लैजान्छ । केही बेरपछि मञ्चमा देखिएकी आमालाई अक्क न बक्क भएको छोरो राक्षसले गाई लगेको बताउँछ । आमा बिलौना गर्छिन् ।
अब छोरो गाईको खोजीमा निस्कन्छ । उसले जंगलमा राक्षसकी एउटी सुन्दरी भान्जी भेट्छ । राक्षसले उसलाई बन्धक बनाउँछ । कौडा खेल्ने राक्षसलाई ऊ आफूसँग खेल्न चुनौती दिन्छ । कौडा उसले इनारमा मिल्काउँछ र भन्छ 'मैले जितें ।' राक्षस इनारमा खसेको कौडा हेर्न थाल्दा केटाले उसैलाई त्यसमा लडाइदिन्छ । मिनापको 'बुधियार छौडा आ राक्षस' कथा मञ्चन देखेर बालबालिका ताली पिट्छन् ।
४५ मिनेटको नाटकलाई नारायणी, कोसी र मेचीका १५ स्थानमा मञ्चनको अभियान लिएर निस्केको टोलीका लागि विराटनगर १३ औंमा परेको उल्लेख गर्दै मिनाप अध्यक्ष सुनील मल्लिकले भने, 'यसपटक हाम्रो अभियान लोककथालाई बालबालिकाका लागि देखाउने मात्रै हो । अहिले हामी कुनै विशेष प्रयोजनका अभियानले हुने दबाबमा छैनौं ।' नाटक रमेशरञ्जन झाले लेखेका हुन् । यसमा प्रमेश झा, रवीन्द्र झा, पि्रयंका झा र रीना रिमालले अभिनय गरेका छन् ।
आफैं संगीत संयोजन गरेका सुनीलले भने, 'हामीले सडक नाटक र मञ्चमा गरिने नाटकमा धेरै अन्तर हुँदोरहेछ । खुलामा गर्दा प्रकाशको खेल गर्न नपाइने, सबै खुला खुला हुने ।' राजधानीको रसियन कल्चर सेन्टरबाट थालेर महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सुनसरी र मोरङसम्म आइपुग्दा मैथिली भाषाको यो नाटकलाई राम्रो प्रतिक्रिया आएको उनले बताए । झापाको भद्रपुरमा मञ्चनपछि जनकपुर पुगेर यसपटकको अभियानले विश्राम लिनेछ । 'दन्त्यकथालाई कसरी नाटय रूपान्तर गर्न सकिन्छ भन्ने यो अभ्यास पनि हो,' सुनीलले भने ।
प्रकाशित मिति: २०६८ पुस १३
No comments:
Post a Comment