Saturday, May 28, 2016

लाहुरेका चरा

'यी कलाकार अनौठा रहेछन् । साना हस्तकलाबारे खुलेर बताउने । यिनीसँग धेरै कुरा सिक्न पाइयो । इमानदार, संयमित लागे यी भलादमी ।' यी शब्द स्पेनको बार्सिलोनाबाट पोखरा आइपुगेका पेको गेरिसियाले २०७१ कात्तिक २८ मा मिमबहादुर रानाको पाहुना पुस्तिकामा लेखेका छन् । तर, अंग्रेजी जान्दिन भन्ने उनले कसरी, कुन भाषाले पेकोलाई बुझाए भन्ने चाहि अनौठै छ ।
'कलाका लागि बोलीको होइन, संकेतको भाषा चल्ने भएर होला मेरो काम हेर्न सोध्न विदेशी आइरहन्छन्', उनले भने, 'म त कतै तालिम पनि नलिइ आफ्नै सुरले काम गर्ने मान्छे ! खोइ के देख्छन् बेलाबेला नौला मान्छे भेट्न आइरहन्छन् ।' उनको भनाइलाई पाहुना पुस्तिकाले पनि पुष्टि गर्छ । धेरैजना चिनियाँ कलापारखी आएर उनीहरूकै भाषामा लेखेर गएका छन् ।
पोखरामा पर्वतीय संग्रहालय जाँदाजाँदै बाटैमा चार हात भएकी लक्ष्मीको मूर्ति, थरिथरिका चरा बनाएर बाटा छेवैमा राखेको देखियो भने त्यो रानाको गुँड हो भन्ने बुझे हुन्छ । घरको माथ्लो तलामा बसोबास र भु“इतलामा ललितकलाका कलाकर्मी दुर्गा रानासँग मिलेर राखेको ग्यालरी । दुर्गा चित्र बनाउँछन्, मिम मूर्ति ।  
५ फीट ४ इञ्च हाराहारी कद, छरिता जुंघा, अलि मोटा-मोटा, हँसिला, पावरदार चश्मा लगाउने, बाटाउँदी साइकल कुदाइरहेका भेटिने यी मूर्तिकार पोखरामा बग्रेल्ती भेटिने कलाकर्मीमध्ये आफ्नो कहानीकै कारण केही फरक छन् । 
भारतीय सेनामा १७ वर्षनै जागिर खाएपछि उनको बेलाबखत छुट्टी आउने क्रम टुट्यो । ३४ वर्षैमा अवकाशपछि घर फिरे । 'म त पल्टनमा पनि गाडी कुदाउथेँ । पछि रिटायर भएर पनि कुदाकै हो', उनले भने, 'अहिले स्टेयरिङ नसमातेको १० वर्ष बढि भो होला । अहिले मैले माटो, तार, काठ, बाँसका जरा, कुची, रंग समाउँछु ।' कलाकारिता एक दसकयताको उनको पछिल्लो कोशिश हो । 'मैले के गरिनँ होला । ड्राइभिङ गरेँ, बंगुर पालेँ, रेशम कीरा, कुखुरा पालेँ, विदेश जान पनि खोजेँ, उनले सुनाए, 'मभित्र एउटा कलाकार रछ भन्ने कुरा चाहिं धेरै पनि थाहा लाग्यो ।'
हिजोआज उनी चरा बनाउँछन् । पहिले पहिले आफूले बनाएका चरा कुन होलान् भन्ने थाहा नपाएका उनले अहिले 'बर्डस् अफ नेपाल' किताब ल्याएर पढ्दै-हेर्दै आफूलाई 'यो फलानो' भन्ने सक्ने बनाएका छन् । 'बनाउन त बनाइन्थ्यो तर, कुन चरो हो भन्न सकिन्थेन', उनले भने, 'अहिले एउटा समस्या छ, मैले ल्याएका किताबमा चराका नाम अंग्रेजीमा मात्रै छन् । यिनका नेपाली नाम पनि थाहा पाउन पाए गजब हुन्थ्यो ।'
उनले यसै साता १०/१० वटा डाँफे, जुरेली र फाप्रे चरा मूर्तिमा उतारेका छन् । चराको वास्तविक आकार जत्रै मूर्ति छन् । 'मसँग अहिले सारस, हुचिल, बकुल्ला र गिद्ध पनि छन्', उनले भने, 'चरा बनाउनु सजिलो छैन । मुर्ति बनाएर रंग लाउनु सजिलो तर, प्वाँख लाइदिएर उस्तै बनाउन खोज्नु चाहि अलि अप्ठेरै हो । म चरा बनाउन सिकिरहेको छु ।'
०००
मुलघर फेवातालको उत्तर-पश्चिम भएर पुगिने चापाकोट गाविस-३ मा थियो । दाजुभाइमध्येका साहिँला । नियमित स्कुल जानुको साटो खोला जान र नुहाउन-बरालिन धेरै मन लाग्थ्यो । सामान्य लेखपढ जानेपछि उनी कक्षामा फिरेनन् । त्यसैले थोरै नेपाली र अंग्रेजी अक्षर खुट्याएपछि मिमबहादुरले फेरि कक्षा टेकेनन् । 
रहर थियो - पल्टनमा भर्तीको । 'मेरा ठूल्दाइ इण्डियन आर्मीमा थिए । मलाइ पनि भर्तीको खुब ठूलो शोख थियो', उनले सुनाए, 'दाइ सिलोङमा थिए । म पनि त्यतै गए“, भर्ती खुलेको बेला परेछ । मलाइ लिइ पो हाल्यो ।' भर्तीकै बेला भनिएको थियो -जागिरमा १६ वर्षमा अवकाश लिने की १७ मा ? उनले १७ रोजे । सिलोङको भर्तीपछि उनी पल्टनमा कोलकाता, जम्मु-कश्मिर, बिनागुडी र पुनः जम्मुमा आइपुगे । त्यहाँबाटै अवकाश पाए । जागिरमा रहँदा छुट्टीमा घर आउँदा बिहे गरेका उनले रिटायर्ड भएपछि फर्किएर पोखरा-१७ मा सानो टुक्रो घडेरी लिए । घर बनाए । परिवार सारे ।
'म पल्टनमा गाडी कुदाउँथे“ । पहिले हतियार चलाउन सिकियो, अनि गाडी चलाउन । यता आएपछि पनि ड्राइभिङ त जान्दछु त्यही काम गर्न पर्ला भनेर खोजेँ', उनले भने, 'अनि इञ्जिनियरिङ कलेजको लेखबहादुर गुरूङको महिन्द्रा जीप चलाउन थालियो । थोत्रो गाडी, धेरै बिग्रिरहन्थ्यो । दिक्क लाग्यो ।' निजी गाडी चलाउने कामलाई ४ वर्षन्दा बढि उनले घिस्याउन सकेनन् । छाडेर आफैंले एउटा टोयोटाको पुरानो गाडी किने । 
'कसैको प्राइभेट गाडी चलाउनु र आफूले ट्याक्सी चलाउनुमा अकाश-पताल फरक रैछ', उनले अनुभव कहे, 'अर्काको गाडीमा बोल्न पर्दैन । कसैलाई खुसामद गर्नुपर्दैन । मान्छे आयो, बस्छ, उसलाई उसको टुंगोमा लगिदियो ड्यूटी खत्तम । पेसेन्जर बोक्ने गाडीमा नबोल्नेको चामल कहाँ बिक्दो रछ र !  म त यस्तो गरिखान नसक्ने पो रछु भन्ने लाग्यो ।' अरु ट्याक्सीले आरिस गर्ने, आफूले आफ्ना गाडीमा मिठो बोलेर यात्रु तान्न नसक्ने भएपछि टोयोटा बेचेर केही समय रनभुल्ल परेको उनले सुनाए ।
गरिखान सक्ने उमेर टरेको थिएन । सेक्युरिटी गार्डमा साउदी अरब जाने चक्करमा लागे । काठमाडौं गएर बसे । हातमा भिसा आएपछि एउटा जुक्ति आयो । 'उर्दुमा लेखेको रैछ । के होला लेखेको भनेर म घण्टाघरको जामे-मस्जिदमा पुगेँ', उनले सुनाए, 'त्यहाँ अनुरोध गरेपछि एउटाले पढिदियो । जागिर भेडा हेर्ने पो लेखेको रैछ । यस्तोमा त जान्न भनेर फर्किएँ ।'
०००
पोखरा एयरपोर्ट सडकछेउ एउटा पुरानो आर्ट ग्यालरी छ । फाइन आर्ट ग्यालरी । यसका सञ्चालक हुन् यादव चन्द्र भुर्तेल । सामान्य चिनजान भएकाले राना कुरा गर्न त्यहाँ आएका थिए । चित्र कोर्नेलाई बेफुर्सदी देखेर उनले एउटा कागज टिपे र, घरको जस्तो नक्शा कोरे । 'त्यो कोराइ कस्तो भयो थाहा छैन तर, मलाई भुर्तेल दाइले हकारे', उनले भने, 'यति राम्रो कोर्ने मान्छेले त कलाकार बन्नु नि । किन विदेश जाने चक्करमा लाग्नु भन्नुभयो । अनि लाग्यो म भित्र कलाकार छ त ?'
घरनजिकैको रातोपहिरो सामुदायिक वनले ढलापडा निकालेको बेला थियो । उनले रुखका केही जरा बटुले । घर ल्याए । काटछाँट गरे । मुन्तिर सटरमा एउटा मनिप्लान्टको लहरो हुर्काएका थिए । त्यही सटरमा ती जरालाई पनि नौलो देखिने पाराले राखे । परिवारमात्रै होइन, छिमेकीले पनि अचम्म माने-'यो जरा बिक्छ भनेर यसले के गरेको होला ।' २/३ सातापछि जे भयो त्यो रानाको जीवनका लागि नयाँ मोड थियो ।
नजिकैको शिशु स्याहार केन्द्रमा मनिपाल अस्पतालमा प्राध्यापक-डाक्टर आफ्ना विद्यार्थीसहित आएका थिए । उनीहरूले जरामा कला देखे । १० वटा बिक्री भयो । हात लाग्यो एक हजार रूपैयाँ । 'त्यसपछि मैले यस्तै चिज बनाउँदा पनि हुने रहेछ भन्ने बुझेँ, अनि बनाउन थालेँ', उनले भने, 'गर्दै जाँदा हुँदै जाने रहेछ । बिकोस्-नबिकोस् म बनाउँदै गएँ । बिक्न थाले । मान्छेले मलाइ पनि कलाकार भन्न थाले ।' ढुंगा, माटो, काठ, फाइबर उपयोग गरेर उनले एक दसकयता बनाएका कलाकृति ग्यालरीभरि छन् । पुराना कलाकृतिमा थपिँदै आएका नयाँ भने चराका मूर्ति हुन् । उनको अनुभवमा चरा बनाउन सजिलो छैन । चुच्चोको आकार, रंग र पखेटा दुरुस्त बनाउन निकै परिश्रम पर्छ ।
'कुखुराका प्वाँख, भेडा-च्याङ्ग्राका भुत्ला सबै बटुलेर जान्दामा घर सजाउने धेरैथोक बनाउन सकिन्छ', उनले सुनाए, 'मिल्काइने ती चिज म भेटेसम्म बटुल्छु । ल्याएर सफा पारी केमा प्रयोग गर्न सकिन्छ त्यही बनाउँछु । धेरै बिक्दैन, जति बिक्छ मलाइ काममा लागि रहन उर्जा मिलेकै छ ।'