Thursday, July 24, 2014

रहरका रेडियो

सूचना र मनोरञ्जनको सहज माध्यम रेडियोको पहुँच सञ्चारमाध्यममध्ये सबैभन्दा बढी छ । प्रजातन्त्र पुनस्थापनापछि निजी क्षेत्रमा एफएम रेडियो खुल्ने क्रम बढेसँगै यसका स्रोता पनि ह्वात्तै बढेका हुन् । खासगरी रहरैरहरमा खोलिएका एफएमहरूमा कुशल व्यवस्थापन अभावका कारण समस्या छ । आम्दानीको स्रोत एकदमै सीमित भएकाले आर्थिक संकट झेलिरहेका छन् । विराटनगरबाट भीम घिमिरे, सुनसरीबाट प्रदीप मेन्याङ्बो, वेदराज पौडेल, पाँचथरबाट लवदेव ढुंगाना, ताप्लेजुङबाट आनन्द गौतम, ओखलढुंगाबाट कुम्भराज राई, झापाबाट चेतन अधिकारी, पर्वत पोर्तेल र सिरहाबाट देवनारायण साहको २ साउन २०७१ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट-

विराटनगर- एकसमय कान्तिपुर एफएमका कार्यक्रममा पूर्वबाट रामभरोस चुलबुलेका नाममा अत्यधिक फोन गर्ने विराटनगरका पंकजहरि शर्मालाई एफएमकर्मीहरूसँगको भेटघाटले रेडियो खोल्ने रहर लाग्यो । पाञ्चालीस्थित घरैमा 'हेलो' एफएम खोले । एक वर्ष चलाएपछि बेचे । 'रेडियो चलाउन रहरले नहुने । योजना चाहिने, टिम चाहिने र आम्दानी दिगो बनाउन धेरै खट्नुपर्ने हुने रहेछ', उनले भने, 'बेचिहालियो । फेरि अर्को त्यस्तै योजनामा छु ।' २००७ सालमै क्रान्ति गीत प्रसारण गरेर रेडियो बजेको उपमहानगरमा हाल १० वटा एफएम छन् । 
धेरैको सञ्चालन सुरुवातका कथा पंकजसँग मिल्दाजुल्दा छन् । रेडियो पूर्वेली आवाजका स्टेशन मेनेजर विक्रम लुइटेल भन्छन् 'मोरङमा १७ वटा पुगिसके । केहीको अवस्था नाजुकै छ ।' २०५६ मा खुलेको यहाँको पहिलो रेडियो कोशी एफएमबाट छुट्टएिका सन्देशदास श्रेष्ठले 'बीएफएम' सञ्चालनमा ल्याए । उनले भने 'मेरो चलाउने तरिका अलि फरक छ । बजार र रेट बिगारेर विज्ञापन लिनै हुन्न । आफ्नो अडान राखे बजार बन्दै आउ“छ भन्ने हामीले गरेर देखाएका छौ ।' बजार व्यवस्थापन चुस्त हुन नसकेका केही एफएम रहरका मात्रै छन् । भरपर्दो आम्दानी नभएर विद्युत, घरबहाल, कर्मचारी खर्च पुर्‍याउन संकट छ ।
अस्वस्थ प्रतिष्पर्धा 
पाँचथर- २०६४ मा सुम्हालुङ एफएम स्थापित हुन नपाउँदै केही व्यवसायीले अर्को खोल्ने सोच बनाए । कारण थियो- सुम्हालुङको शेयर खरिद गर्न नपाउनु । त्यसबेला सुम्हालुङको 'लिम्बुवान' को क्षेत्रीय राजनीतिबारे बढी प्राथमिकता थियो । 'सन्तुलित समाचार अभावमा व्यवसायिक रेडियोले जन्म लिएको हो' सिंहलीला एफएमका तत्कालीन स्टेशन मेनेजर तुलसी थापाले भने, 'हामी लगानीकर्ताले पैसा थप्दै चलाउँदै छौं । लगानी उठोस् नउठोस् जेनतेन चल्दिए हुन्थ्यो ।' फिदिममा  तीनवटा एफएम छन् ।
सञ्चालकबीच बेमेल, टिमवर्क अभाव, कमजोर व्यवस्थापन, दक्ष जनशक्ति कमी, विज्ञापनको सीमितता र अस्वस्थ प्रतिस्पर्धाजस्ता कारण संकटमा छन् । प्रायः एकैखाले समस्यामा गुज्रिरहेका रेडियोहरूमा महसुल बुझाउन नसक्दा पटकपटक टेलिफोन र बिजुली काटिने समस्या छ । उपकरण बिग्रिए हप्तौं बन्द पनि हुन्छन् । धेरै गीति र 'फोनइन' कार्यक्रम चलाउने गरेका रेडियोले इन्टरनेटको सहारामा स्थानीयभन्दा बढि राष्ट्रिय समाचार बढी प्रसारण गर्छन् ।
'स्थानीय समस्या र सर्न्दर्भमा पर्याप्त कार्यक्रम छैनन् । सुन्ने कि नसुन्ने भन्ने हुन्छ' गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष बालकृष्ण ओझाले भने । राष्ट्रिय रेडियोकै ढाचाका कार्यक्रमले स्थानीय रेडियो छान्न स्रोतालाई मुश्किल परेको सुम्हालुङ एफएमका अध्यक्ष दिलेन्द्र कुरुम्बाङले स्वीकारे । 'एफएमबीच समन्वय भएन' उनले भने, 'गुणस्तर बढाउनुभन्दा अस्वस्थ प्रतिस्पर्धाबाट विज्ञापन तान्ने ध्याउन्नमा अवस्था खस्कँदै गएको हो ।'
इगल एफएमको सञ्चालक याक्थुम्हाङ मिडियाका अध्यक्ष तेजकुमार कुरुम्बाङले भने 'लगानी उठ्ने सम्भावना छैन । खर्च धानेर चले भइगयो । सामाजिक प्रतिष्ठा र पहिचानको लागि घाटा भए पनि रेडियो चलाइन्छ ।'
२० लाखको लगानीको सय वाटको सुम्हालुङमा शेयरधनी ७५ जना छन् । १० जना नियमित कर्मचारी राखेर सञ्चालन भइरहेको रेडियोको मासिक ५० हजारमात्र खर्च छ । आम्दानी पनि त्यो भन्दा बढेको छैन । 'बीबीसी र सामुदायिक रेडियो प्रसारक संघ(एकोर्याब) लगायतबाट आउने सहयोगले चलिरहेको छ' व्यवस्थापक चन्द्र आङदेम्बेले भने । ५० लाख लागतको सिंहलीला एफएममा खर्च जति आम्दानी नहुँदा १० लाख लगानी थपिएको सम्बद्ध रेडियोकर्मीले बताए । 
स्थानीय विज्ञापनको भर
ताप्लेजुङ- रेडक्रस शाखा सभापति टीकाराम गौतमको निधनमा ताप्लेजुङ एफएमले तीन वर्षघि समवेदनाबाट ९५ हजार कमायो । प्रत्येक उपशाखा र संघसंस्थाले एकदेखि दुइ हजारका दरले दिएको समवेदना सात दिन बजाउँदा कर्मचारीलाई तलब खुवाउन पुग्यो । 
उद्योग वाणिज्य संघ अध्यक्ष सन्तोष खतिवडा महासंघ केन्द्रीय सदस्य हुँदा बधाई विज्ञापन दिनेबाट ५० हजार उठ्यो । निधन वा कसैको पदोन्नति भए एफएममा विज्ञापन दिने चलन छ । तत्कालिन मार्केटिङ म्यानेजर सुवास आचार्यका अनुसार शिक्षा कार्यालयका लयप्रसाद निरौला उपसचिव बन्दा एफएमबाट बधाई शुभकामना दिने शिक्षक सयभन्दा बढी थिए । 
'पहिलेपहिले मार्केटिङ गर्न हिड्नु पर्दैनथ्यो' उनले भने, 'अहिले विज्ञापन घट्यो । बहुराष्ट्रिय कम्पनीका बिज्ञापन आइनपुग्ने जिल्लामा लोकल एड खोजेरै खर्च धान्नु पर्छ ।' १ लाख २७ हजार जनसंख्या भएको ताप्लेजुङमा तीन एफएम छन् । जिल्लाको पहिलो तमोर एफएमका स्टेशन म्यानेजर सजन पौडेलले भने 'आ-आफ्नो ढंगले चल्ने हो । मलाई रेडियो चलाउन समस्या लाग्दैन ।'  
ऋण उकास्न धौधौ
धरान- ६ बर्षघि ५० जना सञ्चारकर्मी, उद्योगी, व्यवसायी मिलेर धरानमा हजार वाटको विजयपुर एफएम सञ्चालनमा ल्याए । करिब ६० लाख लगानीको एफएम दैनिक १८ घण्टा घन्क“दा सेयर सदस्यदेखि रेडियोकर्मी सबै दंग थिए । अग्रीम पूँजीका आधारमा खुलेको एक बर्षपछिमात्र सञ्चालकले रेडियोका मुख्य समस्या थाहा पाए । सानो बजार, विज्ञापन अभाव, अनुभवहीन व्यवस्थापन, सिकारु प्राविधिक र कार्यक्रम सञ्चालकमा देखिएको अपरिपक्वपनले चलाउन गाह्रो भएको विजयपुर मिडिया ग्रुपका अध्यक्ष मनोजकुमार मेन्याङ्बोले बताए ।
ऋण उकास्न रणनीति फेर्दै उक्त रेडियोमा हाल नयाँ व्यवस्थापनमा छ । स्टेशन म्यानेजर हिमाल राईले भनिन्, 'स्थापित हुनुपर्नेमा उल्टै घाटामा जान थालेको थाहा पाएपछि कार्यसमितिका साथीहरूले मेरो हङकङमा हुँदाको १२  वर्षे रेडियो संचालनको अनुभवको आधारमा स्टेशन म्यानेजर बनाए । केही सुधार गरेकी छु ।'
१७ कर्मचारीको मासिक तलव, विद्युत महसुल र घरभाडा तिर्ने बेलामा धान्नै गाह्रो परिरहेको उनले बताइन् । उनले भनिन् 'महिनाको नियमित खर्च ३ लाख भन्दा बढी हुन्छ । त्यतिनै आर्जन गर्न विज्ञापन जुटाउन चुनौति छ ।' 
धरानमा ५ वटा एफएम छन् । दन्तकाली एफएमका स्टेशन म्यानेजर दुर्गा भूजेलले भने, 'स्थापना गरिहालियो, चलाउनै गाह्रो भो ।' १० जना शेयर सदस्यको ३५ लाख लगानी भएको उक्त एफएम पनि संकटमुक्त छैन । उनले भने, 'वर्षमा २५ लाख कमाइ, ३० लाख खर्च । अनि कसरी धान्ने हो, समस्या छ ।' राजधानी केद्रित विज्ञापन पाउन गाह्रो भएकाले पनि समस्या पर्ने उनको अनुभव छ ।
रेडियो धरानका अध्यक्ष लक्ष्मण श्रेष्ठको अनुभव पनि फरक छैन । उनले भने, 'विज्ञापन निराश लाग्दो छ । चलाउनै गाह्रो भो ।' एमाओवादी फुटेपछि धरानकै गणतन्त्र एफएम दुइ समूह भएको छ । फुटेर गएको समूहले जनसन्देश एफएम चलाउने बताएको छ । गणतन्त्र एफएमका प्रबन्धक डेविड बस्नेतले भने, 'माओवादीको एफएम भनेर सोचिदिनाले बजारमा अलि गाह्रो छ ।' पछिल्लोपटक खुलेको हार्ट एफएम सात इशाइ धर्मावलम्बीको समूहले स्थापना गरेको हो । सञ्चालक अध्यक्ष हिमाल राईले भने, 'व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । कर्मचारीलाई भनेको बेला तलब दिन सकिएको छैन ।'
पहाडदेखि हिमालसम्मै
ओखलढुंगामा आफ्नो र रमाइलो सामुदायिक हुन् भने रेडियो ओखलढुंगा व्यवसायिक एफएम हुन् । बेलायतको 'फिभा रेडियो' को सहयोगमा मानव विकास तथा सामुदायिक सेवा नामको संस्थाले चलाएको 'आफ्नो एफएम' नियमित बज्छ । 'फिभाले सुरुमा चार वर्षमात्रै सहयोग गर्र्छौ“ भनेको थियो' स्टेशन म्यानेजर बिनुमाया राईले भनिन्, 'उनीहरुले हात झिक्ने बित्तिकै रेडियो बन्द हुने स्थिति देखेपछि हालसम्म सहयोग पाइएको छ ।'
थप दुइ रेडियो दर्ता भएर प्रसारणको तयारीमा छन् । जिल्लामा उद्योग कारखाना नहुनु र सानो बजार भएको ठाउँमा रेडियो चलाउनु चुनौति छ । व्यावसायिक रेडियोको रुपमा दर्ता भएको 'रेडियो ओखलढुंगा' मौसमी ढंगबाट बज्दै आएको छ ।
सामुदायिक भनेर स्वीस विकासको सहयोगमा स्थापित 'रमाइलो सामुदायिक रेडियो' मा पनि व्यवस्थापन अस्तव्यस्त छ । पारिश्रमिककै कारण कर्मचारी र पत्रकारले रेडियोको काम छाड्नु यहाँ नौलो छैन । 
सोलु एफएमबाट सुरू भएको सोलुखुम्बुमा हाल ६ वटा रेडियो छन् । हिमाल, दूधकोशी, शिखर, चोमोलुङमा, खुम्बुलगायत प्रसारणमा छन् । 'पहिले हाम्रोमात्रै हुँदा निकै सहज थियो । अहिले कम्पिटिसनले चलाउन चुनौति छ' सोलु एफएमका अध्यक्ष बुद्धिनारायण राजभण्डारीले भने, 'उही सामग्री, उही ठाउँ, उही विज्ञापनले कसरी चलाउनु ? पहिले एउटाले पाउने विज्ञापन अहिले चार,पाँच वटाले बाँड्नुपर्छ ।'
१० वर्षेखि सञ्चालनमा रहेको सोलु एफएममा २० कर्मचारी छन् । गाउँबाटै प्रसारण गर्ने रेडियोमा काँगेलबाट चोमोलुङमा एफएम छ भने नाम्चेको स्याङबोचेबाट खुम्बु एफएम बजिरहेको छ ।
हिमाली संचार लिमिटेडले सुरु गरेको खुम्बु एफएम संसारकै सबैभन्दा उँचो भागबाट बज्ने दाबीसमेत गरिएको छ । यो समुन्द्री सतहबाट १४ हजार फिट उचाईमा अवस्थित छ । स्टेशन म्यानेजर भानुभक्त ढुंगानाले भने 'काम गर्न दक्ष जनशक्तिको अभाव छ अर्कोतिर व्यवसायिक पनि बनाउन सकिएको छैन ।'
सञ्चालनमा समस्या
सिरहा- आधा दर्जन सबै एफएम सिरहामा आर्थिक संकटमा छन् । समाद एफएमका सञ्चालक अध्यक्ष नन्दकिशोर चौधरीले भने 'दिगो रूपमा चलाउन वार्षिक १५ रुपैयाँ बुझाउने हालसम्म २ हजार सदस्य बनाइसकेका छौं ।' 
चट्याङ परेर ट्रान्समिटर जल्यो । सापटी गरेर नयाँ खरिद गरेकोले कर्मचारीहरुलाई समयमा तलब दिन नसकेको सामुदायिक रेडियो सल्हेश एफएमका अध्यक्ष चन्द्रदेव कामतीले बताए । उनले भने 'कृषि विकास बैंकबाट लिएको १८ लाख ऋण तिर्न नसक्दा हैरान छौ ।'  
नौजना व्यापारीले ३५ लाख लगानी गरि सुरु गरेको मिर्चैयास्थित रेडियो धडन एफएममा वर्षदिनमै ८ लाख घाटामा गयो । ६ जनाले शेयर फिर्ता लिए । प्रबन्धक तथा सञ्चालक अन्जय साहले भने 'खर्च धेरै विज्ञापन कम हुनाले संकट पर्ने गरेको छ ।' लहानमा सञ्चालित सामुदायिक रेडियो समग्र, सौगात एफएम र गोलबजारमा आकाश गंगा एफएमको पनि आर्थिक अवस्था धरमर छ । 
इटहरीमा पाँचमध्ये एउटा एफएम बन्द भयो । 'प्राय एफएमहरूको अवस्था धरासायी छ', सप्तकोशी एफएमका स्टेशन म्यानेजर तथा ब्रोकास्टिङ एशोशिएसन नेपालका महासचिव चन्द्र न्यौपानेले भने, 'सञ्चालनको आवश्यक पूर्वाधारबिनै सरकारले लाइसेन्स दिएपछि नयाँ खुलेकाको बिजोकै छ ।'
आर्थिक समस्याले पूर्वोदय एफएम बन्द भयो । झुम्का बजारमा रामधुनी र इनरुवामा पपुलर एफएम थपिए । 'जो प्रतिस्पर्धामा जो खरो उही दह्रो । धेरै खुलेर केही हुन्न', इटहरी एफएमका अध्यक्ष चेतन धमलाले भने, 'मेहनत नगरी खोल्नेबित्तिकै पैसा बर्सिन्छ भन्ने सोच राखेकाहरू टिक्दैनन् ।' 
संखुवासभाको खाँदबारीमा तीनवटा एफएम छन् । १३ लाख  संकलन गरि सञ्चालनमा ल्याइएको सामुदायिक रेडियो खाँदबारी एफएमका ३ सय ५१ जना शेयर सदस्य छन् । परीक्षण प्रसारण थालेको सुनाखरी रेडियोका प्रवन्ध निर्देशक वीरबहादुर लिम्बुले करिब ३० लाख लगानी गरेको बताए । 
करीव ४४ लाख संकलनपछि सञ्चालनमा आएको गुराँस एफएमका मेनेजर गंगा बिष्टले आम्दानीको स्रोत भरपर्दो नभएको बताए । 
झापामा १६ वटा एफएम छन् । केही दर्ता भएर प्रसारणको तयारीमा पनि छन् । ८ लाख १२ हजार ५ सय ६० जनसंख्या भएको जिल्लामा यतिविघ्न एफएम आवश्यक हुन् कि होइनन् भन्ने वहस सुरू हुन थालेको छ । 
'एफएम खोल्नका लागि आवश्यक पूर्वाधार, बजारको अवस्था र फ्रिक्वेन्सीको ख्याल नगरी लाइसेन्स बाँड्दा रेडियो समाजको सबभन्दा अब्यवस्थित क्षेत्र बनेको छ', कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारीले भने, 'सफल ब्यवसायी पनि रेडियोमा लगानी गरेर डुबेका छन् ।'
३७ लाख लगानीमा खुलेको सुरूङ्गास्थित रेडियो सन्देश तेस्रो वर्ष आइपुग्दा संचालकलाई धान्नै हम्मे पर्‍यो । 'एफएम नाफामा छैन', संचालकमध्येका राजेन्द्र मैनालीले भने,'तीन वर्षमा खर्च करोड नाघ्यो । आम्दानीको हविगत नाजुक ।'
रहर र 'प्रेस्टिज' का लागि खुलेका झापाली धेरै रेडियोको हालत नाजुक छ । पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेलले भने 'अस्वस्थ प्रतिष्पर्धाले बजार बिगारेको छ । योजना विनै खुलेका रेडियोको हविगत त पत्ला हुने नै भयो ।' बिना योजना प्रविधिमा ठूलो लगानी फ“सेपछि धेरैलाई निल्नु न ओकल्नु भएको उनले बताए । झापाको विर्तामोडमा ७ वटा एफएम छन् । पूर्वी नाका काँकडभिट्टादेखि दमकसम्मको करिव ४० किलोमिटर राजमार्ग क्षेत्रमा चोकैपिच्छे एफएम स्टेशन छन् । 
पत्रकारलाई महंगो पर्दै रहर 
एफएममा आवाज सुनेका रेडियो प्रस्तोता-आरजे)लाई सेलिब्रेटी मान्ने यूवापुस्ता आफू पनि रेडियोमा बोलेर अरूका लागि यस्तै बन्न चाहन्छन् । क्रेजका अगाडि पैसाको तुलनै नहुने भएकोले बिना पैसा रेडियोमा काम गर्न तयार हुनेहरू धेरै छन् ।
त्यसो त राजधानीका चलेका एफएममा काम गरिरहेकामध्ये धेरैजनाका लागि जिल्लाहरूबाटै काम गरेको अनुभवले बाटो खोलेको छ । हाल टेलिभिजन कार्यक्रम प्रस्तोता भएका झापा लखनपुरका भुपाल लुइटेलले चार वर्षघिका कुरा सम्झँदै भने 'मलाइ रेडियो क्रेज यस्तो थियो सप्तरंगी एफएममा दुइ वर्ष पैसै बिना काम गर्छु भनेथें । यसो भन्नु गलत रहेछ । क्षमता बनाएर रेडियोमा प्रवेश गर्ने र सुरुकै दिन देखि पारिश्रमिक लिनुपर्ने रहेछ ।'
एफएमहरुलाई अत्यावश्यक खर्च जुट्छ । तर, कार्यरत सञ्चारकर्मीलाई तलब दिन लेखापाल भन्छन् 'पैसा पुग्दैन ।' यसमा काम दिने र लिने दुबै पक्ष जिम्मेवार भएको ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका पूर्वाञ्चल उपाध्यक्ष कुमार भट्टराई बताउँछन् । 'काम दिनेले राम्रो काम दिने र लाउनेले पनि श्रमको मूल्य दिनै पर्छ ।' दमकको सप्तरंगी एफएमका प्रवन्ध निर्देशक गिरीराज भट्टराई भन्छन् 'आर्थिक रूपमा सुदृढ नभइ रेडियोहरूले पत्रकार-कर्मचारीलाई खुशी पारेर पाल्न सक्दैनन् । 
प्रतिवेदनले के भन्छ ?
सञ्चार मंत्रालयअर्न्तर्गतको न्यूनतम पारिश्रमिक निर्धारण समितिको श्रमजीवी पत्रकारको पारिश्रमिक अध्ययन प्रतिवेदन २०७० ले एफएमको अवस्था कमजोर देखाएको छ ।  रेडियोका ६७.४ प्रतिशत सञ्चारकर्मीले मात्र महिनैपिच्छे तलब पाउँछन् । दुर्इ महिनामा एकपटक तलब पाउने १३.३६ र दुइ महिनाभन्दा बढी समयमा तलब पाउने १२.६९ प्रतिशत छन् । श्रमजीवी पत्रकार ऐन (संशोधित २०६४) ले न्यूनतम तलव मासिक १० हजार ८ रुपैंया तोकेको छ । रेडियोका ४७.८८ प्रतिशतले न्यूनतम भन्दा कम पाउँछन् । 
'व्यवस्थापन सुधारौं'
ब्रोडकास्टर्स एसोसिएसन अफ नेपाल (बान) का केन्द्रीय अध्यक्ष गोपाल झाले अनियन्त्रित लाइसेन्स वितरण, स्रोतको असमान वितरण, समाचार र कार्यक्रमका लागि बढ्दै गएको परनिर्भरता, व्यवस्थापनमा कमजोरी र कमसल प्रविधिका कारण रेडियोहरू धराशायी बन्दै गएको बताएका छन् ।  '४/५ हजार जनसंख्या भएको ठाउँमा बजारको अध्ययन नै नगरी ३/४ वटा रेडियो चलाउने स्वीकृति दिइएको छ' उनले भने, 'सूचना/मनोरञ्जनको क्षेत्रमा सबैभन्दा बढी लोकप्रिय र ग्रामीण क्षेत्रसम्म पहुँच भएका रेडियोलाई कम विज्ञापन छुट्याइनुले अझ समस्या पारेको छ ।' 
नेर्टवर्कमा आवद्ध भएर काठमाडौमा उत्पादन भएका समाचार र कार्यक्रम बजाउने पूर्णरूपले आश्रीत हुने स्थानीय रेडियोलाई आर्थिकरूपले कमजोर बनाएको उनको टिप्पणी छ । 'स्थानीय रेडियोमा स्थानीय भाषा, समाचार, कार्यक्रमलगायत सामाग्री नपाउँदा एकातिर यसले आफ्नो आवाजलाई कमजोर बनाइरहेको छ भने अर्कातिर स्थानीय रेडियोसम्म सानो हिस्सामात्र सहयोग पुग्ने गरेको छ' उनले भने । 
आर्थिकरुपले धराशायी भएका रेडियोले मेहेनेत गरेर कार्यक्षमतामा वृद्धि गरेनन् भने टिकाइराख्न समस्या हुने भनाइ उनको छ । रेडियोले आफ्नो कमजोरी ध्यान दिएर सुधार्नुको विकल्प नभएको बताए । उनले भने 'सरकारले पनि विज्ञापन नीतिमा परिवर्तन गरी एफएमलाई स्थापित गराउन पहल थाल्नु पर्छ ।' 
बानका अनुसार नेपालमा ४ सय १४ वटा ५० देखि १० हजारसम्म क्षमताका रेडियो दर्ता भए पनि ३ सय ७७ वटा सञ्चालनमा छन् । आवेदन दिएर सञ्चालनमा नआएका करीब तीन सय रेडियोको अनुमतिपत्र खारेज भएको छ ।

फट्याङ्ग्राले उखु खान थाले

मनसुन ढिलाइले फस्टाएको फट्याङ्ग्रो (Grasshopper) का कारण सुनसरी-मोरङका उखु किसान हैरान छन् । फस्टाएका विरुवाका छानी छानी पात खाइदिन थालेपछि यस्तो भएको हो । विराटनगर-१६ र सुनसरीको अमडुवामा गरि करिब १७ विघामा उखु खेती गरेका तीर्थेन्द्र न्यौपानेले भने 'आफ्नो खेतमा कीटनाशक चलाएर मात्रै फट्याङ्ग्राबाट मुक्ति नमिल्ने रहेछ । अर्काको खेतबाट सलह जसरी आइहाल्दा रहेछन् ।'
सुनसरी-मोरङका करीव ४ सय बिघा उखुमा फट्याङ्ग्रा लागेको इर्स्र्टन सुगर मिलका उखु प्रबन्धक सुरेशप्रसाद मेहताले बताए । 'धेरैजसो खुटियामा लागेको छ', उनले भने, 'हामीले सिफारिस गरेको कीटनाशक किसानले चलाउन सुरु गरेपनि जनमजदुर नपाएर नियन्त्रणमा गाह्रो परेको अवस्था छ ।' उनका अनुसार फट्याङ्ग्राले राम्रा उखु छानेर पात खान्छ । पात खाएपछि उखुका विरुवाको बृद्धिदर रोकिने भएकाले सुक्ने र चाउरिने हुन्छ ।
सुनसरीको अमडुवा, अमाही बेल्हाको ५ नम्बर वडा र विराटनगर १६ का उखु खेतमा यो समस्या बढेको छ । बुधबार मिलको आग्रहमा कृषि विकासका अधिकृतहरूले कीरा प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । 'यो मनसुनका कारण हो । बलौटे सुख्खा माटोमा फुल पार्न सजिलो भएकाले फट्याङ्ग्रा बढ्न सकेका हुन्' मोरङका कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले भने, 'बेलैमा पानी परेको भए त्यसका फुल नष्ट हुन्थे । यसरी बढ्न पाउँदैनथ्यो ।' प्रभावित क्षेत्रमा सबैतिर एकसाथ कीटनाशक चलाइहाल्नुको विकल्प नभएको उनले बताए । 


'रुप्पी र अरू चराले फट्याङ्ग्रा खाने रहेछन्' उनले भने, 'तर, व्याधाले जाल हानेर उखु खेतमा आउने चरा मारेको मारेकै गरेपछि फट्याङ्ग्राको प्रकोप बढेको गाउँलेले मलाई बताए ।' केही क्षेत्रमा डांग्रे रुप्पीको बथानले फट्याङ्ग्रा खाइरहेको भिडियो खिचेर फिरेका उनले भने 'कीटनाशक चलाउँदा पनि त्यसको असर चरालाई हुन्छ । पे भएपनि अहिले उखु जोगाउनु जरुरी देखियो ।'
फस्टाएका बेला सामान्यतया एक विघामा करीव ४ सय क्वीन्टल उखु उत्पादन हुन्छ । तर, कीराको प्रकोप नियन्त्रण हुन नसके ५० प्रतिशतसम्म उत्पादन घट्ने प्रबन्धक मेहताले बताए । 'बालीमा रोगकीरा लाग्नु सामान्य हो तर, गोडमेल गर्न, कीटनाशक छिट्न मजदुर नै नपाएर किसानले फट्याङ्ग्रा नियन्त्रण गर्न नसकेका हुन्', उनले भने, 'जति मनसुन ढिला हुन्छ त्यति बढ्ने फट्याङ्ग्राको रोकथाम अब पनि ढिला भयो भने ऋण लिएर उखु लगाएका किसानका घरमा रुवाबासी हुन्छ ।'
उखु एकपटक रोपे सामान्यतः तीन वर्षम्म उत्पादन लिन सकिन्छ । पहिलो रोपाइ काटेपछि दोस्रो र तेस्रो वर्षपुरानो ठूटोबाटै उम्रनेलाई खुटिया भनिन्छ । मिलले सिफारिस गरेको 'कोसे ९५४२२' जातको उखुको खुटियामा कीराको प्रकोप देखिएको हो । 
सुनसरी-मोरङको यसपटक १० हजार बिघामा उखु खेती छ । मंसिरबाट कटाइ सुरु गरि फागुनसम्म सिध्याउनु पर्नेमा यसपटक मिल गत जेठसम्म सञ्चालनमा थियो । ढिलो कटाइ पूर्जी पाएका कारण धेरै किसानले गोडमेल र किटनाशक र्छर्ने समयमा पनि आफ्नो बचेको उखु काट्नैमा समय बितेको न्यौपानेले बताए । उनले भने 'धेरैलाई यसपाला पूर्जीको ढिलाइले उखुको हेरचाहमा ध्यान दिन समय अपुग भयो ।' अमडुवाका ठूलो क्षेत्रमा उखु लगाएका मानिकलाल चौधरी र शिवलाल चौधरी पनि हैरान छन् । उनीहरूका अनुसार चार वर्षअघिसम्म केशलिया पारिका केही क्षेत्रमा फाटफुटमात्रै यस्ता फट्याङ्ग्रा लागेको देखिन्थे । यसपटक फट्याङ्ग्रा खोला पार गरि ठूलो क्षेत्रमा वंश बृद्धि गर्दै फैलिएका छन् । फुलबाट निस्केको एक महिनासम्म पात खाइदिने गरेपछि उखुको बृद्धिदरमा असर परेको छ । 

(८ साउनको कान्तिपुरमा प्रकाशित)

तस्बिर सौजन्य : राजेन्द्र उप्रेती  

Sunday, July 20, 2014

मजदुर स्वास्थ्यमा लापरबाही

एशियन थाइ फुड्सका कामदार रामप्रसाद तिम्सिना तीन महिनादेखि ड्युटीमा फर्कन सकेका छैनन् । काम गर्दै रहँदा भएको दुर्घटनापछि उनी घरैमा आराम गरिरहेका हुन् । उनलाई टाउकोमा लागेको चोट निको हुने क्रममा छ । 
सुनसरीस्थित कारखानाका प्रशासन प्रमुख प्रकाश श्रेष्ठले भने 'चार सय करीब मजदुरमा दुर्घटना भन्ने कुरा यदाकदा हुने हो । अहिलेसम्म दुइजनालाई यस्तो भयो ।' रामप्रसाद अघि २०६९ बैशाखमा नरबहादुर गुरूङको दाँया हात च्यापिएको थियो । अंगभंग भएपछि उनी अहिले काम गर्ने अवस्थामा छैनन् । 'क्षतिपूर्तिसहित हिसाब देउ भनेको थिएँ । श्रम कार्यालयमार्फत आउ भन्यो', उनले भने, 'अहिले श्रमको निर्णय कारखानाले मान्छौ भनेको छ ।' निको भएपछि उनलाई काम दिइएन । क्षतिपूर्तिसहित हिसाबका लागि उनले पहल गरे । धेरै कुदेपछि उनलाई कारखानाले श्रम कार्यालयमार्फत प्रक्रिया अघि बढाउने बाटो देखायो । उनी भन्छन् 'शायद श्रममार्फत छिनोफानो भए लेबरले पछि केही दाबी गर्न मिल्दैन भनेर होला ।'
२०६२ मंसिरमा सुनसरीकै अर्को कारखाना पशुपति कन्टेनरमा मेशिनमा कामदार गणेश कोइरालाको देब्रे हात पर्‍यो । बुढी औंलाबाहेकका चारै औंला हातबाट छुट्टीए । काखानाले तत्काल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचार चलायो । लामो उपचारपछि पुनः काममा फर्किएका उनी गत फागुनमा निकै विरामी परे । त्यसपछि कारखानालाई गुरूङकै जसरी आफ्नो हरहिसाब माग गरे । दुइ दर्जन कामदार रहेको उक्त कारखानाले पनि उनलाई श्रम कार्यालयकै बाटो देखायो । 'श्रमले कारखानालाई सोधेपछि ऐनअनुसार हिसाब दिन्छौ भन्ने जवाफ आएछ',  विराटनगरस्थित श्रम कार्यालय आएका उनले भने, 'अब हिसाब पाइन्छ होला ।' 
उद्योग संगठन मोरङका अनुसार सुनसरी-मोरङ औद्योगिक करिडोरमा चालु अवस्थामा ५ सय ३० कारखाना छन् । संगठनका कार्यकारी सचिव सोमनाथ अधिकारीले भने 'एक हजारजनाभन्दा बढि मजदुर भएका कारखाना औंलामा गन्न सकिन्छ । एकदर्जनभन्दा बढि छैनन् ।' कारखानामा मजदुरको स्वास्थ्य सुविधा र दुर्घटनाका सवालमा सञ्चालकहरू सचेत रहेको दाबी गरे । 'सबैले केही भए झट्ट औषधि चलाउन प्राथमिक उपचारको व्यवस्था गरेका छन् । एम्बुलेन्समा राखेर पठाउन पनि अस्पताल टाढा छैन', उनले भने, 'बरु धेरै कारखानामा मजदुर आफै सफाइ र सावधानी चनाखो नभएको भेटिन्छ ।'
उद्योग वाणिज्य महासंघको पहलमा कारखानाभित्र सुरक्षा प्रबन्धको अनुगमन बेलाबखत हुने गरेको बताएका उनले भने 'मास्क कता झुण्ड्याएर धुलोले पुरिएको भेटिन्छ । सोध्यो भने सासै थुनेजस्तो हुन्छ अनि नलगाएको भनेर मजदुरले जवाफ दिन्छन्', उनले भने, 'शौचालयको प्रबन्ध राम्रो भएका ठाउँमा जथाभावी फोहर गर्ने, जाम बनाइदिने र तोडफोड गरेको देखेर उद्योग व्यवस्थापन हैरान भएको भेटिएको छ ।' तर, मजदुरको भनाइमा कारखाना व्यवस्थापनले नै नियमित सफाइको ध्यान दिने गरेका छैनन् । 
श्रम ऐनले दुर्घटनाका सम्बन्धमा क्षतिपूर्तिका लागि राखेका प्रावधान कारखानाले उलङ्घन नगर्ने दावी गोल्छा समूहद्वारा सञ्चालित रघुपति जुट मिलका प्रशासन प्रमुख डा. मोहनचन्द्र घिमिरेको छ । 'पहिले कारखानाभित्रै सहमति गर्ने । भएन भने श्रम कार्यालयको पहलमा ऐनबमोजिमको सुविधा र क्षतिपूर्ति दिने काम सबैले गरेका छन् । एकाध केस अपवाद हुन सक्ला', उनले भने, 'जसकोमा तीन सयभन्दा बढि मजदुर छन्, तिनले सुरक्षित काम लिन उपाय अपनाएकै हुन्छन् ।'
श्रम कार्यालयका कारखाना निरीक्षक मणिनाथ गोपका अनुसार व्यवस्थापनले भनेको मानिदिएन भनेर निवेदन निकै कम मात्र आउँछ । 'हामीलाई महिनाको मुश्किलले एउटा वा दुइटामात्रै त्यस्ता निवेदन प्राप्त हुन्छन्', उनले भने 'मजदुरले पाउनुपर्ने सुविधा र क्षतिपूर्तिको पहलका लागि ट्रेड युनियनको सक्रियता अलि बढि नै हुन्छ । यसकारण सञ्चालकले ऐनले तोकेको दिन्न भन्न पाउँदैनन् ।'
श्रम ऐनको दफा २७ मा कार्यस्थलमा नियमित सरसरफाइ र सुरक्षाको प्रबन्ध हुनुपर्ने र दुर्घटनाबाट जोगाउन अवलम्बन गरिनुपर्ने उपायका बारेमा प्रावधानहरू छन् । यसले कारखाना व्यवस्थापनको जिम्मेवारी सुरक्षित काम गराएर उत्पादन दिनुपर्ने भन्ने उल्लेख गरेको छ । यसैगरि श्रम ऐनको दफा ३८ र नियमावली १५, १६ र १७ ले चोट लागे उपचार र अंगभंग वा मृत्यु भए क्षतिपूर्ति दिनुपर्ने उल्लेख गरेको छ । कारखाना सञ्चालकका लागि पालन गर्नुपर्ने प्रावधानलाई उद्योग वाणिज्य महासंघले रोजगारदाता पुस्तिका नै बनाएर वितरण पनि गरेको छ ।
७० वर्षघि विराटनगरमा कारखानाहरू खुल्ने क्रम सुरुहुँदा मजदुर आवास क्षेत्र बनाइएका थिए । त्यसबेला औलोको प्रकोप थियो । कारखानामा खानबस्न सुविधा पाएका कामदारका लागि विराटनगर जुट मिल, रघुपति, मोरङ सुगर मिल्सलगायतले भित्रै चिकित्सिकसहितको औषधोपचार सेवा दिने गरेका थिए । चार दशकअघिसम्म पनि मजदुरका परिवारले समेत पाउने औषधोपचारको सुविधा अहिले कारखानाहरूमा छैन । 'अहिले कामदारले मात्रै स्वास्थ्योपचारको सुविधा पाउँछन् । त्यो पनि ड्युटीका बेला उसलाई केही भएको हो भनेमात्रै', उद्योग वाणिज्य महासंघको श्रम ऐन परिमार्जन मस्यौदा समितिका सदस्यसमेत रहेका डा. घिमिरेले भने, 'समयअनुसार सबैथोक फेरिएको छ । सुविधाका सवालमा उद्योगीको मनमानी छैन । ट्रेड युनियनहरूले नै जे चाहिने हो त्यो प्रावधान परिमार्जन गरेका छन् ।'
विस १९९३ मा खुलेको मुलुकको जेठो कारखाना विराटनगर जुट मिल लामो समय बन्द भयो । मजदुरले हिसाब पाए । बहालवाला खोजेर सरकारले गत वर्षेखि पुनः सञ्चालनमा ल्याउन चासो दिएको परिणाम हाल पुनः चल्न थालेको छ । तर, यहाँ अब पहिलेको जस्तो संख्यामा कामदार छैनन् । पुरानो समय जसरी भित्रै सानो अस्पताल राखेर उपचारको सुविधा पनि छैन । चोटपटक लागे भित्रै सामान्य उपचारपछि मजदुरलाई अस्पताल लैजाने गरिएको छ । 
एमाओवादी सम्बद्ध मजदुर नेता तेजलाल कर्ण भन्छन् 'जसरी सबैलाई रोग लाग्छ । दुर्घटना हुन्छ । मजदुर त्योभन्दा फरक छैनन् ।' कारखाना सञ्चालक र मजदुरबीच स्वास्थ्योपचार र क्षतिपूर्तिका सवालमा हुने विवाद कमैमात्र ट्रेड युनियनले समाधन गर्नुपर्ने अवस्था छ । उनले भने 'दुबैबीच ऐनअनुसार लिने-दिने कुरा मिलेपछि विवाद गरिरहनु पर्दैन ।' 
मजदुरको स्वास्थ्य सुरक्षाका सवालमा धेरै लापरवाही रहेको दावी ट्रेड युनियन कांग्रेसका मोरङ अध्यक्ष गोपाल शर्माको छ । 'धेरै कारखानामा सुरक्षाका कुरामा लापरवाही छ । मजदुर आफै सावधान भएर काम गरेनन् भने अंगभंग नै हुने दुर्घटना हुन्छ', उनले भने, 'त्यस्ता कारखानामा मजदुरले युनियन गठन गर्नै सकेका छैनन् ।' इलेक्ट्रिक वायर, फलामे छड, जुट र साबुनका कारखाना बढि जोखिमपूर्ण रहेको उनले बताए । 'ट्रेड युनियनले कारखाना मालिकलाई एउटामात्रै सुविधाका लागि दबाब दिइरहन सक्दैन । कतिपयमा घटना भित्रभित्रै दबाइन्छ', उनले भने, 'सुरक्षाका सवालमा कारखानाको भित्रको हालत खतरा छ ।' सुनसरी-मोरङ औद्योगिक करिडोरमा करीव ५० हजार मजदुर कार्यरत छन् । युनियन गठन हुन नदिन सञ्चालकहरूले सुविधाका कुरा गर्ने मजदुरलाई कामबाटै हटाउने गरेको आरोप उनले लगाए । 
उनले भने 'ट्रेड युनियनहरू सबैलाई कारखानाभित्रको मजदुरको जोखिम थाहा छ । तर, एकजुट नहुनुको फाइदा उद्योगीले लिएका छन् । जागिर जाने डरले मजदुर पनि नबोली जोखिममा काम गर्छन् ।'
धूलो, ताप, गन्ध, चर्को ध्वनी र असजिलो वातावरणमा काम गरिरहने मजदुरका लागि शरीरमा पर्ने दीर्घकालीन असरका विषयमा भने न ऐनले बोल्छ न व्यवहारले । ऐनले कारखानाको वातावरणका कारण मजदुर रोगी भए क्षतिपूर्ति दिइनुपर्ने भने पनि यसको पुष्टि गर्ने आधार प्रष्ट छैनन् । डा. घिमिरे भन्छन् 'केमा काम गरिरहँदा कति समयपछि के रोग हुन्छ भन्ने प्रष्ट छैन । त्यसैले हामी त्यसबारे भन्न सक्दैनौ ।' रघुपति जुटमा ३ हजार ३ सय कामदार छन् । जुटको धूलो उडिरहन्छ । तर, कसैले आफूलाई त्यही धूलोका कारण कुनै रोग लागेको दावी गर्दै निवेदन दिएको रेकर्ड छैन । व्यवसायजन्य सुरक्षाका सवालमा प्रशिक्षण पनि दिने गरेका संगठनका कार्यकारी सचिव अधिकारीले भने 'ऐनले अंगभंग भए के के कसरी कति दिने भन्ने प्रष्ट बोल्छ । तर, यहाँ कस्तो वातावरणमा कति समय काम गर्दा के रोग हुन्छ अनि त्यसको समाधान कसरी दिने भन्ने प्रष्ट छैन ।'त्यसो त श्रम ऐनको दफा २७ ले स्वास्थ्यलाई खतरा पार्न सक्ने कारखानाले आफ्ना कामदारका लागि वर्षो एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने प्रावधान राखेको छ । तर, निकै कम मात्र कारखानाले यो प्रावधान मानेर मजदुरका लागि परीक्षण शिविर गराउने गरेका छन् । रानीस्थित रघुपति जुट मिलले गत विहीवार र शुक्रवार कामदारका लागि आँखा परीक्षण शिविरको आयोजना गर्‍यो । 'ठूला कारखानालाई मजदुरको अधिकारका विषयलाई लिएर झमेलामा पर्न मन र समय हु“दैन, त्यसैले ऐनले जे बोल्छ त्यो गरेकै हुन्छन्'  उद्योग संगठनका सचिव अधिकारीले भने, 'विवाद धेरैजसो आपसी समझदारीमा टुंगो लगाइने भएकाले ठूलो घटना नभएसम्म हामीले साक्षी बस्नु पदैन । त्यसैले बाहिर आउँदैन ।'

(२०७१ असार २८ को कान्तिपुरमा प्रकाशित)

गरे इलम यहीँ छ मेलो

जाने तयारी पुरा भयो । तीन दिन बाँकी थियो । इराकमा १२ नेपाली मारिएको घटना भएछ । मलाई पठाउने म्यानपावर पनि तोडफोड भयो । इराक जाने कुरा त्यसै तुहियो । पैसा फँस्यो, काम पनि भएन ।
'म बेरोजगारको डेढ लाख डुब्यो', मोरङको उर्लावारी-६ का उदयचन्द्र श्रेष्ठले सुनाए 'झापाली साथीको ग्रुपमा म पनि उड्न तयार भएर होटलमा बसेको थिएँ ।' २०६१ भदौ २६ मा इराक घटना भएको थियो । त्यसपछि केही महिना उनले पढ्न बसेका गाउँले दाइ जीवन राईकहाँ डेरामा शरण लिए । रोजगारीको खोजी गरे । पार नलागेपछि फर्किएके केही समय दिगो काम भएन । २०६३ पछि भाइले देखाएको बाटोलाई उनले परिश्रम खन्याए । आम्दानी जोड्दै लगानी थप्दै गए । आठ वर्षमा तिनै उदयचन्द्र अहिले पूर्वेली च्याउ उत्पादकमा अग्रणी छन् । 
करीव २० लाखको लगानी छ । एक विघा करिबमा च्याउ उत्पादन हुन्छ । दुइवटा सवारीसाधन छन् । घरघडेरी जोडेका छन् । वर्षको करीव ५० ट्याक्टर पराल किन्छन् । एक दर्जनलाई रोजगारी दिएका छन् । उनले उत्पादन गर्ने च्याउ झापा, मोरङ र सुनसरीमात्रै होइन काठमाडौं पनि पुग्छ । 'म झोला बोकेर पहाडबाट झरेको मान्छे' उनले भने 'अहिले लाग्छ, विदेश जान पाएको भए पनि एउटा घर, अलिकति घडेरी र थोरै पूँजी हुन्थ्यो होला । अरू तेत्रो के उपलब्धि हुन्थ्यो ?' ताप्लेजुङको खेवाका यी युवा अहिले च्याउ उद्यमी भएका छन् । कुनैबेला उत्पादन बढि भयो । बिक्री भएन भने सुकाउन र अचार बनाउन पनि सिकेपछि यिनले घरमै चलाएको पसलबाट पनि बिक्री भइरहेको छ ।

उदयका भाइ शिवले उर्लावारीकै मदन भण्डारी प्रतिष्ठानमा कृषिमा आइएस्सी पढेका हुन् । डेरा बसेका बेला उनले च्याउ उत्पादन गर्न सकिने सिके । त्यही सीप दाजुलाई सिकाए । पछि शिव घर गए । उदयले उद्यम बढाए । 'गर्दा यहीँ हुने रहेछ', उनी भन्छन्, 'मेहनत गर्न लाज मानिएन भने प्लानिङ र पूँजी भएको कामले सफलता मिल्छ मिल्छ । मैले अनुभवबाट सिकेको कुरा हो ।' 
विराटनगरको तरकारी मण्डीको ३० प्रतिशत हिस्सा कटहरीका किसानको उत्पादनले धान्ने गरेको छ । यिनै किसानमध्येका एक हुन् कटहरी-९ का २९ वर्षीय कोपिन्द्र सिंह । कामको खोजीमा मलेशिया हान्निएका उनी चार वर्ष बसेर २०६७ सालमा फर्किए । 'ज्यान सुकाएर अर्काको देशमा मुश्किलले वर्षमा डेढ लाख बच्थ्यो', उनले भने, 'अहिले म आफ्नै बारीमा मेहनत गरेर सबै खर्च काट्दा वर्षको ५ लाख हुन्छ ।' उनी चार वर्षमा फिरेर आउँदा ४ लाख ६५ हजार जोगाएका थिए । 'युवा स्वरोजगार कोषले तरकारी खेती गर्छु भन्दा ६० हजार अनुदान दियो । त्यसपछि फेरि जाने विचार आएन', गत बुधबार चार बोरा करेला रिक्शामा लोड गर्न लगाइ बजार पठाउन लागेको भेटिएका उनले भने, 'म लेबर भएर गएको मान्छे अहिले ५ जनालाई आफैले काम दिएको छु ।'
उनले फेरि वैदेशिक रोजगारीमा जान आफ्नो राहदानी म्यानपावर कम्पनीमा बुझाइसकेका थिए । अहिले एक विघामा मौसमी तरकारी खेती गरेका सिंह भन्छन् 'हामी युथहरू एकैपल्ट धेरै आम्दानी हुने सपना देख्छौ । तर, विदेशमा पैसा बनाउन धेरै दुःख छ । म अहिले आफ्नै घरमा खुशी छु ।' मोरङको जिल्ला कृषि कार्यालयका वागवानी विकास अधिकृत काशी चौधरी भन्छन् 'कोपिन्द्रले भर्खर १ लाख ६४ हजारको हाते ट्याक्टर किन्दा कृषिको ७२ हजार अनुदान पनि पाए । काम त नमुना नै गरेका छन् ।' स्वरोजगार कोषले कोपिन्द्रजस्तै ४५ युवाहरूलाई विदेशिनबाट रोकेर कृषि पेशामा फर्काएको उनले बताए । 'चार/पाँच लाखको लगानीमा गरिने पेशामा ६० हजारको अनुदान उस्तो ठूलो कुरो होइन' उनले भने, 'तर, यसले फरक प्रकारको उर्जा दिएको छ । मान्छेहरू घरमै बसेर सकिने व्यवसाय गरिरहेका छन् ।' 
इलामको साकफाराको सीमानामा पर्ने मोरङको मधुमल्लामा तीनजना युवा अग्रणी किसान छन् । तीनैजना साउदी अरबमा काम गरेर फिरेका हुन् । बा“सका हस्तकला सामाग्री बनाइ बेच्ने गरेका रमेश बस्नेत भन्छन् 'म फर्केको २ वर्षमात्रै भयो । यहाँ गाउँघरमै बसेर खेती गर्दा मात्रै पनि विदेश गएभन्दा राम्रो कमाउन सकिने रहेछ ।' १५ कठ्ठामा मौसमी तरकारी खेती गरेका उनले साथीहरूसँग मिलेर तोरीबारी लघुउद्यमी कृषक सहकारी नै चलाएका छन् ।
स्थानीय ठाकुरबहादुर बुढाथोकीले भने '१० वर्ष साउदी बसियो । लेबर काम गरियो । अब घर आएर बल्ल बुझियो त्यहाँ गर्ने जति मेहेनत आफ्नै बारीमा गरे सुन फल्ने रहेछ ।' २२ कठ्ठामा तरकारी लगाएका उनलाई अहिले बजारमा भाउका बारे असन्तुष्टी छ । गाउँभरिका किसानको तरकारी सहकारीले संकलन गरेर बजार पठाउँछ । बिक्रीपछि पैसा दिन्छ । उनले भने 'काम गर्न सकिन्छ तर, बजारमा विचौलिया मोटाएका छन् । हामीले १५ रूपैयाँमा दिने तरकारी आफैले फेरि लिनुपरे ६० हाल्नुपर्छ । यो बीचको यत्रो पैसाको फरक देख्दा चित्त बुझदैन ।'
६ वर्ष कतार बसेर फिरेका स्थानीय सुर्यबहादुर श्रेष्ठको अहिले एक विघामा तरकारी खेती छ । भन्छन् 'बजारमात्रै व्यवस्थित भइदिने र किसानले असल मोल पाउने हो भने हामीले विदेशिनु पर्दैन ।' 
मोरङका जिल्ला कृषि विकास प्रमुख राजेन्द्र उप्रेतीले भने 'बजारमा बाहिरबाट केके कृषि उपज आउँछ, त्यो हामीले उब्जाउन सकिन्छ/सकिदैन भनेर खोज्ने युवाहरू अहिले कृषिमा लाग्न थालेका छन् ।' उनका अनुसार यसले भविष्यका लागि राम्रो संकेत गरेको छ । 'सरकारी अनुदान र सहयोग न्युन छ', उनले भने, 'कति ठाउ“मा हाम्रो सल्लाह पनि आवशयक छैन । तर, उद्यम गरेको देख्ता यी उदाहरण सबैले थाहा पाए राम्रो हुन्थ्यो भन्ने लाग्छ ।' उनका अनुसार कृषि, पशुपालनमा ठूलो क्षेत्र लिएर लगानी गरि योजनासहित काम थाल्ने दिनदिनै बढेका छन् । 

(कान्तिपुरको पूर्वाञ्चल संस्करण पृष्ठमा ४ साउन २०७० मा प्रकाशित)    

जटायु रेष्टुरेन्ट

दुइ साताका लागि अमेरिकाबाट घर आएका धरान विजयपुरका सन्तोष पोखरेल साथी यात्रा थुलुङलाई भेट्न गएका थिए । त्यो दिन थुलुङ रामधुनीको सालवनी जाने तयारीमा भेटिए । 'उसले जटायु रेस्टुरेन्ट हिडेको भन्यो, म त कुन नयाँ खुलेछ', उनले सुनाए, 'कस्तो परिकार पाउने हो जाउँ कि भनेको मान्छे होइन गिद्धलाई मासू ख्वाउने ठाउँ पो रहेछ ।' 
सात वर्षयता खुल्दै र चल्दै रहेका यस्ता गिद्ध आहार केन्द्रका कुरा नेपाली सञ्चारमाध्यममा पटक-पटक आएका छन् । घुमेका, सुनेका र पढेकाहरू बढेपछि 'जटायु रेस्टुरेन्ट' को नामबाट अब पोखरेल जसरी अचम्ममा पर्नु पर्दैन । सिनो खाएर वातावरण सफा पार्न सघाउने गिद्ध हेर्दा सुन्दर चरा भनिहाल्न मिल्दैन । तर, यी ठूला आकारका दक्षिण एशियाली मुलकमा निरन्तर संकटमा पर्न थालेपछि यसको कारण खोजी भयो । 
ठूलो संख्यामा मरेको पाइन थालेपछि अनुसन्धानकर्ताहरू सक्रिय भए । पहिलो चरणको अनुसन्धान यसको विनाशको कारण वासस्थान संकट र आहाराको कमी हुनुपर्ने कारणलाई आधार मानेर गरियो । त्यो सफल भएन । त्यसपछि मरेका गिद्धलाई प्रयोगशालामा लगेर अध्ययन गर्दा त्यसका शरीरमा अत्यधिक मात्रामा युरिक एसिड भेटियो । मृगौला ड्यामेज भएको देखियो । यसको कारण खोजियो । निष्कर्श आयो - मारिनुको कारण डाइक्लोफेनेक । 
यो ट्याब्लेट र खोपमा आउने दर्द निवारक औषधि हो । प्रयोगमा मात्रा धेरथोर हुने भएपनि स्वास्थ्यकर्मीले यो मान्छे र पशु दुवैका लागि उपयोगी मान्छन् । अझ अधिकतर पशुको दर्द निवारक खोप यही थियो । वातावरणवादीले पत्तो पाए- यो ओखती चलाइए पछि मरेका पशुको सिनो खाएपछि गिद्धको पाचन प्रणाली बिग्रन्छ । उक्त औषधी चलाइएका पशु मरे, तिनको सिनो खाएपछि गिद्धका भित्री अंगहरू बिस्तारै सुनिन्छन् र भिसरल गाउनको समस्या भई मृगौलाले काम गर्न छाड्छन् । अनि यी  प्रकृतिका कुचीकार भटाभट मर्छन् । भएको यही हो । डाइक्लोफेनेक नचलाउँ । बरु यसको ठाउँमा साइड-इफेन्ट नगर्ने मेलोक्सिकेम चलाए हुन्छ । २०६३ मा सरकारले कुरो मानिदियो । 
ओखतीका कुरामा परिवर्तनको माग मानिएपनि घटेका गिद्धको संरक्षणका लागि नौलो कार्यक्रमको खोजी वातावरणवादीले गरिरहेका थिए । चराविद डा. हेमसागर वरालले भने 'त्यही खोजी जटायु रेस्टुरेन्ट हो । गिद्ध जोगाउने योभन्दा कारगर उपाय अरू देखिएन ।' सन् २००७ देखि मुलकका विभिन्न भुभागमा चराविदले सम्भावनाको खोजी गरे । नेपाल पंछी संरक्षण संघका अनुसार मुलुकका २१ जिल्लाका ३९ हजार १ सय २२ वर्गकिलोमिटर क्षेत्रलाई डाइक्लोफेनेकमुक्त मानेर संरक्षणका कार्यक्रम ल्याउने कसरत सुरु भयो । यस्ता ठाउँ खोजियो, जहाँ गिद्ध आहाराको खोजीमा सजिलै आउँछन् । 
नवलपरासीको पिठौलीमा पहिलो यस्तो रेस्टुरेन्ट खोलियो । यसरी खोल्ने क्रम विस्तारै बढ्यो । सामुदायिक वनमा स्थानीय उपभोक्ता समितिको जिम्मा दिएर खोलिएका यस्ता रेस्टुरेन्ट सुनसरीको महेन्द्रनगरस्थित सालवनीसम्म आइपुग्दा मुलुकमा सातवटाको संख्यामा पुगेका छन् । आधा दर्जनलाई आर्थिक-प्राविधिक सहयोग पंछी संरक्षण संघले गरेको छ भने सुनसरीमा हिमाली प्रकृतिले सघाएको छ । 
वन क्षेत्रमा पसेर गिद्धलाई बाधा नपारी उनीहरू आएको र सिनो खाएको हेर्न मिल्ने गरि रेस्टुरेन्ट व्यवस्थापन गरिएका छन् । 
'एउटा गोठ हुन्छ, जसमा बुढा चौपाया पालिन्छ, मर्छन् अनि गिद्ध आउने ठाउँमा राखिन्छ', हिमाली प्रकृतिका निर्देशक प्रा. करणबहादुर शाहले भने, 'यति मात्रै थाल्दा पनि रिजल्ट राम्रो छ । स्थानीयले व्यवस्थापन जिम्मा लिएका कारण गिद्ध अब लोप नहोलान् भन्ने निष्कर्श छ । तर, खोजी अझै गर्नुपर्छ ।' उनका अनुसार नेपालमा पाइने गिद्धका प्रजाति, वासस्थान र उनीहरूको संरक्षणमा गर्न सकिने कामका लागि अहिलेको प्रयास थालनी मात्रै हो भन्न सकिन्छ । 
विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । पंक्षी संरक्षण संघका अनुसार दक्षिण एशियाली मुलुकजस्तै नेपालमा नौ प्रजातिका पाइएको रेकर्ड छ । डंगर, हिमाली, खैरो, सानो खैरो, राजगिद्ध, सुनगिद्ध, गोब्रे, हाडफोर र लामो ठुँडे नेपालमा पाइएका प्रजाति हुन् । संघको सूचीअनुसार नेपालमा हिमाली गिद्धको संख्या १० हजारभन्दा कम, सानो खैरो ५० भन्दा कम र डंगर २ हजारभन्दा कम पाइएका छन् । यसैगरि सेतो गिद्ध १ हजारभन्दा कम, हार्डफोर ५ सयभन्दा कम, सुनगिद्ध ५ सय भन्दा कम, राजगिद्ध २ सय ५० भन्दा कम र लामो ठुँडे गिद्धको संख्या यकिन भइसकेको छैन । गिद्धले मान्छेलाई आक्रमण गर्दैन । ज्युँदा पशु सिकार गर्दैन । मरेका वा फालिएका सिनो खाइदिएर वातावरण सफा राख्ने चक्रमा योगदान गर्छ ।
गिद्ध नाशिनुका कारण वास्थान विनाश र आहारामा विषादि मै प्रमुख रहेको डा. वरालको भनाइ छ । 'अग्ला रूखमा गुँड लाउँछ, ती दिनदिनै मासिए', उनले भने, 'पशुको उपचारमा डाइक्लोफेनेक चल्छ । त्यो चलाएको पशुको सिनो खाए त्यतिकै मरे ।' उनका अनुसार गिद्ध मासिएको नेपालमै मात्र होइन । पाकिस्तान र भारतमा पनि त्यस्तै हो । उनले भने 'नेपालमा संरक्षणका लागि चलाइएको रेस्टुरेन्टको अवधारणा अब ती देशमा पनि सुरु भएको छ ।' यस्तो नगरी संरक्षणको विकल्प नभएको उनले बताए । 
रूपन्देहीस्थित गैडाताल सामुदायिक वनको जटायु रेस्टुरेन्टका संयोजक बाबुराम मल्लले भने 'सुरूमा हामीलाई कस्तो अनौठो कार्यक्रम हो जस्तो लागेको थियो । तर, अब अभ्यस्त भइसक्यौं । सिनो लगेर राखिदिने गर्न अप्ठेरो छैन ।' उनका अनुसार यहा“ मुलुकमा रेकर्ड नौमध्येका ६ प्रजातिका गिद्ध आउँछन् । 
'एक दिन खाए त्यसलाई तीन/चार दिन पुग्दो रहेछ', उनले भने, 'हामीकहाँ वरपर अहिले आफ्नै कालगतिले बाहेक विषदिले गिद्ध मरेको भेटिँदैन ।' समितिले राखेका गोठमा करीव ४० वटा गाइवस्तु छन् । बुढा जनावर किनेर-खोजेर ल्याइन्छ । त्यसलाई पालिन्छ । कालगतिले मरेपछि त्यसलाई गाडामा राखेर गिद्ध आउने खुला ठाउँमा पुर्‍याइन्छ । उनले भने 'हाम्रो वरपर त्यसले गुँड लाउने खालका रूख छैनन् । भए त यता गुँड भेटिन्थ्यो ।'
कैलालीको श्रीपुर मजगाउँ-७ खुटियास्थित समयजी सामुदायिक वनले गिद्ध रेस्टुरेन्ट चलाउन समिति बनाएर साढे ३ हेक्टर जमिन छुट्याएको छ । संयोजक मनबहादुर बमको अनुभवमा अब गिद्ध लोप हुँदैन । 'मान्छेले बुझे यो पनि वातावरणलाई चाहिने प्राणी हो भनेर', उनले भने, 'हामीकहाँ गिद्ध मात्रै होइन त्यसका गुँड हेर्छु भने त्यो पनि देखाउन सक्छौ ।' उनका अनुसार सामुदायिक वन क्षेत्रमा हाल ८२ वटा गुँड पत्ता लागेका छन् । 'रेस्टुरेन्ट सुरु गर्दा तीन वर्षअघि ३५ वटा गुँड थिए', उनले भने, '६ प्रजातिका देखिन्छन् । हिमाली र डंगर गिद्ध धेरै छन् ।' 
नवलपरासी, कैलालीसँगै कास्कीको घाचोक, दाङका लालमटिया, बिजौरी, रूपन्देहीको गैंडातालपछि सुनसरीको रामधुनीमा यस्ता रेस्टुरेन्ट सञ्चालनमा आएका छन् । रामधुनी सामुदायिक वन उपभोक्ता समितिको रेस्टुरेन्ट संयोजक केदार राई भन्छन् 'झट्ट सुन्दा अनौठै हो, मान्छेका समस्या थुप्रा छन् कता यो नराम्रो चरो जोगाउनतिर लाग्नु ! पछिपछि कुरो बुझ्दै आइयो । प्रकृतिले सबैको काम विभाजन गरिदिएको रहेछ ।' उनका अनुसार गिद्धले पाएको भूमिका अरूले गर्दैन । 
रामधुनीमा हालसम्म डंगर प्रजातिका १ सय १० वटा गिद्ध आएको गणना गरिएको छ । १५ वर्ष अघिको गणनामा रामुधनी र कोशीटप्पु क्षेत्रमा गिद्धका ६७ वटा गुँड पाइएका थिए । अहिले त्यो संख्या दुइ दर्जनमा झरेको छ । यो क्षेत्रमा गिद्धका सात प्रजाति पाइएका छन् । 'मरेको चौपाया राखिदिएको २० मिनेटमा सिध्याउँछन्' सञ्चालक सदस्य योगेश खतिवडा भन्छन् 'अलि समस्या चाहि यिनका आहारा कसरी पुर्‍याउने भन्नेमै हुन्छ ।' 
उनका अनुसार एउटा गिद्धलाई एकपटकमा ५ किलो मासु चाहिन्छ भन्ने हिसाब गरिन्छ । त्यसलाई आधार मान्दा समितिले स्रोत अभावमा खाँचो पुर्‍याउन सकेको छैन । 
डा. वरालका अनुसार रामायणको कथामा रावणले सीता हरण गर्दा जटायुले जोगाउन खोजेको प्रसङ्ग छ । त्यसलाई आधार मानेर गिद्धलाई जटायु भनिएको र सोहीअनुसार रेस्टुरेन्टको नामाकरण गरिएका हुन् । जाडो छल्न तराई झर्ने हिमाली गिद्धका प्रजाति गर्मि सुरुभएसँगै उकालो लाग्छन् । उनका अनुसार असोजमा गुँड लगाएर मंसिरमा फुल पार्ने यो चरोले फागुन लाग्दा बच्चा कोरल्छन् । समुदायमा आधारीत जटायु रेस्टुरेन्टले गिद्धका गतिविधि हेर्न आउनेबाट प्रवेश शुल्क लिने अभ्यास थालेका छन् । कैलालीका बलले भने 'टिकट काटेर हेर्न पाउनु पनि रमाइलो हो । धेर थेग्दैन तर, प्रवेश शुल्क तिरिदिने बानीले हामीलाई यो कार्यक्रम चलाउन केही केही सहयोग हुन्छ ।' 

(२०७० जेठ ३ शनिवार, कान्तिपुर कोसेलीमा प्रकाशित)

Wednesday, July 16, 2014

आनन्द

एक घण्टाको यात्रा
दुई पाङ्ग्रेका सीट
रीसै उठेर आउँछ 
पोल्न थाल्छन् जब पिँध  
टक्क अडिन्छु चिया घुम्तीमा 
आराम दिन्छु टायरलाई  
सम्झन्छु,
पसले कति संयमित
विहानदेखि बेलुकी
उभिएकै छन् उभिनुपर्ने 
बसेकै छन् बस्नुपर्ने 
संसार झेलेका छन्
खै कसरी चलेका छन् 
चुपचाप छ सडक
मान्छेजस्ताको दोहोरीलत्त
छन् हतारको गन्तव्य खोजीमा 
आउँछन् जान्छन्
उदाउँछन् हराउँछन्  
उभिएकै छन् उनीहरू 
चलेको छ पसल ।।

म देख्छु अलि पर्तिर
अनौठा घरहरू
मन्दिर रहेछन्  
भित्र चिहाउँछु
हनुमान छन् दुर्गा छिन् 
सुँडमा लड्डु च्यापेका लम्बोदर
अनि छन् लठ्ठ परेका महादेव 
गदाको भार
बाघको गन्ध
मुसोको चकचक
सर्पको सकसक
देख्तिन उनीहरू बोलेको
कोही बोल्दैनन्
पस्छन् निस्कन्छन् मान्छेका हुल 
सोध्दैनन् खबर 
सुन्छन् चुपचाप मूर्तिहरू
याचना, धम्की, प्रलोभन र माग 
एउटै पोज कति पट्यार लाग्दो 
घुम्न  निस्कन्छौ ?
अहँ बोल्दैनन् 
सोच्छु,
तिनका पनि पोल्दो हो पिँध 
उड्दो हो मन
उठ्दो हो रीस 
कुण्ठा लिएर युगौंदेखि
किन छन् चुपचाप 
मन शीतल हुन्छ
साँचो लाउँछु 
एक्सिलेटर बटार्छु 
अनि भन्छु- उनीहरूभन्दा मलाइ आनन्द छ ।। 

विराटनगर, ३२ असार २०७१

Friday, July 4, 2014

गधा र हामी

सिर्कना नलाएसम्म
भारी नबोकाएसम्म
गधा मैमत्ता लाग्छ
थाहा छैन हो लागेको कि भएको
स्वर सुन्यौ ?
हो है !
उसका आवाज
न सुर नत ताल
प्रिय धोबी,
श्रम लिन्छौ भने
सिर्कना लाउ
भारी थप
घाँस देउ
दाना-पानी देउ
आखिर तिम्रो पनि
चल्छ होला छातिभित्र मुटु ।।

बजार बजार
बेसुर आवाजमा बोल्छन्
दुर्इ खुट्टा अल्झाइएका छन्
तैपनि हिड्छन्
दासताको बन्धनभित्र
देख्छु उ गर्छ माया
लाउँछ आफ्नालाई लात्ती पनि
ऊ रूञ्छ कि हाँस्छ
मनभित्र मर्छ कि बाँच्छ
धोबीलाई शायद
मजा पनि होला भाषा नबुझनुको
गधाको भार
जीवनको सार
यतै कतै खान्छ मेल मनुवासँग ।।


हाम्रा दायित्य
हाम्रा कर्म
हाम्रा धोबीका सिर्कना
फोहर चर्नु
कागज चपाउनु
आगो बाल्ने पेट
इच्छा फलाउने मन
बन्धनको जीवन
उसले सन्तानलाई स्कुल पठाउनु छैन
अस्पताल र अफिस धाउनु छैन
लुगा चाहिदैन
फोहर भन्दैन
मोहर चिन्दैन
चिनेको भोकमात्रै हो
तै पनि मालिकप्रदत्त
सिर्कना, पानी र दाना
उसले दिने श्रम
बेहोरेको नियति
यतै कतै खान्छ मेल मनुवासँग ।।




विराटनगर, २० असार २०७०