Wednesday, November 4, 2020

निन्द्रा, निन्द्रा अनि निन्द्रा


आज लकडाउनको आज १८ औं दिन ।

बीचमा केही दिन काम गरियो, एक साता काम बन्द भएर फेरि सुरु भयो । दैनिकीले अफिस आउँदा-जाँदाकै दिन जस्तो लय पक्रेको छ । राति करिब साढे १२ मा सुत्ने र ८ बजे उठ्ने । फ्रेस हुने, चिया पिउने, पत्रिका हेर्ने, केहीबेर इमेल र अखबारी साइट हेर्ने । फरक यतिमात्रै छ- यतिका दिनदेखि आँगनमा उभ्याएको मोसा चढ्नु पर्दैन, अफिस टेक्नु पर्दैन ।  ४ बजेदेखि ल्यापटप खोल्यो, काम थाल्यो, भिडियो च्याटमा हाजिरी जनायो । समूहमा छलफल गर्दै काम गर्‍यो।

यतिबेला पढ्न-सुन्न खुब मज्जा लाग्ने शब्द हो- वर्क फ्रम होम । बन्दाबन्दी (लकडाउन) मा बन्दाबन्दी नहुने भनेको मान्छेको भुँडी हो । यसले खाना माग्छ, टाइम टु टाइम मागिरहन्छ । हामीले माग पूरा गरिरहनु पर्छ । खासमा मान्छेलाई सक्रिय बनाउने भनेकै त्यसले हो जस्तो लाग्छ, अरू खाले लोभ, लालसा र रहरलाई मान्छेले केही कुरामा मन बुझाएर 'भैगो अहिलेलाई' भन्दा हुन्छ तर, खान पाएन भने इञ्जिन चल्दैन । भुँडीको माग हाम्रो बाध्यता ।

त्यसपछि जिब्रो छ, जसले हामीलाई अझ बढी सक्रिय हुनैपर्ने जनाउ दिन्छ । सजिलो पच्ने मिठो-नमिठो जे होस्, फर्माइसी कार्यक्रम जिब्रोले चलाउँछ । भुँडीभन्दा जिब्रोले महंगोमा पार्छ ।

***

पोखरा रहँदा म अफिसमा ११ बजे पसेँ भने बेलुकी ९ बजे निस्केका दिन पनि थिए । त्यस बीचमा कतै सहकर्मीले भ्याएनन् भने कुनै समाचारका लागि फिल्ड रिपोर्टिङमा जाने, अफिस आएर टाइप गरेर समाचार र ल्याएका फोटा मेल गर्ने गर्थेँ । धेरै थाकेका अनुभव भएको दिन लाग्थ्यो- एक साताको बिदा लिन्छु, कतै जान्न दिनभर सुत्छु । खान्छु-सुत्छु । तर त्यसो गर्न सकिएन ।

जुन दिन धेरै खटाइ परेको हुन्थ्यो, त्यही बेलुकी १० बजेपछि डेस्कका साथीहरूको फोन आउँथ्यो- 'त्यो तपाइँले प्रदेशको मेन न्युज भनेको म्याटर हामीले अगाडिका पेजमा तान्यौं, अब खाली ठाउँ भर्ने चिज छिटो दिनुस् ।' ल्यापटप खोल्यो, अनि जे बाँकी छ र, उपयुक्त जस्तो लाग्छ, छाक टार्न त्यही पठाइदियो । हत्ते नै हुने ।
कहिलेकाही सुत्छु, एक साता सुत्छु भन्ने बिचार आए पनि कहिल्यै कार्यान्वयन गर्न सकिएन । हामीलाई सरदर ८ घण्टाले निन्द्रा पुग्छ । तर सुत्न पाइयो भने १२ घण्टा नै सुते पनि निन्द्रा पुगेजस्तो लाग्दैन ।

***

बन्दाबन्दीले हाम्रो नियमित दैनिकी बिथोलेको थियो । अब बिथोलिएर बनेको रुटिन नै सामान्य जस्तो लाग्न थालिसकेको छ । फेसबुक र ट्वीटर खोल्यो, थरी थरीका प्रतिभा देख्न मिलेको छ । आफ्नो दिक्दारी हटाउन धेरैले अनेक अनेक उपाय निकालेका छन् ।

मान्छेका घर, परिवार, खान्की, गाना बजाना, कथा कवितामा प्रतिभा सबै बन्दाबन्दीले देखाएको छ । साथी बनेदेखि कहिल्यै कुनै पोस्टमा 'लाइक' र कमेन्ट' गर्न नभ्याउने अति व्यस्त मनुवाहरू पनि च्याटमा प्रकट हुन्छन्, म्यासेन्जरमा भिडियो कुराकानी गर्न आउँछन् । कसैले रूचि दिउन् नदिउन्, आफूलाई घत परेका भिडियो सेयर गरिरहेका छन् । मान्छेका फुर्सद हेर्दा लाग्छ, लकडाउनलाई पर्व मानिएको छ ।

***
ब्लग लेख्दा लेख्दै कोरोना भाइरस गणनाको साइटले संसारभर संक्रमित १७ लाख ३ सय ७८ जना, मृत्यु १ लाख २ हजार ७ सय ५५ र उपचारपछि निको भएकाको संख्या ३ लाख ७६ हजार ५ सय ४८ देखाइरहेको छ । संक्रमण प्रसार हुन नदिन बन्दाबन्दी उपयुक्त उपाय त भनिएको छ, तर यस्तो अवस्था कहिलेसम्म चल्छ भन्ने टुंगो छैन ।

किनेर खानसक्ने क्षमता नभएकालाई स्थानीय तहले सहयोग गर्न थालेको समाचार हामी छापिरहेका छौं । तर  यतिबेला किनेर खानसक्ने भनिएका गरिखाने वर्गलाई पनि मर्का त परेकै छ । असर दूरगामी छ भन्दैमा कामधन्दा छाडेर बौलाउन सकिन्न । लकडाउन खुले पनि संक्रमणको त्रास कम हुनेमा ढुक्क कसरी हुने होला ?

***
हिजो म दिउँसो पनि ४ घण्टा सुतेँ । राति पनि निन्द्रा आयो । यतिबेला पनि सुतौं जस्तो भइरहेको छ । म साताव्यापी सुत्ने चाहना पूरा गर्ने अवस्थामा त पुगेको होइन ? के भएको हो ? जस्तो पनि लागिरहेको छ । धेरै निन्द्रा लाग्नु पनि लक्षण पक्कै नराम्रो हो । तर मेरो ब्लड प्रेसर १२०/८० नै छ । तौल ७३ बाट बढेको छैन ।

 'लकडाउन उपयोग गरेर सिर्जना कर्ममा जुटेका छौं, रचना गरिरहेका छौं' भनेर लेख्ने र आफ्ना सिर्जना सामाजिक सञ्जालमा पस्कनेहरू महान लागिरहेका छन् । कसरी संयमित हुन सकेका होलान् ?

अँ वर्क फर्म होमका पनि केही गन्थन गरौं ।

लकडाउनपछि म गुँड बाहिर निस्केको छैन । धेरैपटक इन्टरनेटको लाइन अवरुद्ध भइरहन्छ । आइएसपीलाई फोन गर्‍यो, चल्छ । अनि फेरि बेला बेला बिग्रन्छ । ल्यापटप पनि छक्क परेरै होला- धेरैपटक ह्याङ भएर दुःख दिन थालेको छ । कहिलेकाही २/३ सातासम्म म खोल्दिनथेँ । बरू लाग्थ्थो - मोसाले सराप्दो हो । भन्दो हो -'आफू चाहिँ साताको एक दिन बिदा बस्छ, तर, मलाइ बिदाका दिन पनि चलाउन छाड्दैन ।' आनन्द त यो छ की मोसा बोल्दैन । ल्यापटप ह्याङ भइदिएर यस्तै दिक्दारी बोलेको हो की !

***
हामीलाई बितेको समय सम्झन मन पर्छ । गाउँठाउँ, घुमघाम, नातासम्बन्ध । तर, आनन्द लाग्ने समय हामीले अहिले बिताइरहेको नै हो ।

(४/११/२०२० मा राति २ः११ बजे लेखेको यो गन्थन ब्लगको ड्राफ्टमा जतनसाथ रहेछ। अहिले डिस्प्लेमा एक्टिभ गरेको हो। कोरोनाजी गएदेखि हामीले उहाँलाई बिर्सियौं, ती समय सन्दर्भ पनि विस्मृतिमा पुगे। )  

Tuesday, March 31, 2020

लकडाउन छटपटी


एकताका लाग्थ्यो, ब्लगमा ती कुरा लेख्छु, जो खबरी कुराभन्दा भिन्न हुनेछन् । तर त्यो क्रमलाई निरन्तरता दिन सकिएन । आज फेरि यौटा लेख पढेर दिक्क लागेका बेला केही लेख्न मन लाग्यो । 
गत बिहीबार बेलुकी हामीले घर-घरबाटै अखबारका लागि काम गरेका थियौं । मैले काम गर्ने अखबारको शुक्रबारको अंकमा सूचना थियो- 'कान्तिपुरदी काठमान्डु पोस्टसाप्ताहिकनेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् । त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आँकलन गर्नेछौं र हालको स्थितिमा अलिकति सुधार आउनासाथ हाम्रा पत्रिकाहरू पूर्ववत् प्रकाशित गरिनेछन् ।'
यति लेखेपछि म केमा काम गर्छु भनिरहन पक्कै पर्दैन । हाम्रा सञ्चारमाध्यम हेर्दा लाग्छ, 'महान महान हस्ती' का मात्रै छटपटी पस्कनका लागि हो, जो हामी गरिरहेकै छौं । त्यसैले नितान्त आफ्ना कुरा ब्लगतिर जतन गरियो ।
सामान्यतयाः हाम्रो बानी के छ भने जसलाई पर्खन्छौं, उसले ढिला गरे छटपटी हुन्छ । बारम्बार घडी हेर्छौं, मोबाइल थिच्छौं, फोन-म्यासेज गर्छौं । समय कटाउन साह्रै गाह्रो हुन्छ । जब उ आइपुग्छ, हामी त्यो दिक्दारी सबै बिर्सन्छौं । आवेशमा आउनेहरूका लागि प्रवचनहरूमा सुन्न पाइने राम्रो कुरा के छ भने 'तपाइँलाई रिस उठ्यो भने म किन रिसाएको हुँ ? रिसाउनु कतिको जायज हो ? नरिसाउँदा हुन्थेन र ! भनेर सोच्नू ।' सोच नै एकाग्र हुन नसकेका बेला यस्ता कुरा दिमागमा ल्याउनै सकिँदैन । ल्याउन प्रयास गर्दा पनि सजिलो पक्कै होइन । यदि सोचियो भने रिसको तापक्रम घट्छ । मान्छे सामान्य मनस्थितिमा फिर्छ । सम्भावित दुर्घटना टार्न सकिन्छ ।
क्लिनिक र अस्पताल पस्नेबित्तिकै देखिने टेलिभिजन सेट यसको एउटा प्रयास हो । आवेशमा आएको कसैको समय बाटामा केहीबेर ध्यानाकृष्ट गर्ने हरू कुरामा गए आफ्नो पुरानो तापक्रमबाट चिसिन्छ । प्रतीक्षाको केहीबेर बिरामी र तिनका कुरुवामा दुखाइ र आवेगको मात्रा घटेको महसुस गराएपछि मात्रै उपचारका प्रक्रिया थालिन्छन् । वरिपरि त्यस्ता धेरैथोक छन्, जसले हाम्रो आवेशको शिकार हुनबाट जोगिन मन भुलाइदिने वस्तु राखिएका छन् ।  
लकडाउन अनुभवका गन्थन लेख्ने धृष्टता त्यही उपक्रम हो भनेर बुझौं । खुल्ला आएपछि अहिले कस्तो अनुभव गरिँदै भनेर बिर्सिहालिन्छ । सम्झना गरियो भने पनि अनुभवको तापक्रम नियन्त्रित आवस्थामै पुगेको हुनेछ ।
यतिबेला म ब्लग लेख्दै गर्दा युट्युबमा 'श्रीमद भगवद गीता सार | संपूर्ण गीता' सुन्दैछु । यति प्रष्ट भए हुन्छ यो कोही पाठक लक्षित लेखाइ होइन । आफूलाई लागेको दिक्क पोख्न समय बिताउने मेलो हो । 

०००
गत मंगलबारदेखिका तीन दिनको हाम्रो काम गराइ सहज पक्कै थिएन । किनभने, पत्रिकाको डेस्कमा चरणबद्ध र समुहमा काम नगरे सिलसिला मिलाउन गाह्रो पर्छ । समाचार सम्पादन गर्ने, प्रुफबाट आएपछि तिनलाई निस्चित पेजमा सबमिट गर्ने, जिम्मेवारी तोकिएको पेजका लागि समाचार र फोटा ठिक्क पार्ने,  पालो परेका डिजाइनरसँग मिलेर पेज तयार पार्ने । सल्लाहमा त्यसमा पुनः आवश्यक सम्पादन गर्ने । अरूले बनाएका पेज पनि हेरेर त्रुटी वा सुधारका सल्लाह दिने । डेस्क, प्रुफ र डिजाइनर गरेर २०/२२ जनाले गरिरहेको कामलाई एक्लाएक्लै घर घरबाट अनलाइन भएर काम गर्नु सहज नहुने रहेछ । तैपनि त्यो सिलसिला तीन दिन चल्यो ।
यतिबेला साथीहरू फोन कुराकानीमा भन्छन्- 'अरूले बन्द गरेका छैनन्, हाम्रोमात्रै किन बन्द ?' बन्द गर्नु हुन्थ्यो/हुँदैनथ्यो भन्ने बहसमा मजस्ता डेस्कमा काम गर्नेभन्दा वितरण र प्रेसका साथीहरूले मज्जाले बताउन सक्लान् । व्यवस्थापनले उनीहरूसँग पक्कै कुरा गरेर हाललाई प्रकाशन स्थगनको निर्णय गरेको हुनुपर्छ भन्ने मेरो बुझाइ छ ।
जेबाट जसरी पनि संक्रमण हुन सक्छ भन्ने पुष्टि नै भइसकेपछि वितरक पनि त मान्छे हुन्, उनीहरूका पनि घरपरिवार छ, जोखिमको अवस्थामा अरूले घर घरबाट काम गरेर तल्लो तहमा काम गर्ने कर्मचारीको ज्यानको सुरक्षाप्रति गैरजिम्मेवार बन्न पक्कै मिल्दैन । अहिलेका लागि जे होस् स्थितिमा सुधार आउनेछ, हाम्रो दिनचर्या पूर्ववत् नियमिततामा फिर्नेछ भनेर पर्खनुको विकल्प रहेन ।
त्यसो त कोरोनाको त्रास बढ्दै जाँदा फागुन दोस्रो सातादेखि नै बाहिरभन्दा अफिसमै धेरै सतर्कता थियो । लिफ्टको ढोकैमा ज्यानको तापक्रम जाँच, तलापिच्छे सेनिटाइजर, ट्वाइलेटमा साबुन-पानीको व्यवस्था । सधैं ३०/३५ जना भेला हुने ग्रुप मिटिङ क्यान्सिल गरेर थोरै बस्ने, काम गर्नेहरूले दुरी मेन्टेन गर्ने, हात धोइरहने र रिपोर्टिङमा काम गर्नेले 'भर्चुअल' माध्यमबाट आफ्ना विषय बताउने अभ्यास अफिसमा सुरू भइसकेको थियो ।    
०००
चैत ६ मा म घर पुगेको थिएँ । मोरङको सुन्दर हरैंचा नपा-३ लोचनी । गत बैशाखमा मैले पोखरा छाड्दा आफ्नो दसक पुरानो दुइपांग्रे वाहनलाई काठमाडौं ल्याउन उचित मानिँन । भाइलाई 'बेचिदिनू' भने । 'स्प्लेन्डर प्लस' दिवा सेवाको बसको छतमा चढेर भाइकहाँ विराट चोक पुगेको थियो । म सपरिवार संघीय राजधानी खाल्डोमा आएँ ।

फागुन दोस्रो साता भाइले फोन गरेको थियो- 'तेरो बाइक बिक्री भयो, नामसारी गरिदिन आइज । सकभर छिटो आउनू ।' सवारीसाधन जसको नामको ब्लुबुक होस्, चलाए हुन्छ । सवारीधनीलाई समस्या त्यसबेला पर्छ, जब त्यो कुनै दुर्घटनामा पर्छ । अझ त्यो सवारीसाधन 'लाइसेन्स' नभएकाले हाँके र दुर्घटनामा पर्‍यो भने सवारीधनी नै पक्राउ परेका घटना देख्न-सुन्न मिलेकै हो । यसैले म घर नगइ नहुने भयो । साथीहरूको आलोपालो बिदा मिलानका क्रममा मैले 'होली' मा जाने मूड बनाए पनि जान पाइएन । अलि पछि जानुपर्ने भयो ।

२०७६ चैत ७ शुक्रबारका दिन इटहरीको हलगडास्थित यातायात कार्यालयमा 'को४प २१६९' का सवारीधनी फेरिए । करिब तीन घण्टा लाग्यो नामसारीको प्रक्रिया पूरा गर्न । काठमाडौं छाड्दा अफिस र बाटामा देखेजस्ता मास्कधारी इटहरीमा कमै थिए । देख्न मिलेको कोरोना सतर्कताको कुरा- गोरखा डिपार्टमेन्टल स्टोरले प्रदेशद्धार बाहिर धारा र साबुनको व्यवस्था गरेको थियो । भित्र पस्नुअघि साबुन-पानीले हात धुनुपर्ने ।

०००
बिहीबार मेरो साप्ताहिक बिदा परेको थियो । शुक्रबारदेखि मंगलबारसम्मका ५ दिनको बिदा लेखेर हिँडेको थिएँ । शुक्रबारै अफिसबाट खबर आयो- 'चैत १० सोमबारदेखि सरकारले लामो दुरीका सबै सवारी बन्द गर्दैछ ।' हामी जोडी नै घर गएका थियौं । दसैं-दसैंमा मात्रै घर टेक्ने जेठा छोराबुहारी समय निकालेर बीचमा आएकामा आमाबुवा खुसी हुनुभएको थियो।
मातापिताको बासभन्दा ९/१० किमि पर्तिर विराटचोकमा भाइको बसोबास छ । भाइका छोराछोरी पनि ठूलोबा-ठूलीआमा केही दिन बस्छन् भनेर खुसी थिए । लामो दुरीको यातायात बन्द भए त यतै फसिन्छ, अब के गर्ने ? हामीलाई फिर्न हतार भयो । मुल काम मोसा नामसारी थियो, त्यो भइसकेको थियो । अरू भेटघाट, खानपान र किनमेल अरू सहज हुँदाका अवस्थामा पनि गरे भइजाने हुन् ।
लेटाङबाट काठमाडौं जाने माइक्रोमा आइतबार बिहान फिर्ने टुंगो गरियो । बिहान ३ बजे नै हिड्ने टुंगो भयो । आइतबार बिहान साढे ४ बजे माइक्रोले इटहरीसम्म ल्याउँदा यात्रु ६ जना, गाडी स्टाफ तीनजना मात्रै काठमाडौं पुग्ने टुंगो भयो । बाटामा निकै कम गाडी काठमाडौं जाने भेटिए, जति देखिन्थे, उनीहरूमा पनि फाट्टफुट्टमात्रै यात्रु थिए ।
छरिएर बसेका परिवारका सदस्य कोरोनाको त्रासका बीच घरमा भेला भइरहेका थिए । हामीलाई भने कर्म क्षेत्र जानै परेको थियो । आइयो । सोमबार नियमित ड्युटी भ्याउन अफिस पुगियो । काम गरियो । अनि भोलिबाट हुने 'लकडाउन' मा घरैबाट काम गर्ने मनस्थिति लिएर गुँड आइयो ।
०००
आफू बसेको डेराबाट निस्केर पल बाटो नटेकेको, मोटरसाइकल गेटबाट बाहिर ननिकालेको आज आज आठौं दिन हो । बिहान ८ बजे उठ्नु, नित्य कर्म सकेर एकपटक मोटरसाइकलसम्म पुग्नु, केहीबेर स्टार्ट गरेर घ्यार्र-घ्यार्र पार्नु, अनि भान्सा पसेर चिया पिउनु, ल्यापटप खोलेर बस्नु, अफिसका जिम्मेवारीमा परेका काम गर्नु, खाना खानु, टिभी हेर्नु र बेला बेला छतमा उक्लेर वरिपरि नियाल्नु गर्दै दिन बितेका छन् ।
लकडाउनले राजनीतिक परिवर्तनका बेला 'नेतालाई घरैमा बन्द' भनिएका समाचारमा आखिर कस्तो हुँदो होला भन्ने अनुभव गराएको छ । स्थितिले कोठा, चोटा, सुत्ने कोठा, भान्सा र बाथरूमबाहेक बाहिर जान नपाउनुका सकस केके हुँदा हुन् भन्ने कल्पनालाई 'यस्तो हो' भन्ने बुझाएको छ ।

हाम्रा लागि यो सकसमा पनि सन्तोष मान्ने कुरा के छ भने टेलिभिजन हेर्न पाइएको छ, एकैपटक 'युजर' धेरै 'एक्टिभ' भएर सेवा प्रदायकका सर्भर डाउन भए पनि इन्टरनेट चलाउन पाइएको छ । भलै यो इन्टरनेटले 'डायलअप' को जमाना किन नसम्झाओस्, चलेको छ । रिङ गरेपिच्छे 'कोभिड-१९' बाट बच्न 'यसो गरौं उसो गरौं' भनेर झर्को लाग्दो सन्देश बोले पनि मोबाइलले काम गरिरहेको छ ।
सामान थोरबहुत महंगै भए पनि तेस्रो-चौथो दिनदेखि डेरा नजिक डोरीको घेरा हालेर पनि किराना पसल खुलेका छन् । शायद जेलको बसाइँ यस्तै हुँदो हो । हाम्रोभन्दा जेलको बसाइ कष्टकर हुनुपर्छ । किनभने त्यहाँ आधारभूत सुविधा थोरै हुन्छन् । सरसफाइ सजिलो हुन्न । मन लगेका कुरा किनेर खान्छु भने पनि सजिलो हुँदैन ।

०००
सामाजिक सञ्जालमा यतिबेला अर्ति-उपदेशदेखि मान्छे यो प्राइभेट-लिमिटेड बसाइमा केके गरिरहेका छन्, त्यो देखिन्छ । कतिपयले यो अवस्थालाई सिर्जनाकर्ममा उपयोगी भनिरहेका छन् । उदेक उदेक छ । एक सातामा पनि बन्दी जीवनमा अभ्यस्त हुन गाह्रो परिरहेको छ ।
स्कुले बेलामा मलाइ लाग्थ्यो, संसारमा धैर्यवान कोही हुन् भने एक नम्बरमा पसले र नाइ हुनुपर्छ । म देख्थेँ-बिहान पसल खोलेर सरसफाइ गरेर ग्राहक कुरिरहेका उनीहरू बेलुकी अबेरसम्म त्यही पसलको चौघेरामै हुन्थे/हुन्छन् । त्यस्तो दिनचर्यामा मान्छे कसरी अभ्यस्त हुँदो होला ? बडा जिज्ञासा हुन्थ्यो । किन उनीहरूलाई बाहिर जान मन नलागेको होला ।
अहिले लाग्छ, उनीहरूलाई हातमुख जोर्ने उपक्रमले बाध्य पारेको रहेछ । त्यसैले उनीहरू त्यसरी बस्न सकेका हुन् । मलाइ पछिसम्म लागेको के हो भने आफू पनि त्यसरी तिनै पसले जसरी बस्न सक्छु । लाग्नु र सक्नु फरक कुरा हो । कल्पना र भोगाइ फरक पर्छन् भन्ने यो अहिलेको बन्दाबन्दीले नै अनुभव गराइरहेको छ । छोराले १२ पूरा गरूञ्जेलका दुई वर्ष म आफ्नो 'बाइलाइन' को माया गर्दिन, नेपथ्यमा रहेर काम गर्छु भनेरै पोखराको चार वर्षे बसाइलाई बिट मार्दै काठमाडौं आइयो । करिब १० महिना बित्यो, मेरो रुटिन जे गर्छु भनेको थिएँ, त्यसबाट बिचलित छैन ।
मेमोरीकार्ड र ब्याट्री छुट्याएर क्यामेरा थन्क्याएको छु । अरूले लेखेकै हेर्दैछु । क्षमतालाई 'अन्डर इस्टिमेट' गर्नेहरूलाई पनि वास्ता नगरी जिम्मेवारीमा पारिएका काम गरिएको छ । केही यस्ता साथीहरू भेटिएका थिए, जो लामो समय काठमाडौंमा काम गरेर घर फिरेका थिए । उनीहरूको 'समाचार सम्पादन' 'पेज सेटिङ' को खुबी अति मन परेको हो । उनीहरू किन फिरेछन् भन्ने चाहिँ यतिबेला काठमाडौंको बसाइले मलाइ राम्रैसँग बुझाएको छ ।
दैनिक जिम्मेवारी, पारिश्रमिक, स्तर निर्धारण, डेराको बसाइँ । थुप्रै आयाम छन् काम गराइका जसले आशा जगाउने र निराश पनि पार्ने रहेछ । अरू जिल्लामा बसेर काम गर्नु र काठमाडौंको रुटिनमा एउटै मुल फरक हो, काठमाडौं जे चाहन्छ त्यो पस्कन्छ, अरूले त्यो ग्रहण गर्नैपर्छ भन्ने मान्यता हावी छ ।  
०००
लकडाउन हट्ला र हामी पुनः नियमिततामा फिर्नेछौं भनेर यतिबेला पर्खनुको विकल्प छैन । किनभने लकडाउन काठमाडौं मात्रै होइन, पुरै देश हो र देशमात्रै होइन संसारका थुप्रै मुलुकले यस्तो अवस्था व्यहोरिरहेका छन् । प्रतीक्षाको यो दिन बिताइमा मननीय कुरा थुप्रै देखिरहेको छु ।
बच्चाहरू ठूला भएर एक्लाएक्लै बस्न रमाउने भएछन् । मोबाइलबाहेक अर्थोक नचाहिने भएछ । बाबुले घरबाटै अफिसका काम गर्नुपर्दा कम्प्युटर खोलेर एउटा कुना समात्ने,  आमाका आफ्नै काम । घरमा थुप्रैजना भए पनि शून्य । आमाका घरभित्रका आफ्ना नियमित कामलाई लकडाउनले फरक पारेको छैन । भात-भान्सा, सरसफाइ आदि सधैं एकनास चल्दो रहेछ ।
बेला बेला आमालाई फोन गर्छु । भन्नुहुन्छ 'तिमीहरूलाई यतै बस्न भन्नुपर्ने रहेछ । नातिलाई पनि यतै बोलाउन पाएको भए यो डरलाग्दो स्थितिमा परिवारका सबै सँगै भइन्थ्यो, हतार छ भनेर गइहाल्यौं ।' कोरोनासँग डराएर यसरी देश बन्दाबन्दी होला भन्ने कसलाई थाहा थियो र !
यो सरकारले कुनै राजनीतिक कारणले गरेको भए चर्को विरोध हुन्थ्यो । तर यो अवस्था सबैको ज्यानको जोखिमसँग जोडिएको छ । यतिबेला हामी घर घरमा छौं, सोचनीय कुरा चाहिँ के छ भने प्रहरी, सशस्त्र र सेना सडकमा छन् । भाइरसले सुरक्षाकर्मी र सर्वसाधारणमा विभेद गर्दैन । कर्तव्यका लागि काम गरिरहेकाहरूका परिवारमा कति चिन्ता होला ? के सोच्दा होलान् ? उनीहरू आफैं पनि यो जोखिममा कसरी मन बुझाइरहेका होलान् ?