Monday, September 18, 2017

प्रकाश घिमिरे

पर्दा पछाडि र अगाडि 
'दलन' टेलिश्रृंखलाको 'धम्मरे परियार' देखि चलचित्र 'पशुपतिप्रसाद' को 'मित बा' सम्म प्रकाश घिमिरे प्रभावशाली चरित्र अभिनेताका रूपमा उभिँदै आएका छन् । घरपरिवार र कामगरि खाने पेशाको दैनिकीबाट समय मिलाएर 'अभिनयकर्म' प्रतिको उनको समर्पण अरू कलाकर्मीभन्दा भिन्न छन् । 


रुचि, पेशा र परिवार । तीनथोककै लागि दैनिकीमा समयको सन्तुलन सजिलो छ - जोजोसँग सकिँदैन, अप्ठ्यारो-असहज भन्ने जवाफ छ, उनीहरूले 'पशुपतिप्रसाद' चलचित्रमा 'मितबा' पात्रको अभिनय गर्ने प्रकाश घिमिरेलाई भेट्दा हुन्छ । उनको घर पुगे हुन्छ ।


त्यसो त उनको परिचय 'मित बा' पात्रले मात्रै पुरा हुँदैन । टेलिश्रृंखला 'दलन' मा धम्मरे परियार नामका पात्र भएर 'क्यामेरा फेस' सुरू गरेका उनले नेपाली भाषाका हालसम्म २२ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । रंगमञ्चबाट क्यामेराका अघि आएका ५५ वर्षीय घिमिरे कुनै चलचित्रमा पनि नायक/सहनायक भएर पर्दामा आएका भने छैनन् । उनको 'रोल' चरित्र अभिनेताको छ । यही भूमिकामा पनि उनी खेलेका चलचित्रका प्रभावशाली पात्र छन् ।
००० 
पोखराको नदिपुर बस्छन् । घरनजिकैको कन्या माविमा निमावि तहका बिद्यार्थीलाई गणित विषय पढाउँछन् । साँझ-विहान श्रीमती, तीन छोराछोरीका साथ घर र दुइवटा माउ गाइ भएको गोठमा भेटिन्छन् । साँझ-विहान गाईलाई घाँस-पराल हाल्छन्, दुहुन्छन् । भकारो सोर्छन् । विहान गोठबाट निस्केर घर पुग्नुअघि चर्न जान दिन गाई फुकाउँछन् ।
ठूलीछोरी चितवनमा 'बीडीएस' र सानी सँगै रहेर पोखराको जनप्रिय कलेजमा बीबीए पढ्दैछन् । 'डिप्रेसन' की विरामी श्रीमती र 'डाउन सिन्ड्रोम' भएका १९ वर्षका छोरा प्रतीकलाई उनले समय दिएका छन् । 'छोरीहरू भरपर्दा छन्,' उनी भन्छन्, 'इन्टरनेट टेक्नोलोजीका धेरै कुरा मलाई छोरीहरूले बुझाउँछन् ।' छोरो जन्मिएको धेरैबेरसम्म रोएन । चिनजानका चिकित्सकले पटक-पटक हेरे । उभिन-बोल्न नसक्ने हुने बताएको त्यो सन्तानलाई उनले सकेजति सीप लगाए । उपचार चलाए । 'अहिले नर्मल केटाकेटी जस्तो त छैन तर, हिड्न-बोल्न सक्छ,' उनले भने, 'बिस्तारै भर पर्न सकिने भएको छ । उसका रुचि र रहर अलि फरक छन् ।' कन्या मावि संस्थापकमध्येका एक तथा पूर्वप्रधानाध्यापक तेजनाथ घिमिरे साहित्यकर्मी पनि हुन् । यिनै तेजनाथका तीन छोरामध्ये प्रकाश जेठा हुन् । पिता-पुत्रको बसाइँ छुट्टाछुट्टै भएपनि नजिकै छ । 
०००
पारिवारिक अवस्था र शिक्षण पेशाको निरन्तरताका हिसाबले घिमिरेसँग 'अभिनय' जस्तो शोखको अतिरिक्त क्रियाकलापमा खर्च गर्न फुर्सदिलो समय देखिँदैन । अभिनयका लागि समय कसरी निस्कन्छ ?  'शुक्रवारको स्कुल हाफ छुट्टीपछि शनिवार दिनभर मेला लागि समय छ,' उनी भन्छन्, 'अनि स्कुल विदा परेका बेला मेरो समय सुटिङका लागि हो ।' आफ्नो पिरीयड नपरेका बेला स्क्रीप्ट पढ्न घोरिने गरेका उनको काम गराइ देख्ता सँगैका शिक्षक सहकर्मी पनि छक्क पर्छन् । 
'प्रकाश सरले कसरी मेन्टेन गर्नुहुन्छ भन्ने अचम्म लाग्छ, हाम्रा सहकर्मी यस्ता भनेर गर्व पनि लाग्छ,' कन्या माविका प्रअ प्रेम बुढाथोकी भन्छन्, 'छुट्टी निकै कममात्र लिनुहुन्छ । त्यसैपनि स्कुलमा र्सार्वजनिक विदाका दिन धेरै आइपर्छन् । उहाँले त्यो समयलाई भरपुर सदुपयोग गर्नुभएको छ ।' साढे तीन दसकदेखि शिक्षण पेशा गरिरहेका उनको जागिरमा स्थायी भएकै अवधि २९ वर्ष पुगिसकेको छ । 'मलाइ जहिले पनि लाग्यो, म नभए घर, बुवाआमा, परिवारको विचल्ली हुन्छ । कसले भेरो ठाउँमा भरको काम गर्छ,' घिमिरेले भने, 'त्यसैले मैले घर छाड्न नसकेको हो । हुन त म गलत पनि हुन सक्छु । तर, मेरो भागको दायित्व जेजे छन् त्यो मैले नै पुरा गर्नुपर्छ भन्ने लाग्छ । गर्दैआएकै छु ।' शुक्रवार आधा दिनको अध्यापन समय, शनिवारको विदा, अनि र्सार्वजनिक विदाका दिनहरू फारो गरिगरि अभिनय कर्मका लागि खर्च गर्ने उनले बताए । 'टाढा गएर धेरै दिनसम्म सुटिङ चल्ने सिनेमा मेरा लागि समस्या हो तर, साथीभाइले मलाइ सजिलो हुनेगरि समय मिलाइदिएका छन्,' उनले भने, 'कतिपटक अवस्थाअनुसार मैले पनि एडजस्ट गरेको छु ।'
०००
नेपाली सिनेकर्मको अभिनय क्षेत्रमा फरक प्रकारको काम गराइका लागि चिनिएका नवीन सुब्बा र अनुप बराल घिमिरेको कला क्षेत्रको 'करिअर' सँग जोडिएर आउने नाम हुन् । रंगमञ्चमा अभिनय गर्दै आएका उनलाई क्यामेरा अघि 'दलन' निर्देशक सुब्बाले धम्मरे परियार बनाएर उभ्याए । दलनको कथालाई क्यामेरामा उतार्नुअघि 'कास्टिङ डाइरेक्टर' को जिम्मेवारी बरालले सम्हालेका थिए । उक्त पात्रमा घिमिरे ठीक हुने निर्णय उनैले गरेका हुन् । 
सञ्चारमाध्यममा प्रभावशाली व्यंग्यचेतका कार्टुन बनाइरहने कलाकार दुर्गा बराल 'वात्स्यायन' घिमिरेका छिमेकी हुन् । चार/पाँच वर्षे उमेरमा कान्छा भएपनि वात्स्यायनका जेठा छोरा अनुप बाल्यकालदेखि नै घिमिरेको संगतमा छन् । २०७० पछि बराल अधिकांश समय राजधानी केन्द्रित भएर 'एक्टर्स स्टुडियो' सञ्चालन गर्दै नवोदित तन्नेरीहरूलाई अभिनयकर्म सिकाइरहेका छन् ।  
'उमेरका हिसाबले मैले प्रकाशजीलाई दाइ भन्नुपर्छ तर, हामीबीच साथीको नाता छ,' उनले भने, 'मेरो उमेरका केटाहरूभन्दा अलि बढि बुझेका, अगुवा र आड-भरोस भएका हुन् प्रकाशजी ।' बाल्यकालमा घरमा हुने अंग्रेजी किताव र कमिक्स बोकेर घिमिरेको गाइभैसी पालेको ग्रामीण बसाइँको झल्को दिने घरमा पुग्ने, त्यहाँ उनले ती किताब पढेर अर्थ्याइदिने गरेको स्मरण गरे । 'हामी टोलका केटाहरू केही सामाजिक कामका लागि जुटौं, केही गरौं भन्दा अगुवाइ प्रकाशजीले लिने हो,' उनले भने, '२९ सालतिर सूर्योदय युवा क्लव गठन गरियो, साहित्यिक कार्यक्रम र नाटक/प्रहसनको क्रम त्यहीँबाट सुरू भयो ।'
बरालको बुझाइमा घिमिरे जहिल्यै जीवन-जगतलाई बुझेका, नहतारिने, विचारेर मात्रै निर्णय दिने अगुवाका रूपमा रहिआएका हुन् । 'पहिलो नाटक गर्दा मैले प्रकाशजीको निर्देशनमा अभिनय गरेँ, दोस्रो नाटकका बेला निर्देशनको जिम्मेवारी मलाइ आयो, प्रकाशजीले अभिनय गरे,' उनले भने, 'अभिनय हाम्रो पूर्णकालीन पेशा थिएन, रहर थियो । मैले यही क्षेत्र रोज्न दिल्ली पढ्न गएँ, प्रकाशजीले घरपरिवार, पढाउने काम गरेरै पनि अभिनयलाई समय दिँदै आउनुभयो ।' थोरै काम गरेर धेरै प्रशंसा चाहने अभिनयकर्मीको भीडमा प्रकाशको बानी फरक रहेको उनको अनुभव छ । 'म फर्केर आएपछि लामो समय पोखरा बाहिर छु, हामीले अहिलेसम्म एउटै फिल्ममा सँगै काम गरेका छैनौं तर, एकअर्कालाई बुझ्छौं,' उनले भने, 'अवसर खोजीरहने, अवसरका लागि साथीभाइलाई आग्रह गरिहने बानी प्रकाशको छैन । अनौठो पनि लाग्छ ।'
०००
'दलन' र 'नुमाफुङ' चलचित्रका निर्देशक नवीन सुब्बाको अनुभवमा घिमिरे कलाकर्मीमात्रै होइनन् । 'आहुतीजीले लेखेको कथाले दलनमा पर्वतको दक्षिण भेग स्याङ्जा जोडिने गाउँको परिवेश कुरा बोल्थ्यो, सुटिङ गर्नेबेला हामीले खौलालाँकुरी छान्यौं, जहाँको संस्कृति थोरै फरक थियो ।' यही फरकमा स्थानीय लवज र संस्कृतिमा पात्रका दैनिकीबारे घिमिरेले आफूलाई प्रष्ट्याएको उनले बताए । 'काम गराइको अनुभवअनुसार मैले प्रकाशजीमा एउटा कलाकारमात्रै होइन गण्डकी क्षेत्रको संस्कृति बुझेको स्रोतव्यक्ति पाएँ,' उनले भने, 'क्यामेराले खिच्ने कुरा कथाअनुसार कलाकारको अभिनयमात्रै होइन, नबोली, वर्णन नगरी पनि दर्शकलाई बुझाउने भाव खिचिन्छ, यसमा मैले प्रकाशको ठूलो सहयोग पाएको हो ।' घरको काम भ्याएर खौलालाँकुरी पुगी सुटिङमा पात्रको चरित्र प्रष्ट उतार्ने क्षमताले आफूलाई प्रभावित पारेको उनले बताए ।  
पछिल्लो पुस्ताका सिनेकर्मी खगेन्द्र लामिछानेको 'धनपति' हालै प्रदर्शनमा आयो । यसअघि उनले आफैं शीर्ष भुमिकाको 'टलकजंग भर्सेज टुल्के' र 'पशुपतिप्रसाद' बनाइसकेका छन् । 'धनपति मेरो तेस्रो प्रोजेक्ट हो । प्रकाश दाइको रोल छोटो छ तर, यसमा पनि मैले दाइलाई छाडेको छैन,' उनले भने, 'उहाँको खुबी भनेको तपाइ यस्तो पात्र हो, सिन यस्तो छ भनेपछि सम्झाइरहनु पर्दैन । उहाँ सोझै त्यो चरित्रमा पस्न सक्नुहुन्छ ।' निकै कम कलाकारमा देखिने असाधारण खुबी उनका भएको लामिछानेको बुझाइ छ । 'म पोखरा नै बसेर पढेको हो, प्रकाश दाइ र अनुप दाइले नै मलाई अभिनयको क्षेत्रमा लाग्न प्रेरित गर्नुभएको हो,' उनले भने, 'घरपरिवार सुखदुःखका अवस्था थाहा छन् । तर, क्यामेरा अगाडि जुन पात्र भएर उभिँदा पनि प्रकाश दाइको अनुहारमा घरेलु तनाव र निराशाका भाव मैले देखेको छैन ।' स्क्रीप्ट तयार पार्दै गर्दा नै 'यो पात्रको अभिनयमा प्रकाश घिमिरे ठीक' भन्ने हुने गरेको उनले बताए । 'अरुको जस्तो बानी नभएकाले पनि उहाँसँग जसले काम गर्छ, उसले फेरि फेरि पनि काम गर्न चाहन्छ,' उनले भने, 'यो क्यारेक्टर म गर्दिन, यो गर्छु यो मबाट हुँदैन भन्ने जवाफ कहिल्यै सुन्न पाइएको छैन ।'  
यतिबेला घिमिरे घनश्याम लामिछानेको 'पञ्चेबाजा' को स्क्रीप्ट पढ्दैछन् । छायांकन सुरू भएपछि युवा निर्देशक घनश्यामस“ग घिमिरेको यो तेस्रो चलचित्र हुनेछ । उनीहरूले यसअघि 'धौली' र 'अग्निदहन'(प्रदर्शन हुने तयारीको) मा काम गरेका हुन् । 'उहाँको टाइम टाइट हुन्छ, हामीले उहाँबाट काम लिन उहाँकै समयअनुसार चल्नुपर्छ,' लामिछानेले भने, 'तर, यति भइकन उहाँलाई जुन क्यारेक्टर दियो भनेपनि अभिनय जिवन्त हुन्छ । नाटकीय भाव पटक्क पनि छैन । कामप्रतिको डेडिकेसन लोभलाग्दो छ ।' नयाँ पुस्ताका कलाकर्मीले घिमिरेबाट सिक्न सकिने कुरा धेरै रहेको उनको बुझाइ छ । 'मान्छेपिच्छे समस्या कसका हुँदैनन् तर, अभिनय गर्छु भनेर आएपछि कुनै पनि बहानाबाजी नगरी खुरुखुरु काम गर्ने र यतिबेलासम्मका सक्नुपर्छ भनेर समयको महत्व सिकाउने मान्छे कमै छन्,' उनले भने, 'उहाँको त्यो सादा र संतुलित बानीव्यवहार प्रेरक लाग्छ ।' 
०००
तेजनाथ भूमिप्रशासन कार्यालयका नायवसुब्बा थिए । जागिरमा जिल्ला जिल्ला सरुवा भइरहन्थ्यो । जेठा छोरा प्रकाशले पितासँगै पोखरा बाहिर लमजुङ, धनगढी, परासी, जलेश्वर र जनकपुरमा पनि बाल्कयाकालका वर्षहरू बिताएका हुन् । २०३९ सालतिर पोखराको नदिपुरका युवाहरूले सूर्योदय युवा क्लव गठन गरेर साप्ताहिक भेटघाटको जमर्को कविगोष्ठीजस्ता साहित्यिक कार्यक्रमबाट थाले । यसको अगुवाइ उनैले गरेका थिए । 
आफ्ना उमेरका भन्दा पाका र कम उमेरका साथी बनाउन रुचाउने उनले साथीहरूसँग मिलेर सडकमा ढुंगा छाप्ने, चौतारो बनाउने र साहित्यिक कार्यक्रम आयोजनाको काममा सक्रिय हुँदै गए । साहित्यिक कार्यक्रमबाट युवा जमातलाई नाटक देखाउने रहर लाग्यो । दीपक पराजुलीले नाटक लेखे - जब इज्जत सल्कन्छ । 'त्यो नाटक हामीले तीन वर्ष त रिहर्सलमात्रै गर्‍यौं,' घिमिरेले सुनाए, 'त्यसपछि डाँफे कला मन्दिरमा सात दिनसम्म मञ्चन भयो । यही हाम्रो सुरुवात थियो ।' नाटक हेरेका सरुभक्तले ती तन्नेरीको जमातलाई 'ताण्डव नृत्य र अजम्मरी भ्वाइलिन' नामको आफ्नो नाटकमा अभिनय गराए । सरुभक्तले आफ्ना नाटकमा लिन थालेपछि घिमिरे रंगमञ्चमा बराबर प्रभावशाली पात्रको भुमिकामा देखा पर्न थाले । पोखरेली कलाकर्मीले 'प्रतिविम्व नाट्य समुह' का नामबाट नाटक लिएर राजधानी आउजाउको क्रम बाक्लियो । उनले दन्त्यकथा जस्तो, न्यायप्रेमी, सिरुमा रानी आदि नाटकमा अभिनय गरे । दिल्लीको नेशनल स्कुल अफ ड्रामामा पढेर फर्किएका अनुप बरालले उनलाई सरुभक्तद्वारा लिखित  'थाङ्ला' नाटकमा अभिनय गराए । 'दलन' ले उनलाई पहिलोपटक रंगमञ्चको संसारबाट क्यामेराअघि लगेको थियो । त्यसपछि सुवर्ण थापाको सर्ट मुभी 'मलामी' मा काम गरे । 
यतिबेला उनको पनि अभिनय देख्न पाइने सूचिमा 'करोडपति,' 'छक्कापञ्जा-२' र 'अग्निदहन' चलचित्र प्रदर्शनको मिति पर्खाइमा छन् । याम थापाको निर्देशनमा निर्माण हुन लागेको 'हुर्रे' को छायांकन सुरू हुन लागेको छ । 
सांस्कृतिक र सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएकाहरूको पुरानो संस्था पोखरेली युवा सांस्कृतिक परिवारको सचिवदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका घिमिरे यतिबेला पहिले जसरी कविता लेख्ने, गीत गाउने भने गर्दैनन् । 'त्यो एउटा बेला थियो, यतिबेला थोरै पनि फुर्सद निस्क्यो भने किताब पढ्छु, सिनेमा हेर्छु उनले भने, 'अबका नेपाली सिनेमा मौलिक प्रकारका बन्दैछन् । आफूले पाएको भुमिका कसरी गहकिलो हुन्छ भन्ने सोच्छु ।' 
रंगमञ्चबाट सिनेमामा पुगेका कलाकारलाई अभिनयका दृष्टिले कुन राम्रो भनेर सोधियो भने 'रंगमञ्च' भन्ने धेरै हुन्छन् । 'दुवैका खुबी आआफ्नै पाराका छन्, सिनेमामा टेक खाएजस्तो नाटकको रिहर्सलमा तयारी राम्रो चाहिन्छ,' उनले भने, 'सिनेमामा अगाडि अर्को पात्र भएन भनेपनि क्यामेराले कताबाट खिच्छ भन्ने हेक्का राखेर एक्लै पनि डाइलग बोल्नुपर्छ, एउटै सिनलाई भिन्न भिन्न कोणबाट पटकपटक सुट गर्दा कलाकारले संतुलित भइरहनु सजिलो कहाँ हुन्छ ।' 
(कान्तिपुर कोसेलीमा १० भदौ २०७४ मा प्रकाशित यो लेखोट सामान्य सम्पादनपछि ब्लगमा संग्रहीत) 

यसरी लेखियो 
पोखराको बसाइँमा धेरै भेट हुने मान्छे कला र साहित्यमा लागेकाहरू नै छन् । प्रकाश दाइका अभिनय चलचित्रमा हेर्दा र भेटघाटमा कुराकानी हुँदा यिनका बारेमा लेख्दा राम्रो हुन्छ भन्ने लागेकै हो । अझ जब यिनको घर पुगियो, घरमा नभेटेर गोठ पुगियो । 
गाइ दुहुँदै गरेका माडसाबसँगै उनले पढाउने स्कुल आइयो, दैनिकीमा समयको व्यवस्थापन रमाइलो लागेको हो । हामी एउटा क्षेत्रमा काम गर्दा अर्को क्षेत्रमा समय व्यवस्थापन गर्न असजिलो मान्छौं तर, प्रकाश दाइको व्यवस्थापनको तरिका पढ्न-सुन्न उदाहरणीय लागेको हो । कोसेली संयोजक साथी पुरुषोतमजीलाई 'म प्रकाश घिमिरेका बारेमा लेख्छु' भन्दा उनी एकैवचनमा खुसी भए र, लेख्नैपर्ने भने । त्यसपछि लेख्ने जमर्को गरियो । लेख्तालेख्तै लामो भयो । त्यसैले माथि घिमिरेले चलचित्रमा अभिनय गरेवापत कति पारिश्रमिक पाउँछन्, त्यो पैसा के गर्छन्, सिनेमा पाउनको सजिलो अप्ठेरो, अनि उनका दुर्गुणका चर्चा लेखिएन । राम्रा नराम्रा बानी सबैका हुन्छन् । समाजलाई घातक लाग्ने बानी छैन, राम्रा बानीको बलले छवि उज्यालो छ भने सामान्य अप्ठ्यारा बानी उल्लेख्य पनि हुन्न । त्यसैले जेजे अँटाएनन्, ती नहुँदा पनि लेखोट अपुरो लाग्दैनन् भन्ने ठानियो ।