एक जना मित्रको मोटरसाइकल अफिस मुन्तिरबाट हरायो। प्रहरीमा खबर गरे। खोजे। भेटेनन्। त्यसको दुई महिना नबित्दै एक जना भाइको मोटरसाइकल हरायो। उनले पनि सकेजति हल्लीखल्ली गरे। पतो लागेन।
पछिल्लोपटक हराएको बाइकको नम्बर प्लेट केही दिन अघि यथास्थानमा भेटियो। तर, अर्को बाइकमा। बाइकवाला भेटिएन।
हिजो मोरङ प्रहरीले १३ वटा मोटरसाइकल विभिन्न स्थानबाट बरामद गरेको छ। अस्ति आइतबार बेलुकी पक्राउ गरिएका कर्सियाका तीन युवाको बयानका आधारमा ती बाइकहरु फेला परेको डीएसपीले बताए। भेटिएकामध्ये बढीमा २ लाख ५० हजारसम्म पर्ने पनि छन्। १० वटा चल्न सक्ने र नयाँ छन्। बाकीका इन्जिन र पाटपुर्जा खोलिएका छन्।
साइकल जसरी हराउन थालेका मोटरसाइकलका कारण सवारीधनीमा चिन्ता थपिनु अस्वाभाविक होइन।
हिजो प्रहरीमा चोर र बाइक हेर्न आएका मेरा एक रेष्टुराँ सञ्चालक मित्रले बताए। उनलाई पनि २/३ हजार किलोमिटर मात्र कुदेको सवा लाख पर्ने बाइक किन्न प्रस्ताव आएको थियो। मात्र २० हजारमा। उनले बताए। विराटनगरभित्रै यस्ता कारोवारी छन् जसले सातामा कम्तीमा ५ वटा नयाँ नयाँ बाइक यसरी बेच्छन्। कहाँबाट ल्याइएका हुन् त्यो थाहा हुन्न। ब्लु बुक पनि बन्छ। सबै सक्कली छाप लागेको। यातायात कार्यालय पनि पुग्नुपर्दैन। कारोवार दिनदिनै बढेको छ।
जे होस प्रहरीले थालेको खोजी यतिकै सीमित नहोस्। खाइनखाइ फाइनान्समा पैसा बुझाएर किनेका सवारी कुदाउन एक त महँगो इन्धन, त्यहीमाथि हेण्डिल लक लगाएपनि पार्किङमा छ भनेर ढुक्क हुन नहुने अवस्था। बाइक कुदाउनेका पीडा आफ्नै छन्। सरकारी सेवामा भएकाहरुले तलबभन्दा बढीको खर्च गर्नुपर्ने बाध्यता भनिने प्रवृतिले अनियमितता मौलाएको छ। त्यसको खोजी गर्ने, दण्ड दिने अधिकार भएका निकायमा हुनेको बुद्धि आओस्।

No comments:
Post a Comment