Sunday, February 26, 2017

वसन्त केशव पराजुली - वचनको साङ्लोभित्र


आमाबुवाका कुरा कति मान्ने - तन, मन धन दिनुपर्ने कामका लागि अझ कसमै खुवाए सन्तानले गर्ने कि नगर्ने ? अरूका लागि दुविधाका विषय होलान् तर, पोखरा वृद्धाश्रमका अध्यक्ष ७८ वर्षीय वसन्तकेशव पराजुलीका लागि ढुंगामा लेखिएका अक्षर जतिकै छन् ।
 
उनको दिनरात ४८ वृद्धवृद्धा र कर्मचारीसहित ६० जना आश्रित आश्रमलाई सक्षम बनाउने कोसिसमै बितेका छन् । पोखराका शैक्षिक संस्थाहरूको स्थापनाका लागि सक्रिय केही थोरै नाममध्ये छुटाउनै नमिल्ने नाम हो ऋषिकेशव पराजुलीको । कांग्रेसी राजनीतिकै खातिर उनले केही वर्ष निर्वासित जीवन पनि गुजारे । कांग्रेसको दिन फर्किएपछि भने उनले पार्टीबाट केही लाभ लिएनन् । कुनै सरकारी ओहदाको मोह राखेनन् ।

उनैका जेठा छोरा हुन् वसन्त । बाबुभन्दा राजनीतिक विचारमा फरक । ऊर्जाशील उमेर शिक्षण पेसामा गुजारेपछि अवकाशको जीवन वसन्तलाई आफ्नै सुरले जिउने ध्याउन्ती थियो । पञ्चायतकालमा अभिभावकको निर्वासित जीवनलाई उनले फरक पाठ सिकाएको थियो । 'मलाइ लाग्थ्यो, राजनीति मैले जाने बाटो होइन,' उनले भने, 'त्यसैले मैले कहिल्यै राजनीति गरिँन । तर, त्यसको छर्कोबाट मुक्ति पनि मिलेन । कतै न कतै खरो भएर बोल्दा पनि फरक अर्थ निकाल्ने रहेछन् ।'
 
२९ वर्ष प्राध्यापन पेसामा उनले ६ ठाउँ पढाए । तीन ठाउँ प्रधानाध्यापकको जिम्मेवारीमा रहे । अवकाशपछि उनले २०५२ मा सेवानिवृत्त शिक्षकको संगठन बनाए । आफू अध्यक्ष भए । हकहितको कुरा गर्नु राजनीति नै भन्ने बुझियो । २०१४, २०३६ र २०३८ का विद्यार्थी र शिक्षक संघर्षका दौरान तीनपटक थुनामा पनि परे । पढाउने पेसाअघि उनले २०१२ देखि तीन वर्ष किराना पसल पनि गरि हेरे । २०१५ देखि नेपाल एयरलाइन्सको एउटा एउटा एजेन्सीमा भैरहवा र जनकपुर पुगी जागिरे भएर अढाइ वर्ष बिताए ।

'५२ सालमा बुवाले मेरो एउटा कुरा मान भनेर वाचा गराउनु भयो,' उनी सुनाउँछन्, 'त्यो वाचा यो पोखरा वृद्धाश्रम चलाउने भन्ने थियो ।' वृद्धवृद्धाले परिवारबाट परित्यक्त जीवन बिताउने क्रम सुरू हुनुलाई बुवाले दूरदृष्टिबाट देखेको उनले बताए । बाबुले दिएको २६ हजार ७ सय रूपैयाँबाट पोखरा-१७ सीतापाइलामा आश्रम सुरू गर्दा यसको दीर्घकालीन सञ्चालनको कुनै योजना थिएन । सञ्चालक समितिका अध्यक्ष रहेका उनका पिताजी २०५३ मा ७९ वर्षमा उमेरमा दिवंगत भए । जिम्मेवारी पुरै काँधमा आयो । 

'मैले सुरूमै भनेको थिएँ, आश्रम आफ्नो खुट्टामा उभिने भएपछि मैले स्वतन्त्र हुन पाउनुपर्छ', उनले सुनाए, 'अहिलेको उपक्रम यही छ कहिले आश्रम सक्षम होला भन्ने ।'

आफूले धर्मकर्मको मार्गमा हिड्न स्वतन्त्र हुन पाउनुपर्छ । तीर्थाटनका लागि समय मिल्नुपर्छ । 'तर, म वचनले बाँधिएको छु', उनले भने, 'यो आश्रममा आश्रित बढेका छन् । भवन बनाउन थालियो । पुगनपुगकै चिन्तामा दिन जान्छ ।' 

वसन्तकेशव नेतृत्वको आश्रम पोखरेलीका लागि अहिले नौलो तीर्थ भएको छ । जन्म दिन, दिवंगतका पूण्यतिथिका दिन यहाँ आउने, भेला भएर आश्रतिलाई खाना खुवाउने, दान दिने चलन बसेको छ ।
 

आफ्नो घर, परिवारलाई समय नदिएर वसन्तले वृद्धाश्रममा बाबुलाई दिएको वचनको मान राखेका छन् । यहाँ सबै आश्रित उमेरका ६० वसन्त नाघेकाहरू छन् । आधा दर्जन असी नाघेकाहरू पनि छन् । खानपान, रोगव्याधि र उनीहरूको सजिलो बसाइँको व्यवस्थापन सजिलो छैन । 

'मैले आफ्नो घरपरिवारलाई समय नदिएर आश्रमलाई दिएको छु,' उनले भने, 'यो एउटा तपस्याकर्मभन्दा कम छैन । तपस्याकर्म कहिल्यै सजिलो हुँदैन भन्ने पनि थाहा छ ।' सानो झुप्रो, पाँच वृद्धवृद्धाबाट थालेको आश्रम अहिले करिब डेढ करोडको भौतिक संरचना भएको बनेको छ । यद्यपि निर्माणका काम अझै जारी छन् । 

अब केही स्वास्थ्यकर्मीको ध्यान यहाँ पुगेकाले आश्रितको सञ्चो-बिसञ्चो १५/१५ दिनमा चेकजाँचको व्यवस्था मिलेको छ । दान दिन आउनेका मायाले मात्रै यहाँको दैनिकीलाई खर्च यथेष्ट छैन । उनले भने 'सुरूमा दुइ सहयोगीले भवन बनाउन सघाए, पछि गायक कर्ण दासले २ महिनाका लागि बुढाबुढीको खानेकुरामा सहयोग गरिदिएर सजिलो बाटो खुलेको थियो । अझै पनि जहाँ जहाँ सकिन्छ हात फैलाएर माग्दै यहाँ ल्याउँछु । सुनेर मन पग्लिएकाहरूले विदेश पुगेर पनि सम्झेका छन् ।'

बाबुको एउटा वचनको मानका खातिर आफ्नो जीवनको अवकाशको समय आफूजस्तै वृद्धवृद्धाका बीच बिताउनु अब भने बन्धन जस्तो नलाग्ने उनले सुनाए । 'यो आश्रम कुन दिन आफैं दिनदिनैको खर्च धान्ने होला भन्नेमात्रै ध्याउन्ती छ,' उनले भने, 'खासमा वृद्धवृद्धा आफ्नै परिवारका बीच आफूले आर्जेको घरमै बाँचेको राम्रो भन्ने लाग्छ । तर, जसका लागि त्यस्तो सम्भव भएन, उनीहरूलाई यो ठाउँ जहिल्यै आश्रय दिनसक्ने भइरहनु पर्छ ।'

***
(नेपाल म्यागजिनको  'जीवनका रंग 'स्तम्भमा ०७२ मा प्रकाशित )

Wednesday, February 22, 2017

मुस्ताङसम्मै मोटरमा सरर ...


विराटनगरबाट आफ्नै जिप लिएर मुक्तिनाथसम्मको यात्रामा निस्केका जयेश बोहोराले पोखरा आइपुगुञ्जेल पनि इन्टरनेटमा हिमालपारिको जिल्लाको सडकमार्गको अवस्था 'सर्च' गरिरहेका थिए । पोखरा बस्ने साथीभाइसँग पनि आफ्नै गाडी जान सजिलो-अप्ठ्यारो बारे जानकारी लिइरहे ।

बेनीबाट घाँसा, मार्फा, जोमसोम र त्यहाँबाट मुक्तिनाथ अनि छुक्साङ पुगेर आनन्दले दुई रातको बसाइपछि पोखरा फिरेका उनले भने 'अब मेरा साथीहरू धेरैजना यताको यात्रामा आउने छन् ।' यही यात्रामै रहेका विराटनगरका सुकुमार सेनले पनि कोलकातामा रहेका भाञ्जालाई मुस्ताङ आउजाउका फोटा 'ह्वाट्स एप' गरे । 'मैले अब भाञ्जालाई घुमाउन नल्याइ नहुने भयो,' उनले भने, 'यति सजिलो यात्रा होला भन्ने सोचेकै थिइँन ।'

यतिबेला मुस्ताङ उक्लने सिजन होइन । तर, यात्रुको चाप भने घटेको छैन । यो जिल्ला प्रवेश गर्दाको पहिलो गन्तव्य घाँसामा प्रहरी चौकीले आउने सवारीको रेकर्ड राख्छ । चौकी इञ्चार्ज योगेन्द्र यादवका अनुसार सार्वजनिकभन्दा निजी सवारी आगमनको दर निकै उच्च छ । 'सिजनमा सरदर महिनाको बस, ट्रक, ट्याक्टर र साना गाडी १५ सय जति र मोटरसाइकल दुई हजार जति मुस्ताङ आउँछन्,' उनले भने, 'भिरालो बाटो भएपनि यहाँ दुर्घटना नहुनु चाहिँ अचम्म लाग्दो छ ।' 

उनका अनुसार गत असोज र कात्तिकमा घाँसा भएर मुस्ताङ पुगेका गाडीहरूमा बस ६३४, जिप-कार १७१३, ट्रक १७९ र ट्याक्टरको संख्या ९९ वटा रह्यो । यो अवधिमा पुगेका मोटरसाइकलको संख्या ६०३५ रहेको रेकर्ड छ । 'इन्ट्री गराएर मात्रै जाने भएकाले हामीले कुनै गाडी नफर्के वा केही सामान हराए खोजी गर्छौ,' उनले भने, 'मुस्ताङ घुम्न आउनेहरू नेपालको अरु ठाउँ यसरी भीड भएर जाँदैनन् होला ।' सडक सहज भएकै कारण हिमाल पारिको जिल्ला हेर्न रहर लाग्नेहरू आउने गरेको उनले बताए ।

***
कोवाङ-६ का अशोक गौचन गोठभरि खच्चड पाल्थे । यिनै खच्चडलाई पोखराबाट सामान बोकाएर जोमसोम ल्याउँथे । 'पोखरा ओहोरदोहोर गर्न महिना दिन बिताउनु पर्थ्यो,' ६० वर्षपार गरेका गौचन अतित सम्झँदै भन्छन्, 'यति छिटै जोमसोममा मोटर आउला भन्ने मैले सोचेकै थिइँन ।' २०४९ सालतिर बागलुङमा मोटर चल्यो । २०५२ देखि बेनीबाटै बस चल्न सुरु भयो । 'पछि महिनाभरिको पोखरा आउजाउ सात दिनमै भ्याउन थालियो,' उनले भने, 'हिँड्दा-हिड्दै हाम्रो जीवन बित्यो तर, अब सुविधा देख्न पाइयो ।' ०६३ सालपछि जोमसोमसम्म नै मोटर चल्न थालेपछि खच्चड पाल्न छाडिएको उनले सुनाए । 'अब त मुस्ताङीको लाइफस्टाइलमै ठूलो परिवर्तन आइसक्यो, पोखराबाट खच्चडमा सामान बोकाएर ल्याएको सम्झिँदा-सुनाउँदा एकादेशको कथा जस्तै लाग्छ,' उनले भने ।

सडकले नेपालीको पहुँच चीनको सिमाना कोरला नाकामा सोझै जोडिदिएको छ । नवलपरासीको गैंडाकोटदेखि कोरलासम्म ४ सय ३५ किमि कालीगण्डकी कारिडोरको यो उत्तर-दक्षिण राजमार्गले जोमसोम बजार मुग्लिन जस्तै खाना खाने केन्द्र बन्न पुगेको छ । पोखराबाट बिहानै निस्केको मोटर बाटोमा अवरोध भएन भने दिउँसै जोमसोममा खाजा खान आइपुग्छ ।
 
यहाँको सडक निर्माणको इतिहासमा नेपाली सेनाको ठूलो भूमिका छ । कुनै समय बेनीदेखि जोमसोम सडक खन्न सरकार पनि तयार थिएन । यो खण्डमा ठूला पहराले कामदारलाई निकै जोखिम थियो । तर, देशमा सशस्त्र द्वन्द्व चर्कंदै गर्दाको समय सेनाले जोमसोम सडक खन्ने जिम्मा लियो । ५ वर्ष लगातार मिहिनेतले बेनीदेखि जोमसोम ट्रयाक खोल्न सफल भयो । २०६३ वैशाखमा गणतन्त्र घोषणा भयो, यही महिनादेखि जामसोममा सेनाले मोटर बाटो बनाएरै छाड्यो ।

***
 
'जोमसोम, लोमान्थाङ, कोरलामा मोटर चलेको देख्दा एउटा सपनाको क्षण जस्तै लाग्छ,' धौलागिरि बोर्डिङ स्कुलका प्रिन्सिपल तथा पूर्व सांसद चन्द्रबहादुर गुरुङ भन्छन्, 'अब मुस्ताङ र पोखरामा कुनै भिन्नता रहेन । ६० सालसम्म यहाँको जनजीवन निकै फरक थियो, वर्ष लाग्दा पनि घर छोड्नुपर्ने, हिउँदमा पनि घर बस्न नसकिने । खच्चडलाई भारी बोकाएर परिवारसहित खुला चौरमा बसिन्थ्यो ।' हिउँदको चिसो र वर्षाको पानी छल्ने मेसोमा आम्दानी पनि गर्न खच्चडलाई सामान बोकाएर सपरिवार हिंडेर बेंसी झर्नुपर्ने बाध्यता अब हटेको उनले बताए । ४० साल अघिको त्यस्तो थियो । पछि यहाँको जनजीवनमा केही परिवर्तन आयो । वर्षायाममा घरमै बस्ने, हिउँद लागेपछि पोखरातिर झर्ने । तर, अहिले यो पनि बदलिएर यहाँका स्थानीय वर्षभरि नै घरमा बस्ने क्रम बढेको उनले सुनाए ।
  
अहिले म्याग्दीको गलेश्वरदेखि कोरलासम्म कच्ची सडक छ । अबको ५ वर्ष भित्र जोमसोमसम्म कालोपत्रे सडक बन्ने निश्चित भएको छ । बागलुङ मालढुंगा-गैंडाकोट र बेनी-कोरला दुई भागमा विभाजन गरेर निर्माण सुरु गरिएको सडक विभागले जनाएको छ । कच्ची सडक नै भए पनि जोमसोमदेखि काठमाडौंसम्म रात्रिबस सञ्चालन भइसकेको छ ।

सडकलाई स्तरोन्नति गर्न गैंडाकोटदेखि कोरलासम्म ४३५ किमि खण्ड निर्माणमा पछिल्ला सरकारले निकै प्राथमिकता दिएका छन् । सडक विभागले जोमसोम-कोरला सडकलाई उच्च प्राथमिकता दिएको छ । यो सडकको निर्माण दुई वर्ष भित्रै सकिने विभागले जनाएको छ । यसका लागि विभागले मंसिरदेखि जोमसोम बजारमा कालीगण्डकी करिडोर कार्यालय संचालनसँगै बेनी-जोमसोम र तेस्रो चरणमा मालढुंगा-गैंडाकोट सडकको निर्माण पुरा गर्न सरकारले योजना ल्याएको छ ।


उत्तर-दक्षिण राजमार्ग आयोजनाका निर्देशक गोपालप्रसाद सिग्देल भन्छन्, यो उच्च प्राथमिकतामा परेको उत्तर-दक्षिण मार्ग हो ।' जोमसोमदेखि कोरलासम्मको १ सय १० किमि सडक खन्न २ अर्ब ५० करोड विनियोजन भइसकेको छ । विनियोजित बजेटअन्तर्गत यो वर्ष ३९ करोड निकासा भइसकेको छ । 

बेनी-जोमसोम ७६ किमि सडक पुरै कालोपत्रे गर्न अब काम सुरु हुने विभागले जनाएको छ। कालीगण्डकी करिडोर सडकमा कोरलादेखि गैंडाकोटसम्मका मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा र नवलपरासी जिल्ला पर्छन्। यो सडकले नवलपरासीको तर्राई क्षेत्रबाट सोझै चीनको कोरला सिमानासम्म जोड्ने छ। उत्तर-दक्षिणको यो सडक गैंडाकोट-मालढुंगा २३५, मालढुंगा-बेनी १४, बेनी-जोमसोम ७६ र जोमसोम-कोरला ११० किमि छ । ४३५ किमि लामो यो सडक मुलुकको उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो राजमार्ग हो।

कुनै समय थियो, राजधानीबाट मुस्ताङ आउँदा कम्तीमा सातादिनको भ्रमण तालिका चाहिन्थ्यो । पोखरासम्म आउन सुविधा थियो तर, मुस्ताङ पुग्न ठूलो सकस । गत माघदेखि जोमसोम-काठमाडौं रात्रिबस सञ्चालनले मुस्ताङको यात्रा सहज बनाइदिएको छ । पोखराबाट जोमसोम पुग्न बसमा एक हजार भाडा तिरे बिहान चढेर साँझ उत्रन सकिने भएको छ । बस सञ्चालनले काठमाडौंबाट एकै रातमा जोमसोम आउन पाइन्छ । पोखरा र बेनीबाट मिनीबस तथा जीप परिवर्तन गर्नुपर्ने झन्झट रात्री बस संचालनले अन्त्य गरिदिएको छ ।
  
गत वर्षसम्म 'सिण्डकेट'ले बदनाम बेनी-जोमसोम सडकमा अहिले कुनै पनि सवारीसाधनलाई रोकछेक छैन । यात्रुहरू आफ्नो सुविधाअनुसारको सवारीसाधन लिएर आउजाउ गर्न सक्छन् । सिण्डिकेट पूर्णरुपमा हटेपछि यो रुटमा सवारी संञ्चालन खुला प्रतिष्पर्धामा भइरहेको छ । यहाँ मुस्ताङ, म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका समेत सातवटा ब्यवसायी समितिहरूले सार्वजनिक यातायातको सेवा  दिइरहेका छन् ।

'सिण्डिकेट छैन । सबैका गाडी कम्पिटिसनमा चलेका छन्,' म्याग्दी बस तथा जीप व्यवसायी समिति कोषाध्यक्ष मोहन केसीले भने, 'मौसमी व्यवसाय भएकाले सजिलो-अप्ठ्यारोमा जनतालाई बोक्ने हामी मात्र हौं ।' मापदण्ड पुरा नभएकोले सडक विभागले हिउँदे अस्थायी 'रुट' कायम भएको छ । रुट कायम भएपछि बेनी-जोमसोम सडकमा पोखराको पृथ्वीराजमार्ग, मुस्ताङका दुइ समिति, म्याग्दीका तीन र बागलुङका एक बस ब्यवसायी समितिका सवारीसाधनले यात्रु बोक्ने गरेका छन । बेनीबाहेक बागलुङ, पोखरा र काठमाडौंबाट जोमसोमका लागि सोझै गाडी पाइन्छ । आन्तरिक यात्रु बोक्न छुट्टै स्थानीय सवारीसाधन पनि चल्ने गरेका छन् ।
 

'बेनी-जोमसोम सडकमा हल्ला जस्तो अवरोध छैन । सडक पहिलेभन्दा धेरै सुध्रिएको रहेछ,' काठमाडौंको कोटेश्वरका तीर्थयात्रु बोकेर आएको बा३ख ४८३४ नम्बर बसका चालक नारायण कार्कीले भने, 'आफ्नो गाडी कन्डिसनमा छ भने मुस्ताङ आउन सजिलै लाग्यो ।' मुस्ताङमा मंसिर, पुस, माघमा हिउँ पर्ने र असार, साउन, भदौ र असोज वर्षाले सडक अवरुद्ध पार्ने भएकाले फागुनदेखि जेठका चार र कात्तिकको महिना बेनी-जोमसोम सडकमा सवारी चाप रहन्छ ।
  
देशभरबाट बौद्ध तथा हिन्दुको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आन्तरिक पर्यटक आउने क्रम गत वर्षाबाट निकै बढेको छ । सडकको अवस्था स्तरोन्नति भएकाले छोटो समय र न्युन खर्चमा हिमालपारीको जिल्ला सहजै पुग्न सकिने भएपछि आन्तरीक पर्यटकको ओइरो लाग्ने गरेको हो ।

***

(२०७३/११/७ मा  कान्तिपुरमा प्रकाशित ) 

Thursday, February 2, 2017

पोखरेली फुटबल पर्वको डेढ दसक


माघको दोस्रो साता पोखरेली खेलप्रेमीका लागि बर्सेनि चल्ने पर्व जस्तै हुन्छ आहा-रारा गोल्डकप फुटबल । दिउँसो २ बजे मैदान धुइरिने, आ-आफूले पक्ष लिएका टिमका लागि हौसला बढाउने र खेलको मजा लिने क्रम चल्छ । 

मुलुकका अन्य शहरको दाँजोमा पोखरेलीलाई खेलकुदको पूर्वाधारमा सजिलो छ । यसको कारण एउटै ठूलो मैदान हो, जहाँ फुटबलका लागि मात्रै नभइ क्रिकेट, भलिबल, बास्केटबल, लन-टेनिस, आर्चरीका लागि छुट्टाछुट्टै ठाउँसँगै 'इनडोर' खेलहरूका लागि कभर्ड हल पनि छ । १४ करोड ३२ लाखको लागतमा 'इनडोर' खेलकै लागि अर्को ठूलो बहुदेश्यीय भवन निर्माणाधीन छ ।
 
सेती नदीको किनार रंगशालाका लागि २०३९ सालमा ४१७ रोपनी जग्गा अधिग्रहण भएको थियो । त्यसको अर्को वर्ष फुटबलका लागि मैदान तयार पारियो । प्यारापिट निर्माण भयो । २०५९ मा खेलप्रेमीकै सक्रियतामा मैदान तारबार गरिएको थियो ।
 
'फुटबलको जमाना फेरिएकै हो, पहिले एक्लाएक्लै रहरले खेलिने खेललाई सहाराले बर्सेनि प्रतियोगिता गर्न थालेपछि व्यविस्थत भएको हो,' पुराना फुटबल खेलाडी एवं सहारा क्लबका सल्लाहकार शम्भु कार्कीले भने, 'हामीले २४/२५ सालतिर खेल्दा न कोच हुन्थे, न राम्रो जर्सी न बुट ।' तीसको दसकसम्म पोखरामा फुटबल खेल्नेहरूले आफ्ना लागि चाहिने सामान र तालिमको व्यवस्था नै नभएको उनले बताए । 'पछि बिस्तारै टोल र क्लबहरूले फुटबल आयोजना गर्ने चलन बढ्यो,', उनले भने, 'सहारा क्लब गठन भएपछि मात्रै पोखरामा फुटबल खेलको आयोजना व्यवस्थित र गतिविधि नियमित भएको हो ।'
 
सहारा क्लबको आयोजनामा बर्सेनि हुने आहा-रारा गोल्डकप फुटबलको यसपटकको १५ औं संस्करण सुरू हुनु दुई दिनअघिको पत्रकार सम्मेलनमा उद्योगी सूर्यबहादुर केसी अलि भावुक देखिएका थिए । पोखराका पूर्वमेयर तथा रारा र आहा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुड्सका सञ्चालक केसी प्रतियोगिताको सुरुवातदेखिका मुख्य प्रायोजक हुन् । 'म मरे पनि मेरो परिवारले सकेसम्म यो प्रतियोगितालाई पछिसम्म प्रायोजन गरिरहने छ,' उनले भने, 'हामी सबै उद्यमीले खेलकुदलाई सघाएमात्रै समाजका लागि काम गरेको ठहर्छ ।'
 
सहारा क्लबको इतिहास खोतल्दा स्मारिकाहरूमा रमाइला प्रसंग छन् । २०५० अघिसम्म पोखरामा खेलकुदका आयोजनाहरू हुँदै आए पनि ती निरन्तर हुन गाह्रो परिरहेको थियो । फुटबल रुचाउने एउटा जमातलाई अग्रजहरूले हौस्याए । टिम बन्यो । फुटबल खेल्न र सामाजिक काममा अगुवाइ लिन अघि सरेको समूहले बसपार्कमा शौचालय बनाउन पहल गर्‍यो । 

सहारा क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली भन्छन् 'हाम्रो टिम कोकाकोला कपको क्वाटर फाइनलमा पुगेको थियो । त्यही जोसलाई आफैं फुटबल टुनामेन्ट किन नगराउने भन्ने सल्लाह भयो ।' २०५७ मा जिल्लाका क्लबस्तरीय प्रतियोगिता आयोजना गरेको क्लबले २०५८ मा क्याराभान गोल्डकपको आयोजना गर्‍यो । त्यसको अर्को वर्षदेखि नै आहा गोल्डकपका नामबाट प्रतियोगिता आयोजनाको सिलसिला सुरू भयो । फुटबल आयोजना र प्रशिक्षणको कामलाई व्यवस्थित बनाएको सहारालाई स्थानीय र विदेशिएका पोखरेलीले सहयोग गर्ने क्रम सुरू भयो ।

'खासमा बलियो टिम बनाउनका लागि व्यवस्थित क्लब, नियमित अभ्यास र खटेर खेल्ने खेलाडी चाहिने महसुस भयो,' उनले भने, 'त्यसपछि आफ्नै टिमका लागि खेलाडी उत्पादन गर्न एउटा एकेडेमी चाहिन्छ भन्ने सल्लाह भयो ।' ०६१ देखि एकेडेमी सञ्चालन थालेको सहाराले पोखराको दोबिल्लामा २६ रोपनी जग्गा खरिद गर्‍यो । एकेडेमीको सुरुवाती चरणमा खेलाडी घरैबाट धाएर प्रशिक्षणका लागि जान्थे । 

'एउटा अनुभव के भयो भने सम्पन्न घरका छोराहरू पढाइ बिग्रियो भनेर बहानाबाजी गरेर ट्रेनिङमा आउन छाड्ने, गरिब घरकाहरू बुट र प्याड आफैंले किन्न नसकेर बीचैमा छाड्ने,' पूर्वअध्यक्ष थकालीले भने, 'हामीले घरघर गएर कारण बुझेपछि अब गरिब घरका २० जना छोराहरू ल्याउने, उनीहरूलाई खानबस्न, पढ्न दिएर फुटबलको तालिम दिने, आठ/दसजना प्रोफेसनल खेलाडी टिममा लिने सल्लाह गर्‍यौं ।' यही सल्लाहपछि क्लबले एकेडेमीलाई व्यवस्थित रूपमा चलाउन सकेको उनले बताए ।

हाल दोबिल्लास्थित सहारा एकेडेमीमा १६ जिल्लाका २८ बालकहरू छन् । उनीहरूलाई आवासीय सुविधासहित शिक्षा र फुटबलको दीक्षा दिइएको छ । क्लबमा सुरूदेखि नै सक्रिय फोटोपत्रकार सुदर्शन रञ्जित भन्छन् 'सहारा क्लब यसका पदाधिकारीको मात्रै होइन, पोखरेलीको सम्पत्ति हो । सबैको माया र सहयोग पाएकाले नै यो टिकेको छ ।' 
एकेडेमी दिगो र दीर्घकालसम्म निर्वाध सञ्चालनका लागि सहाराले अक्षयकोष जुटाउने अभियान चलाएको छ । उक्त कोषमा बचतसँगै खेलप्रेमीले आफूले सकेको रकम योगदान गरेका छन् ।

क्लबले वर्षैवर्ष आयोजना गर्ने आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीको खर्चका लागि मुख्य स्रोत रहिआएको छ । त्यसो त पोखराभित्र आयोजना गरिने फुटबलका प्रतियोगिताहरू दर्जन हाराहारी छन् । तर, सबै प्रतियोगितामध्ये भव्य र प्रतिष्ठित भने सहाराकै आयोजना मानिन्छ । पोखरा रंगशालामा सर्वाधिक दर्शक भित्र्याउने सहारा क्लब नै हो ।
      
पश्चिमाञ्चल खेलकूद विकास समिति अध्यक्ष खगराज पौडेलले भने, 'पोखरेलीको खेलप्रतिको लगावलाई सहाराले संगठित आकार दिएको छ ।' विदेशमा रहेका नेपाली र पोखरेलीको सहयोग हेर्दा देशका अरु शहरका क्लबले खेलका लागि यस्तो संगठित आकार बनाउन सकेको उदाहरण नपाइने उनले बताए ।


सहाराले क्याराभानको नामबाट पहिलो प्रतियोगिता गर्दा विजेताका लागि ५० हजार नगद पुरस्कार राखेको थियो । यतिबेला त्यो राशि ५ लाख पुर्‍याइएको छ । 'आयोजना सहाराले गरेको देखिएकोमात्रै हो, यो सबै पोखरेलीको आयोजना हो । हामी स्वयंसेवकमात्रै हौं,' क्लब अध्यक्ष वीरभद्र आचार्यले भने, 'फुटबल सबैको रोजाइको खेल हो । जसले जहाँ इमानदारीपूर्वक आयोजनाको प्रयास गर्छन् तिनलाई कसले नसघाउला जस्तो लाग्छ ।' 

सहारामा खेलप्रेमी र खेलका लागि चिन्ता गर्नेहरूको विचार मिलेको उनले बताए । 'हामीले संगठित हिसाबले आफ्ना प्रयास गरेका हौं, सरकारको मुखमात्रै ताकेर हामीले आफूले गर्नसक्ने कोसिस छाड्न भएन,' उनले भने, 'पहिलो, दोस्रो, तेस्रो गर्दै १५ वर्ष बित्यो । अब त हाम्रो टुनामेन्ट गराउने सिस्टम पनि बस्यो । सबैको माया र सहयोगले यो सम्भव भएको हो ।'

आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताका फाइनलहरू

क्रम  वर्ष विजेता टिम उपविजेता टिम फाइनल गोल
२०५९ पुलिस क्लब फ्रेण्ड्स १-०
२०६० एमएमसी पुलिस ३-१
२०६१ एमएमसी पुलिस ३-२
२०६२ अफ्रिकन युनाइटेड पुलिस २-०
२०६३ थ्री स्टार एमएमसी १-१ (४-३)
२०६४ पुलिस एपीएफ २-०
२०६५ पुलिस त्रिभुवन आर्मी ५-०
२०६६ पुलिस आर्मी १-०
२०६७ थ्री स्टार एमएमसी १-०
१० २०६८ एमएमसी जावलाखेल युथ २-०
११ २०६९ थ्री स्टार सहारा १-०
१२ २०७० सहारा एमएमसी १-०
१३ २०७१ थ्री स्टार एमएमसी १-०
१४ २०७२ आर्मी एमएमसी १-०
१५ २०७३ एमएमसी सहारा १-०

     
* तस्बिरमा पहिलो प्रतियोगिता (माथि) र सहारा आयोजनाको क्याराभान कपको एउटा खेल । 

***

(२०७३/१०/८ मा कान्तिपुरको खेलकुद पृष्ठमा प्रकाशित। सामान्य अप्डेटपछि ब्लगमा जतन गरिएको)

कामले सिकाउँछ काम


महिनाको बचत २० रूपैयाँ । हेर्दा-सुन्दा यति पैसाले के नै आउँछ भन्ने लाग्न सक्छ। तर, जीवनोपयोगी कृषि समुहमा आबद्ध महिलाका लागि मासिक बचतले थुप्रै काम गरेको छ। 'बचतको कारण हामी आमा, दिदीबहिनीको भेटघाट हुन्छ,' अध्यक्ष गुमा पौडेल भन्छिन् 'कृषि विकाससँग कार्यक्रम माग्न सक्ने भएका छौं।' ३२ सदस्यले गर्ने बचत आठ हजार पाँच सय रूपैयाँ पुगेको छ। समूहलाई सामुदायिक वन उपभोक्ता समूहले पनि सघाएको उनले बताइन।

'गाउँमा १३ वटा सामुदायिक वनका उपभोक्ता समिति छन्,' उनले भनिन्, 'पहिले पहिले छलफलमा जान धक मान्ने आमा दिदीबैनी अब निर्धक्क आफ्ना कुरा राख्नसक्नु हुन्छ।' वन समूहका कार्यसमितिमा रहने महिलाहरू पनि अधिकांश आफ्ना टोलका आमा, कृषि, वातावरण समूह र टोल संगठनमा आबद्ध रहेकाले नेतृत्वको अभ्यास निरन्तर रहेको उनले बताइन।

फेवातालको पश्चिम-उत्तरमा अवस्थित कास्कीको ढिकुरपोखरी पोखरा-बागलुङ राजमार्गमा पर्ने गाविस हो। यहाँका बासिन्दाको मुख्य बजार पोखरा र हेम्जा हो भने उच्चशिक्षाका लागि उपमहानगरसम्म गाडीमा आउजाउ सजिलो नै छ। गाउँका कृषि उपज बिक्रीका लागि पोखरा नै पुग्छ भने उताबाट चाहिने सामान गाउँले लिइ आउँछन्।

फेवातालमा मिसिने खोलाहरू ढिकुरपोखरी र भदौरेतामागी भएर बगेका छन्। फेवामा पुग्ने पानी ढिकुरपोखरीको वन क्षेत्र हुँदै जाने भएकाले सामुदायिक वन उपभोक्ता समूहहरू पनि अधिकार र चेतनाको क्रियाकलापमा सक्रिय छन्। यसको प्रत्यक्ष असर महिला समूहहरूमा परेको छ। १० हजार ८६ जनसंख्या रहेको गाविसमा महिला संख्या ४८ सय ६३ छ।
 
यहाँ महिलामात्रै मिलेर चलाएको एउटा सहकारी पनि छ। शेयर पुँजीमात्रै एक करोड १९ लाख पुर्‍याएको दिगो महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष सगुन गुरूङ भन्छिन् 'सानो समूह थियो, हामीले ५८ सालदेखि त्यसलाई सहकारी बनाएका हौं।' ९९३ सदस्य पुगेको सहकारीले गर्ने कर्जा लगानी कृषिमा आधारीत काममै रहेको उनले बताइन। 'महिला महिलामात्रै के पो गर्न सकौंला जस्तो लाग्थ्यो तर, कामले काम सिकाउने रहेछ,' उनले भनिन्, 'अहिले त हाम्रो सहकारीकै कार्यसमितिको चुनाव पनि गाविस वा नगरपालिकाको चुनावभन्दा कम हुँदैन।'

समूहहरूमा कार्यसमितिमा बस्न अनुरोध गर्दै हिड्नुपर्ने जमाना गएको उनले बताइन। 'महिलाले बोल्न जानेका छन्, आफ्नो गाउँका लागि गाविस र जिल्लासँग योजना माग्न पनि जानेका छन्,' उनले भनिन्, 'यसो हेर्दा त्यस्तो ठूलो के नै पो परिवर्तन आयोजस्तो लाग्छ तर, हाम्रो गाविसमा समूहले गर्दा महिलाको चेतनास्तर निकै बढ्यो।'

सामाजिक परिचालक संगीता भण्डारीका अनुसार परिवारका सदस्यमध्ये अधिकांशको एक/एकजना घरघरै विदेशिएका भए पनि महिला संगठीत छन्। 'वनको बेग्लै, कृषिको बेग्लै अनि स्वास्थ्यको पनि वडापिच्छे ३०/३० जना सदस्य रहेका समूहहरू छन्,' उनले भनिन्, 'गाविसस्तरीय महिला सञ्जाल पनि छ।' विभिन्न समय गैरसरकारी संस्थाहरूले आवधिक कार्यक्रम सञ्चालन गरेपनि अधिकांश महिला समूह आफैंमा आत्मनिर्भर रहेको उनले बताइन।
 
'ठूला कुरा के गर्नु, हाम्रा समूह तरकारीखेती, बाख्रापालन आदिका पनि धेरै छन्,' गाविसस्तरीय महिला सञ्जालकी सदस्यसचिव चन्द्रा अधिकारीले भनिन्, 'जसलेसुकै गाविसमा कार्यक्रम ल्याओस् महिला समूहको सहभागिता भएन भने सफल नहुने अवस्था छ।' सञ्जालले लघुउद्यमका तालिमहरू पनि सञ्चालन गरेर ब्युटीपार्लर, सिलाइकटाइ र बुट्टा भर्ने कामलाई व्यवसायका रूपमा थाल्न सघाएको उनले बताइन। 

'महिला संगठीत त भएका छौं तर, हामीलाई चाहिने योजनामा जिविस र सांसदलाई अझै दबाब दिन सकेका छैनौं जस्तो लाग्छ,' उनले भनिन्, 'गाविसका योजनामा महिलाका लागि केके पार्ने र केके परे भन्नेमा बहस चाहिँ गर्न थालेका छौं।' श्रीमान-श्रीमती घरैमा भएकाहरूमध्ये अधिकांशले कृषिमा आधारित उद्यम गरे पनि श्रीमान विदेश गएका कतिपय महिलामा उद्यम नगर्ने बानी विकास भएको उनले बताइन। 

'ढाँट्नु किन छ र, श्रीमान विदेश गएका परिवारमा महिला बजार सरेर डेरा बस्ने, छोराछोरी उतै पढाउने, आफू इलम नगर्ने बानी पनि बढ्दो छ,' उनले भनिन्, 'हामी जति गाउँ छाड्न नसकेर बसेका छौं, धेरैले समूहमा बचत, आम्दानी हुने कृषिको काम र महिला स्वास्थ्यका कुरामा सकेको गरेका छौं।'


भकरजुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद पौडेल समूहमा आबद्धमध्येका विपन्न परिवारका लागि सहुलियत ऋणको व्यवस्था गरेको बताउँछन्। 'सहकारी र महिला समूहका आआफ्ना गतिविधि छन्,' उनले भने, 'हामीले वन समूहबाट पनि विपन्नलाई सहुलियत कृषि कर्जा दिन्छौं। कारोबार गर्न, ऋण तिन र समूहमा छलफल गर्न थालेपछि चेतनास्तर बढ्नु स्वाभाविकै पनि हो।' 

वडा नागरिक मञ्च र गाविसस्तरीय सञ्जालमा पनि महिला सहभागिताले योजनाहरूको निगरानी गर्न सजिलो रहेको उनले बताए। भकरजुङले चोरीसिकार नियन्त्रणका लागि गठन गरेको इकाइमा नेतृत्व महिलालाई दिइएको छ। इकाइ सदस्य पार्वती पौडेल भन्छिन् 'नौजनामध्ये हामी महिला सातजना छौं। हामीले राम्रो काम गर्‍यौं भनेर पुरस्कृत पनि हुन पाइयो।' गाविससचिव स्थानेश्वर ढुंगाना महिला समुहहरूको सक्रियताकै कारण गाउँमा आएका योजनाको कार्यान्वयन प्रभावकारी भएको बताउँछन्।

***

(२०७३/१०/१९ मा कान्तिपुरको चितवन संस्करण पृष्ठमा प्रकाशित)