आज ०६६ चैत २६ विहीवार । तर्राई भनौं वा मधेसका जिल्ला । आज र भोली बन्द छ । कुनै बेलाका शिक्षक उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल भन्ने पार्टीले बन्द आह्वान गरेको हो । उनीहरुले हिजो विहान विराटनगरस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेका थिए । पहिले नेपाली कांग्रेसमा सक्रिय रहेर मन्त्री पड्काएपछि अहिले फोरमका योजनाकार मानिने सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले बन्दको घोषणा गरेका हुन् ।
हामी सञ्चारकर्मी । वितेका केही वर्षेदखि एउटा अभ्यासमा छौं । त्यो भनेको बन्दको आह्वान गरिए त्यसको खबर नदिने । आशय, त्यो दिइए बन्द गर्ने प्रोत्साहित हुन्छ भन्ने हो रे । जे होस, बन्द गर्नेले छाडेका छैनन् । हामीले आफ्ना सञ्चारमाध्यममा फलानो दिन फलानोले बन्द गर्ने भने भनेर समाचार नदिएपनि जनताले थाहा पाएकै छन् । थाहा नपाउनेले पहिले दुःख पाएका छन् । अनि मजाले थाहा पाएका छन् ।
दलहरुका लागि बन्द शक्ति परीक्षणका लागि एउटा फरक एडभेञ्चर हो । यसको अभ्यासका चुक्ने कमै छन् । सबैलाइ आफु बडेमान आकार भएको लाग्ने रहेछ । अनि बेला न कुबेला बन्द गरें भनिदिए पुग्छ । युग बितेको छ । अहिले बन्दको आह्वान जसले गरोस् , गाडी फुटाउने समूह अर्कै छ । उसलाई नौलो बहादुरीको अनुभव गर्नु परेको छ । सिकार हुनेहरुको नाता बन्द गर्ने र गराउनेसग पर परसम्मको हुदैन । तर, समय चलेकै छ ।
कुनै समय । मलाइ साल याद भएन । विनोद खन्ना लामो समयपछि पुनः हिन्दी चलचित्रमा आए । फिल्म थियो - इन्साफ । त्यसका सह-खलनायक दिलीप ताहिललाइ जब जब पर्दा देखाइन्थ्यो । उनले भन्थे 'दिल करता है कि सुट कर दु ' यो संवाद क्लिष्ट हो । तर , यथारथ यस्तै छ । मन ब्रि्रोही हुन खोज्छ । सबै थोक छाडेर कहिलेकाही सबै नेता मार्ने अभियानमा सामेल हुन मन लाग्छ । यो गलत विचार हो । तर, लाग्छ बजारको बढेको महगीलाइ धान्न सक्ने मानिसको आयस्ता बढेको छैन । आमनेपाली जेमा व्यस्त छन् तिनको वास्ता नेताहरुलाई छैन ।
नेताहरुलाई जसरी पनि कमाउनु छ । कमाउनका लागि सत्तामा जानु छ । सत्ता पाउनका लागि कुनै पनि दलका नेता हुनै पनि हत्कण्डा अपनाउन तयार देखिन्छन् । कुरा ठूला गर्छन् । आकाश पाताल जोडेर मुलुकको कायपलट गराला झै । वास्तविकता यस्तो छैन । सञ्चारमाध्यमहरु कारखाना जस्ता छन् । जे बिक्छ त्यो लेख्ने । समाचारको प्रभाव हुन्छ हुन्न , त्यसको खोजी नगर्ने । कहिलेकाही लाग्छ , मुलुक यसरी कहिलेसम्म चल्छ होला ।
देश एउटा क्लव जस्तो छ । पदाधिकारी आउछन् । आसन ग्रहण गर्छन् । अनि भाषण गर्छन् । जसरी चल्न हो भगवान भरोसा देश चलेको छ । जनतालाई भ्रष्टाचारमुक्त प्रशासन चाहिएको छ । रोजगारी चाहिएको छ । परिश्रमको मूल्य चाहिएको छ । संघीयता अनि प्रदेशका कुरा नेताका लागि हुन् । बगैचामा थरि थरि जातका फलफुल लगाएमात्र त्यसको परिभाषासार्थक हुन्छ । तर, नेता जातियताका कुरा गर्छन् । संघीयताका कुरा गर्छन् ।
मुलुकको अहिलेको आवश्यकता भुलेर विदेशीको आडमा सत्ता टिकाउने र भत्काउनेमा व्यस्तता छ । यो देशलाई विदेशी रुचीको क्रिडास्थलभन्दा फरक नबनाउनेमा नेताको तल्लिनता अनुभव हुन्छ । कुरा नमिठो हो । तर, यस्तै छ । आज बन्द छ । बन्द गरिएको छ । बन्द भइरहनु हाम्रालागि नौलो होइन । सत्तामा जाने र पुगेकाले टिकाउने अभ्यासमा जनता बेरोजगार छन् । सबैसग समूह छ । बल छ । जसले जे चाहेको छ त्यो पाएको छ । मनी र मसल्सको उपयोग जानेाहरुका लागि देशका कुरा भाषणका लागिमात्र उपयुक्त भएका छन् ।
बन्द जनताका लागि होइन । जसले गरोस् त्यसले हित अवश्य गर्दैन । तर नेता थाकेका छैनन् । बन्द गरेको गरेकै छन् । हामी उनीहरुको भाषणलाई दागू गराउन तल्लिन छौ । म्युजिकल चियरको खेलजस्तो सत्ता छिमेकीको इशारामा कुर्सी पाउनले पाएकै छ । यो देशको भलो हुँदैन । तर, भलो होस् ।