Saturday, April 19, 2014

छालसँग लुकामारी

गाइडले 'गो बोट' भन्नेबित्तिकै विश्रान्ति आश्रमछेउबाट तमोर नदिको पानीमा जब हाम्रो रबरबोट (डुंगा) अघि बढ्यो । मनका दुविधा उत्साही साथीहरूका अनुहारको चमकले कम गरायो । पौडी खेल्न नजान्नेका लागि र्‍याटिफ्ङमा जाने योजना । घरमा सुनाउँदा अभिभावकबाट जाने स्वीकृति मिल्ने अवस्थै थिएन । त्यसैले 'कोसीटप्पु जानु छ' भन्दै म ढाँटेर हिडेको थिए । 

अधिकांश शनिवार टप्पु र त्यस्तै जंगल, डाँडापाखाको यात्राका लागि हुने दैनिकी घरमा नौलो छैन । कहिलेकाही शुक्रवार साँझै निस्किएर ३/४ दिनपछि फिर्दा जवाफ दिइरहनु पर्दैन । परिवारका सदस्य र साथीभाइले सोच्छन् - 'यो पक्कै कुनै चराको पछि लागेर आयो होला ।' यात्रा सुरु भएपछि यसपटक र्‍याफ्टिङमा हिडेको भन्ने जानकारी नदिएर गल्ती पो गरियो कि भन्दै चुकचुक लागिरहेको थियो । 
धरान-धनकुटा सडकमा पर्ने तमोरको फलामे पुल हेर्दा हेर्दै नदेखिने गरि अघि बढियो । करीव ५ मिनेटपछि पहिलो छालमा पस्दा आङ सिरिङ्ग भयो । डर लाग्दो थियो, त्यो र्‍यापीड । रबरबोटको डोरीमा खुट्टा अल्झाएर भएभरको बलले बहना चलाइयो । हामी सबै चिसो पानीले  निथ्रुर्क्कै भयौं । भित्री वस्त्रसम्म पानी पुग्यो । 
अघिअघि हेलमेटमा 'गो-प्रो' लगाएका नविन सुनुवार कायाकिङमा थिए । उनी अलि अघि जान्थे । छालको अवस्था बारे संकेत गर्दै अघि बढेका उनलाई हाम्रो डुंगाले पच्छ्याउँथ्यो । कायाकिङ भनेको एकजना मात्रै बस्न मिल्ने सानो डुंगा । डल्लो परेर बस्ने मान्छेले अघि गएर पछि आउनेलाई कसरी बहाव यस्तो छ भन्ने संकेत दिने रहेछन् ।
दोस्रो छालमा डर अलि कम भयो । तर, भयो फेरि उस्तै । पुनः मज्जाले भिजियो । क्यामेरा पहिल्यै सेफ्टी ब्यागमा पोको पारी सकेका कारण म फोटो खिच्न रहर गरिरहेको थिइँन । ज्यान हुत्तिने ठाउँमा फोटो खिच्ने रहर गर्नु बेठीक थियो । र्‍याफ्टिङको भाषामा छाल उठेका ठाउँलाई र्‍यापीड भनिने रहेछ । यसका पनि स्तर छन् भन्ने हाम्रा गाइड सेतुले बताए । र्‍यापीड-४ सबैभन्दा बढि जोखिम र मज्जा आउने । तेस्रो र्‍यापीड भेट्दा सबै डर हराएर फेरि कतिखेर छालको सामना हुन्छ होला भन्दै पर्खने भइयो । त्यसपछि यात्राको मजा आयो । एउटा हिन्दी टीभीसीको संवाद सम्झना भयो - डर के आगे जीत है । तर, यात्रा केही जित्नका लागि थियो थिएन भन्ने आफैलाई हेक्का थिएन । 
०००   
पूर्वेली शहर धरानको  एउटा लोभलाग्दो विशेषता के हो भने केही नयाँ गर्न चाहनेहरू छन् । फेसन, सिर्जना र मनोरञ्जनका नौलो हुनसक्ने बाटो पहिल्याउने फरक जमात भेटिन्छन् । 'एडभेञ्चर' मा यही फरक खोज्नेको एउटा जमातले र्‍याफ्टिङको यात्रा सम्भव गराएको थियो । 
धरान आएर तमोर जलयात्रामा जान चाहनेले मंसिरदेखि जेठसम्म २५ सयमै ६ घण्टाको साहसिक मनोरञ्जन पाउँछन् । 'धेरै घुमाउरो चेपचाप अनि र्‍यापीड धेरै भएकाले तमोर अलि अप्ठ्यारो नदि हो', तमोर रिभर र्‍याफ्टिङका सञ्चालक मदन ढकाल भन्छन् 'र्‍याफ्टिङमा जान दह्रो मुटु हुनुपर्छ । पहिले पहिले विदेशीले मात्रै यसको आनन्द लिन्थे । अब जानेहरू सबै नेपाली छन् ।'
हिमालय सम्बन्धी पुस्तकहरूमा उल्लेख भएअनुसार विहारको दुःख भनिने सप्तकोशी नदि अरूण, लिखु, दुधकोशी, तामाकोशी, सुनकोशी, तमोर र इन्द्रावतीको संगम हो । सबै पहाड भएर झरेका छन् । सप्तकोशीभित्र मिलेका छन् । फराकिलो आकार लिएपछि सप्तकोशी सुनसरी र सप्तरीको क्षेत्रबाट २ सय ६० किलोमिटरको यात्रा गर्दै भारतको कुर्सेला पुगेर गंगामा मिसिन्छ । पहाड चिरेर तराइ झर्ने नदिमध्ये तमोर कञ्चनजंघाबाट आउँछ । नेपाल र सिक्किमको सीमाना ८ हजार ५ सय ८६ मिटरको कञ्चनजंघा संसारकै तेस्रो अग्लो हिउँ टाकुरा हो । यहाँबाट पश्चिम नेपालतर्फ तमोर र पूर्व भारततर्फ टिस्टा नदि निस्केर मैदानको यात्रामा छन् । सप्तकोशीमा मिसिएर बग्नेमध्ये तमोरको पानी १९ प्रतिशत हुने यसको जानकारी पुस्तक-पत्रिकामा पाइन्छ । ३ हजार ८ सय ५३ मिटर उचाइको ताप्लेजुङको शिवाहुँदै तल झर्ने तमोर तीव्र बहाव भएको नदि हो । जलस्तरमा मौसमअनुसार घटबढ हुने भए पनि खहरे जसरी हिम नदि सुक्दैनन् । बाह्रैमास बग्छन् । 
कालीगण्डकी, कर्णाली, सुनकोशी, मर्स्याङदी, भोटेकोशी, सेती, दूधकोशी, त्रिशुली र तमोरलगायत यस्ता धेरै नदि छन् नेपालमा र्‍याफ्टिङको लामो-छोटो यात्राका लागि । तमोर तिनै नदिमध्ये अलि अप्ठेरो, बढि जोखिमपूर्ण र्‍यापीड भएको श्रेणीमा पर्छ ।  
'धरानमा धेरै प्रकारको व्यवसाय गर्नेहरू छन् । मलाइ केही फरक, केही नौलो गर्ने सोच आयो । साथी भेटियो । अनि र्‍याफ्टिङमा लगानी गर्ने भइयो', ढकालले सुनाए, 'छान्न त छानियो । थाल्नुअघि पहिलो यात्रा हामी साथी मिलेर गर्‍यौं । त्यो दिन जिन्दगीमा कहिल्यै बिर्सन्न ।' मुलघाटबाट 'रबर बोट' मा निस्किएपछि आफूलाई यो यात्रा निकै जोखिमको लागेको उनले बताए । 'आखिर मान्छेले खोज्ने यस्तै अनौठो यात्रा पनि हो भन्ने सल्लाह मिल्यो । थाल्न त थालियो । अब आउ भनेर बोलाउनु कसलाई ?' उनले भने, 'हामीले २०६१ मा थाल्दा पहिलो वर्ष यहाँको वीपी प्रतिष्ठानमा डाक्टर पढ्न बाहिरबाट आएका विद्यार्थीले र्‍याफ्टिङ गरे ।' विस्तारै नेपाली विद्यार्थी पनि यो साहसिक मनोरञ्जन लिन अघि आउन थाले । 
उनका अनुसार तमोरमा यो पर्यटन गतिविधि ६ महिना चल्छ । 'पाँच महिना लगानी उठाउने, एक महिनाले नाफा गर्ने', उनले भने, 'बोट किन्ने, अफिस चलाउने, स्टाफ पाल्ने र आफ्नो खर्च निकाल्नेभन्दा बढि धेरै केही हुँदैन ।'
०००
धेरै नेपालीलाई पौडन आउँदैन । पौडन नजान्नेहरू नदिमा रबरबोटमा बसेर गरिने यस्ता साहसिक यात्राका कुरा आए पछि सर्छन् । विस्तारै जानेहरूले बुझे, रबर बोटमा सवार हुनअघि सुरक्षित हुने 'टिप्स' दिइन्छ । बोटबाट खसिहाले नडुब्ने लाइफ ज्याकेट, हेलमेट र चिसो छल्ने लुगा लाउन पाइन्छ । जस-जसले यात्रा गरे, बुझे, उनीहरूबाटै सुनेकाहरू यात्राका लागि उत्साहित हुन थाले । त्रिशुली किनारको गाउँमा हुर्केका रिभर र्‍याफ्टर गाइड सेतु अर्थात् जीवन सिलवालको अनुभव हुन् यी । 
धादिङको बेनीघाट- ७ चरौंदीका यी युवाले तमोरका छालमा रमाउन चाहनेको अगुवाइ गर्न थालेको नौ वर्ष भएको छ । 'पौडी खेल्न आउँदैन भनेर डराउनु पर्दैन । हामी कसैलाई पनि डुब्न दिदैनौ', उनले भने, 'हामी कस्तो बेला जाँदा खतरा हुन्न भनेर सबथोक विचार र तयारी गरेपछि मात्रै खोलामा पस्छौं ।' उनको अनुभवमा पछिल्ला चार वर्षमा यो साहसिक पर्यटनमा नेपालीको सहभागिता दिनदिनै बढेको छ ।
राजधानीका र्‍याफ्टिङ सञ्चालक फर्महरूले विदेशी पर्यटकलाई प्याकेजमा घुमाउँछन् । त्यस्ता यात्रा हप्तौंको पनि हुन्छ । तर, ६ घण्टाको एडभेञ्चर तमोरमा सजिलै लिन सकिने उनले बताए । 'म पहिले यहाँको सिजन सकिएर इण्डियाको मनाली पनि पुग्थें । त्यहा पहिले इण्डियन गाइड थिएनन्', उनले भने, 'अब बग्रेल्ती भए । हाम्रो काम छैन । अब जहाँ हुन्छ नेपालभित्रै काम गरिन्छ ।' 
३० वर्षीय सेतुले रबरबोटमा धेरै नदि छिचोलेका छन् । 'यो पेशामा धेरैजना छन् । संगठीत छैनन्', उनले भने 'सबैले जिन्दगीमा एकपल्ट यस्तो यात्राको मजा लिनुपर्छ भन्ने मलाइ लाग्छ । हामीकहाँ विदेशी आएर मज्जा लिन्छन्, नेपाली किन पछि पर्ने ' र्‍याफ्टिङमा जानेका लागि अवधि, दूरि र र्‍यापीडका अवस्थाअनुसार फरक नदि, फरक शुल्क छन् । पायक पर्ने यात्रास्थल छान्नका लागि एकपल्ट अनुभव गरेका साथीका कुरा सुन्न उपयोगी हुने उनले बताए ।  
०००
मुलघाटबाट चतराघाटसम्म आइपुग्दा एकदेखि प्लस-चार भनिने र्‍यापीड दुइ दर्जन हाराहारी रहेछन् । प्लस अलि जोखिम र माइनसमा उद्धार अलि सजिलो हुने गाइडले सुनाए । धरानबाट मुलघाट जीपमा आइयो । किनारमा सामान उतारेर हावा भर्ने काम भयो । सेतुले 'सेफ्टी टिप्स' दिएपछि दुइवटा बोटको अघिअघि कायाकिङ निस्कियो ।
रबरबोटमा खानेकुरालगायत अत्यावश्यक सामान पनि थिए । सहभागीका एक-एकजोर लुगा, क्यामेरा पनि नभिज्ने गरि ब्यागमा बाँधिएका थिए । धरानका प्रियश गुरागाइँले छालसँगको पौंठेजोरीलाई भिडियोमा उतार्न ल्याएको 'गो-प्रो' क्यामेराको टेष्ट पनि यही यात्रालाई जुरेको थियो । कायिक सुनुवारको हेलमेटमा बाँधिएको गो-प्रो यात्रा सकिएपछि मात्रै हेर्ने शर्त थियो ।
विहानै धराने टोलीमा सामेल भएर जानुपर्ने भएकाले म अघिल्लै साँझ घरबाट हिडेका थिए । विराटनगरको स्नातकोत्तर क्याम्पसका  इकोलोजी प्राध्यापक मित्र कुलप्रसाद लिम्बुको घरमा वास बसियो । यात्राको तारतम्य उनले नै मिलाएका थिए । त्यसैले टोलीमा अलि बढि प्राध्यापक थिए ।
अघिल्लो रात वर्षा भएको थियो । त्यसैले हाम्रो यात्राका दिन तमोरको जलस्तर केही बढेको थियो । 'पानी यतिसम्म बढदा ठीकै हो । र्‍यापीड अलि धेरै छ', सुनुवारले भने, 'लगातार पानी परिरहयो र धेरै भेल आएका बेला गाह्रै हुन्छ ।'
हामीलाई सेतुले साथ दिएका थिए । अर्को रबरबोटमा साइँला भनिने हीरा परियार गाइड थिए । उनले बेला बेला छिटो चप्पु चलाउन दिएको निर्देशन प्रष्ट सुनिन्थ्यो । 'अरू ठाउँ नदिका आसपास बाटो हुन्छन् । कसैलाई डर लागेर उत्रनु पर्‍यो भने बीचैमा किनारा आएर जाउ भन्न सकिन्छ', सेतुले भने, 'तमोरमा त्यो सम्भव छैन । बोटमा चढेदेखि उत्रने ठाउँ दोभान मात्रै हो । त्यो पनि चार घण्टाभन्दा छिटो पुगिँदैन ।' उनले ठीकै भनेका थिए । तमोरका छेउछाउ त्रिशुली जसरी सडकमार्ग रहेनछन् । अप्ठेरो भीर फोरेर तमोर हतारमा बगेको देखिन्थ्यो । 
एकाएक धड्कन बढ्यो । घुमाउरो पानी भएको 'हेलहोल' भनिने र्‍यापीडमा एकजना भाइ हाम्रो बोटबाट खसे । बोट रोक्न हुने ठाउँ थिएन । तर, काइक फर्किए । उनले विस्तारै ती डुबेकाको ज्याकेट समाते । बोट अलि मुन्तिर किनार लाग्यो । उनको तत्कालै उद्धार भयो । 
नदि जति बेगले मुन्तिर कुदेको हुन्छ, भेलसँगै रबरबोट सम्हालिन चूनौति हुने रहेछ । माथिबाट ठूला ढुंगा छल्दै घुमेका पानीमा बोट नियन्त्रण गर्न नभ्याए फनफनी घुम्ने । पल्टिने पनि रहेछ । रबरबोटमा लाइफलाइन भनिने बलियो डोरीको आड नछाडी गाइडको आदेशअनुसार चप्पु चलाए आउने मजाको वर्णन गर्न सकिदैन । 'म त पौडी खेल्नै नजान्ने मान्छे । तैपनि जिन्दगीमा यस्तो यात्राको मजा लिन पाइयो', विराटनगरका डा. शिवकुमार राइले भने, 'जे हुन्छ हुन्छ भनेर जाँदा र्‍याफ्टिङ फेरि फेरि फरक कोर्सका नदिमा जान मन लाग्ने ।'
एक दिनमा तमोरमा धरानबाट जाने टोलीमा २३ जनाले यात्रा गर्छन् । ३४ किलोमिटर छालसगको यात्रामा विहान खाजा, खानाको व्यवस्था हुन्छ । चतराघाट उत्रिएर रबरबोटका हावा खुस्काएपछि त्यसलाई गाडीमा लोड गरिन्छ । विहान मुलघाट लैजाने गाडीहरूले फेरि धरान ल्याएर छाड्छन् । कौतुहल मन लिएर उकालो चढेको मान्छे मुलघाटबाट बगेर चतरा आएपछि यो यात्राका मिठा अनुभव लिएर घर फर्कन्छ । हामीले पनि त्यसै गर्‍यौ । दोभानमा आएर खाना खाएपछि नदिले केही फराकिलो मैदान भेटेजस्तो भयो । समथर भुभागमा बग्दा नदिमा पहाडबाट खसजस्तो बहावको करेन्ट नहुने । हावाले पनि धेरै हान्ने । 
६ घण्टापछि हाम्रो टोलीको यात्रा सकियो । किनार आइयो । बोटका हावा खुस्काइयो । पट्याएर गाडीका छतमा राखियो । अनि चतराको सडकमार्ग धरान आइयो । हाम्रो यात्रा सकियो । सेतु, साइला र सुनुवारको यात्रा भने सिजन चलुञ्जेल नया यात्रीका साथ हरेक दिन हामी गए जसरी नै चलिरहन्छ । 


तस्बिर : यात्रा थुलुङ 
(६ बैशाख २०७१ शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित सामाग्रीमा थोरै थपथापसहित)

Monday, April 14, 2014

प्राकृतिक स्रोतको डरलाग्दो दोहन

-    भीम घिमिरे र विनोद भण्डारी

'खोलामा स्काभेटर प्रयोग गर्न पाइँदैन । गरेमा कडा कानुनी कारबाही हुनेछ,' माइकमा बोल्दै हिंडेको जिप पछ्याएर मोरङ सुन्दरपुर बेलगाछी टोल छिचोल्दा गछिया खोलामा ट्याक्टर र ट्रकहरू ढुंगागिटी लोड गर्दै गरेका देखिए । चारकोसे वन क्षेत्र हुँदै तराई झरेको यो खोलामै बस्तीनजिकै चालु अवस्थाका तीनवटा क्रसर छन् ।
स्काभेटर प्रयोगमा रोक लगाएपछि पनि खोलाबाट जथाभावी ढुंगागिटी झिक्ने काम भने रोकिएको रहेनछ । स्थानीयले भेला पारेर थुपार्ने, ट्रक र ट्याक्टरमा लोड गरी क्रसरमै पठाउँदै गरेको यहाँ सधैं देखिने दृश्य रहेछ । सुन्दरपुरको एउटा क्रसरका कर्मचारीले भने, 'सबै मिलाएका छन् । गुन्डाको दबदबा छ । म त सानो कर्मचारी बोल्न मिल्दैन । हेरिरहन पनि अप्ठेरो भइसक्यो ।'
उनका अनुसार वन क्षेत्रभित्रको खोलाबाट स्काभेटर लगाएरै थुपारिएका ढुंगागिटी महिनौं पुग्ने गरी ठाउँठाउँमा भण्डार गरिएका छन् । 'एकातिर क्रसरको स्टक, अर्कातिर पैसा आउने लोभले लोकल मान्छेले नै पनि खोज्ने, थुपार्ने अनि क्रसरमा ट्रक ट्याक्टरबाट पठाउने गर्छन्,' उनले भने, 'सरकारी रोक भन्नु आँखामा छारोजस्तै हो । तल गाडीको पटके पुर्जी काट्नेदेखि माथिसम्म मिलेका छन् । विरोधमा बोल्ने भेट्नुहुन्न ।'
लेटाङको कमलपुरकी दिलमाया मगरका घरैअघि पानीट्यांकी बनेको दुई वर्ष भयो । 'यसमा पानी आउने आसै छैन, अलि माथि गाग्री लिएर बिहानै लाइन बस्छौं,' उनले भनिन्, 'त्यहाँ पनि धारा तिरतिरे छ । क्रसरले जथाभावी ढुंगागिटी झिकेको असर हो भन्छन् । खोइ हामीले कसरी बुझ्नु ?' पानीको पालोमा दिनहुँ भनाभन पर्ने गरेको उनले सुनाइन् । लेटाङ १ को कमलपुर र कीर्तिमान नजिकै चिसाङ किनारको क्रसरले प्रभावित गाउँ हुन् ।
स्थानीय नवीन श्रेष्ठले भने, 'गाउँलेले ठूलो जोखिम पुष्टि गरेर विरोध गर्न सक्दैनन् । पानी आएन, जमिन कटान हुने भो भनेर गुनासो गर्ने हो । सुनिदिने कोही भएन ।' उनको भनाइमा ठूलो लगानीमा सञ्चालित क्रसरले गाउँका अलि बोल्नेदेखि पहुँच भएका र सरकारी संयन्त्र सबैलाई मिलाएका छन् । 'यहाँबाट ढुंगागिटी नझिके यस्तो उस्तो जोखिम हुन्छ भनेर पहिले तर्साउँछन्, पछि बोल्नेका मुख बुजो लागेको देखिन्छ,' उनले भने, 'मुहान सुक्नु, धारामा पानी नआउनु, वन र खेत कटानमा पर्दै जानु नै प्रभाव होइन र !' सुख्खा बगरमा गाईवस्तु चराउन हिंडेका शेरबहादुर तामाङले भने, 'हामी ठूला कुरा बुझ्दैनौं । यी क्रसर ठूला मान्छेले चलाएका रे ।'
चिसाङ खोला क्षेत्रमा क्रसर उद्योगले अनधिकृत रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन नरोक्दा आसपासका बस्ती जोखिममा छन् । लेटाङ १ का कविराज काफ्लेले भने, 'खोला गहिरिएको छ । वर्षा लाग्दा कमलपुरका २ सय र कीर्तिमानका ३ सयजति घर जोखिममा पर्छन् ।'
तत्काल ढुंगा, गिट्टी र बालुवा झिक्ने काम बन्द नगरे आन्दोलनमा जाने भनेर स्थानीयवासीले बेलाबखत आवाज पनि उठाएका हुन् । तर बोल्नेहरूका भाषा बिस्तारै नरम हुँदै जानुले उनीहरू आपसमै शंका गर्छन् । नदी गहिरो भएकाले अब अलि बढी पानी आयो भने भोगटेनीको लोखरा गाउँमा धेरै क्षति हुन सक्छ । एस्काभेटर नै प्रयोग गरी यो क्षेत्रमा माधव एगि्रगेट र ओम क्रसर उद्योगले बालुवा, गिट्टी र ढुंगा निकाल्ने गरेका छन् ।
पूर्व-पश्चिम राजमार्गमा भाउन्नेबाट उत्तरको ५ किलोमिटर र दक्षिणमा दुई किलोमिटर क्षेत्रमा हेभी इक्युपमेन्ट चलाएर गरिएको उत्खननले केरौनको १ नम्बर वडामा पर्ने चिसाङ टोल प्रभावित छ । स्थानीय समीर राईले भने, 'यहाँको १ सय ४५ घरलाई जोखिम छ । बर्खामा उठिबास लाग्छ होला ।' बस्तीमा बाढी पस्न नदिन बेलैमा तटबन्ध बनाइनुपर्ने उनले बताए ।
 जथाभावी प्राकृतिक स्रोतको दोहनले बयरवन गाविसका ६, , ८ र ९ का बस्ती, बाहुनीको ८ र ९, होक्लाबारीको ५, ६ र ९ र दर्बेसाका केही बस्तीमा पनि असर पुग्ने अवस्था आएको छ । चिसाङ यिनै गाविस भएर बगेको छ । केरौन १ का अरुण चाम्लिङले भने, 'विनाश भयो भने त भैगो नि । यस्तो देख्तादेख्तै सरकारले रोके हुने ।' उनका अनुसार खोला गहिरिनुले एकातिर वषर्ामा उठिबासको त्रास बढाएको छ, अर्कातिर आसपासका किसान खेत सिंचाइ सुविधाबाट वञ्चित हुनुपरेको छ । केरौनका गोविन्द अधिकारीले भने, 'पुरानो कुलो मासियो । हामी अब आकासे पानीको भर नपरी अर्को उपाय छैन ।' खोला गहिरिँदा चारकोसे वन क्षेत्रका रूखबिरुवालाई पनि असर परेको छ । 'चिसाङकै पुल पनि जोखिममा परिसक्यो,' स्थानीय मोहनसिंह मगरले भने ।
०६४ देखि सञ्चालित माधव एगि्रगेटले सुरुदेखि नै कानेपोखरी-रंगेली सडक निर्माणका लागि ढुंगागिटी चाहिएको आडमा स्काभेटर चलाएर अनियन्त्रित उत्खनन गरेको आरोप छ । सडकलाई चाहिएको निहुँमा ठाउँठाउँ थुपारेका ढुंगागिटीले पनि अनियन्त्रित उत्खननको पुष्टि गर्छ । सञ्चालक कृष्ण प्रसाईँ भने नियम बाहिर गएर काम नगरेको दाबी गर्छन् ।  
चिसाङ खोलामा सञ्चालित चारमध्ये हाल दुइटा मात्र क्रसर सञ्चालनमा छन् । दुवैले झुक्याएर हेभी इक्युपमेन्ट प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाले पनि रोकथामको दरिलो विकल्प छैन । इलाका वन बयरवनका प्रमुख भोलानाथ चौधरीले भने, 'तपाईंलाई थाहा हुनुपर्छ झट्ट अनुगमनमा जान र रोक्न हामीसित कति साधन र स्रोत हुन्छ ।' सरकारी संयन्त्रमा पहुँच भएका क्रसरका अगाडि सामान्य रूपमा घुमफिर गरेर 'यस्तो नगरिदिनुस्' भन्ने काम वनले गरिरहेको उनले बताए ।
'सुरुमै गाउँलेले विरोध गरेका हुन् तर सरकारले स्वीकृति दिएको देखिएपछि कसरी रोक्ने ?' स्थानीय जनजागृति सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष भोजकुमार राईले भने, 'मनोमानी छ । हामी सके जति खबरदारी गर्दै छांै ।' गाउँलेले क्रसर उद्योग सञ्चालन हुन नदिन चलाएको अभियानलाई बेवास्ता गर्दै मन्त्रिपरिषद् बैठकबाटै अनुमति ल्याएपछि आफूहरूको जोड नचलेको उनले सुनाए । अघिल्लो साता इटहरीको बुढीखोला मुक्तिघाट उद्घाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइरालालाई उनकै पार्टी कार्यकर्ताले क्रसर जथाभावी रोक्न आग्रह गर्दै ज्ञापनपत्र बुझाए । ज्ञापन दिनेमध्येका सुजेन्द्र तामाङले भने, 'कहालीलाग्दो अवस्था छ । जथाभावी ढुंगागिटी झिकिदिएपछि हुने विनाश एउटा पार्टी, व्यक्ति र गाउँको मात्रै चिन्ता र चासोको विषय होइन ।' उनका अनुसार सुनसरीको सेउतीमा स्काभेटर प्रयोग भएको छ । 'जथाभावी उत्खननले गर्दा सेउतीले पाँचकन्या जाने बाटो नै बगायो । जमिन पनि कटान गर्‍यो,' उनी भन्छन्, 'अनुमति दिँदा पनि एउटा मापदण्ड हुनुपर्‍यो । सरकार चुप लागेर बस्न मिल्दैन ।'
सुनसरी-मोरङका क्रसरले ढुंगागिटी ९० प्रतिशत भारत निकासी गर्ने हुन् । सुनसरी र मोरङका भन्सार कार्यालयका अनुसार गत माघ २३ यता आधिकारिक रूपमा निकासी बन्द छ । हाइवा भनिने एउटा ट्रकले बढीमा १७ घनमिटर ढुंगागिटी बोक्छ । सुनसरीबाट चालु वर्षको सात महिनामा ६ हजार ३ सय १४ घनमिटर र मोरङको रानी भन्सार भएर ३ हजार २ सय ९० घनमिटर ढुंगा निकासी भएको छ । ढुंगामा भन्सारले प्रतिघनमिटर ८ सय राजस्व लिँदै आएकामा हाल १ हजार २ सय पुर्‍याएको छ ।
मोरङको गछियास्थित पशुपति क्रसरबाट मात्रै एक दिनमा फुलडाला ट्रक र हाइवा गरी ९० वटाको हाराहारी निस्कने गरेको स्थानीय पटके कर चौकीको रेकर्डबाट देखिन्छ । यति धेरै परिमाणमा बाहिर पठाउने क्रसर तीनवटा छन् । सामान्य क्रसरले पनि दिनको आठ सयदेखि हजार घनमिटर ढुंगा बाहिर निकाल्छन् । यिनमा २० प्रतिशत हाराहारी मात्र स्थानीय बजारमा खपत हुन्छ । बाँकी भारततिरै जान्छ । तर भन्सारसँग यसको रेकर्ड छैन । सुनसरीका भन्सार प्रमुख भीम अधिकारीले दाबी गरे, 'अहिले ढुंगा निकासी ठप्प छ ।'
एउटैको चलखेल
मोरङका खोलाबाट ढुंगागिटी ठेक्कामा इटहरी २ का भीमबहादुर पौडेलको एकाधिकार छ । उनको आफ्नै पनि क्रसर छ । आफैं खोला ठेक्का लिने र आफैं ढुंगा, गिटी बालुवा बेच्ने गर्दै आएका उनी भन्छन्, 'झिकेर ल्याउनेसँग मैले त कर संकलन मात्रै गर्ने हो । म आफंै खोस्रन कहाँ जान्छु र ।' मोरङमा खोलाबाट झिकेर ल्याइने स्रोतका लागि ३ सय ३५ वटा नाका रहेको बताउँदै उनले भने, 'सबै नाकामा मान्छे राखेर काम लगाउन सक्ने क्षमता अरूको नभएकाले ठेक्का मलाई दिइएको होला । बर्सेनि ठेक्का पनि त बढेकै छ । त्यति टेन्डर हाल्ने क्षमता भएका मात्रै प्रतिस्पर्धामा आउन सक्छन् ।'
उनको विनिता श्री टे्रडर्सले ०६८/०६९ मा ३ करोड ७५ लाख, ०६९/७० मा ४ करोड ८० लाख र २०७०/७१ मा ६ करोड ६६ लाखमा मोरङका ढुंगा, गिटी, बालुवाबाट ठेक्का लिएको जिल्ला विकासको वातावरण शाखाले जनाएको छ । उनले आफ्नो क्रसरलाई चाहिने ठाउँबाहेक अन्य ठाउँ अरूलाई ठेक्का दिने गरेका छन् । 'उनीबाहेक अरू कसैले टेन्डर हाल्दैनन्,' शाखाका खरिदार चतुर्भुज माझीले भने, 'उहाँ आउनुभएन भने त ठेक्कै जाँदैन होला ।'
खोला ठेक्का गएका आसपासका बस्तीले गरेको गुनासोमाथि जिल्ला प्रशासनको ध्यानााकर्षण भइरहेका बेला जिविसको यो शाखामा भने कुनै उजुरी छैन । ठेक्का दिएपछि त्यसको अनुगमन जिम्मा पनि यही शाखाको हो । 'क्रसरले पारेको असरबारे कतैबाट उजुरी आएको छैन,' शाखा प्रमुख रोशन जोशीले भने, 'बरु मधुमल्ला खोलामा ढुंगागिटी थुपि्रयो, झिकिदिनुपर्‍यो भनेर गाउँलेले निवेदन दिएका छन् ।'
संघ दर्ताको घुमाउरो बाटो
प्राकृतिक स्रोतको गैरजिम्मेवार तरिकाको दोहन रोक्न सरकारले तयार पारेको मापदण्डलाई चुनौती दिन क्रसर सञ्चालकले आन्दोलनको बाटो अख्तियार गरेका छन् । पहिलो चरणमा उनीहरूले संघ दर्ता पहल गरे । जिल्ला प्रशासन मोरङले उद्योग र वन मन्त्रालयको सहमति भएमात्रै दर्ता दिन सकिने भनेर फर्काइदियो ।
मोरङका प्रजिअ काकीले भने, 'हामीले उद्योग र वनसँग पनि सम्बन्धित भएकाले उनीहरूको पनि सहमति चाहिन्छ भन्यौं । उनीहरू फर्केर आएनन् ।' क्रसर सञ्चालकले भने, 'कोसी क्रसर व्यवसायी संघ' को नामबाट सुनसरी प्रशासनमा संघ दर्ता गराएका छन् । नियोजित रूपमा संगठित उनीहरूले दर्ता पाएलगत्तै इटहरीमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई सरकारले पेलेका कारण जनाई गत सातादेखि क्रसर बन्द घोषणा गरे ।
उता सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेल क्रसर भन्ने नाम राख्दैमा व्यवसायीको संगठन दर्ता रोक्न नमिल्ने बताउँछन् । 'व्यवसायीको संगठन दर्ता भएको हो । ऐनमा रोक्नु भन्ने छैन', उनले भने, 'यदि दर्ताको आड लिएर कानुनविपरीतका काम गर्छन् भने उनीहरूलाई समाउने ठाउँ छन् ।' संगठित भएर सरकारलाई ज्ञापनपत्र पनि बुझाएका व्यवसायीले आफूहरूले कर तिर्दै आएका कारण उद्योगलाई अप्ठेरो पार्न नमिल्ने जिकिर गरे । यद्यपि दाबी गरिए जसरी क्रसरहरू बन्द छैनन् ।
के गर्दै छ सरकारी संयन्त्र
क्रसर सञ्चालनका लागि सरकारले तयार पारेको मापदण्ड लागू गराउन जिल्ला प्रशासनले दुईपटक सम्बद्ध सञ्चालकलाई पत्राचार गरिसकेको मोरङका प्रजिअ गणेशराज कार्कीले बताए । राजमार्ग, खोला किनारभन्दा ५ सय मिटर टाढा हुनुपर्ने र बस्तीबाट २ किलोमिटर टाढा क्रसर राख्नुपर्ने मापदण्डमा छ । 'टोली बनाएर अनुगमन गरिरहेका छौं,' उनले भने, 'पहिलो चरणमा क्रसरसँग भएको स्टक र सार्ने कता हो भनेर सोध्दै छौ । पहिलो रिपोर्ट (आइतबार) टोलीले दिएको छ ।'
गाउँलेका गुनासा आएपछि तीव्र पारिएको अनुगमन क्रममा हेभी इक्युपमेन्ट प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाल्ने केही क्रसरलाई कारबाही गरिएको उनले बताए । कडा निगरानीका लागि सशस्त्र र नेपाल प्रहरीलाई पत्र काटिसकेको उनले जनाए । घरेलु कार्यालयका प्रमुख प्रकाश आचार्यले भने, '३ करोडसम्मका क्रसरले सञ्चालन इजाजत हाम्रो कार्यालयबाट लिने हो । उनीहरूलाई अहिले हामी मापदण्डभित्र आएर सञ्चालन गर भनिरहेका छौ ।'