बेलाबखत अचम्म लाग्छ, समले किन लेखेका होलान् 'दुःखीको घरमा मात्रै तेरो वास हुने भए हे इश्वर दया राखी मलाइ अझै दुःख दे ।' के उनले दुःख नदेखेका हुन् ? साँच्चै त्यस्तो पनि हुन सक्ला । तर, जीवनको एउटा यात्रा अवधिमा मान्छेले दुःख अनुभूति गरेकै हुनुपर्छ । गच्छेअनुसार त्यसको भोगाइका तरिका फरक होलान् ।
हिजो पत्रकार महासंघ मोरङले एउटा संक्षिप्त पत्रकार सम्मेलन गर्यो । पत्रकार सम्मेलन के भन्नु, एक जनालाई उभ्याएर उनका कुरा झण्डै ५/६ जना पत्रकारले सुने । आफ्ना कुरा बताउनेले असहज मानिरहेका थिए । उनी रहेछन् मोरङ उर्लावारी-६ का गोविन्द भण्डारी । भन्दै थिए 'अस्ति नै पनि पत्रकार सम्मेलन गरेको । खोइ केही भएन । कति आफ्ना दुखेसो पोख्नु ?' पुरा कुरा सुन्दा उनलाई झिँझो लाग्नु अस्वभाविक रहेनछ । उनका तीन भाइ छोरामा सबैका मिर्गौला काम नलाग्ने भएका रहेछन् । जेठो छोरोको मृत्यु भएछ । कान्छालाई श्रीमतिको एउटा मिर्गौला गत असोज २९ गते प्रत्यारोपण गरिएको रहेछ । अहिले माहिला छोरा सिकिस्त रहेछन् । सातामा दुइपटक राजधानीको वीर अस्पतालमा डाइलासिस गराइँदै रहेछ ।
उपचार थालेपछि यी किसानले भएको एक बिघा जग्गा बेचेछन् । केही सहयोग जुटेछ, सकेजति ऋण पनि लिएका रहेछन् । करीव २५/२६ लाख सकिएछ । प्रत्यारोपण गर्न १ लाख भए पुग्ने रहेछ । तर, त्यसका लागि तयारी र पछि गरिने औषधोपचार निकै नै महंगो रहेछ । उनी अब २८ वर्षका माहिला छोरालाई आफ्नो एउटा मिर्गौला दिएर बचाउन चाहन्छन् । तर, खर्च छैन ।
उनी निराश थिए । अघिल्लोपटक पत्रकार सम्मेलन गर्दा सहयोगको आशा रहेछ । त्यसो भएनछ । मैले उनलाई सान्त्व्ना दिए । आफुले पनि अघिल्ला घटना सम्भिmए । करीव १० वर्षअघि सुनसरीको प्रकाशपुरको कटान क्षेत्रमा एथानीय जाति चाइँको एउटा परिवारमा जन्मेकी बालिकाको नाक लामो थियो । सानो सानो सुँड जस्तो । हल्ला आयो, सुँड भएकी बच्ची जन्मेकी छे । हेर्न गइयो । अहिले सम्झन्छु, त्यो ओठ-तालु फाटेको भनिने क्लेप्टोलिप्टको केस थियो । विपन्न आर्थिक अवस्थाको परिवार । नानीको मुख र नाकको नली एउटै थियो । मैले उनीहरुको अवस्था र उपचार चाहेका कुरा समाचारमा तस्बिरसहित लेखेपछि छापियो । त्यसको दुइ दिनपछि काठमाडौंमा एउटा संस्थाका कर्मचारीले उपचार खर्च पठाइदिएछन् । मैले उनीहरुलाई लगेर दिए । पछि ती बालिकाको उपचार भएछ ।
दोस्रो घटना एउटा ट्राफिक हवल्दारको थियो । उनका दुवै मिर्गौला काम नलाग्ने भएर सिकिस्त । वीर अस्पतालमा उपचार चलिरहेको थियो । आफन्तमार्फत केहीले मलाइ भेटेर पत्रिकामा लेखिदिन आग्रह गरेका थिए । राजधानीमा उपचार चल्दै गरेको कुरा मैले सुनसरीको इनरुवाबाट लेख्नु अलि सामयिक लागेन । प्रत्यक्ष देख्न भेटन पाएर लेख्नुको मर्म बेग्लै हुन्छ । म त्यसमा अलि सहज मान्छु । मैले काठमाडौं अफिसमै गएर आफ्नो अवस्था बताउन आग्रह गरे । उनीहरुले गरे/गरेनन् त्यो थाहा भएन । यो करीव आठ वर्षअघिको घटना थियो ।
तीन महिनापछि ती हवल्दारलाई इनरुवा महेन्द्रचोकस्थित घर ल्याइएछ । परिवारका सदस्यले फेरि मलाइ भेटे । त्यसबेला उनलाई धरानको वीपी प्रतिष्ठानमा साता-सातामा डाइलासिसका लागि लैजाने-ल्याउने क्रम चलिरहेको रहेछ । सशस्त्र द्वन्द्वको समय, अनि ट्रफिक नै भएपनि प्रहरीका हवल्दार । तैपनि मान्छे नै हो । उनल उपचारका लागि विभागको सहयोग र आफ्नो संचयकोष खर्च गरिसकेको थाहा पाएपछि मैले समाचार लेखे । छापियो । केहीपछि सुने, उनी बितेछन् । समाचार छापिएपनि कतैबाट सहयोग जुटेन । त्यसपछि मलाई सहयोगको याचनासम्बन्धी समाचार लेख्न मन लाग्न छाड्यो । यो क्रम रोकिएको धेरै भएको थियो ।
हाम्रो देश नै मगन्ते । आधाभन्दा धेरै हामी हुँदा खानेहरु नै छौ । हुने खानेका मन सजिलै पग्लन्छ भन्ने छैन । मान्छे विलासिताले यति माथि पुगेका छन्, अरुको संवेदनाले सजिलै कोही पग्लन्छ जस्तो लाग्दैन । तैपनि बेलाबखत यस्ता समाचारले प्रमुखता पाएका छन् । दुःखीको दुःख हरणका लागि प्रयास भएका छन् । बेलाबेला यस्तो लाग्छ, वरपर मान्छेका भीडमा केही यस्ता देखिन्छन् , मन हुनेसँग दिन योग्य गच्छे छैन । हुनेसँग मन छैन । हुनेहरु मर्दा साथै लगिन्छ जसरी सोहोर्न लागिपरेका छन् । कतै यही भीडबाट यदाकदा दयालु भएर पनि निस्कन्छन् । यदाकदा अपवाद देख्न मिल्छ ।
अरुका कुरा लेखिहिडने सञ्चारकर्मी आफ्नै कुरा मनमा लुकाएर बाहिर हाँसेर हिडनुको विकल्प छैन । जे होस, साठी वर्षे गोविन्द भण्डारीलाई शब्दले सान्त्वना दिइयो । उनको पत्रकार सम्मेलनमा निकै नगन्य संख्यामा साथीहरु भेला भएका थिए । चिया-खाजा र भत्ताको व्यवस्था थयो भने हलमा कुर्सीमा नअँटेर पनि उभिनेको जमात धेरै हुने थियो । अनि सबै टेलिभिजन, रेडियो र छापाका साथीहरु समाचार बनाउन तँछाडमछाड गर्थे । उनको कार्यक्रममा त्यस्तो केही भएन । आयोजक र अतिथि बस्ने आठवटा कुर्सीमा उनी एक्लै थिए । पत्रकारले सोधे -'सहयोग जुटयो भने जम्मा गरिदिन बैंक खाता छ ? , उनी अकमकाए अनि छोरा पदमलाई फोन लगाए । 'सिद्धार्थ बैंक गोंगबु शाखामा ०१६१५०१३०८४ नम्बरको पदम भण्डारीको खाता छ' भन्ने जानकारी फोनपछि सुनाए । पत्रकारले टिपे, खिचे ।
उनले आफ्ना कुरा बताइरहदा बाहिर अर्का टोली अर्को कार्यक्रम गर्न पालो कुरेको देखियो । त्यसपछि हतार हतार उनको कार्यक्रम समापन भयो । मैले उनलाई पत्रकार महासंघको माथिल्लो तलामा लगे । अनि बेग्लै बसेर उनका कुरा सुने । भने 'पत्रकारले लेख्ने हुन्, सहयोगी निस्कनु / ननिस्कनुमा हाम्रो भूमिका खबर दिनेसम्म मात्रै हो ।' उनलाई धेरै कोट्याउनु पनि उचित थिएन । तैपनि उनका कुरा नबुझी लेख्नु पनि भएन । आज कान्तिपुरमा उनको समाचार छापिएको छ ।
जो यस्तो छ -
तीन छोरा नै मृगौला पीडित
विराटनगर - साठी वर्षे गोविन्द भण्डारीका लागि यो उमेर छोराछोरीको रेखदेखमा जीवनयापन गर्ने हो, तर मृगौला पीडित तीन भाइ छोराको पिरलोले उनको आँखाबाट आँसु थामिन सकेको छैन । मोरङ, उर्लाबारी-३ का भण्डारीका जेठो छोरा रुद्रको दुवै मृगौलाले काम नगरेपछि निधन भएको छ भने कान्छो छोरा पदमलाई आमाको मृगौला प्रत्यारोपण गरिएको छ । सिकिस्त अर्का माहिलो छोरा बद्री साताको दुईपल्ट डाइलासिस गराइरहेका छन्, जसलाई गोविन्द आफ्नै मृगौला दिन तयार छन् तर उपचार खर्च उनीसँग छैन ।
रुद्र पाँच वर्षअघि बिरामी परेका थिए । ज्वरो आइरहने, पेट दुख्ने समस्या लामो भएपछि धरानस्थित बीपी प्रतिष्ठानमा भर्ना गरिँदा उनका दुवै मृगौलाले काम गर्न छाडेको चिकित्सकले बताएका थिए । निम्न आर्थिक अवस्थाको भण्डारी परिवारले भर्ना गरी उपचार चलाइरहन सकेन । घरमै राखिएका रुद्रलाई निकै साह्रो भएपछि मात्रै फेरि उपचार गर्न ल्याइयो तर उनी बाँच्न सकेनन् ।
'माहिलो छोरो कतारमा तीन वर्ष बसेर फर्कियो,' गोविन्दले भने, 'माहिलो र कान्छो दुवै सँगसँगैजस्तो बिरामी परे, दुवैको किड्नी फेल भएको रहेछ ।' आफन्तको सल्लाहमा उनले सिलिगुडी लगेर रामदेवको औषधि चलाए । चार/पाँच महिना चलाएको ओखतीले काम गरेन ।
'कान्छोलाई बेथाले च्याप्दै ल्यायो, माहिलोको रोग भर्खर सुरु भएको रहेछ,' उनले भने, 'जग्गा बेचेर कान्छोका लागि उपचार चलाइयो । अस्ति असोजमा उसकी आमाको एउटा मृगौला डाक्टरले उसलाई लाइदिए । यतिखेर माहिलो सिकिस्त छ ।'
सहयोग र ऋणबाहेक जग्गा बेचेको १४ लाख रुपैयाँ पनि छोराहरूको उपचार गर्दागर्दै सकिएको छ । अब उनी माहिलो छोरालाई आफ्नै मृगौला दिन चाहन्छन् तर उपचार खर्च छैन । 'लिन सक्ने जति ठाउँबाट सहयोग र ऋण लिँदालिँदै २५/२६ लाख सिध्दियो,' सोमबार विराटनगरमा गोविन्दले भने, 'अब रनभुल्लमा छु ।' मृगौला प्रत्यारोपण गरिएका कान्छोलाई ६ महिना ओखती चलाउनुपर्ने, मृगौला दिएकी श्रीमतीको पनि औषधोपचार र सातामा दुई पटक माहिलो छोराको डाइलासिस खर्चले गोविन्द 'कता जाने ? के गर्ने ?' भन्ने पिरलोमा छन् ।
परिवारका आधा सदस्य राजधानीको महँगीमा डेरा गरी बसेर वीर अस्पतालमा माहिलो छोरा बद्रीको उपचार चलाइरहेका छन् ।
वृद्ध गोविन्द सहयोग खोज्न भौंतारिँदै छन् । पेसाले किसान भण्डारी परिवारलाई गाविसले सहयोग नगरेको होइन । स्थानीय केदार चौहान भन्छन्, 'गाविसले सिफारिस गरेपछि सरकारले ५० हजार सहयोग गरेको हो, तर धेरै खर्च लाग्ने उपचारमा ५० हजार सकिन बेर लागेन ।' चिकित्सकले मृगौलाको रोग वंशाणुगत पनि हुन सक्ने बताएका छन् । 'वंशाणुगत हुन सक्छ तर वंशाणुगत नै हो भनेर प्रमाण आएको छैन,' वीर अस्पतालका नेफ्रोलजी विभाग प्रमुख डा. राजेन्द्र अग्रवालले भने, 'यो समस्या अल्पोर्ट सिन्ड्रोम हुन सक्छ तर प्रमाणित गर्ने कुनै साधन छैन ।' डा.अग्रवालका अनुसार वंशाणुगत किटान गर्न 'जेनेटिक कोड' हेरेर भन्न सकिने भए पनि मुलुकमा यो सुविधा उपलब्ध छैन । प्रकाशित मिति: २०६८ पुस १२
अपडेट................................................................................................
मृगौलापीडितलाई सहयोगको पहल
विराटनगर - मृगौलापीडित मोरङ उर्लाबारी ३ का गोविन्द भण्डारी परिवारका लागि सहयोगको पहल सुरु भएको छ । काठमाडौं बाँसबारीका शरद शर्मा र इलु शर्माले १० हजार रुपैयाँ पदम भण्डारीको सिद्धार्थ बैंक गोंगबु शाखाको ०१६१५०१३०८४ नम्बरको खातामा जम्मा गरिदिएका छन् । पुस ११ गते सोमबार कान्तिपुरमा 'तीन छोरा नै मृगौलापीडित' शीर्षकमा ६० वर्षे गोविन्द भण्डारीका परिवारबारे समाचार छापिएको थियो । सभासद मोती दुगडले गोविन्दलाई भेटी सक्दो सहयोग गर्ने बताए । उनले भने, '८ लाख खर्च हुनेमा त्यसको आधाजति भए पनि नव नेपाल निर्माण पार्टीका तर्फबाट सहयोगको पहल गर्छु ।' बिरामीका सबै कागजात ल्याउन लगाएर हेरेपछि सहयोगको प्रक्रिया अघि बढाएको उनले बताए । समाचार पढेर आफू भावुक भएको दुगडले बताए, 'मेरो पार्टी संसद्को ३० औं नम्बरको सानो पार्टी हो, बजेट छैन । जसरी हुन्छ अधिकतम सहयोग गर्छु ।' भण्डारीका तीन छोराहरू रुद्र, बद्री र पदमको आपसमा केही वर्षको अन्तरमा दुवै मृगौला बिगि्रएका थिए । रुद्रको निधन भइसकेका छ भने २५ वर्षका कान्छा पदमलाई असोज अन्तिम साता आमा विष्णुमायाको एउटा मृगौला प्रत्यारोपण गरिएको छ । सातामा दुईपटक डाइलासिस गराइरहेका २८ वषर्ीय बद्रीलाई गोविन्द आफ्नै मृगौला दिन चाहन्छन् । मृगौला दिने र प्रत्यारोपण गरिने दुवैको नियमित स्वास्थ्य जाँच, औषधि उपचारका लागि खर्च अभाव भएपछि पत्नी र छोराहरूलाई राजधानीमा डेरामा राखेर उनी पैसा जुटाउन घर फर्केका छन् ।
(प्रकाशित मिति: २०६८ पुस २१)