Thursday, October 6, 2016

परम्परा धान्दै चुल्याजुका जेरी

  बर्माबाट इलम लिएर फिरेका पोखराको भीमसेनटोलका सिद्धिलाल चुल्याजुले बिस. १९९० मा खोलेको पसलको परम्परालाई उनका सन्तानले निरन्तरता दिएका छन् । अन्तका मिठाइ पसलेका तुलनामा पोखरेली चुल्याजु स्वाद पृथक छ ।  
सेलरोटी पकाउने जसरी नै गिल्याइएको चनाको बेसन वा मैदालाई तेलमा पकाएर झिकिने, अनि चिनीको पाकमा डुबाएपछि बनाइनेमध्येको एउटा परिकार नचिन्ने शायदै होलान् । कतै जेरी, कतै जुलेबी भनिने यो परिकार यदि पोखरामा आएर खाइयो भने तराइका कारिगरले बनाएभन्दा पृथक आकार र रंगको भेटिनेछ । न कुनै अतिरिक्त रंगको मिश्रण, न तराइमा बनाइने राता-राता पातला जस्ता । यहाँको जेरी फूल आकारको अनौठो छ । उपमहानगरमा भेटिनेमध्येको भीमसेनटोलका चुल्याजु परिवारको मिठाइ पसल पुरानो हो ।

चाडबाड सुरू भएयता यो पसलमा आएर जेरी किन्ने धेरै छन् । दसैंमा भेला भएपछि चुल्याजुका पसलका मिठाइ ल्याएर खानु बितेका यहाँको भैरव, गणेशटोल, नालामुख, भीमसेनस्थानका धेरै परिवारका लागि भेटघाटको सुखद संयोग बनेको छ । 
पसल यतिबेला पा“च भाइ चुल्याजुमध्येका कान्छा ५० वर्षीय राजकुमार र उनकी जीवनसंगिनी दयालक्ष्मीले सम्हालेका छन् । मुख्य बजार क्षेत्रबाट विन्ध्यवासिनी मन्दिर जाने बाटोमा पर्ने पसल कुनै अत्याधुनिक शो-केस, खानेबस्ने टेबुल कुर्सी आकर्षक सजावट भएको भने छैन । तीनवटा ग्यास चुला, तिनमा खानेकुरा पकाउँदा निस्कने वाफ-धुँवा बाहिरिने ठाउ“मा आधुनिक पाराको टीनको भान्से-चिम्नी । केही टेबुल-कुर्सी सामान्य खालको काठको पुरानो शो-केस । हेर्दा सामान्य लाग्ने भएपनि उपमहानगरभरि चुल्याजुका मिठाइको ख्याति निकै छ । 'पुरानो पसल हो, हामीले बिस्तार गरेर सजावट नगर्नुको पनि कारण छ,' राजकुमारले भने 'यहाँ बसेर खानेभन्दा अर्डर दिएर जेरी, गजा-खस्टा, लालमोहन र एैंठे घर लैजाने धेरै हुन्छन् । बसेर खाने धेर नआउने ठाउँमा सजावटको के काम ।'
मल्लकालमै पोखरा आउने नेवार परिवारको इतिहास छ, जसले यहाँ व्यापार थाले । आफ्ना संस्कृति जोगाए । भक्तपुरबाटै आएमध्येको एउटा परिवार चुल्याजु पनि हो । भारतीय र ब्रिटिस सेनाको भर्तीमा गएर लाहुरे बनेका साथीहरू देखेका २९ वर्षीय सिद्धिलाल चुल्याजुलाई पनि रहर लाग्यो । १९८५ मा घर छाडेर हिँडे । भर्ती त हुन सकेनन् तर, उनले पाँच वर्ष बर्मामा बिताएपछि घर फिर्दा एउटा गरिखाने इलम लिएर आए । इलम थियो- मिठाइ बनाउने । भुत्ते भनिने सिद्धिलालले स्थानीय साहु चन्द्रबहादुर बाटाजुबाट ऋण लिएर विस १९९० मा नालामुखचोकमा पसल खोले । नाम चल्यो- भुत्तेको मिठाइ पसल । उनले छिटै ऋणमात्रै तिरेनन्, पसलको आम्दानीले उनका सन्तानको सुखी जीवनका लागि मार्ग सरल बनायो ।
कुनै समय यही मिठाइ पसलका बारेमा लेख लेखेका स्थानीय अष्टमान प्रधानांग भन्छन् 'हामीले केटाकेटीदेखि देखेको, मिठाइ खा“दै आएको पसल हो भुत्तेको ।' उनका अनुसार सिद्धिलालका समकालीन नभेटिने भएकाले उनका बारेका धेरै कुरा खोज्न सजिलो छैन । 'यति हो त्यो जमानामा नाम चलेका यस्ता मिठाइ पसले थिए, जो आफैं मालिक आफैं कालिगढ थिए,', उनले भने, 'उनी मिजासिला, ग्राहक रिझाउने खालका थिए ।' आफ्नो कामबाहेक उनी समुदायको परम्परागत बाह्रभैरव नाचका एउटा कलाकार पनि थिए ।
२०१५ सालमा राजा महेन्द्र पोखरा आएका थिए । र्सवज्ञमान प्रधानांग त्यसताका उद्योग वाणिज्य संघ सभापति थिए । उनले राजाको स्वागतमा नगरमा दुइ सयवटा हाराहारी स्वागतद्धार बनाउन लगाए । ती द्धारमध्ये एउटाले निकै चर्चा पायो । महेन्द्रले ती बनाउनेलाई लेकसाइडको रत्नमन्दिरमा बोलाए र, तिनको हातबाट बनेका परिकार तत्कालीन राजपरिवारले चाखे । सिद्धिलालले सेलरोटी र जेरीको स्वागतद्धार बनाएका थिए, जो त्यसताका सबैका लागि अनौठो थियो । 
परिस्थितिका कारण सिद्धिलालले तीनपटक विवाह गरेका थिए । जेठीबाट दुइ छोरी, माइलीबाट एक छोरा र कान्छीबाट चार छोरा भए । २०२७ सालमा उनी दिवंगत भएपछि छोराहरूमध्ये केहीले अल्पकाल पसल हेरे । अन्ततः पृथ्वीनारायण क्याम्पसमा नेवि संघको राजनीतिमा चाख राख्ने कान्छा छोरा राजकुमारले जिम्मेवारी लिए । आइए पढ्दा उनी डेढ महिना थुनामा पनि परेका थिए । तर, पसलको जिम्मेवारी लिएपछि पढाइ छुट्यो । हातमा आयो मिठाइ बनाउने जिम्मेवारी । 
यतिबेला राजकुमार र दयालक्ष्मी दिनहुँ पसलमा मिठाइ बनाइरहेका भेटिन्छन् । 'हामी धेरै अर्डरको काम गर्र्छौ,' दयालक्ष्मीले भनिन्, 'पुरानो पसल भएकाले ग्राहक पनि पुरानै छन् ।' उनका अनुसार समान्यतया दिनको सरदर ६ हजार रूपैयाँ हाराहारीका परिकार बनाइन्छ । अर्डरका बेला दिनमा २० हजार बराबरीका मिठाइ तयार पार्ने गरिएको छ । जमानामा पुरी, तरकारी र चिया पनि बेच्ने भुत्तेको मिठाइ पसलले अहिले जेरी, गजा-खस्टा, लालमोहन र एैँठेमात्रै बनाउँछ । 'हामी रंग हाल्दैनौ, एक किलो मैदाको मुश्किलले ३० वटा बन्छ,', उनले भनिन्, 'त्यसैले धेरै डिमान्ड जेरीकै हुन्छ । हामी जेरी नै धेरै बनाउँछौ । यहीँ बसेर खानेभन्दा लाने धेरै हुन्छन् ।'
राजकुमारको भागमा जिम्मेवारी आएपछि भुत्तेको त्यो पुरानो पसल नालामुखबाट आफ्नै जमिनमा केही पर भीमसेनटोलमा सर्‍यो । सिद्धिलालले पसल थाल्दा सडकहरू बनिसकेका थिएनन् । तराइबाट मैदा, चिनी र बागलुङर्-पर्वतबाट घ्यु झिकाउँथे । 'बुवाको पालाभन्दा अहिले सजिलो छ, फोन गर्‍यो । मैदा, चिनी, सूर्यमुखी तेल घरमै आइपुग्छ,' राजकुमार भन्छन्, 'बुवाको ख्यातिले अहिलेसम्म हाम्रो पसल चलेको छ । समयअनुसार स्वाद फरक परेर ग्राहक भाग्लान् भन्नुपरेको छैन ।' उनको पसलबाट धेरै बिक्री हुने जेरी नै हो । यसबाहेक अन्त सजिलै नभेटिने गजा-खस्टा र एैँठे बेलायत र हङकङ जानेहरूले किनेर कोसेली लैजान्छन् । राजकुमारका १९ र १७ वर्षका छोराछोरी पनि फुर्सद मिलाएर पसलमा सघाउँछन् । तर, चुल्याजु परिवारको यो पसललाई भविष्यमा पछिल्ला पुस्ताले निरन्तरता देलान् भन्नेमा राजकुमार ढुक्क छैनन् । 'हेर्दा मिठाइ तर, बनाउन सीप चाहिन्छ, जो सजिलै जानिंदैन, काम गर्ने राख्दा टिक्दैनन्,' उनले भने, 'हामीले सकुञ्जेल चलाउने हो । भविष्यमा के होला कसले जानेको छ र ।'
(१९ असोज २०७३, कान्तिपुरको भित्री पानामा प्रकाशित /  ब्लगमा संग्रहका लागि थोरै थपथापसहित)

No comments: