अघिल्लो साता विराटनगरमा भएको एउटा साहित्यिक कार्यक्रममा मैले कविहरूको जमातलाई सोधेको थिए- जो मान्छे सग्लो छ । हातगोडा गरि खान सक्ने छन् । आम्दानीको स्तर र परिवार राम्रो छ । परिवारका सबैले सुख दिएका छन् । त्यस्ता मान्छेले पीडाबोध कसरी गर्न सकेको हो ? लेख्न कसरी कहाँबाट त्यो पीडा ल्याउने हुन् ?
कवि मनु मञ्जिलले कलात्मक उत्तर फर्काएका थिए । भनेका थिए 'भीमजी आफैं लेख्नु हुन्छ । कविता बुझनु हुन्छ । के भनिरहनु ! कवि अथवा लेखक संवेदनशील हुन्छन् । अर्काको पीडा महसुस गर्न सक्छन् । लेखाइमा तिनै कुरा सिर्जनशील भएर पोखिन्छ ।' मलाई यस्ता कुराले कहिलेकाही अचम्म लाग्छ । इम्तियाज अलीको हिन्दी चलचित्र 'रकस्टार' मा नायकलाई कलेजको क्यान्टिनवाला पात्रले भनेको संवाद सम्झन्छु - चर्चित हुनका लागि पीडा चाहिन्छ, छ तँसँग कुनै पीडा ?
पोहोर यो बेला म मस्तिष्क पक्षघात पीडित घरहरूले खेपेको पीडालाई कथाको आकार दिन दुइ साता हिडेको थिए । त्यो यात्राले मलाई यस्ता घरहरूमा पुर्याएको थियो, जहाँ पीडाका विकराल रुपसँग दैनिकी जुधिरहेका थिए । मस्तिष्क पक्षघातका विभिन्न अवस्था हुँदा रहेछन् । यसबाट पीडित सन्तान भए आमाबाबुको दैनिकी निकै कष्टकर हुने रहेछ । मस्तिष्कको आदेश शरीरका अंगहरूले नमान्ने अवस्था रहेछ यो । पाँचवटा चरण देखिए । थोरै र धेरै समस्या भएका बालबालिका भएका घरमा पुगियो । कतिपय घरमा आमाबुवाको अवसानपछि ती सन्तानको अवस्था के हुने भन्नेमा ठूलो चिन्ता थियो । पक्षघातका विभिन्न अवस्थामा फिजियोथेरापीले काम गर्दो रहेछ । पूर्णतया निको नहुने भएपनि जीवन चलाउन थोरै सकस काम पार्ने गरि । कतिपयलाई फिजियोथेरापीले लाभ नहुने पनि अवस्था हुने रहेछ, मोरङको पुरा तथ्यांक पत्तो लागेन त्यसबेला तर, यति थाहा भयो विराटनगरभित्रमात्रै मस्तिष्क पक्षघात भएका सन्तान लिएर बाँचेका घर ६५ वटा रहेछन् ।
सन्तानको शारीरिक विकारहरू अभिभावकको चाहना होइन । यो दुर्घटना हो । कतिपय अवस्था आमाले गर्भवतीहुँदा नै ध्यान पुर्याउनु पर्ने रहेछ । ध्यान पुर्याउने जिम्मा आमाको मात्रै नभएर बाबु र परिवारका सबै सदस्यको हो । यति हुँदाहुँदै पनि सन्तानमा शारीरिक विकार बेलाबखत देखा परेकै हुने रहेछ । मायाका डल्लाहरूलाई बाउआमाको ज्यान छउञ्जेलमात्रै हेरचाह हुने । त्यसपछि के हुन्छ ? कसैले खोजी गरेको देख्तिन । त्यो बेला दुइ सातामा म करीव डेढ दर्जन घरहरूमा पुगें । केहीका तस्बिर खिचें । धेरैसँग कुरा गरें । आफू सग्लो हुनुको महत्व ती घरहरुमा पुगेर अनुभव भयो ।
त्यो यात्राले मलाई संसारका उत्कृष्ट र सुखी मान्छेहरुमध्ये हामी धेरै पर्ने रहेछौ भन्ने बोध गराएको छ । जसका आँखाले देख्छन् । कानले सुन्छ । जिब्रोले स्वाद महसुस गर्छ । त्वचाले तातो-चिसो अनुभव गर्छ । खाना पचेको छ । बोल्न सकिन्छ । हातगोडा काम गर्छन् । मन मस्तिष्कले भनेका कुरा हातगोडाले मान्छन् । यदि यस्तो हो भने त्यो जस्तो भाग्यमानी अरु हुन सक्दैन ।
मान्छेका आ-आफ्ना लक्ष्य हुन्छन् । असन्तोकी प्राणी जहिल्यै चलायमान रहने गुण बोकेको छ । यस्ताले जीवन पुरा अवधि बाँच्नु पर्छ । कसैले आत्महत्या गरेको खबर सुन्दा म यी कुरा सम्झन्छु । परिस्थिति सधै एकनासको रहँदैन । चुनौति सबैका जीवनमा हुन्छन् । तिनलाई हेरौं जो आफू बाँच्नका लागि हरपल अरुको सहाराको भरमा हुन्छन् ।
शारीरिक अप्ठ्याराका बाबजुद जो केही गरेर बाँचेका छन्, मलाई उनीहरु मन पर्छन् । उनीहरूका दिनचर्या उनीहरू जस्तैका लागि प्रेरक हुन्छन् भन्ने लागेर त्यस्तालाई भेट्न र उनीहरूका कुरा लेख्न मन पर्छ । त्यस्ता मान्छेहरू कविताका पीडा होइनन् । कथाका पात्र होइनन् । लेखकले सम्झेर भरेका बुट्टाभन्दा पृथक लाग्छन् त्यस्ता चरित्र । तैपनि कवि त लेख्न छाड्दैनन् । लेखकहरू काल्पनिक पात्र उभ्याएर ठेलीका ठेली आख्यान तयार पार्न सक्छन् । संवेदनशील हुनु लेख्नेहरुका लागि एउटा गुण हो । दुर्घटनाजन्य परिस्थितिको सिकार भएर/भोगेर लेखिएका आख्यानहरू बाहेक सुखपूर्वक जीवन बिताएकाहरू पनि पीडाका कुरा लेख्न सक्छन् । बयान गरिरहेकै छन् । हाम्रा वरपर यस्ता पात्र र परिस्थिति छरपस्ट छन् ।
तर, जसरी हात वा खुट्टा काटिएर वा दुर्घनामा परेर ल्याइएका विरामी देखेर डाक्टर र नर्सले नर्भस हुन पाइँदैन, लेखन्तेहरूका लागि पनि त्यस्तै हो । उनीहरुको अवस्था देखेर भावुक हुनुको साटो हामीले कसरी लेख्ने र के लेख्ने भननेमा बढि ध्यान पुर्याउनु पर्ने रहेछ जस्तो लाग्छ ।
तर, जसरी हात वा खुट्टा काटिएर वा दुर्घनामा परेर ल्याइएका विरामी देखेर डाक्टर र नर्सले नर्भस हुन पाइँदैन, लेखन्तेहरूका लागि पनि त्यस्तै हो । उनीहरुको अवस्था देखेर भावुक हुनुको साटो हामीले कसरी लेख्ने र के लेख्ने भननेमा बढि ध्यान पुर्याउनु पर्ने रहेछ जस्तो लाग्छ ।
त्यो यात्रा सम्झदै अर्को एउटा प्रसङ्ग आज शेयर गर्न मन लागेको छ । गत बैशाख १२ अर्थात २५ अप्रील २०१३ ।
यो दिन विराटनगरबाट करीव २५ किलोमिटर पूर्व टकुवा गाविसको यात्रामा निस्केको थिएँ । मलाई एकजना अपांग भेट्नु थियो । विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकको भित्री पानामा एउटा श्यामश्वेत तस्बिर दुइ दिनअघि हेरेको थिए । टकुवामा एकजना पोलियो पीडित साइकल मिस्त्रीको काम गरिरहेका । राजन पौडेलले खिचेको तस्बिर । मैले राजनजीलाई भेटेर यी मान्छे भेटिने ठाउँका बारेमा जानकारी लिएँ । अनि यात्रामा निस्किएँ । रंगेली नाघेर अघि बढ्दा बढ्दै बाटैको बाया मैले मानिकचन्दलाई उनको झुप्रोभित्र काम गरिरहेको भेटें । कम्मर मुनिको भाग सुकेको मान्छे औजार लिएर साइकल मर्मत गरिरहेको थियो । उकहाँ आउनेहरूमा मैले विश्मयको भाव देखिन । कारण- मानिकको अवस्था र क्षमताबाट उनीहरू परिचित थिए ।
यस्ता धेरै घरमा पुग्दा वा मान्छे भेट्दा जस्ता कुरा मानिकमा थिएनन् । यस्तै अरुकहाँ पुग्दा उनीहरु पत्रिकामा छापिएर आए सहयोगीले दान देलान् । सरकारले सहयोग गर्ला/गरोस् । त्यसलाई बल पुग्ने गरि प्रकाशित गरिदिन आग्रह गर्छन् । धेरै अपेक्षा राख्छन् । उनीहरूभन्दा फरक भेटिए यी मिस्त्री । विराटनगर फिरेर मैले उनका बारेमा लेखें । जो यस्तो थियो -
पोलियो बिर्सदै पौरख
टकुवा (मोरङ)- विराटनगर-रंगेली मार्गमा पर्ने टकुवा-१ को सडकमा सानो फुसको झुप्रोभित्र एउटा मिस्त्री साइकल मर्मतमा तल्लीन भेटिन्छ । कम्मर मुनिका भाग पोलियोले सुकेका मानिकचन्द ऋषिदेव हुन् यी ।
३१ वर्षीय मानिकलाई पोलियोले आठ वर्षको छँदा भेटेको हो । भन्छन् 'तीन वर्ष भयो साइकल रिपेयर गर्ने पसल खोलेर बसेको । काम गरि खानसक्ने भएको छु । यसैमा गर्व लाग्छ ।' ह्वील चियरमा घरबाट आएर पसलमा बस्ने गरेका मानिकले काम गरेर परिवारको गुजारा चलाएका छन् । 'म जस्तै मान्छेहरु भिख माग्ने भएर हिडेको देख्ता दुःख लाग्छ', उनले भने, 'सीप सिके पेशा गरेर खान सकिने रहेछ ।' एक दिन गाउँकै पोखरीमा पौडी खेलेर फर्केपछि उनलाई सञ्चो भएन । बिस्तारै घुँडा सुक्दै आयो । 'डाक्टरले यसलाई पोलियो भयो, ठीक हुँदैन भने,' उनले सुनाए 'त्यसपछि म आफ्नो खुट्टामा उभिन सक्ने भइनँ । मेरो जिन्दगी नै अपांग भयो ।' दुइ भाइमा उनी कान्छा हुन् । दाजु चार महिनाअघि कामको खोजीमा पञ्जाव गएका छन् ।
छिमेकी शिशुपाल राजवंशी साइकल मर्मतको काम गर्थे । उनीकहाँ आउदा-जादा मानिकले थोरै सीप सिके । त्यसपछि ५ किलोमिटर पश्चिम रंगेलीमा गइ अर्काकोमा चार वर्ष काम गरे । विवाह भयो । उनकी पत्नीको पनि एउटा हातको समस्या छ । सन्तान पनि भयो । त्यसपछि उनी आफैले गाउँमै व्यवसाय थाले । 'मैले चढेको अहिलेको तेस्रो ह्वील चियर हो । परिवार पाल्न सक्नु भन्दा ठूलो काम अरु देख्तिन', उनले भने, 'खुशी त यो लाग्छ कि म मोटरसाइकलको पनि पंचर टाल्न सक्छु ।'
उनलाई बाल्यकालदेखि देखेका गाउँले सदानन्द मण्डल भन्छन् 'मानिकको आत्मविश्वास अचम्मको छ । यसले गरेर खाएको देख्छु । बजार हिड्दा यस्तै मान्छे मागेर हिडेको देख्छु । अचम्म लाग्छ ।' शारीरिक दुर्बलताभन्दा आत्मविश्वास ठूलो कुरा भएको उनले बताए ।
मानिकका चार वर्ष र नौ महिनाका छोराछोरी छन् । पत्नीको हातमा खोट भएकैले जोडी लाग्न सम्भव भएको मानिकले बताए । उनले भने 'मेरो कर्ममा पनि परिवार लेखेको रहेछ । नभए घस्रेर हिड्ने मान्छेको केको घरजम ?' मिस्त्री पेशा गरेर गुजारा चलाएका उनी पूर्वी मोरङका लागि अपांगता भएकाहरूमा पौरखीका उदाहरण हुन् ।
मोरङमा अपांगता भएकाहरूको संख्या १७ हजार ५३ छ । यिनमा मानिकजस्ताको संख्या ६ हजार २९ जना छ । अपांगता भएपनि उनी जसरी पेशा गरेर जीविकोपार्जन गरि बसेकाहरु विरलै भेटिन्छन् ।