Wednesday, March 30, 2011

अकबरे आकर्षण


विराटनगरबाट ४१ किलोमिटर उत्तरको दूरीमा पर्छ धरान। धेरैपटक गइन्छ। आउजाउकै क्रममा पालिका बजारमा खिचेको तस्बिर हो यो। 

यहाँ अकबरे खुर्सानी बेच्न बसेकी महिला तराजु समातेर ग्राहक हेर्दैछिन्। तस्बिरलाई फोटोसपबाट केही चलाइएको छ। खुर्सानीलाई प्राकृतिक रंग छाडिदिएर अरू भाग श्यामश्वेत बनाइएको हो। मलाई यस्तै गर्न मजा लाग्यो। खिचिने सबै तस्बिर अखबारमै पठाउनका लागि हुँदैनन्। त्यसैले यो तस्बिर पठाइएन।
 
फेसबुकको क्लिक फोल्डरमा अपलोड गर्नेबितिकै एक जना दिदीको कमेन्ट पढन मिल्यो। उनलाई अति मन पर्छ रे। मलाई पनि मनपर्छ। तर, यसको पिरो जिब्रोमारा जस्तै लाग्छ। अति पीरो। यसको पीरो जिब्रोले अनुभव गरे पनि पिँधले गर्नुपर्दैन। पेट पोल्दैन। भनिन्छ यो गुणकारी हो। त्यसैले अरूका तुलनामा महँगो पनि छ। 

अनि उस्तै देखिने खुर्सानीका अरू प्रजातिलाई ग्राहकले चिनेनन् भने अकबरेकै भाउमा किन्न बाध्य हुन्छन्। घर पुगेरमात्रै स्वाद लिएपछि सक्कली नक्कली थाहा लाग्छ। पहाडी क्षेत्रमा उत्पादन हुने भएकाले यो पहाडी बजारमै पाइन्छ। 

धरानका खान्की बजारमा दुई थोक अधिक बिक्री हुँदोरहेछ माछाका सिद्रा र अकबरे। अर्थोक पनि बिक्दो हो। तर, भानुचोकसँगै उत्तर-पश्चिमतर्फको पालिका बजारमा जहिल्यै अकबरेको थुप्रो ग्राहक कुरिरहेको देखिन्छ। उस्तै देखिने सबै खुर्सानी अकबरे हुँदैनन्। अकबरेजस्तो अरू हुँदैनन्। 

No comments: