शीर्षक राष्ट्रकवि माधवप्रसाद घिमिरेको 'भँगेरा र भँगेरी' कविताबाट सापटी लिइएको हो । कविताले भन्थ्यो 'यौटा आँखो तँ हेरी, अर्को आँखो म हेरी, टाप्प टिप्प कनिका टिपिहालौं नटेरी ।' भँगेराको सतर्कताको बानी र छरितोपना वर्णन गरिएको त्यो कविता अब पुराना पुस्ताको सम्झनामा छ । मान्छेका घरमै गुँड लगाउने बानी परेका भँगेरा नदेख्ने र नचिन्ने विरलै हुनुपर्छ । त्यसैले भँगेरा चिनाइरहनु नपर्ला । प्राथमिक तहका किताबमा घिमिरेको भँगेरामाथिको कविता पढेको सम्झनेहरूको जमात ठूलो छ । सामुदायिक विद्यालयका प्राथमिक तहका नेपाली किताब यतिबेला पल्टाउने हो त्यो कविता अहिलेको पाठ्यक्रममा छैन ।
पाठ्यक्रम विकास केन्द्रको पाठ्यपुस्तक सम्पादन शाखाको कुरा मान्ने हो भने बालबालिकाका किताबबाट त्यो कविता समयसापेक्ष नभएर हटेको भने होइन । 'पाठ्यक्रम १०/१० वर्षमा फेरिन्छ, अवस्थाअनुसार वर्ष वर्षमा पनि पाठ्यक्रममा सुधार गर्ने गरिएको छ,' मध्यपुर ठिमीस्थित केन्द्रको सम्पादन शाखाकी अधिकृत चिनाकुमारी निरौला भन्छिन्, 'त्यो भँगेरा र भँगेरी कविता पनि पाठ्यक्रम फेरिँदा नयाँमा नपरेको हो । पाठ्यक्रममा के राख्ने नराख्ने भन्ने सम्पादन मण्डलले तय गर्छ । थुप्रैजनाको राय लिइन्छ । नयाँ समावेश गर्दै जाँदा पुराना हटाइन्छन् ।' पाठ्यक्रम विकास केन्द्रले त्यो कविता किन नराखेको भन्ने विषयमा तर्कवितर्क भइरहलान् । अहिलेको हाम्रो विषय कविता नभइ 'भँगेरा' मात्रै हो ।
'कविले कविता लेखे तर, यसको भित्री कुरा गहिरो हो,' इटहरीका नेत्र चिकित्सक विजय गौतम भन्छन्, 'हाम्रा आँखाले देखेका दृश्यका फोटा दिमागमा जति छिटो जति प्रष्ट पुग्ने प्रक्रिया हुन्छ, त्यसमा चरा छिटो छन् ।' मान्छेका आँखाले एकपटकमा प्रतिमिलिमिटर २ लाख र भँगेराका आँखाले ४ लाख फोटो सिग्नल दिमागमा पठाउने उनले बताए । 'भिजुअल क्वालिटीका कुरामा भँगेरा हामीभन्दा दोब्बर छिटो हुन्छन् । त्यसैले कविले भँगेराको आँखाका कुरा गरेका होलान्,' उनी भन्छन्, 'प्रकृतिले नै उनीहरूको दृष्टिशक्ति अनौठो क्षमताको दिएकाले ज्यान पनि जोगिन सकेको हुनुपर्छ ।'
०००
पोखराको फिर्केमा एउटा घरमा मैले तीन वर्षयता देखिरहेको छु- मनुवाका चार परिवार र भँगेराका करीब छ/सात परिवारको आश्रय छ । मेरो बासको सामुन्ने बाटो पारिको घर । मान्छेहरू भुइँतलादेखि माथिल्ला कोठा-चोटा सम्ममा बस्छन् । भँगेराहरू भूइँतलाको सटरको खापामा । तीनवटा सटरमध्ये दुइवटा सधैं विहान उघ्रिन्छ र साँझ बन्द हुन्छ । कारण, त्यसमा पसल छ । एउटा चाहिं वर्षमा एकाधपटक पनि मुश्किलले उघारिन्छ, या भनौं सकभर उघ्रँदैन । अरुमा बसेका भन्दा त्यो सटरमा आश्रय लिएका भँगेरा परिवार सुरक्षित छन् ।
अरु जसरी त्यो बन्द सटरमा आश्रितका फुल र चल्ला हम्मेसी झरेका भेटिँदैनन् । मान्छेका दैनिकी बुझेका भँगेराहरूलाई सटरको आश्रयमा अभ्यस्त देख्ता अनौठो पनि लाग्दैन । बेला बेला पोथीका लागि भालेहरू निकै झगडा गरिरहेका देखिन्छन् । जसले हार्छ, उ यहाँको बस्तीबाट बाहिर कतै आश्रय लिन जान्छ । 'मैले घर बनाएको १४/१५ वर्ष भयो होला,' घरधनी पशुपति सुवेदी भन्छन्, '२० वर्षअघिसम्म हाम्रो अहिलेको एरियामा बाटो थिएन । घरहरू एउटा/दुइटा थिए, ती पनि झुप्रा ।' देख्ता देख्तै बस्ती बढेको, बाटो कालोपत्रे भइआएको र रुखका झाडी-बुट्यानसँगै बाँसझ्याङ मासिएको उनी सम्झना गर्छन् । 'म कास्कीकोटबाट मुन्तिर बसाइँ आएजसरी पोखरामा थुप्रै परिवार अलि माथिल्लो भेगबाट झरेका छन्,' उनी भन्छन्, 'सहरीकरण यस्तरी बढ्यो की अब त यहाँ दिउँसै चितुवाको डर हुन्थ्यो भन्दा पनि मान्छेले नपत्याउने भइसक्यो । जता हेर्यो त्यतै घर छन्, अबको २० वर्षपछि झन कस्तो भएर जाला जस्तो लाग्छ ।'
फिर्केमा सर्नुअघि मेरो बसाइँ जालपा रोडमा सूर्य बरालको घरमा थियो । हरेक विहान सरिता भाउजुले पूजा गरेपछि कोठा बाहिर एक मुठ्ठी चामल राखिदिएको देख्थेँ । तछाडमछाड गर्दै भगेराका हुल चामल टिप्थे । गत मंगलवार मैले भँगेराको प्रसंगमा कुरा गर्दा दाजु-भाउजु दुवै छक्क परे । 'हिजोआज भँगेरा आउदैनन्, परेवा र काग आउँछन्,' सरिता भाउजुको भनाइ थियो, 'आमाले पूजा गरेपछि चराका लागि चामल राखिदिने गरेको मैले स्याङ्जा निबुवाबोट माइतीमै देखेकी हुँ, संस्कार सर्ने त हो । म पनि त्यसै गर्छु चराले खाइदिए आनन्द लाग्छ ।' हिजोआज भँगेरा नआउँदा नरमाइलो लाग्ने गरेको उनले बताइन । बितेको तीन वर्षमा बराल दाइले नयाँ घर बनाइसकेका छन् । आफ्नो घर पछाडिको बारी पार्टी प्यालेसलाई भाडामा दिइसकेका छन् बारीछँदा बाँझो राख्ने कुरै थिएन । सिजनअनुसारका बालीनाली हुन्थे । एउटा भैंसी थियो, त्यसका लागि पराल थियो । गोठबाट बाहिर गोबर थुपारिन्थ्यो । गोबर र बालीनालीका किरा चराका लागि सजिलो आहारा थिए । यसो हेर्दा अब चराहरूका लागि त्यो घरमा आउने बाटो बन्द भएको छ । पोखराको मुख्य बजार क्षेत्रभित्र बराल परिवारजस्ता पोखरेली सहरीकरणमा अभ्यस्त भइरहेका छन् । थातबासको संरचनासँगै धेरैले परम्परागत जीवनशैलीमा परिवर्तन अंगालेका छन् ।
'मान्छेका घरको फेरिएको संरचनासँगै भँगेराले पनि बाँच्न सिकेको भेटिएका छन्,' काठमाडौंस्थित पंछी संरक्षण संघमा गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुसाल भन्छन्, 'संख्यात्मकरूपमा वर्षेनी भँगेरा घटेका छन् । तर, धेरै ठाउँमा हामीले त्यसको बासस्थान परम्परादेखि देखेका भन्दा फरक पनि भएको भेटेका छौं ।' सडकका पोलमा हुने फोनका 'डिस्ट्रिब्युसन प्वाइन्ट बक्स', बिजुलीका मिटर बक्स र घर तथा भवनका भेन्टिलेसनमा बस्न थालेको पाइएको उनले बताए । विश्वमा हालसम्म ४३ प्रजातिका भँगेरा पाइएको रेकर्ड छ । नेपालमा पाँच प्रजाति पाइएका छन् । घर भँगेरा, रुख भँगेरा, कैलो, पीतकण्ठे र स्पेनिसलगायत नेपालमा पाइने प्रजाति हुन् ।
घर र रुख भँगेरा बस्ती, घर र करेसाबारी वरपर मानिसहरूसँगै बस्न रुचाउँछन् । पोखिएका र छरिएका अन्न, अन्नबालीहरूमा लाग्ने कीराफट्यांग्रा र लार्भा भँगेराका आहारा हुन् । संरक्षणकर्मीहरूका अनुसार यो चरा देखिनु पर्यावरणीय स्वस्थता र सन्तुलनको सूचक हो । 'काठमाडौं उपत्यकाका लागि काग र मलेवापछि धेरै पाइने रैथाने चरा घर भँगेरा हो, रूख भँगेरा छैटौं नम्बरमा पर्छ,' उनले भने, 'चार वर्षदेखि हामी सहरी क्षेत्रमा पाइने चरा गणना गरिरहेका छौं । भँगेराकै लागि अहिले बासस्थान दुर्लभ हुँदै गएको अवस्था हो ।'
०००
भँगेरा समुद्र सतहदेखि चार हजार मिटरसम्मका भूभागमा पाइन्छ । मान्छेले रहरले पाल्ने सुगा र मैना जस्ता चरामा यो पर्दैन । मान्छेका वरपर बस्छ तर, उसको दैनिकीमा मान्छेको नियन्त्रण रुचाउँदैन । वर्षेनी पोथीले ३ देखि ५ वटा फुल पार्छे एक जोडीले सरदर एक जोडी नै चल्ला हुर्काउँछन् । अण्डाबाट १२ देखि १५ दिनमा चल्ला निस्कन्छन् । आहारा नियमित पुग्ने हो भने तीन सातामै चल्लाहरू गुँड छाडेर उड्ने हुन्छन् । बेला नै नभइ उड्न रहन गर्ने बचराहरू गुँडबाट खसेपछि फर्कन सक्दैनन्, सिकारी पशुपंक्षीद्वारा मारिन्छन् । संरक्षणकर्मीहरूका विभिन्न शोधले मोबाइलका तरंगले भँगेरालाई असर पार्ने गरेको तथ्य पनि पत्ता लगाएका छन् । मोबाइलका नेटवर्किङ टावरमा गुँड लगाएका भँगेराको प्रजनन् ढिलो हुने गरेको छ ।
शोधहरूका जर्नलमा उल्लेख भएअनुसार भँगेराका निकै कम अण्डामा भाले-पोथी दुवैको डीएनए पाइएका छन् । अधिकांशमा पोथीको मात्रै डीएनए पाइन्छन् । ३८ किमी प्रतिघण्टाको गतिमा उड्न सक्ने भएपनि भँगेराहरू अति विशिष्ट परिस्थितिबाहेक आफू जन्मेको क्षेत्रभन्दा २ किमी टाढा बसाइँ जाँदैनन् । जोडी भएर बस्ने उनीहरू मान्छेको समाज जसरी मिलेर बस्छन् । आपसमा मिलेर आहारा खोज्छन् । भालेले गुँड बनाउँछन्, पोथीलाई फकाउँछन् । चल्ला मिलेर हुर्काउँछन् । रुख र घर भँगेराहरू सँगसँगै बसेका भेटिन्छन् । पोथी फकाउने बेलाबाहेक भँगेराका भालेहरू आपसमा झगडा गर्दैनन् ।
आफूले मन पराएको पोथीसँग जोडी बनाउनेलाई झगडा गरेर धपाएको पनि देख्न सकिन्छ । समुहमा आहारा खोज्ने र धेरै चिरबिर गर्ने यी चराले गुँड सुकेका नरम घाँस र परालका त्यान्द्राको बनाउँछन् । टोड्का र प्वालहरूबाट छिरेर घाम नपर्ने ठाउँमा गुँड लगाउने भएकाले सुलसुले लगायतका परजीविले यिनलाई दुःख दिन्छन् । परजीविको टोकाइबाट छुटकारा पाउन भँगेराहरू नियमित धूलो खेल्छन् र पानीमा नुहाउँछन् । विरालो, कुकुर, साँप र स्यालसँगै सिकारी प्रजातिका पशुपंक्षीबाट भँगेरालाई सधैं जोखिम हुने गरेको छ । १० हजार वर्षदेखि मानिसको साथी भएर बसेको मानिने भँगेराका बारेमा सन् १९४८ यता थुप्रै बैज्ञानिक अनुसन्धानहरू भइआएका छन् । रैथाने प्रजातिमा पर्ने भँगेरालाई भारतको दिल्लीले सन् २०१२ मा र विहारले सन् २०१३ मा राजकीय पंक्षी घोषित गरेका थिए । हामीकहाँ भने यो चरा संरक्षित पंछीको सूचीमा पर्दैन ।
०००
'१० वर्ष भयो सहरीकरण बढेको,' पोखरा महानगरपालिकाको सहरी विकास तथा पूर्वाधार शाखा प्रमुख इञ्जिनियर शारदामोहन काफ्ले भन्छन्, 'उपमहानगरपालिका हुँदा पोखरामा वर्षौ करीब ५ हजार पक्की घर थपिन्थे । अहिले वर्षको सरदर १५/१६ हजार थपिँदै छ ।' काठ र खरका पुराना ढाचाका घर निकै कम हुँदै गएको उनले बताए । 'महानगरपालिका भएपछि पोखराभित्र जंगलका एरिया पनि थुप्रै छन्, चराले गुँड लगाउने ठाउँ पर्याप्त नै छन् जस्तो लाग्छ,' उनले भने, 'तर, मान्छेका घरमा गुँड लगाउनेहरू त बिस्थापित भएकै अवस्था आयो भन्न सकिन्छ ।'
२०७३ फागुन २७ मा महानगरपालिका घोषणा भएपछि पोखराको क्षेत्रफल ४६४.२४ वर्ग किमी भएको छ । क्षेत्रफलको हिसाबले यो मुलुकका अरु महानगरभन्दा ठूलो भएको पर्यटकीय नगरीमा साना ठूला होटलमात्रै ६ सयवटाको हाराहारी छन् भने पक्की घरको संख्या १ लाख नाघेको छ । घर बनाएर सम्पन्नताको प्रमाणपत्र लिनेले मात्रै खानेपानी, बिजुली र बैंक ऋणको सुविधा पाउने कडा प्रावधान छ । पानी, उर्जा र आर्थिक हिसाब मिलानका खातिर सम्पन्नताको प्रमाणपत्र लिन आउनेको तथ्यांक महानगरपालिकाले अद्यावधिक पनि गरिरहेको छ । तर, यही महागरभित्रका चरा कति घटे भन्ने हेक्का कसैले राख्दैन ।
पुरानो पोखराको तस्बिर संग्रह गर्दै आएका सुनील उलकको गणेश टोलमा हिजोआज संग्रहालय छ । त्यहाँ पुग्दा ८० वर्षयताको पोखराको क्रमिक परिवर्तनलाई तस्बिरमा देख्न सकिन्छ । उनको संग्रहमा पोखरेलीका घर, संस्कृति, डाँडापाखा, विमानस्थल, ताल र क्रमशः विकास भइआएका भौतिक पूर्वाधारका तस्बिरहरू छन् । तर, संग्रहमा चरा भने छैनन । उलक यतिबेला अर्को एउटा काम गरिरहेका छन् । त्यो हो, ७०/८० वर्ष नाघेका अग्रजहरू भेला पारेर पुरानो पोखराको कहानी सुन्ने । 'यसबाट अझै धेरै कुरा थाहा हुने रहेछ,' उनी भन्छन्, 'बुढापाकालाई एक्लाएक्लै भन्दा समुहमा राखेर सोध्नुपर्ने रहेछ । उनीहरूबाट मैले घरमा बस्ने चराका कुरा पनि सुन्न पाएको छु ।' खरको छानो फालेपछि भित्रिएको विकासले चराचुरुंगी पस्नै नमिल्ने घर बनेको कुरा बुढापाकाले पनि बताउने उनले सुनाए । 'चरा होइन मान्छेलाई आफ्नै बास बलियो चाहिएको यथार्थ बिर्सनु हुँदैन,' उनले भने, 'जसरी हुन्छ मान्छेलाई आफ्नो सुविधामात्रै प्यारो छ ।'
०००
हजुरआमा र आमाहरू खाना पस्कनुअघि आगोलाई धन्यवाद दिँदै सबै परिकार एक/एक चिम्टी सानो दुनोमा राख्नु हुन्थ्यो/हुन्छ । चुल्होलाई चढाइएको खानेकुरा रहेको दुना घर बाहिर राखिन्छ । त्यो खाना अग्निदेवको नाममा चढाएको भनिएपनि संस्कृतिले चराचुरुंगीलाई आहारा दिनुपर्छ भन्ने मान्यताबाट प्रेरित रहेको मान्छन् पोखराको पृथ्वीनारायण क्याम्पसका प्रणीशास्त्रका प्राध्यापक रामजी गौतम । 'सहरीकरणको तीव्रताले मान्छेको बसोबासको शैलीमात्रै होइन, नजानिँदो पाराले परम्परा नै फेरिएका छन्,' उनी भन्छन्, 'अहिलेका पुस्ताले हेर्दा-सुन्दा अनौठो मान्लान्, चुल्होलाई चढाएर खानेकुरा किन नास पार्नु पनि भन्लान् । तर, संस्कारको त्यति सानो कुराले चराचुरुंगीका लागि ठूलो भरको काम गरेको थियो ।' सहरीकरणको तीव्रताले परम्परागत कृषि प्रणालीमा आएका परिवर्तन र सजिलो मानेर बालीमा विषादि उपयोग गर्ने प्रवृत्तिको असर भँगेराजस्ता मान्छेका नजिक बस्न रुचाउने पंक्षीहरूमा परेको उनले बताए । 'घर त हामीले आफूबाहेक अरुलाई बास नदिने पाराको बनाएका छौं,' उनले भने, 'आनीबानी पनि आफूबाहेक अरुले जेसुकै गरुन् भन्ने स्वार्थी पाराको भइसकेको छ ।'
पोखरा बर्ड सोसाइटीका सचिवसमेत रहेका अर्का प्राध्यापक हेमन्त ढकाल जमिनले सोस्ने पानीको क्षेत्र र मान्छेले उपयोग गरिरहेको भुमिगत पानीको उपयोगको तरिका नमिल्नुको असर थुप्रै थोकमा परेको छ । 'हाम्रो कृषि प्रणालीमा आइरहेको परिवर्तनले चराका लागि आहारा असम्भव हुँदै आएको छ,' उनले भने, 'माटोले पानी सोस्न पाएमात्रै त्यो उर्वर हुन्छ, बाली र कीरा-फट्यांग्रा सप्रन्छन् । सडक, नाला, घरैघर सबै पक्की हुन थाल्यो, खेती लगाउन घट्यो । यसको असर त परिजान्छ नि ।' अन्नबाली, पशुगोठ, पराल र नियमित खेतीपातीको चलनले पर्यावरण सन्तुलित राख्न भुमिका खेलिरहने उनले बताए । 'अब हामी घर फलाउँछौं, अन्न किन्छौं,' उनले भने, 'यति सम्मकी गमलामा एउटा फूलको विरुवा रोपियो भने पनि किटनासक हालेकै अवस्था देखिन्छ ।'
का“क्रो, लौका र फर्सीजस्ता लहरामा फल्ने तरकारी हामीले सग्ला मन पराउनुको असर चरामा परेको तर्क पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेको छ । 'कीरा लागेका फलफूल प्राकृतिक हुन्, जुन सग्ला, सलक्क परेका छन् तिनमा विषादि परेकै हुन्छ,' उनले भने, 'खोट लागेको देखिएका फलफूलका कीरा-फट्यांग्रा चराका आहारा हुन् । कीटनासक चलाएपछि बाली राम्रा त हुन्छन् तर, नजानिदो पाराले त्यसको असर हाम्रो स्वास्थ्यमा परेको छ, प्रकृतिमा पनि परेको छ ।' मानिसमा नर्सर्ने रोग बढ्दै जानुको मुख्य कारक बालीमा विषादिको प्रभाव भन्ने अनुसन्धानहरूले देखाइरहेका बेला चरामा परेको असरबारे खोजी नै नभएको उनले बताए ।
०००
इन्टरनेटको सर्च इञ्जिनमा भँगेरा बारे खोज्दै गए ६ दसकअघि चीनमा माओ त्सेतुङले चलाएको 'फोर पेस्ट क्याम्पियन' वा 'ग्रेट स्पारो क्याम्पियन' बारेको जानकारी भेटिन्छ । चीनले अमेरिका र यूरोपेली मुलुकहरूसँग आर्थिक समृद्धिमा प्रतिष्पर्धा गर्दै कृषि उत्पादनमा बढोतरीको अभियान चलाएको थियो । जनवादी क्रान्ति सफल भएपछि माओले खाद्यान्न उत्पादन दोब्बर बनाउने योजना ल्याएका थिए । मौसमले साथ दिएन । त्यसबेला बाली नसप्रेको दोष भ“गेरा, झिंगा, लामखुट्टे र मुसालाई लगाइयो । तिनका कारण बाली बिग्रियो भन्दै सुरु भयो मार्ने अभियान । सरकारद्वारा घोषित अभियान भएपछि पासोमा पर्ने, जाल थाप्ने, गुलेलीले हान्ने र जसरी भेटिन्छ त्यसरी भँगेरा मारिए ।
यो सन् १९५८ को घटना थियो । त्यसबेला कति भँगेरा मारिए भन्ने रेकर्ड छैन । भँगेरा मारेर खाद्यान्न उत्पादनमा सुधार आउनुको साटो भोकमरी आयो । त्यसबाट लाखौं जनसंख्या प्रभावित भयो । दुइ वर्षछि माओले भँगेरा निर्मुल पार्ने अभियान रोक्न आदेश गरे । चराका आनीबानीका जानकारहरूले उनलाई त्यो चरोका कारण बाली उत्पादन घट्दैन, शत्रु जीव भनिने किरा-फट्यांग्रा खाइदिने भएकाले फसल उत्पादनका सहयोग गर्छ भन्ने पत्ता लागेको बताएका थिए । धेरै भँगेरा मारिएपछि मात्रै आदेशकर्ता र समर्थकले भँगेरा मार्न रोके ।
दक्षिण एशियाली मुलुकमा चरा चिन्न, शोध गर्न र संरक्षणका काममा लामो समयदेखि काम गरिरहेकी बेलायतकी ७१ वर्षीया क्यारोल इन्स्कीप नेपाल बराबर आइरहन्छिन् । नेपाल, भारत, भुटान र श्रीलंकाका चराहरू बारेका पुस्तक लेखनमा उनको अगुवाइ छ । '१९७७ देखि यता लामो-छोटो अवधिका मैले २२ पटक नेपाल भ्रमण गरिसकेँ,' उनले इमेल कुराकानीमा भनिन्, 'घर भँगेरा नेपालमात्रै होइन बेलायतका पनि बिभिन्न ठाउँमा चिन्तालाग्दो गरि घटेका छन् ।' सहरीकरणले पारेको यो असर हेर्दा संरक्षणकर्मी र शोधार्थीका लागि चिन्ताको विषय रहेको उनले बताइन । 'बेलायतमा अब आधुनिक घरहरूमा पनि चरालाई आश्रय दिनुपर्छ भन्ने अभ्यास सुरु भएको छ,' उनी भन्छिन्, 'बेलायतामा यतिबेला विषादिको प्रयोग घटायौं भने मात्रै पनि उनीहरूको आयु र संख्या बढ्छ भन्नेमा संरक्षणकर्मीको जोड छ, नेपालको अवस्था पनि यो भन्दा फरक होइन ।' सहरीकरण, खेती प्रणालीमा आएको परिवर्तनले बास र आहाराको संकटको असर भँगेरालाई परेको हो । यसका लागि सम्बद्ध सबैले चिन्ता लिनैपर्ने उनले बताइन ।
नेपालमा राष्ट्रिय अभियानका रूपमा कुनै पनि पशुपंछी मार्ने अभियान चलेको छैन । र, नचल्दा पनि भ“गेराजस्ता हाम्रै घरमा बस्न रुचाउने चराहरू सुरक्षित नै छन् भन्ने अवस्था पनि छैन ।
(२०७५ चैत ३० मा कान्तिपुर कोसेलीमा प्रकाशित सामाग्री ब्लगमा जतन गरिएको हो )