Wednesday, March 30, 2011

अकबरे आकर्षण


विराटनगरबाट ४१ किलोमिटर उत्तरको दूरिमा पर्छ धरान । धेरैपटक गइन्छ । आउजाउकै क्रममा पालिका बजारमा खिचेको तस्बिर हो यो । यहाँ अकबरे खुर्सानी बेच्न बसेकी महिला तराजु समातेर ग्राहक हेर्दैछिन् । तस्बिरलाई फोटोसपबाट केही चलाइएको छ । खुर्सानीलाई प्राकृतिक रंग छाडिदिएर अरू भाग श्यामश्वेत बनाइएको हो । मलाई यस्तै गर्न मजा लाग्यो । खिचिने सबै तस्बिर अखबारमै पठाउनका लागि हुँदैनन् । त्यसैले यो तस्बिर पठाइएन । 
फेसबुकको क्लिक फोल्डरमा अपलोड गर्नेबितिकै एक जना दिदीको कमेन्ट पढन मिल्यो । उनलाई अति मन पर्छ रे । मलाई पनि मनपर्छ । तर, यसको पीरो जिब्रोमारा जस्तै लाग्छ । अति पीरो । तर, यसको पीरो जिब्रोले अनुभव गरेपनि पीँधले गर्नुपर्दैन । पेट पोल्दैन । भनिन्छ यो गुणकारी हो । त्यसैले अरूका तुलनामा महँगो पनि छ । अनि उस्तै देखिने खुर्सानीका अरू प्रजातिलाई ग्राहकले चिनेनन् भने अकबरेकै भाउमा किन्न बाध्य हुन्छन् । घर पुगेरमात्रै स्वाद लिएपछि सक्कली नक्कली थाहा लाग्छ । पहाडी क्षेत्रमा उत्पादन हुने भएकाले यो पहाडी बजारमै पाइन्छ । यदाकदा मात्र खाइन्छ । धरानका खान्की बजारमा दुइ कुरा अधिक विक्री हुदोरहेछ माछाका सिद्रा र अकबरे । अर्थोक पनि बिक्दो हो । तर, भानुचोकसँगै उत्तर-पश्चिमतर्फको पालिका बजारमा जहिल्यै अकबरेको थुप्रो ग्राहक कुरिरहेको देखिन्छ । उस्तै देखिने सबै खुर्सानी अकबरे हुँदैनन् । अकबरेजस्तो अरू हुँदैनन् । 

Tuesday, March 29, 2011

लाग्छ मन हेरिरहुँ


एकैछिन आँखा चिम्लेर हिडन खोजे धेरै असजिलो अनुभव हुन्छ । देख्ता देख्तै ज्योति कम हुँदै समस्यामा परेकाहरू कस्तो अनुभव गर्लान् । अनि फेरि ज्योति फिर्दा कस्तो अनुभव होला ।  
रबाज रेहान(१२) ले देख्न सक्ने भएपछि हस्त रेखा देखाएर बुबालाई भने 'हातमा यसरी कटेको हुँदोरहेछ, मलाइ पहिल्यै किन नभनेको ? मलाई लाग्थ्यो हात पुरै प्लेन हुन्छ होला ।' उनी भारत, मुंगेरको परहमका हुन् । बुवा महमद अबु रेहान (५२) भन्छन् 'यो मेरो छैटौं सन्तान हो । जन्मैदेखि देख्तैनथ्यो । उपचारमा धेरै कुदियो । बल्ल देख्न सक्ने भयो ।' शल्यक्रियाको ४० दिनपछि पुनः देखाउन ल्याउन चिकित्सकले दिएको सल्लाहपछि उनी बाबु-छोरा विराटनगरमा अस्पताल आएका भेटिए । 
'देख्न पाउँदा कुरै अर्को हुँदोरहेछ, पहिले म धेरै कुरा छाम्थें अनि यस्तो होला भन्ने ठान्थे, अरबाज भन्छन् 'आफ्नै काम पनि सहारा लिनुपर्थ्यो । अब त्यस्तो पर्दैन । अब म मजाले खेल्छु कुद्छु । म धेरै खुसी छु' जन्मदै दुवै आँखामा मोतियाबिन्दु भएका छोराको उपचारपछि पिता अबु अहिले उपचारको शिविर आयोजनाका सहयोगी बनेका छन् । भन्छन् 'म धेरै टाढा आएर, धाएर छोराको ज्योति फर्काउन सफल भएँ, गाउमा धेरै आमा-बाबु म जति भाग्यमानी छैनन् ।' आठ सन्तानमा पछिल्ला तीन जनालाई शारीरिक समस्याहरू छन् । छैटौं नम्बरका अरबाजलाई दृष्टि र अरूका खुट्टा लुला हुने समस्या छन् । भन्छन् 'धेरै सन्तान जन्माइयो, अनि गर्भवतीलाई त्यो बेला चाहिने पोषिला खानेकुराको ध्यान पुगेनछ । अहिले यी कुरा म गाउँलेलाई भन्दैछु ।' अस्पताल आएपछि हरिया सागसब्जी, फलफूलजस्ता पोषिला कुरा गर्भवतीले खान पाएमात्र सन्तान निरोगी जन्मने कुरा बुझेको उनले बताए । 
०००
भारत, कटिहार बनबलुवाकी रूबेदा खातुन (६०) लाई दृष्टिविहीन भएर बस्दा सबैभन्दा पीर लाग्ने कुरा निजी काम हुन् । भन्छिन् 'नदेखेपछि सहारा लिनुपर्छ, सानो कामका लागि पनि सहयोगी नभइ हुन्न । सधै घरका मान्छेले सघाउने भए पो सजिलो ।' उनको आँखाले काम गर्न छाडेको तीन महिना भएको छ । 'आँखा अध्यारो लिएर बाँच्न गाह्रो रहेछ, उनले भनिन् 'काल नआञ्जेल मान्छेलाई सुखसँग बाँच्न मन हुँदोरहेछ ।' आँखा भएर पनि देख्न नसक्नुले निराशाको मात्रा बढाउने र आफैप्रति क्रोध बढाउने अनुभव उनको छ । अबको साता शल्यक्रियापछि उनले पुनः ज्योति पाउनेछिन् । उपचारमा रहेकी रूबेदा भन्छिन् 'मलाई आफ्ना काम आफै गर्नु छ । कसैमाथि बोझ बन्नु छैन । त्यसैले लाग्छ हेर्न पाइरहियोस् ।'
०००
नन्दीकेशर ढकाल (७५) औधी हर्षित भेटिए । इलाम साखेजुङ ६ सुवेदीगाउँका यी बृद्ध फेरि संसार देख्न पाएकोमा खुसी भएका हुन् । विराटनगर आँखा अस्पतालमा गत वर्ष भेटिएका ढकालले भनेथे 'अर्को जुनी पाएजस्तो भएको छ । खै के भन्नु के भन्नु ।' 
नानी प्रत्यारोपण गरेर पुनः दृष्टि पाएका यिनी जन्मजात दृष्टिविहीन थिएनन् । एक दसकअघि चियाको बोटमा लगाउन पानी हाल्दा पडकिएको चुन आँखामा परेको थियो । दुवैका ज्योति गुमे । ज्योति फिराउन एक वर्ष उपचारपछि राजधानीको तीलगंगाबाट एउटाले देख्न सक्ने भए । उमेर र कामले धोका दियो । प्रत्यारोपणपछि एउटामा ज्योति आउछ, एक/दुइ वर्ष काम गर्छ । फेरि अँध्यारै । उनको चौथोपटकको प्रत्यारोपण विराटनगरमा भयो । भन्छन् 'देख्न नपाउनु कस्तो हुन्छ भन्न सकिदैन, अनुभव गर्न सकिन्छ ।' सबै कामका लागि स्पर्श र श्रवण क्षमतामा निर्भर भएर अनुमानका भरमा जीवनयापन निकै कठीन रहने उनको भोगाइ छ । नानी प्रत्यारोपण गरेर चौथोपटक घर गएपछि उनी पुनः अस्पताल आएका छैनन् । 
०००                                                         ०००                                
  • ' अब म मजाले खेल्छु कुद्छु । म धेरै खुसी छु'
  • 'देख्न नपाउनु कस्तो हुन्छ भन्न सकिदैन, अनुभव गर्न सकिन्छ ।'
  • 'नत्र संसारै अँध्यारो थियो । कस्तो सास्ती ।'

***                                   ***                                          
ताप्लेजुङको मेहलेकी धनमाया श्रेष्ठ (६५) अब एउटा आँखाले  भएपनि देख्न सक्ने भएकी छन् । मोरङको डागीहाट, लक्ष्मीमार्ग बस्ने छोरी ताराले उनलाई उपचारका लागि अस्पताल पुर्‍याइन । भन्छिन् 'अब दाहिनेले देख्छु । नत्र संसारै अँध्यारो थियो । कस्तो सास्ती ।' देख्न नपाउदा हिडडुलमा निकै समस्या पर्ने गरेको उनी बताउँछिन् । मोतियाबिन्दुले उनलाई सताएको हो । उमेरसँगै लाग्ने मोतियाबिन्दुको उपचारमा ढिलाइ भएपछि उनको ज्योति गुमेको हो । बेलैमा उपचार पाएको भए उनले सास्ती व्योहोर्नु पर्ने थिएन । 
०००
एमबीबीएस सिध्याएका एक विद्यार्थी आइटी अफिसर भए । काठमाडौंमा विहानै कार्यालय जाँदा सेतो तुवाँलो लागेको देख्थे । लाग्थ्यो 'धेरै गाडी छन् । भ्यालीमा प्रदुषण छ । त्यसैले वातावरण यस्तो भएको होला ।' एकाबिहानै उनले स्वयम्भुबाट देखिने उपत्यकाको दृश्य हेर्ने मुड बनाए । त्यहाँ उभिएर हेर्दा पनि उस्तै तुवाँलोभित्र काठमाडौ । त्यहाँ उभिएर हेरिरहेका अरूसँग अनुभव साटे 'काठमाडौंमा कस्तो तुवालो । वातावरण ब्रि्रेर होला ।' उनको कुरा सुन्नेले जवाफ दियो 'खै म त त्यस्तो देख्तिन । तुवाँलो कता छ खोइ ? सबै खुल्ला छ । क्लियर छ त ।' मनमा चिसो भयो । फिरेर उनी नेत्र चिकित्सकको सम्पर्कमा पुगे । थाहा भयो 'तुवाँलो वातावरणमा होइन, आँखामा रहेछ । टाढाका कुरा ठम्याउन चश्मा दिइएपछि तुवाँलो  देखिएन । 
विराटनगर आँखा अस्पतालका प्रमुख एवं सर्जन डा. संजय सिंह भन्छन् 'धेरैलाई परीक्षण गरेपछिमात्र आँखाको अवस्था थाहा लाग्छ ।' आँखाका सामान्य समस्याहरूमा मान्छेले अरू बाधालाई कारण मानेर हिडिरहेको हुन्छ । 'मलाइ पनि २० वर्षको भएपछि मात्र चश्मा लगाउनुपर्ने भएको थाहा भयो, उनले सुनाए 'सजिलोसँग हेर्न पाइयोस भन्ने रहर सबैको हुन्छ । यसका लागि खानपान र दैनिकीमा समान्य ध्यान दिएपुग्छ ।' 
उनका अनुसार बच्चा जन्मेपछि केही समयमा अभिभावकले नेत्र चिकित्सकलाई उसको आँखाको अवस्था जाँच गराउनु जरूरी छ । नानीहरू बिद्यालय जाने उमेरका भएपछि पनि एकपटक जाँच गराउनु राम्रो हुन्छ । भन्छन् 'आँखाका कतिपय शिकायतको उपचार जति छिटो हुनसक्यो, त्यति छिटो ज्योति गुम्नबाट जोगाउन सकिन्छ ।'समस्या केही वंशाणुबाट सरेर आउने र धेरैजसो दैनिकी, मधुमेह,रक्तचाप, रोगको निदान गर्नु-नगर्नु र उमेरको असरमा भर गर्छ । डा. सिंह भन्छन् 'आँखाभित्रका नशामा चाप समान्यतया १० देखि २० हुन्छ, त्योभन्दा बढि भए जलविन्दु हुने समस्या आउँछ । समय समयमा जाँच गराइराख्नु राम्रो हो ।' हामीकहाँ उपचारपद्धति अत्याधुनिक हुँदै आएको बताएका उनी भन्छन् 'अहिले जाँच गराउन चाहनेका लागि बेलाबखत हुने शिविर, अस्पताल र आखा केन्द्रमा सुविधा छन् । आँखाको हेरचाहमा खेलाँची गरिनुहुँदैन ।' मान्छेका कामको व्यस्तताले शारीरिक व्यायाम कममात्र पर्ने, आँखालाई बढि श्रम पर्ने र खुराकीमा ध्यान कम दिने प्रवृति बढदो भएका शहरीयालाई उनी शैली परिवर्तनको सुझाव दिन्छन् । भन्छन् 'सफा पानीले आँखा राम्ररी पखाल्ने, एकैनासको बसाइलाई फेरबदल गर्ने र खानेकुरामा सागपातको मात्र बढाउनु ठीक हुन्छ ।' 
सामान्यतया ४० वर्ष पुगेका वा नाघेकाहरूले जाँच गराइरहनु राम्रो भएपनि सबै उमेरकाले खानेकुरामा हरिया सागपात, तरकारी, पहेला फलफूल, दुध र माछामासू खानु उत्तम हुने सल्लाह उनी दिन्छन् । भन्छन् 'खानेकुरा र जीवनयापनका शैलीले हाम्रो शरीरका धेरै अंगलाई प्रभाव पारिरहेका हुन्छन् । तिनमा आँखा निकै संवेदनशील छ ।'  

Friday, March 25, 2011

फेरि यात्राका मौसम


धेरै भएछ ब्लग अप्डेट नगरेको । आज हेर्दा पो यस्तो भएछ जस्तो भयो । यतिखेर म भोली बिहानै फेरि सप्तकोशीको जलयात्रामा जाने तयारीमा छु । खानेकुरा, क्यामेरा, लेन्स, ट्राइपोर्ट र पानी पस्ने डुंगा भए उप्छिदै फाल्न बटुकोजस्तो भाँडोसहित हाम्रो यात्रा हुनेछ । केही घण्टाअघि सुनसरीको प्रकाशपुरमा रबिन दाइसँग फोनमा कुरा पनि भयो । हामी १०/१५ जना काठको लामो डुंगामा हुनेछौ । अहिले म क्यामेराको व्याट्री र मेमोरी कार्डमा स्पेसको अवस्था हेरिरहेको थिएँ । अचानक ब्लगमा केही लेखौं भन्ने भयो ।
०००
यस वर्षका लागि एसएलसी परीक्षा सुरू भएको आज दोस्रो दिन हो । हिजो परीक्षाअगावै प्रश्नपत्र आउट भएपछि प्रहरीले विराटनगर १७ स्थित स्टार बोर्डिङ केन्द्रबाट त्यहाँका सञ्चालक/अध्यक्ष तथा केन्द्राध्यक्ष डा. उद्धव पोखरेल, सहायकद्धय उनका भाइ प्रिन्सिपल तथा प्राध्यापक डिल्ली पोखरेल र रवि रोका सरलाई पक्राउ गरेको थियो । विराटनगरमा विभिन्न प्रतिष्ठान स्टार नाम दिएर एक दसकदेखि सञ्चालन गर्दै आएका डा. उद्धव र डिल्ली सर चिनिएका नाम हुन् । उनीहरू सफल मानिएका व्यक्ति भएकाले धेरैको चासोको समाचार बने । स्टार केन्द्रबाट आउट भएको प्रश्नपत्र भुम्रि्रशासन रोडस्थित एक्सेल एकेडेमी भन्ने ट्युशन सेन्टरबाट प्रहरीले बरामद गरको थियो । त्यहा पनि घेरा हालेर चीट फोटोकपी गर्दै रहेको अवस्थामा १६ जना समातिए । स्टार स्कुलमा यसपटक प्राइभेटमा एलएलसी दिनेको सेन्टर परेको रहेछ । अनि ती प्राइभेट दिनेलाई सघाउने ट्युशन सेन्टरहरूले प्रश्नपत्र आउट गराएर चीट पुर्‍याउने गरिरहेको भन्ने प्रहरीको शंका हो । हामीले एक्सेलमा प्रहरीको छापामारी हेर्न पाएपनि डा. उद्धवलाई पक्राउ गरेको भेटन सकिएन । स्कुलमा पुग्दा प्रहरीले उनलाई लगिसकेको रहेछ । जे भेटियो, तिनको फोटो खिचियो । विहीवारको दिन यसैले धपेडीको रह्यो । 
०००
आज मिल्स स्कुलमा दिवंगत पिताको किरिया बसेका एक जना भाइले परीक्षा दिदै गरेको तस्विर खिचियो । तलव, सुविधा बृद्धिको माग राखेर आन्दोलित मजदुरका संगठन र उद्योगीबीच राजधानीमा सहमति भयो । मजदुरले १५ सय थप पाउने भए भन्ने समाचार आज उद्योग वाणिज्य महासंघ अध्यक्ष कुशकुमार जोशी र जीफन्ट अध्यक्ष विष्णु रिमालले  हात मिलाएको तस्बिरसहित छापिएको छ । तर, विहानैदेखि सुनसरी-मोरङ करिडोरका कारखाना बन्द गराइएका छन् । 
दुहबी पुगेर मधेसी टे्रड युनियनका एक जना नेतालाई भेटियो । आन्दोलन गर्दा ५ पार्टीका टे्रड युनियन मिलेर गरे, वार्ता गर्दा मधेसीलाई बोलाइएन रे । अनि गरिएको सहमति पनि अपुरो र सन्तोषजनक नभएको उनले तर्क राखे । जे होस विहानभर उनीहरूले उद्योग कारखाना डुली डुली बन्द गराएछन् । मधेसी मजदुरका नेता विपिन कर्णले भने 'माग पुरा नभएसम्म हामी मान्दैनौ । बन्द अनिश्चित हुन्छ ।'
०००
विराटनगरको दैनिकी जहिल्यै छोटकरी समाचारका पछि लाग्दा लाग्दै श्रम पर्ने खालको रहन्छ । अनि केही सातासम्म म बाहिर जान नपाए छटपटिन्छु । साताका एक दिन कसैगरि यो उपमहानगर बाहिर गाउँ टेक्नैपर्छ । सबै बहाना समाचारका लागि हुन्छ कि नया खालका तस्बिर खिच्नेगरि । शायद सञ्चारकर्मीको दैनिकी यस्तै हो ।
भोली फेरि यात्राको अवसर जुटेको छ । दुइ दिनका लागि । कोशीमा जलविहार मेरा लागि नौलो होइन । बितेका एक दसकमा म कतै धेरै गएको छु भने त्यो कोशीटप्पु हो । जो दसकौंदेखि फेरिएको छैन । र, अहिलेसम्मका अवस्थाले कुनै खास परिवर्तनको संकेत पनि देख्तिन । तैपनि यो बहाना मेरा लागि विराटनगरभन्दा बाहिर पुगेर केहीबेर टहलिने कारण हो । म सहरबाट केहीबेर टाढा हुन चाहन्छु । नदिको पानी छोएर डुंगामा बस्न चाहन्छु । तातो घाम, चिसो हावा अनि हाइ सटर स्पीड मोडमा क्यामेरा बोकेर उडिरहेका चरालाई मेमोरी कार्डमा छाप लिन चाहन्छु । केहीबेर दैनिकीका तनाव, देशको राजनीति, अनि धपेडी समय विर्सन चाहन्छु । 
मैले यसरी हराउन मिल्दैन । मेरो मन यसमा धेरैबेर हराउने भने होइन । लाग्छ, सन्यासीलाई पनि खानैपर्छ । परिश्रम नगरी मुखसम्म हात पनि पुग्दैन । हराउनु जीवन होइन । केहीबेर हराएर यो जीवनको दैनिकीमा संघर्षलाई निरन्तरता दिनु नै सार्थकता हो । फेरि पनि कहिलेकाही लाग्छ 'सोचो साथ क्या जायेगा ।'  
०००
२०३२ सालमा आरक्ष घोषित सुनसरी,सप्तरी र उदयपुरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष सप्तकोशी नदिकै भंगालो बीच र छेउछाउ छ । यहाँ भैसीका जंगली पूर्खा र चरा देख्न सकिन्छ । सकिन्थ्यो । चरिचरनमा अतिक्रमण, माछा मार्नेको आवतजावतले दुवै कुरा दुर्भ हुदै आएको अवस्था छ । अर्ना हेर्न गए भैसीको हुलभित्र कुन होला भनेर खुटयाउन गाह्रो भएको छ । वर्षैभरि माछा निर्वाध मारिँदा चराले सजिलै खान पाउँदैनन् । बेलाबखतका घटनाले कोशीको धार सरिरहन्छ । फिरन्ते प्रजातिका चरा देखिन घटेका छन् । चोरी सिकार पनि उतिकै छ । 
संरक्षणका चिन्ता व्यक्त गर्नेमध्ये निकै थोरैमात्र व्यवहारमा गम्भिर भेटिन्छन् । मान्छे बाँचे पुग्छ, अरू जीवका लागि कनि कसले चासो राख्ने भन्ने प्रवृति बढेको अवस्था हो । 
०००

मेरो यात्रा यस क्षेत्रका लागि नौलो होइन । तैपनि कुनै समय कुनै चरा वा नौला जीवका तस्बिर भेटिएलान वा वर्तमान अवस्थाको जानकारी हुन्छ भन्ने रूचीले घुमाइरहन्छ । वर्षेनी घुम्दा फरक अनुभव हुन्छ । अवस्थाले चिन्तित बनाउँछ । अनि कुनैबेला देखिने चराका नौला प्रजाति, बथान र प्राकृतिक विविधताले मन रमाउछ पनि । चिन्ता, रोमाञ्च अनि केही गर्नुपर्छ भन्ने सन्देश मैले अखबारमा पस्कने प्रयास गरिआएको हो । जारी पनि छ ।पुनः यात्रा निरन्तरताको योजनामा म फिरेको छु । गत पुसमा गोरखा, तनहु, लमजुङ, माघमा काठमाडौं, कास्कीका पोखरा, हेमजा, लुम्ले र चितवनको शक्तिखोर घुमेको मेरा यात्रा माघपछि थामिएका थिए । पुसको यात्राको बहाना माओवादीको पालुङटार बैठकको फोटोग्राफीको जिम्मेवारीले दिलाएको थियो । काठमाडौंबाट कास्की र चितवनको यात्रामा म एक्लै थिए । फिरेर आएपछि कोसेलीलाई चमेरो विचरो लेख्न सकियो । यात्रा त्यसैका लागि थियो । भलै यी अवधिमा सुनसरी, मोरङ, झापा र इलामका केही गाउ घुमियो । तर, यी घुमाइ छोटकरी समाचारमा सीमित भए । छोटो समयको यात्रा अनि यस्तो समूह जसले जहिल्यै हतार लगाउछ । भनेजसरी लेख्ने र खिच्ने सामाग्री बटुल्न सकिदैन । अब म फेरि यात्रा थाल्ने संघारमा छु । तीनजुरे मिल्के गुफापोखरी, इलामको सन्दकपुर, चितवन र कास्कीका लागि । एउटा विषयका लागि यात्राले मुलुक बाहिर पनि लैजान सक्छ । तर, यी मेरा योजनामै सीमित छन् ।  यसपटककको यात्रामा त्यस्तो केही नयाँ होस, जो पाठक र स्वयं मेरा लागि जायज चिन्तामा काम गर्ने उर्जा देओस ।
०६७ चैत ११ शुक्रवार/विराटनगर