सहभागी निस्कन भ्याउदैनन्, तानातान सुरु । 'यता आउनुस न यता । ल ल रेडी, अ भन्नुस त के भयो आज -' आमिर खानले बनाएका बहुचर्चित हिन्दी चलचित्र 'पिप्ली लाइभ' को झल्को दिने यो दृश्य कुनै नाटक वा सिनेमाको होइन । पिप्ली लाइभका पात्र नत्थाको गाउमा आत्महत्याको हल्लाका पछि लागेर च्यानलकर्मी दृश्य थियो । त्यहा लाइभ चलाउने ओभीभ्यान देखिन्थे । खोजी र चासो गर्ने पत्रकारको बानी उस्तै । बान्की मिलोस नमिलोस । कामको चिन्ता । यहा त्यस्तै झल्को दिने खालका दृश्य । फरक, यो गाउमा नत्थाजस्ता पात्रमाथि आधारीत भएर भीड आएको होइन । नत सेटलाइटका रिफ्लेक्टर जडित ओभीभ्यान छन् ।
रूखको आडमा ठड्याइएका बासमा इन्टरनेट कनेक्टर डिभाइस लागेका छन् । तीनमा रातो, पहेला र हरियो रंगका साना बत्तिजडित इण्डिकेटर प्लीक प्लीक गरिरहेका छन् । मुन्तिर कतै डेस्कटप कतै ल्यापटपमा व्यस्त हातहरु । बेला बेला बोली सुनिन्छ । बेला बेला संकेतको भाव । क्यामेराको एङ्गल मिले नमिलेको इशारा । एउटाले बोदै गरेको आवाजले अरुलाई बाधा परेको छ । तर, चिन्ता परेको देखिन्न ।
भीडबीचबाट झिकेर एकातिर नेता ल्याइन्छ अर्कातिर टिभी क्यामेराका अघि बोल्लानजस्ता लागेका सहभागी । टेलिभजन च्यानलको तछाडमछाड । गोरखाको पालुङटार गाविसस्थित तान्द्राङटारमा भएको माओवादी छैटौ विस्तारित बैठकस्थल बाहिरका सम्झना हुन् । एक साता बितेको छ । अब सम्झना नै भन्नु उपयुक्त हुन्छ ।
काम विशेषले राजधानी हान्निएका बेला त्यहा जाने जिम्मेवारी आयो । ठाउ देखिने, स्वाद फेरिने । सञ्चारकर्ममा नौलो ठाउ पुगेर त्यहाको रिर्पोटिङ अवसर पनि हो । त्यस्तै भयो । सुनसरी सदरमुकाम इनरुवाबाट वराहक्षेत्रको चतराघाट वा विराटनगरबाट लेटाङ बजार सम्भिmएजस्तो लाग्यो पालुङटार गाविस । एउटै जिल्लाभित्रको गाविस पनि सदरमुकामबाट अलि असजिलो बाटो काटेर जानुपर्ने । जे होस, एकीकृत माओवादीले यहा गरेको छैटौं विस्तारित बैठकले सञ्चारमाध्यमको ध्यान खिच्यो । नखिचोस पनि कसरी ! संविधानसभा चुनावमा सबैभन्दा धेरै सीट जितेको पाटी । एक दसकदेखि मिडियालाई बारम्बार हिन्दी मसला सिनेमाजस्तो मसला समाचार दिइरहने दल । जे होस, पालुङटारको त्यो पाखोमा विद्युतीय र छापा माध्यमका पत्रकारको घुइचो भयो ।
पालुङटार गाविस तनहुको तुरतुरेबाट करीव १२ किलोमिटर पूर्व-उत्तरमा पर्ने रहेछ । गोरखाको पुरानो एयरपोर्ट भएको गाउ । 'तनहुको तुरतुरे जाने स्थिति भएको अवस्था बिद्यमान हो । मौका मिले दुलेगौडा जाने पनि पार्टीको विचार छ ।' एक जना मित्रको फेसबुक स्ट्याटस यस्तो थियो । पढेपछि हास उठ्दो । अनि जिज्ञासा पनि हुने खालको । उनले राखेको स्टाटसका बारेमा त्यही पुगेपछिमात्र ज्ञात भयो । मुग्लिनबाट पोखरा जाने बाटामा तुरतुरे र दुलेगौडा दुवै पर्ने रहेछ ।
म साथीहरुसग डुम्रेमा वास बसें । अनि बैठकस्थलमा कार्यक्रम चलुञ्जेल धाए । माओवादीका केही कुरा नौला, केही असजिला र केही हास उठ्दा लागे । अनि केही अरुले अनुसरण गरे हुन्थ्यो जस्तो । खबरका कुरा नगरौ, जो छापा र बिद्युतीय माध्यममा आएर वासी भइसकेका छन् ।
बैठकस्थल तान्द्राङटारमा थियो । पालुङटार गाविसको सानो बजार ठाटीपोखरीबाट २० मिनेट पैदल दूरिमा पर्ने । नेता सबैजसो ठाटीपोखरीका घरहरुमा वास बसेका थिए । कार्यकर्तालाई भेटेसम्म गाउलेका घरमा वास, नभेटे त्यहाको विद्यालयमा बसाइएको रहेछ । बैठक चलुञ्जेल त्यहाको स्वास्थ्य चौकीमा दिनहु डाक्टर हाजिर थिए । उपचारका लागि आउनेलाई बाधा थिएन । स्वाथ्य चौकीले पनि उपचार सेवा जारी रहेको जनाउ दिन रातो तुलमा लेखेर झुण्ड्याएको थियो ।
बैठकस्थलको ५०० मिटर पर पर्यवेक्षक र सञ्चारमाध्यमका गाडी पार्किङ गर्नुपर्ने थियो । अध्यक्ष प्रचण्डको प्राडो गाडी सीधै बैठकस्थल प्रवेश पाउथ्यो । अन्य नेता र लडाकु शिविरका गाडी बैठकको द्धार नजिक पार्किङ गर्न दिइएको थियो । सञ्चारकर्मीले बैठकको पहिलो र समापनका दुइ दिनमात्र सो ठाउमा प्रवेश पाए ।
टेलिभजनहरुले बाहिरै बसेर लाइभ र रेकर्ड चलाइरहे । रेडियोकर्मीले मोबाइलबाट लाइभभन्दै बैठकस्थल बाहिर भेटिएकासगका कुरा बजाए । छापामाध्यमका पत्रकारले नेता-कार्यकर्ता बैठकबाट बाहिरिदा पच्छ्याएर कुरा गर्दै समाचार लेखिपठाए । अनधिकृतलाई बैठकस्थलमा प्रवेश निषेध थियो । मोवाइल, क्यामेरा र रेकर्डर लैजान मनाही भएपनि सहभागी कतिले बाहिर ल्याएर रेकर्ड सुनाउथे । तस्बिर देखाउथे । भित्र के भयो बताउदा गर्व महसुस गर्थे । नेताहरु बन्द सेसनमा भएका कुरा भन्न नमिल्ने भन्दाभन्दै वास्तवमा त्यसो भएको नभइ यस्तो भएको भन्दै बताउथे ।
संविधानसभा निर्वाचनमा धेरै सीट ल्याएका नाताले ठूलो पार्टी भएपछि माओवादीमाथि सबैको ध्यान हुनु अस्वभाविक थिएन । तर, सो पार्टीले सूचना दिने प्रणाली व्यवस्थित गरेको देखिएन । जति कडाइ भनेपनि भित्र भएका कुरा जस्ताको तस्तै बाहिर आउथ्यो । जुन नेताका पक्षमा कुरा मिडियालाई दिन मन लाग्थ्यो परिचालित मान्छेहरु सोही अनुसार काम गरेका देखिन्थे । अहिले पालुङटार बैठकको समीक्षा भइरहेको अवस्था छ । नेताहरुले जे भनुन बजेट ल्याउन नदिन सदनमा गरेको तोडफोडको हंगामापछि पार्टी कता जान्छ र के गर्छ सबैको आखा उनीहरुलाई पच्छ्याइरहेको अवस्था छ । यो पाटो समीक्षककै लागि छाडेपनि सात हजार सहभागी भए भनिएको बैठकमा कतै झगडा भएको सुनिएन । राजनीतिक दलकै कार्यक्रम भएपनि त्यसका लागि पालुङटारमा सडक खनिए । पानी पुर्याइयो । बिजुली पुग्यो र दुरसञ्चारको क्षमता थप गरिएको रहेछ ।
यद्यपि त्यहा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायकको एउटा लाइन बाहेक इन्टरनेटको सुविस्ता थिएन । एनसेल र टेलिकमको सीडीएमएबाट पनि भने जति ब्याण्डविथ उपलब्ध थिएन । मेल चल्थ्यो । ठूला फाइल एटेचमेन्ट लिदैनथ्यो ।
बाहिर चौरमा घाम ताप्दै उज्यालोमा आफ्नै अनुहारमात्र ऐना जसरी देखिने ल्यापटपको मोनिटर अघि घोरिनु एक साता दैनिकी बन्यो । बान्की नमिलेका तर, तीखा स्वर भएका टेलिभिजनकर्मीका अनुहार हेरेर भन्न केही मिल्ने अवस्था थिएन । मानौ कुनै विशेष घटना भएको छ । त्यसरी उनीहरु चिच्चयाइ चिच्याइ लाइभ बोलिरहेका देखिन्थ्यो ।
आफुलाई समाचारजन्य तस्विर मेल गर्न निकै असजिलो भएपनि काम चल्यो । दिनभरिमा पटक पटक लाइभ चलाउने सञ्चारकर्मीहरुको तछाडमछाड एक साता चलेको तान्द्राङटारमा अहिले फेरि कुनै च्यानलकर्मी फिरेका छैनन् होला । त्यहाबाट फिरेर आएपछि अब कतै टेलिभिजनकर्मीले खिचिरहेको वा स्ट्याण्डअप दिन उभिएको देखे तान्द्राङटार सम्झाइरहनेछ ।