
कोलाहल उस्तै उस्तै। कोसी कटानबाट विस्थापित भइ यहाँका स्कुल कलेजमा आश्रय लिएकाहरुलाई अहिले झुम्का र लौकहीका शिविरहरुमा सारिने क्रम सुरु भएछ। हुन पनि कति दिन स्कुल कलेजमा राखिरहने ? म एउटामात्र शिविरको कुरा गर्छु।
झुम्कामा रहेको पुरानो चाइनिज क्याम्प। अहिलेको निर्माणाधीन क्षेत्रीय कारागार। यो झुम्का बजारबाट चतरा जाने बाटोमा करिब ५ सय मिटर उतरमा छ। यहाँ अहिले कोसीका विस्थापितहरु राखिएका छन्। ३२८ वटा टहरा बनाइएका रहेछन्। यहाँ आइतबारसम्मका आइपुगेका परिवारको संख्या २७९ पुगेछ।
त्रिपाल, ओढ्ने , ओच्छयाउने र खानेकुरा सबै विभिन्न दातृ संस्थाहरुले दिएका रहेछन्। शौचालय बनाइदिएछन्। खानेपानीका ट्युवेल र धाराको व्यवसथा रहेछ। तर, फोहर छ यहाँ। खटिएका एक स्वयंसेवकले बताए। संयुक्त राष्ट्र संघीय शरणार्थी हेर्ने आइओएम मानेको थिएन रे। टहराको दूरिका विषयमा। तर बन्यो किनभने ठाउँ थोरै रहेछ।
चुलो बनाउन ठाउँ दिइयो। तर, विस्थापितहरुले आफ्ना टहरासँगै चुलो बनाइछाडे। जिल्ला जनस्वास्थ्यले यहाँ उपचार शिविर पनि राखेको छ। टेलिकमले एक महिनाका लागि सीडीएमए फोन दिएको छ। विस्थापितले आफन्तलाई देशविदेश र अन्य शिविर। जहाँ मन लागेपनि निःशुल्क फोन गर्न सक्ने रहेछन्। ५ वर्ष मुनिका केटाकेटीका लागि वर्ल्ड भिजनको सहयोगमा स्थानीय गैससले लिटो बनाएर वितरण गर्ने गरेको रहेछ। दुर्भाग्य। घिउमा बनाउने गरिएको भनिएको लिटो आइतबार पानीमा मात्र बनाउने तयारी थियो। कारण, घिउको खेप सकियो रे।
आफ्नै चुल्हो बालेर खाना बनाउनका लागि विस्थापितहरुले दाउराको अभाव खेपिरहेका रहेछन्। त्यसैले झार पनि खुर्केर बाल्न सकिन्छ भन्ने थाहा पाएकाहरु दाउराको जोहोमा निस्कने गरेका रहेछन्। शौचालय बनाइएपनि शिविर सफा देखिएन। लुगा दिइएको भनिए पनि धेरै नानी र युवाका आङमा लुगा देखिएन। अनि धेरैले भन्दै थिए - 'टहराको त्रिपालमुनि गर्मी हुन्छ। बस्न नसकिने भएको छ।'





No comments:
Post a Comment