Sunday, December 12, 2021

यो सकस पनि हटी जाला


कोरोना आयो । अचानक र अनपेक्षित त हुँदै हो, घुमिफिरी फर्की फर्की आउने रैछ । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन आयो । हाम्रो अघिपछिको रुघाजस्तै रूपमा आएको यो संक्रमणले लगालग साथीहरूलाई भेट्यो । मलाइ पनि लक्षण देखियो । रुघा हो वा कोरोना कति जँचाउने ? म जाँच नगराइ बसेँ । बिस्तारै सञ्चो भएको छ । ओमिक्रोन नै थियो भने पनि यसपटक गलाउने रैनछ भन्ने पढ्न-सुन्न पाउँदा उति फिक्री मानिरहनु परेन । 

र, अफिसको काम कोठाबाटै गर्नु परेपछि जचाएँ भनेर कसैलाई प्रमाण बुझाइरहनु नपर्ने भयो । एक प्रकारले मलाइ जँचाउन मन नलागेको पनि होइन तर दिमागमा त्यसको खर्चको हिसाब आयो । ज्यानभन्दा ठूलो खर्च होइन । तैपनि कतिपटक जँचाउन खर्च गर्ने ? कोरोना आयो त आयो तर हाम्रो आम्दानीमा बढेर केही आएन । खर्च बढेर आयो, जो इन्स्योरेन्स क्लेम हुँदैन । अघिल्लोपटक संक्रमण हुँदाका सबै प्रमाण बुझाउँदा पनि त्यो एक लाख पाउँदै पाइएन । बीमा कम्पनीले थुप्रै जनाको दाबी भुक्तानी रोकेको सूचीमा आफू पनि परियो । 

यो साता कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाउने योजना थियो । त्यो असफल भएको छ । कारण, उस्तै लक्षण देखिए लगत्तै खोप लिन हतार नगर्नु नै बेस मानियो । अबको केही सातापछि मात्रै खोपको खोजी गरिन्छ । 

पछिल्लो एक सातादेखि फेरि दैनिकीलाई 'अफिस फ्रम होम' मा खुम्च्याएको छ । राति अबेर मोटरसाइकलमा डेरा फर्किनुको साटो तातो-चिसो कोठामै खाएर काम गर्न मिलेको छ । यो अति सहज हो । यतिबेला अलिकति अर्को सजिलो अनुभव पनि छ, कारण कलेजले जाडो बिदा दिएको छ । नत्र राति करिब करिब २ बजे कोठा आइपुग्नु, बिहानै ६ बजेदेखि सुरु हुने कक्षा भ्याउनु आफैंमा ठूलो दुस्साहस नै थियो ।

आगामी मंगलबारसम्म छ बिदा । त्यसपछि बिहान फेरि विद्यार्थी जीवनको रुटिन पछ्याउनु छ । तर मैले होम वर्क पटक्कै गरेको छैन । कापी पल्टाउन जाँगर आएन ।  आफूलाई सान्त्वना दिन वा ढाँट्नका लागि केही कारण पनि छन् । 

***

पछिल्लोपटक म काउन्सेलिङ साइकोलोजी पढ्ने जमातमा जोडिएँ । मनोविज्ञानका थुप्रै शाखामध्येको यो एउटा महत्वको विषय त हो । तर यसका युनिटहरुमा जति घोत्लियो, त्यति आफूलाई नै केही न केही भइरहेको हो वा आफू पनि रोगी हो जस्तो भान गराउँछ । व्यक्तित्व कस्तो छ- बहिर्मुखी, अन्तर्मुखी । रीस कत्तिको उठ्छ, त्यसको व्यवस्थापन कसरी गरिन्छ ? आत्महत्याको विचार आउँछ ? 

यति धेरै कुरा छन् जो हाम्रो दैनिक जीवनसँग सम्बद्ध, तिनैबाट एउटा एउटा कोण केलाएर गरिएका व्याख्या । अँ एउटा नयाँ कुरा, सिकाइका क्रममा थाहा लागेको के हो भने कुनै पनि घटनामा हामी कसरी प्रतिक्रिया दिन्छौं, त्यसबाट पनि हाम्रो व्यक्तित्व र मानसिकता थाहा हुन्छ । सन्तुलित मानसिकतामा रहन, बनाउन, देखाउन र झल्काउन सजिलो छैन । हामी झट्ट एक प्रकारको प्रतिक्रिया दिइहाल्छौं । त्यसबाट लगाउन सकिने अर्थ अनेक रछन् । 

अँ अरुका बारेमा हामी फटाफट भन्दिछम् । राम्रो, नराम्रो । गुण अवगुण, हुनुपर्ने, नपर्ने हामीलाई साह्रै छिटो भन्न आउँछ । आफ्ना बारेमा अलिकति असजिलो लाग्ने कतैबाट सुनिहाले कानलाई निको लाग्दैन । भलै, मानिसहरु देखाउनका लागि भन्छन् - 'म त आलोचनालाई स्वागत गर्छु ।' सुन्दा गज्जप लाग्छ, वाह ! मान्छे हुनु यस्तो पो । 

तर सत्य यो हो की आफ्नो आलोचनालाई कसैले पनि स्वागत गर्दैन । गर्दै गर्दैन । कसैले देखावटी गर्छ भने उसले वास्तविकता लुकाएको पक्का हो । हाम्रा पूर्वाग्रही बानीहरुमा देखाउने व्यवहार र भन्ने कुरा फरक छन् । यो लफडातिर लागियो भने जन्जाल छ । कति जोगिएर आफूलाई राम्रो देखाउने, बताउने ? देखाउँदा बताउँदा पनि कतै न कतै धोती खुस्किएकै हुन्छ । हामी देख-भेटमा उदारता प्रदर्शन गरिरहन मन पराउँछौ । 

बेलाबखत सामाजिक सञ्जालमा तुष पोखिन्छ । अनि त्यसबाट पनि मापन हुन्छ बानी बेहोराको । सारमा यति लेखिराखौं - मान्छे आवरणमा बाँच्न चाहन्छ । नितान्त राम्रो मनुवाको आवरणमा । 

यो अनौठो र अस्वाभाविक होइन । तपाइँ आफ्ना बारेमा कसैले नराम्रो भनोस् भन्ने चाहनु हुन्न तर अरुका बारेमा तपाइँ तिनै अनपेक्षित कुरा सामान्य सरह भनिरहेकै हुनुहुन्छ ।

***

जीवनमा धेरैपटक प्रवचनबाट बाहिरिन चाहेर पनि बाहिर निस्कन सकिँदैन । किनकि यही हाम्रो शैली हो । अँ साँच्चै म त दैनिकी लेख्छु भनेर बसेको थिएँ, कता अन्तै पुगेछु । अब फर्कम् ।

अँ यो २०७८ माघ २ देखि फेरि वर्क फ्रम होमको रुटिन चलिरहेको छ । यो पाराको काम गराइ तेस्रो पटक हो । कोरोना फेरि नयाँ रूपमा आउला, सामनाको तरिका पनि फेरिएलान् भन्ने आशमा दिन बितिरहेको छ भन्नुपर्छ । 

काम गर्नु घरभन्दा अफिसबाट नै सुबिस्ताको हुन्छ । किनभने अफिसको सेटप काम गर्नकै लागि बनाइएको हुन्छ । कम्प्युटर, इन्टरनेट, फोन, बिजुलीमा आउने समस्यामा प्राविधिक टिम मर्मतका लागि तम्तयार, र साथीभाइ बीच प्रत्यक्ष बहस । त्यो जत्तिको आनन्द एक्लै बसेर अनलाइन काम गर्नु मज्जा मान्न सकिन्न । 

जे होस् यो अभ्यासमा रमाउन नसक्दा पनि निको नलागेको भन्नु पर्छ । 

***

गत वर्षदेखि म सामाजिक सञ्जालमा रम्न छाडेको छु । आफैंलाई अनौठो लाग्छ । छिन छिनमा स्टाटस पोस्ट । आज यहाँ लेखिरहँदा यो ब्लगको ड्राफ्ट पोस्टमा ध्यान गयो । कति कुरा लेखेर पनि मैले पोस्ट गरेको रैनछु । 

हामीलाई बालखछँदाका कतिपय चकचक सम्झेर 'ओहो ! त्यो बेला नगर्नुपर्ने गरिएछ' भन्ने लाग्छ । अनि फोटा अलि त्यस्तै भए देखाउन र समूहमा बसेर हेर्न मन लाग्दैन । ब्लगका पोस्टहरु पनि त्यस्तै हुने रैछन् ।

कविता-कथा लेख्नेहरु, जो दामका लागि कनेर होइन रहरले लेख्छन्, तिनलाई कुनै समय पूर्वाभासबिनै खास खालका कुरा मगजमा आउँछन् । त्यहीबेला ती विचारलाई लिपिबद्ध गरिहाले राम्रा कविता-कथा तयार हुन्छन् ।

*** 

(आफैंलाई जानकारी : ब्लगको ड्राफ्ट पोस्टमा रैछ यो लेखोट। मिति पुरानो हेरेर पब्लिस गरेको हो।)  

No comments: