पोखरा आएर महिला ट्रेकिङ गाइड खोज्नुपरे समस्या छैन । चाहनाअनुसारका डाँडाकाँडामा सँगै पुगेर पर्यटकीय क्षेत्रको जानकारीसँगै खान-बस्न उपयुक्त बन्दोबस्तका लागि सहजीकरण गरिदिने महिला गाइडले विदेशी पर्यटकमाझ 'पौरखी नेपाली महिला' बारे राम्रो प्रभाव पारिरहेका छन् ।

पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तह सिध्याउन लागेका बेला एउटीले अखबारमा 'थ्री सिस्टर्स' को कहानी देखिन् । त्यसमा संस्थाका सञ्चालिका लक्की, डिक्की र निक्की कार्कीको कथामात्रै थिएन, उनीहरू महिलालाई गाइड बन्न जागिरको ग्यारेन्टीसहित तालिम दिन्छन् भन्ने पनि उल्लेख थियो । तीन सहपाठी अब कुरा बुझ्न थ्री सिस्टर्सको कार्यालयमा जाने भए ।
अमेरिकी टेलिभजन च्यानल सीएनएनले कार्की दिदीबहिनीले पदमार्गका लागि महिला गाइड तयार गरिरहेको विषयमा वृत्तचित्र प्रसारण गरेको थियो । त्यसयता नेपाली महिलाको सशक्तिकरणका विषयमा लेख्न चाहने धेरैका नजरमा उनीहरू परे । वर्षौदेखि कार्की दिदीबहिनी 'अन द जब ट्रेनिङ' दिएर महिला गाइड तयार पारिरहेका छन् । पोखरामा महिला पर्यटनकर्मीका कथा लेख्नुपरे अहिले पनि जोकसैले बताइदिने पहिलो नाम 'थ्री सिस्टर्स' नै हो । आर्थिक लगानीबिनै आफ्नो पौरखले इमानदार पेशामा गरिखान चाहने महिलाका लागि उनीहरूको योगदान अतुलनीय रहिआएको छ ।
***
आजभन्दा करीब सात/आठ दसकअघि रामेछापको ठोसेका लालबहादुर कार्की कामको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए । त्यसबेला नेपालबाट कामको खोजीमा निस्कनेमध्ये फौजीमा भर्ती जानेबाहेका धेरैको गन्तव्य सिक्किम, दार्जिलिङ र असम हुन्थ्यो । पहाडी क्षेत्रका बासिन्दा औलो लाग्छ भनेर तराइ बस्न डराउँथे । पहाडी क्षेत्रमै काम गर्न पाउँदा हावापानी मिल्ने ठान्थे । यसरी निस्कनेहरू अधिकांश पढेलेखेका हुदैनथे । दार्जिलिङ पुगेकाहरूले झट्ट पाउने काम हुन्थ्यो- चियापत्ती टिप्ने, जंगल फडानी गर्ने, काठ बोक्ने र बाटो बनाउने । लालबहादुरका एकमात्र सन्तान थिए कर्णबहादुर । उनी दार्जिलिङमै जन्मिए, बाल्यकाल त्यहाँको सुकियापोखरीमा बित्यो । विवाह गरेपछि लगालग आठ सन्तान भए । कर्णबहादुरको परिवार पुर्ख्यौली थलो खोज्दै ठोसेमै फर्कियो । केही वर्ष रामेछापमा बितेपछि खर्च धान्न कर्णबहादुरले पिताको पथ चिहाए । उसैगरि सपरिवार दार्जिलिङ पुगे ।

यतिबेला हामीले जान्नुपर्ने अर्को कथा 'मल्ल सिस्टर्स' को हो । कार्की दिदीबहिनीको खबर पढेपछि 'थ्री सिस्टर्स' को कार्यालयमा प्रष्ट कुरा बुझ्न जाने कलेजका ती तीन छात्रा मध्येकी एक थिइन विष्णु मल्ल ।
०००
'उहाँहरू गाइड हुन तालिम दिनुहुने रहेछ । कुरा बुझ्दा ठीकै लाग्यो । मलाइ घुम्ने रहर । काम पनि मान्छे घुमाउने, ठाउँका बारेमा बताउने,' विष्णु मल्ल भन्छिन्, 'एक महिने तालिम लिएँ, त्यसमा फिल्ड वर्क पनि थियो । पछि थ्री सिस्टर्सकै लागि काम गर्न थालियो ।' त्यसबेला गाइडको काममा महिला नगन्य संख्यामा थिए । जति थिए, सबै थ्री सिस्टर्सको बलमा काममा लागेकाहरू थिए ।
'मेहनतका हिसाबले त्यो बेला पैसा धेरै होइन तर, थ्री सिस्टर्सले गाइड बनेर बाँच्न सकिन्छ भनेर सिकायो,' उनी भन्छिन्, 'टुरिस्ट थरिथरिका आउँछन् । महिलाले महिला गाइड नै खोज्दा हामीले बराबर काम पाउन थाल्यौं ।' पाहुना टोलीको मनोविज्ञान बुझ्दै जाँदा पेशालाई निरन्तरता दिन सजिलो भएको उनले बताइन । 'हेर्दा-सुन्दा गाइडको काम सजिलै हो तर, अंग्रेजी जान्नुपर्छ । पुगेका ठाउँबारे बताउन सक्नुपर्छ,' उनी भन्छिन्, 'इमर्जेन्सीका अवस्थामा के गर्ने भनेर छिटो निर्णय लिन सक्नुपर्छ । समय ख्याल गरेर पंचुअल हुनैपर्छ ।' गाइडले अनुशासित, सभ्य र नम्र भएमात्रै काम पाइरहने उनले बताइन ।
'थरि थरिका टुरिस्टका टोली लिएर हिड्दाका घटना र अनुभव पनि रमाइला/नरमाइला थुप्रै छन्,' उनी भन्छिन्, 'एकपटक विरामी परेपछि मैले बिस्तारै हिड्ने काम कम गरेँ । अहिले दिदीलाई सघाउँछु । म आर्ट अफ लिभिङकी ट्रेनर भएकी छु ।' आफू हिडेको बाटोमा दिदीलाई बोलाएर ल्याएपछि पथप्रदर्शकको काम अझ दिगोरूपमा अघि बढेको उनले बताइन । उनकी दिदी अर्थात हीरा मल्ल ।
०००

शुक्रवार नारी दिवसका विभिन्न कार्यक्रम भइरहँदा हीरा मल्ल कुनै गाउँमा पर्यटक लिएर होमस्टेमा पुगेकी हुनेछिन् । उनलाई सम्पर्क गरेको टोली सोमबार विहान नै यात्रामा निस्किसकेको थियो ।
स्याङ्जाको पुतलीबजार-८ बाहाकोटका इन्द्रबहादुर मल्लका ५ सन्तान मध्येकी जेठी छोरी हुन् हीरा । एसएलसी दिएर घर बसेलगत्तै उनको विवाह भयो । माइतीबाट डेढ घण्टा दूरीको गाउँ पुगिन् । दुइ सन्तान जन्मिए । कामको खोजीमा भौंतारिएर श्रीमान पोखरा झरेका थिए । छोरी जन्मिएपछि घर आउन छाडे । यदाकदा आएपनि झगडा हुन थाल्यो । ट्याक्सी चलाउने काम गरिरहेका उनले डेरामा कान्छी भित्र्याएपछि घर आउने बाटो बन्द भयो । तर, घर चलाउनै गाह्रो पर्यो । दूधमुखे छोरी निकै विरामी परी । उपचार गराउन हीरा पोखरा आइपुगिन् ।
उनको घरबार बिग्रिएको देखेर बैनी विष्णुले सम्हालिन । दिदीलाई आफू जसरी नै 'थ्री सिर्स्टर्स' मा तालिम दिलाउन पुर्याइन । 'दिदीको बानी मजस्तो हक्की पाराले प्रष्ट बोल्ने थिएन । मलाइ यसले कसरी काम गर्ली जस्तो लागेको थियो,' विष्णु भन्छिन्, 'तर, आज दिदीले महिला ट्रेकिङ गाइडमा आफ्नो नाम बनाएकी छे । म दिदीको सहयोगी भएकी छु ।'
हीराका छोरा यतिबेला ११ कक्षा र छोरी ५ कक्षामा पढ्छन् । टुरिस्ट गाइड बनेकी आमाले घर धानेकी छन् ।
०००
पोखराको नदिपुरस्थित 'मल्ल सिस्टर्स' को डेरामा दिदीबैनीको मुस्कुराइरहेको तस्बिरअंकित फ्लेक्स पोस्टर छ । पोस्टरमुनि हीराले कुन कुन मितिमा कुन देशबाट, कहाँ जाने पर्यटकले आफूलाई सम्पर्क गरेकाछन्, त्यो लेखेकी छन् ।

'एक दिन एउटा टिमलाई मैले बताइरहेको एउटा क्यानडेली जोडीलाई मन परेछ,' उनी भन्छिन्, 'पोखरा फर्किएपछि उनीहरूले मलाई सम्पर्क गरे । पछि उनीहरूले नै छुट्टै एजेन्सी चलाउन मद्दत गरे ।' बाटामा भेटिएका ब्रुस र थेरेसले दोस्रोपटक नेपाल आउँदा हीरालाई नै आफ्नो पथप्रदर्शक बनाएपछि उनीहरूको चिनजान बढेको थियो । क्यानडेली दम्पत्तीले थ्री सिर्स्टर्सको कार्यालय पुगेर हीराको अनुभवको प्रमाणपत्र बनाइदिन आग्रह गरे । क्यानडा घुमाउन लगे । पिता समानका थेरेसले 'मल्ल सिस्टर्स' का लागि वेबसाइट पनि बनाइदिएपछि छुट्टै आफ्नै काम गर्न बाटो खुल्यो ।
'अहिले हामीलाई वेबसाइटमै सम्पर्क गरेर टुरिस्टहरू जान चाहेको ठाउँ र मिति बताउँछन्,' हीरा भन्छिन्, 'हामी आफ्नो समय त्यसैअनुसार म्यानेज गर्छौ । कामले खाली बस्नुपरेको छैन ।' पोखरा आइपुग्ने पर्यटकलाई घुमाउन गण्डकी र धौलागिरिका सबैजसो पर्यटकीय पदमार्ग छिचोलेकी हीराले ५ हजार ४ सय १६ मिटर उचाइको थोराङला पासमात्रै १६ पटक गइसकेको बताइन । उनी लाङटाङ, अन्नपूर्ण र सगरमाथा आधा शिविरसम्म पनि पाहुना लिएर पुगेकी छन् । 'परिवार, केटाकेटीसहित र बृद्धबृद्धाले सकभर महिला गाइड नै खोज्ने भएकाले हामीलाई सजिलो छ,' उनी भन्छिन्, 'एकपटक घुमाउन लगेको टोलीका टुरिस्ट गाइडको व्यवहारले प्रभावित भएभने उनीहरूले चिनेजानेका जो पठाएपनि फलानोलाई गाइड लानु भनेका हुन्छन् , सम्पर्क त्यसरी बढ्ने रहेछ ।'
०००



(अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा २०७५ फागुन २४ मा कान्तिपुरको विशेषांक 'नारी नेपाली' मा प्रकाशित सामाग्रीको असम्पादित लेखोट ब्लगमा संग्रहीत)