'बाउ र दाजु बाहिर थिए, सोझी आमालाई जे भने नि पत्याउँथिन्,' उनले आफ्ना कुरा सुनाइन, 'मलाई केटी साथीका संगत मन नपर्ने । केटा साथी, चुरोट र रक्सी मन पर्दापर्दै कहिले ड्रग्स लिन थालिएछ, पत्तै भएन ।'
पोखराको सीतापाइलास्थित नौलो घुम्तीको सुधार तथा पुनर्स्थापना गृहमा चन्द्राले आफ्नो बारेमा सुनाउने पालोमा बोलेकी थिइन । उनले भनिन् 'तर, म यहाँ आएपछि सुध्रिएँ । अब मलाई पुराना कुराले पछुतो लाग्छ ।' सुधारगृहमा आएर लागूऔषध छाडेका दिनलाई पुनर्जीवन मिलेको मानेर जन्मदिनका रूपमा मनाउने गरिएको छ । यहाँ हाल २० महिला र ३० पुरुष छन् ।
आकर्षक पाराले सजाइएको केक काटेर मनाइएको जन्मदिनमा यहाँबाट सुध्रिएर घर फिरेका १५ जनाले आफ्ना अनुभव सुनाए । तिनैमध्येका छबिले आफू सुध्रिएको २७ महिना लागेको सुनाउँदा सबैले ताली पिटे । केहीले आफ्ना अनुभव सुनाउँदा भावुक पनि भए । उनीहरूमध्ये धेरैको भनाइ लागुऔषध छाड्छु भनेर सुधार केन्द्रबाट निस्किएपछि जीवनको असल संघर्ष सुरू हुन्छ भन्ने रह्यो ।
पोखरा उपमहानगर भारतीय सीमाना नजिक छैन, न त चीनको सिमाना नै यहाँबाट नजिक छ । तर, लागूऔषधको ओसारपसार र प्रयोग दक्षिणका कुनै सिमावर्ती शहरका तुलनामा यहाँ कम छैन । यसको पुष्टि प्रहरीको तथ्यांकले पनि गर्छ । गत वर्ष लागूऔषधका ८९ मुद्दामा प्रहरीले ६ महिलासहित १ सय ५८ जनाविरुद्ध कारवाही चलाएको थियो । चालु वर्ष २०७२/७३ का १० महिनामा नयाँ मुद्दा संख्या ६१ पुगेको छ । पक्राउ परि कारवाही चलाइएकाहरूमा सात महिलासहित एक सय दुई जना पुगेका छन् । यी अवधिमा बरामद लागूऔषधको परिमाण पनि उल्लेख्य छ ।
'सीमावर्ती शहरमा ओसारपसारका केस धेरै होलान् । यहाँ त युजर धेरै छन्,' कास्कीका प्रहरी निरीक्षक गणेश बमले भने, 'युजरले भनेजति पैसा हाल्न सक्ने भएकाले यहाँ ड्रग्स ल्याएर बेच्ने र खाने घट्दै घटेनन् ।' उनका अनुसार बढ्दो शहरीकरण र आधुनिकतासँगै किसोरकिसोरीको जिज्ञासू उमेर र सम्पन्नताले लागुऔषधको लत बढाएको अवस्था छ । 'यो पुरै निर्मुल कसरी हुन्छ भन्दा पनि न्युनीकरण कसरी हुन्छ भन्नेमा लाग्नुपर्छ', उनले भने, 'लागूऔषध नखाउन भनेर परिवार र समाज सचेत नभएसम्म समस्या यस्तै नै रहिरहने अवस्था छ ।'
जिल्ला प्रहरी कार्यालय कास्कीले हेर्ने मुद्दामा सर्वाधिक संख्या लागूऔषधकै छ । प्रहरीले चालु वर्षमात्रै एक इरानी र एक जर्मन नागरिकविरुद्ध पनि लागूऔषधका मुद्दामा कारवाही गरेको छ । उपमहानगरको आम्दानीको ठूलो हिस्सा पर्यटन व्यापार र वैदेशिक रोजगारीले ओगटेको छ । यी व्यवसायमा रहेका परिवारमा सन्तानको लालनपालनमा ध्यान दिनुपर्ने समय अभिभावकसँग कम हुने भएकाले कतिपय परिवारका युवापुस्तामा ड्रग्सको लत हट्न सकेको छैन ।
गृहमन्त्रालय र केन्द्रीय तथ्यांक विभागले २०६९ मा गरेको एउटा सर्वेक्षणले त्यसबेला कास्कीमा लागूऔषध प्रयोगकर्ताको संख्या ५०३ महिलासहित ६ हजार ९१७ रहेको देखाएको थियो । यिनमा सूइबाट लागुऔषध लिनेको संख्या ६० प्रतिशत रहेको उक्त तथ्यांकमा छ ।
यसै क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्युनिटी सर्पोट ग्रुपका कार्यक्रम संयोजक दिलीप गुरूङका अनुसार गृहको उक्त तथ्यांकपछि पनि संख्या घटेको छैन, बरु बढेकै छ । सरकारीतवरबाट लागूऔषधको ओसारपसार र प्रयोग निरुत्साहित गर्न कुनै पनि प्रभावकारी कार्यक्रम नआउनु दुःखद रहेको उनले बताए ।
'प्रहरीले पक्राउ गर्नेबाहेकका कुनै पनि चेतनामुलक कार्यक्रम भएनन्, गैरसरकारी संस्थाको कार्यक्रममा मात्रै भर गरेर यसको रोकथाम हुने देखिँदैन', उनले भने 'अभिभावक बाहिर रहनु, केटाकेटीमा परिवारको नियन्त्रण नहुनु र साथीसंगत लती बनाउने ठूलो कारक यहाँ देखिएको छ ।' आफ्ना स्कुल-कलेज जाने उमेरका नानीहरू के गर्दैछन्, उनीहरूको संगत कस्तो छ, उनीहरूको रुचि केमा छ भन्ने अभिभावकले ध्यान दिएमात्रै पनि लागूऔषधको बाटोबाट रोक्न सकिने उनले बताए ।
'सरकारबाट चेतनामुलक कार्यक्रम त आएन आएन, समाज जसरी परिवर्तन हुन सक्नुपर्ने थियो, त्यो पनि भइदिएन,' उनले भने, 'रिह्याब (सुधार केन्द्र) मा बसेर फर्किएकाहरू फेरि किन ड्रग्समा फँस्छन्, उनीहरूलाई कसरी रोक्ने भन्नेमा परिवारमात्रै होइन समाजको पनि सकारात्मक भूमिका जरुरी छ ।'
त्यसो त उपमहानगरपालिका भित्रमात्रै लागूऔषधको लत छुटाउन १० वटा सुधारगृह सञ्चालनमा छन् । सबैमा आफ्नो लत सुधार्न भर्ना भएकाको संख्या उल्लेख्य छ । नगरका सुधारगृहमध्ये दुई वटामा महिलाका लागि पनि व्यवस्था छ । यहाँ मुलुकका विभिन्न जिल्लाबाट सुध्रन चाहने भर्ना छन् ।
सुधारगृहहरूलाई केही समय यहाँ बसेर घर फिरेकाहरू सामान्य जीवनमा कसरी फिर्लान् भन्ने चिन्ता रहिरहने नौलो घुम्तीकी कार्यक्रम संयोजक मना ज्ञवालीले बताइन । 'रिह्याबमा पहिलो चरणमा तीन महिना राख्ने हो, त्यसपछि उनीहरू घर आउँदैजाँदै गरेर पनि आफूलाई सुधार्न सक्छन्,' उनले भनिन्, 'घरपरिवारले हिम्मत दिएर मनोबल बढाइदिए लागूऔषध छाड्न मन बनाएकाहरू सुध्रन धेरै समय लाग्दैन । तर, धेरै परिवारलाई फुर्सद हुँदैन, समाजले जिस्क्याउन छाड्दैन ।'
लागूऔषधको लत लागेकालाई 'रोगी' मानिने भएकाले उसको सुधारका लागि सुधारगृहको एक्लो प्रयास कहिल्यै पर्याप्त नहुने उनले बताइन । 'जसरी स्कुल-कलेज र अस्पतालको संख्या बढेको छ त्यसरी नै ड्रग्स युजर पनि बढेका छन्', उनले भनिन्, 'यसलाई गम्भीर समस्या मानेर सुध्रन चाहनेलाई समाजले सघाउनुको विकल्प नै छैन ।' आफ्ना परिवारका सदस्यलाई सुधारगृहमा ल्याएका थोरै परिवारमा मात्रै गम्भीरता पाइएको उनले बताइन ।
('लागूऔषधको बढ्दो प्रयोग' शीर्षकमा२०७३/०२/१८ मा कान्तिपुरमा प्रकाशित )

No comments:
Post a Comment