Monday, July 28, 2008

बन्दको बानी -१


धेरै साथीहरुले ब्लगमार्फत सेयर गर्ने रमाइला कुरा जस्तै केही म पनि लेखुँ भन्ने नलाग्ने होइन । तर, स्थिति र अवस्थाभन्दा पर पुगेर रमाउन सकिने छाँट नआउने रहेछ । आज धरानसम्मको यात्रामा बन्द संस्कृति हेरेपछि हामी अभ्यस्त भएको संस्कृतिकै कुरा लेख्न मन लागेको छ ।
म हिजो साँझ परिवारसहित सुनसरीको खनारस्थित ससुराली पुगे । श्रीमतिजी र मेरो आज धरानको पिण्डेश्वर जाने कार्यक्रम थियो । सो, त्यहाँ बेलुकी बसेर छोरालाई त्यहीँ छाडी हामी विहानै धरान लाग्यौं । विहानै खुल्ने र चहलपहल हुने इटहरी चकमन्न थियो । धरान पुगियो । त्यहाँ भानुचोकस्थित बसपार्कबाट गाडी बाहिरिने ठाउँमा धुँवाको मुस्लो थियो । सडकबाट गाडी छिर्न नमिल्ने गरि टायर बालिएको थियो । अघि जाने-नजाने भन्दा भन्दै मैले मोटरसाइकल रोकें । अनि केही तस्विर खिचें ।
मलाइ धरान पस्दा मन प्रफुल्ल बनाउने घण्टाघर अघि धुँवाको मुस्लो थियो । केहीबेर त्यहाँ उभिएपछि प्रहरीले बलेको एउटा टायर पन्छाए । मोटरसाइकल आरामले जानसक्ने ठाउँ बन्यो । अनि हामी उकालो लाग्यौं । हामी विजयपुरमा पहिले बुढासुब्वा मन्दिर पुग्यौं । त्यहाँ भीड थिएन । बोलबमको मेला लागेका बेला साउनभरि विजयपुरका तीन तीर्थमा मनग्ये भीड हुने गर्छ ।
बोलबम जानेहरु पिण्डेश्वर शिव मन्दिरमा जल चढाएर मात्र फिर्दैनन् । उनीहरु दन्तकाली र बुढासुब्वा मन्दिर पनि पुगेर दर्शन गर्छन् । तर, भीड नदेखेर नौलो लागेन । कारण , बन्दले तीर्थयात्रीलाई बाधा पुगेकाले हुनुपर्छ भन्ने भयो । अनि दन्तकाली मन्दिर पनि उस्तै । हुन त खुलेको शेयर वा कुनै आवेदन बुझाउने अनित्म दिनमात्र भीड हुने चलन छँदैछ । यद्यपि मन्दिर त्यस्तो होइन । दन्तकाली पनि खुकुलो थियो । पिण्डेश्वरमा भीड थियो तर, उल्लेख्य होइन । पालिका बजारदेखि माथि मन्दिरसम्मको उकालोमा कुनै बेला एक किलोमिटर लामो भीड देखिने मन्दिरमा करीव दुइ सय मिटरमात्र लाम थियो ।
त्यहाँ पत्रकारका नाताले सजिलै प्रवेश पाइयो । फोटो र भिज्युअल पनि खिचियो । व्यवस्थापन समिति अध्यक्षसँग कुराकानी पनि भयो । उहाँले भन्नुभयो 'भीड नहुनको कारण बन्द नै हुनुपर्छ । पछि पछि भीड हुन्छ ।' उहाँ भीड हुनेमा निकै आशावादी देखिनुभयो । त्यहाँबाट फिर्दा भानुचोक अलि साम्य थियो । धरान औद्योगिक क्षेत्रनजिकको सडकमा टायर बालेको भेटियो । त्यहाँ इन्जिनियरिङ कलेजका विद्यार्थी विरोध प्रदर्शन भन्दै नारा लगाएर बसेका रहेछन् । उनीहरु मोटरसाइकल पनि जान नदिइ फिराउँदै थिए । मैले केही वर मोटरसाइकल रोकें । अनि तिनीहरुको फोटो खिचें । बाइक अघि बढाएपछि उनीहरुले परिचयपत्र मागे । मेले देखाए । उनीहरुले भने 'यो विरोध उपराष्ट्रपतिले हिन्दीमा सपथ खाएकोले हो, पत्रिकामा आउनुपर्छ । कहिले आउँछ -' मैले ' अँ अँ ' भन्दै बाइक अघि बढाएँ ।
तरहरा नाघेपछि आँपगाछी भन्ने चोकमा सडकमा खानेपानीको फलामे पाइप र बाँस राखेर अवरोध गरिएको रहेछ । त्यहाँ केही युवा, किसोर र धेरै संख्यामा भुराहरु सडकमा आउने बाइकलाइ फर्केर जान चेतावनी दिइरहेका थिए । उनीहरुले मलाइ पनि रोके । मेरो बानी गोजीमा परिचयपत्र राखेपनि हतपत जो कोहीलाई देखाउन मन लाग्दैन । त्यहाँ उनीहरुको उमेर र बोली देखेर परिचय देखाउँदै अघि जान मन मानेन । एक दिन उनीहरुको अवरोध छेउ पसलमा बाइक अड्याएँ । अनि श्रीमतिलाई 'केही बेर हेरौं ' भनें । उनको व्रत थियो । मैले पनि विहान एक कप चिया बाहेक केही खाएको थिईन । ११ बजेको थियो । मैले त्यहाँ ती भाइहरुलाई सोधें 'भाई केको बन्द हो -' उनले बडो गर्वसाथ मलाई हकार्ने पाराले भने 'हिजोअस्तिको पत्रिका पढ्नु भएन - टिभी हेर्नु भएन - क्या मान्छे केको बन्द भनेर सोध्ने -' नाजवाफ भइयो । मैले उनको रवैया हेरेपछि बोकेको व्याग सम्झे, अनि पोहरमात्र किस्ताबन्दीमा किनेको बाइक । सुरक्षित बस्न प्रश्न गर्नु ठीक छैन भन्ने लाग्यो ।
त्यहाँ ती अवरोधकर्ताहरुले मोटरसाइकल फिराएको केहीबेर हेरेपछि मैले मोटरसाइकल विस्तारै साइडबाट निकाले । लोकल ठानेर केहीले चुप लागेर हेरे । केहीले रोक रोक भन्दै थिए । श्रीमतिजी सडकमा केही अघि लागेकीले मलाइ अलि छिटो अघि बढाउन बाधा भएन ।
इटहरीमा बजार खुलेको थिएन । विराटनगर आउने बाटोमा टेलिकमको टावर नजिक अर्को बन्द रहेछ । त्यहाँ सडकछेउ ट्रक-बस र बीचमा माइक्रो तेर्स्याइएको थियो । मोटरसाइकलसम्म चाहि छिर्ने रहेछ । छिरियो । अनि बीचमा अड्याइएको माइक्रोभित्रका स्टाफजस्ता देखिनेलाइ मैले सोधें 'के भो भाई एक्सिडेन्ट भने, किन बन्द, विहान त थिएन त -' उनले भने 'त्यो राजा बन्ने होकि कसले हिन्दी बोलो रे , अनि त्यसैको बन्द हो ।' रमाइलो लाग्यो बन्दको बारेको कारण सुनेर । विचराले बुझेको रहेनछ । पछाडि लामबद्ध आएका बाइकलाइ
साइड दिने क्रममा उनीसँग कुरा गरिरहन मिलेन । अघि बढियो ।
श्रीमतिजीलाई खनार छाडेर म विराटनगर लागें । बाटोमा अफिसको पत्रिका वितरणमा हिडेको पिकप गाडी भेटियो । अनि अलि अघि दुहवी चोकभन्दा करीव एक किलोमिटर वर अर्को बन्द थियो । त्यहाँ सडकमा साइकलका टायर बलेका थिए ।
अब मेरो बाइक मात्र होइन , पछि रहेको अफिसको गाडी पनि सुरक्षित हिसाबले अघि पठाउनुपर्ने भयो । अहिले यति नै । यसको बाकी अंश भोली लेखौंला । अहिले बाहिर निस्कनु पर्ने भयो ।

No comments: