गाडीमा ओर्लनुस् की हवाइजहाजबाट । तपाइँले यहाँको भुइँ टेक्नेबित्तिकै एउटा प्रश्नको सामना गर्नुपर्छ - कहाँ जानुहुन्छ ? होटल चाहिन्छ ? त्यसपछि तपाइँले आफ्नो बजेटअनुसार सवालजवाफ गर्नुस् । निरास पटक्कै हुनुपर्दैन । किनभने पोखराले आतिथ्य गर्न जानेको छ ।
बिग्रियो, भत्कियो, नासियो र मासियो भनेर बारम्बार आइरहने नकारात्मक खबरहरूबाट ध्यान हटाएर यात्रामा रम्ने सुर कस्नेका लागि छोटो दुरीभित्र प्रशस्त गन्तव्य कतै छन् भने त्यो पोखरा नै हो । एउटै सहरभित्र ताल, गुफा, स्तुप र संग्रहालय हेर्न सकिने मात्रै होइन, सजिलो सडक र खानबस्नको सुबिस्ता पनि विशेषता भएकाले घुमन्तेका लागि यो सजिलो ठाउँ छ ।
एक्लै, साथीभाइ वा परिवारका साथ पोखरा घुम्न आउने निधो गरेकाहरूले होटल-रेस्टुरेन्टको चयन अब अनलाइनबाटै गर्न सक्छन् । इन्टरनेटको सर्च इञ्जिनमा पोखराका होटल खोजेर त्यहाँ भेटिने नम्बरमा फोन गर्दा आफ्नो बजेट अनुसारको खर्चमा बास, खानपान र घुमघामको व्यवस्थापन सजिलै हुन्छ । कार्यालयको कामविशेषले आइपुगेर गत मंगलवार पोखरा घुम्दै गरेको भेटिएका विराटनगरका पंकज वर्माले भने 'पहिले पहिलेभन्दा पोखरामा भीड बढेछ । घर, गाडी र मान्छे बढेछन् । तैपनि यो सहर घुम्न पाउनुको आनन्द बेग्लै छ ।' सहरले बढ्दो जनघनत्वसँगै घुमघामको गन्तव्य पनि थपेको पाएको उनले बताए ।
त्यसो त धेरै वर्ष अघिदेखि पोखरा उपत्यकाको मुख्य आकर्षण फेवाताल र माछापुच्छ्रे हिमाल हो । पोखराबाट माछापुच्छ्रे हिमालको हवाइ दुरी ३३ किमी मात्रै छ । संसारका अग्ला १४ हिमालमध्ये तीनवटा पोखराबाट देख्न सकिन्छ । मौसम सफा रहँदा फेवातालमा पौडी खेलेको सुन्दर आकृति देखिने माछापुच्छ्रे हिमाल ६९४७ मिटर अग्लो चुचुरो हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने उक्त चुचुरो आरोहणका लागि खुला गरिएको छैन । त्यसैले माछापुच्छ्रेलाई 'कुमारी हिमाल' पनि भन्ने गरिएको छ । गाउँपालिकाले आन्तरीक स्रोत बृद्धिका लागि उक्त हिमालमा पनि आरोहण खुला गरिनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अहिले बहसको विषय भएपनि सरकारले आरोहण खुला गरिसकेको छैन ।
पोखरा उपत्यकामा फेवातालमात्रै धेरैले र सजिलै देख्नेमा पर्छ । तर, यहाँ बेगनास, रुपा, खास्टे, दिपाङ, गु“दे, न्युरेनी, मैदी, र कमल लगायतका नौ ताल छन् । फेवाताल र बेगनासका लागि नगर बस नै सञ्चालनमा छन् । अन्य ताल पुग्न गाडीमा वा हिडेरै जान पनि सकिन्छ । फेवातालमा तालबाराही मन्दिर छ । पोखरा घुम्न आउनेले बाराहीघाटबाट प्रतिव्यक्ति ६० रूपैयाँ तिरेर मन्दिर आउजाउ गर्न सक्छन् ।
फेवा डुंगा व्यवसायी संघका सचिव रुद्र भुजेल भन्छन् 'बाराहीघाटमा डुंगा चलाउनेलाई कहिल्यै फुर्सद हुँदैन । बिहानदेखि बेलुकीसम्म घुम्न आउनेको चाप हुन्छ ।' पामेदेखि ड्यामसाइटसम्म गरेर फेवातालका आठवटा घाट छन् । बाराहीघाट मन्दिर आउजाउ गर्न चाहनेको भीड हुने ठाउँ हो भने अन्य घाटमा निश्चित समयवधिका लागि डुंगा भाडामा लिएर तालको सयर गर्न सकिन्छ ।
आठैवटा घाट गरेर फेवातालमा ७३४ वटा डुंगा छन् । यिनमा ३५६ वटा डुंगा बाराहीघाटमा मात्रै रहन्छन् । यही घाटमा पनि छानो भएका सुरक्षित मानिने डुंगा ३५ वटा छन् । अन्य साना डुंगा छन् । ठूलो एउटा डुंगामा १२/१३ जना र सानोमा ४/५ जना चढ्न मिल्छ । 'बाराहीघाटबाट मात्रै एक दिनमा कम्तीमा चार हजार जनादेखि बढिमा १० हजार जनासम्म ढुंगा चढ्छन्,' सचिव भुजेल भन्छन्, 'हामीले देख्तादेख्तै डुंगाको यात्रा धेरै सजिलो र सुरक्षित बनाइएको छ ।' यात्रुले लाइफज्याकेट लगाउनै पर्छ । दुर्घटनाका अवस्थामा उद्धारका लागि सशस्त्र प्रहरीको एउटा युनिट नै तैनाथ छ । तुलनात्मकरूपमा फेवाभन्दा अन्य तालमा भीड छैन । तर, लेकसाइड र फेवातालको भीडभन्दा केही पर्तिर रमाइलो गर्न चाहनेका लागि बेगनास अर्को सजिलो गन्तव्य छ । यहाँ २५७ वटा डुंगा छन् । यात्रुले समय तोकेर भाडा तिरेपछि घुम्न पाइन्छ । ३०९ हेक्टरमा फैलिएको बेगनास ताल एकान्त प्रेमीका लागि घुमघामको उपयुक्त थलो बनेको छ । बेगनासको बसबिसौनीबाट तालतर्फ नलागी पूर्व उक्लने हो भने अलि माथि पुगेपछि एकातिर बेगनास र अर्कातिर रुपाताल दृश्यावलोकन सहज छ । जाँदाजाँदै बाटामा पर्ने सुन्दरीडाँडामा भ्युटावर पनि छ । त्यहाँ उभिएर दुवै ताल हेर्न रमाइलो छ ।
पोखरा उपत्यका मुलुकमै सर्वाधिक पानी पर्ने क्षेत्र हो । किन यहाँ धेरै पानी पर्छ ? हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकाल भन्छन् 'यहाँको भूबनोट नै त्यस्तै भएर हो ।' तालतलैया धेरै हुनु, हिमालको नजिक, प्रशस्त वनजंगल र पहाडले घेरिएको भएर यहाँ वर्षा नियमित भइरहने उनले बताए । 'वाष्पीकरणको प्रक्रिया चलिरहँदा वर्षा नियमित हुन्छ,' उनले भने, 'यही पानी परिहरने भएकैले यहाँको मौसम संतुलित रहन सकेको पनि हो । यो पोखराको आफ्नै विशेषता हो ।' न धेरै गर्मी न धेरै जाडो । पोखराको मौसमको यही विशेषताले हिमालीदेखि गर्मी ठाउँमा हुने वनस्पति यहाँ पाइन्छन् । सिस्नुदेखि आँप र कटहरसम्म पाइने पोखराको विशेषता यहाँको मौसममा निर्भर रहेको उनले बताए ।
जहाँ डाँडा-डाँडाबाट झरेका खोलाले तालमा पानी ल्याएका छन्, त्यहीँ गहिरिएर बगेको सेती नदि पोखराको अर्को विशेषता छ । पुरानो पोखराको मध्यभागबाट बगेको सेती नदि केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म गहिरिएर बगेको छ । रामघाटमा प्रष्ट देखिने नदिको पानी त्यहाँबाट पुनः गहिरिँदै भुमिगत भएर दक्षिणको यात्रा गरिरहेको छ ।
यहाँ प्राकृतिक गुफाहरू पनि उत्तिकै संख्यामा छन् । छोरेपाटनमा रहेको गुप्तेश्वर, बाटुलेचौरको महेन्द्र र चमेरे गुफा यहाँ घुम्न आउनेले नछुटाउने गन्व्यमा पर्छ । दुइ भागमा विभाजित गुप्तेश्वर गुफाको पहिलो भाग ४० मिटर लामो छ । त्यहाँभित्र महादेव मन्दिर बनाइएको छ । दोस्रो भाग करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स भनिने पाताले छाँगो देखिन्छ । गुप्तेश्वर पस्न अघि नै बाटोवारि छाँगो हेर्ने ठाउँ छ । घुमन्तेहरू धेरैले गुफाबाट छाँगो हेर्दैनन् । बेला बेला जलस्तर बढ्दा गुफा छाँगो हेर्ने ठाउँसम्म पुग्ने बाटो बन्द गर्ने गरिएको छ । आगन्तुकको सुरक्षाका लागि त्यसो गर्ने गरिएको हो । फेवातालको बाँधबाट पानी छाँगो हुँदै एक किलोमिटर भुमिगत यात्रा गरेर फुर्सेखोलामा पुगेको छ ।
बाटुलेचौर पुग्दा महेन्द्र गुफा र चमेरे गुफा नजिकै छन् । दुवै गुफा घुमन्तेका लागि रोचक अनुभव दिन्छन् । थुप्रै चमेरा झुण्डिएर बसेको देखिने चमेरे गुफा पस्नुअघि र्टचलाइट बोक्नै पर्छ । धार्मिक पर्यटकका लागि पनि पोखरामा पर्याप्त स्थान छन् । फेवाताल आइपुग्ने जो कोही तालबाराही पुग्छन् भने थाहा नभएकाहरूलाई पर्यटनकर्मीले विन्ध्यवासिनी, भद्रकाली र माटेपानी गुम्बासम्म पुग्ने सल्लाह दिएकै हुन्छन् । फेवातालबाट पुम्दीभुम्दीको डाँडामा विश्व शान्ति स्तुप छ । त्यहाँसम्म दुइ तरिकाले पुग्न सकिन्छ । पहिलो- फेवातालबाट डुंगामा पारी गएर आधा घण्टा पैदल डाँडा उक्लने, दोस्रो छोरेपाटनहुँदै गाडीमा स्तुपाको फेदीसम्म पुगेर भर्याङ चढ्ने । दुवै यात्रा आफैंमा रोचक हुन्छन् । मौसम खुलेका दिन स्तुपबाट उत्तरतर्फमाथि माछापुच्छ्रे र अन्नपूर्ण लगायतका हिमश्रृंखला र तल फेवातालको पूर्ण आकार हेर्न सकिन्छ ।
स्तुपभन्दा केही माथि छोटो पदयात्रा रुचाउनेका लागि पुम्दीकोट छ । त्यहाँ भ्युटावरमात्रै छैन, एक रात बास बस्छु भन्नेलाई पनि सहज छ । कालाबाङ घरेडी भनिने उक्त बस्तीमा होमस्टेको व्यवस्था छ । त्यसो त पोखरा आफैंले मात्रै आतिथ्यमा आधारीत व्यवसायको लाभ लिएको छैन, प्रत्येक डाँडाकाडाका बस्ती बस्तीमा होमस्टे, होटल र रेस्टुरा पुगेका छन् । स्थानीयले पाहुनालाई आतिथ्य गर्न जानेका छन् । महानगरबाट बाहिर रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामध्ये जहाँ पुगेपनि आगन्तुकका लागि खान-बस्न सहजै पाइन्छन् ।
पोखरामा प्राकृतिक सम्पदाका रूपमा ताल, पहाड र खोलामात्रै दर्शनीय नभइ मानव निर्मित संरचना पनि यात्रामा छुटाउनै नहुने बनेका छन् । यस्ता गन्तव्य संग्रहालय हुन् । पोखरामा पाँचवटा संग्रहालय छन् । वर्षेनी सर्वाधिक अवलोकनकर्ता पुग्ने थलो रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । उक्त संग्रहालयमा मुलुकका अग्ला हिमाल, आरोहण इतिहास, जलवायु परिवर्तनका जानकारीसँगै हिमाली र पहाडी क्षेत्रको जनजीवनको यथेष्ट जानकारी पाउन सकिन्छ । 'हामीकहाँ वर्षमा करीब २ लाख ५० हजार हाराहारी अवलोकनकर्ता आउँछन्,' संग्रहालय व्यवस्थापक बलप्रसाद राइ भन्छन्, 'घुम्न आउनेहरू वर्षेनी बढेका छन् । त्यसैले हामीले सोधखोज गर्नेका लागि टेक्नोलोजीले सजिलो पनि पार्दै लगेका छौं ।' संग्रहालय प्रवेश गर्नेले मोबाइल एप्लीकेसन डाउनलोड गरेर पसेपछि सबै कक्षमा प्रदर्शनमा राखिएका विषयको जानकारी अडियो-भिडियो र पढ्न मिल्नेगरि पाउने उनले बताए ।
पश्चिमाञ्चलको जनजीवन झल्काउने क्षेत्रीय संग्रहालय नयाँ बजारमा छ । गोर्खालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुलनजिक र शक्तिघाटमा गुरुङ जनजीवनको क्होइबो छ । पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियममा पुतलीका संग्रह हेर्न सकिन्छ । यहाँ पुतलीका करीब ६ सय प्रजाति संग्रहीत छन् ।
बढ्दो सहरीकरणले प्राकृतिक भूबनोटमा पारेको असरबाट सिर्जित समस्याबाट पोखरा अछुतो छैन । तैपनि अझै पोखरामा घुम्ने ठाउँ पर्याप्त भएकै हुनाले रोजाइको गन्तव्य बनेको हो । तनहुँको डुम्रेबाट लमजुङको बेंसीसहर हुँदै मनाङको थोराङला पास उक्लेर मुस्ताङको मुक्तिनाथ झर्ने पदयात्री म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । पोखरा-बागलुङ मार्गको नयाँ पुलबाट वीरेठाँटी हुँदै अन्नपूर्ण आधार शिविरको यात्रा गर्नेहरूका लागि पनि सुरुवातको गन्तव्य पोखरा हो । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा रुचाउनेदेखि मनाङ-मुस्ताङ जाने योजनामा रहेकाहरू पोखरा आउन मन पराउँछन् । सहज बसाइँ, सजिला घुमघामका गन्तव्यदेखि अल्ट्रालाइट, प्याराग्लाइडिङ, बञ्जी जम्प र जीपफ्लायरका साहसिक खेल रुचाउनेमात्रै होइन कालीगण्डकी र मादीमा र्याफि्टङका लागि निस्केकाहरूले पनि पोखरा टेकेकै छन् ।
(कान्तिपुर दैनिकको नव वर्ष परिशिष्टांक 'आरम्भ' मा २०७५ चैत २९ मा प्रकाशित)