Wednesday, November 4, 2020

निन्द्रा, निन्द्रा अनि निन्द्रा


आज लकडाउनको आज १८ औं दिन ।

बीचमा केही दिन काम गरियो, एक साता काम बन्द भएर फेरि सुरु भयो । दैनिकीले अफिस आउँदा-जाँदाकै दिन जस्तो लय पक्रेको छ । राति करिब साढे १२ मा सुत्ने र ८ बजे उठ्ने । फ्रेस हुने, चिया पिउने, पत्रिका हेर्ने, केहीबेर इमेल र अखबारी साइट हेर्ने । फरक यतिमात्रै छ- यतिका दिनदेखि आँगनमा उभ्याएको मोसा चढ्नु पर्दैन, अफिस टेक्नु पर्दैन ।  ४ बजेदेखि ल्यापटप खोल्यो, काम थाल्यो, भिडियो च्याटमा हाजिरी जनायो । समूहमा छलफल गर्दै काम गर्‍यो।

यतिबेला पढ्न-सुन्न खुब मज्जा लाग्ने शब्द हो- वर्क फ्रम होम । बन्दाबन्दी (लकडाउन) मा बन्दाबन्दी नहुने भनेको मान्छेको भुँडी हो । यसले खाना माग्छ, टाइम टु टाइम मागिरहन्छ । हामीले माग पूरा गरिरहनु पर्छ । खासमा मान्छेलाई सक्रिय बनाउने भनेकै त्यसले हो जस्तो लाग्छ, अरू खाले लोभ, लालसा र रहरलाई मान्छेले केही कुरामा मन बुझाएर 'भैगो अहिलेलाई' भन्दा हुन्छ तर, खान पाएन भने इञ्जिन चल्दैन । भुँडीको माग हाम्रो बाध्यता ।

त्यसपछि जिब्रो छ, जसले हामीलाई अझ बढी सक्रिय हुनैपर्ने जनाउ दिन्छ । सजिलो पच्ने मिठो-नमिठो जे होस्, फर्माइसी कार्यक्रम जिब्रोले चलाउँछ । भुँडीभन्दा जिब्रोले महंगोमा पार्छ ।

***

पोखरा रहँदा म अफिसमा ११ बजे पसेँ भने बेलुकी ९ बजे निस्केका दिन पनि थिए । त्यस बीचमा कतै सहकर्मीले भ्याएनन् भने कुनै समाचारका लागि फिल्ड रिपोर्टिङमा जाने, अफिस आएर टाइप गरेर समाचार र ल्याएका फोटा मेल गर्ने गर्थेँ । धेरै थाकेका अनुभव भएको दिन लाग्थ्यो- एक साताको बिदा लिन्छु, कतै जान्न दिनभर सुत्छु । खान्छु-सुत्छु । तर त्यसो गर्न सकिएन ।

जुन दिन धेरै खटाइ परेको हुन्थ्यो, त्यही बेलुकी १० बजेपछि डेस्कका साथीहरूको फोन आउँथ्यो- 'त्यो तपाइँले प्रदेशको मेन न्युज भनेको म्याटर हामीले अगाडिका पेजमा तान्यौं, अब खाली ठाउँ भर्ने चिज छिटो दिनुस् ।' ल्यापटप खोल्यो, अनि जे बाँकी छ र, उपयुक्त जस्तो लाग्छ, छाक टार्न त्यही पठाइदियो । हत्ते नै हुने ।
कहिलेकाही सुत्छु, एक साता सुत्छु भन्ने बिचार आए पनि कहिल्यै कार्यान्वयन गर्न सकिएन । हामीलाई सरदर ८ घण्टाले निन्द्रा पुग्छ । तर सुत्न पाइयो भने १२ घण्टा नै सुते पनि निन्द्रा पुगेजस्तो लाग्दैन ।

***

बन्दाबन्दीले हाम्रो नियमित दैनिकी बिथोलेको थियो । अब बिथोलिएर बनेको रुटिन नै सामान्य जस्तो लाग्न थालिसकेको छ । फेसबुक र ट्वीटर खोल्यो, थरी थरीका प्रतिभा देख्न मिलेको छ । आफ्नो दिक्दारी हटाउन धेरैले अनेक अनेक उपाय निकालेका छन् ।

मान्छेका घर, परिवार, खान्की, गाना बजाना, कथा कवितामा प्रतिभा सबै बन्दाबन्दीले देखाएको छ । साथी बनेदेखि कहिल्यै कुनै पोस्टमा 'लाइक' र कमेन्ट' गर्न नभ्याउने अति व्यस्त मनुवाहरू पनि च्याटमा प्रकट हुन्छन्, म्यासेन्जरमा भिडियो कुराकानी गर्न आउँछन् । कसैले रूचि दिउन् नदिउन्, आफूलाई घत परेका भिडियो सेयर गरिरहेका छन् । मान्छेका फुर्सद हेर्दा लाग्छ, लकडाउनलाई पर्व मानिएको छ ।

***
ब्लग लेख्दा लेख्दै कोरोना भाइरस गणनाको साइटले संसारभर संक्रमित १७ लाख ३ सय ७८ जना, मृत्यु १ लाख २ हजार ७ सय ५५ र उपचारपछि निको भएकाको संख्या ३ लाख ७६ हजार ५ सय ४८ देखाइरहेको छ । संक्रमण प्रसार हुन नदिन बन्दाबन्दी उपयुक्त उपाय त भनिएको छ, तर यस्तो अवस्था कहिलेसम्म चल्छ भन्ने टुंगो छैन ।

किनेर खानसक्ने क्षमता नभएकालाई स्थानीय तहले सहयोग गर्न थालेको समाचार हामी छापिरहेका छौं । तर  यतिबेला किनेर खानसक्ने भनिएका गरिखाने वर्गलाई पनि मर्का त परेकै छ । असर दूरगामी छ भन्दैमा कामधन्दा छाडेर बौलाउन सकिन्न । लकडाउन खुले पनि संक्रमणको त्रास कम हुनेमा ढुक्क कसरी हुने होला ?

***
हिजो म दिउँसो पनि ४ घण्टा सुतेँ । राति पनि निन्द्रा आयो । यतिबेला पनि सुतौं जस्तो भइरहेको छ । म साताव्यापी सुत्ने चाहना पूरा गर्ने अवस्थामा त पुगेको होइन ? के भएको हो ? जस्तो पनि लागिरहेको छ । धेरै निन्द्रा लाग्नु पनि लक्षण पक्कै नराम्रो हो । तर मेरो ब्लड प्रेसर १२०/८० नै छ । तौल ७३ बाट बढेको छैन ।

 'लकडाउन उपयोग गरेर सिर्जना कर्ममा जुटेका छौं, रचना गरिरहेका छौं' भनेर लेख्ने र आफ्ना सिर्जना सामाजिक सञ्जालमा पस्कनेहरू महान लागिरहेका छन् । कसरी संयमित हुन सकेका होलान् ?

अँ वर्क फर्म होमका पनि केही गन्थन गरौं ।

लकडाउनपछि म गुँड बाहिर निस्केको छैन । धेरैपटक इन्टरनेटको लाइन अवरुद्ध भइरहन्छ । आइएसपीलाई फोन गर्‍यो, चल्छ । अनि फेरि बेला बेला बिग्रन्छ । ल्यापटप पनि छक्क परेरै होला- धेरैपटक ह्याङ भएर दुःख दिन थालेको छ । कहिलेकाही २/३ सातासम्म म खोल्दिनथेँ । बरू लाग्थ्थो - मोसाले सराप्दो हो । भन्दो हो -'आफू चाहिँ साताको एक दिन बिदा बस्छ, तर, मलाइ बिदाका दिन पनि चलाउन छाड्दैन ।' आनन्द त यो छ की मोसा बोल्दैन । ल्यापटप ह्याङ भइदिएर यस्तै दिक्दारी बोलेको हो की !

***
हामीलाई बितेको समय सम्झन मन पर्छ । गाउँठाउँ, घुमघाम, नातासम्बन्ध । तर, आनन्द लाग्ने समय हामीले अहिले बिताइरहेको नै हो ।

(४/११/२०२० मा राति २ः११ बजे लेखेको यो गन्थन ब्लगको ड्राफ्टमा जतनसाथ रहेछ। अहिले डिस्प्लेमा एक्टिभ गरेको हो। कोरोनाजी गएदेखि हामीले उहाँलाई बिर्सियौं, ती समय सन्दर्भ पनि विस्मृतिमा पुगे। )