Thursday, August 7, 2008

सताउने जोकर (समीक्षा)

ठुला सिनेमाघरमा हलिउड चलचित्र 'द डार्क नाइट' अहिले व्यापारमा निकै अघि छ। यसको बक्सअफिस कलेक्सनले 'स्पाइडरम्यान-३' को आम्दानीको रेकर्डलाई पनि पछि पारिदिएको छ। अनलाइनहरुका अनुसार 'ब्याटम्यान बिगिन्स' को दोस्रो भागको रुपमा आएको 'द डार्क नाइट' हलिउड इतिहासमै सबैभन्दा बढी व्यापार गर्ने चलचित्र हो ।

पेरिज हिल्टन डटकम नामक वेबसाइटका अनुसार यसले 'स्टार वार्स एपीसोड थ्री-रीभेन्ज अफ द सीथ' को १ करोड ८४ लाख डलर व्यवसायको रेकर्डलाई पनि पछि पारेको छ। क्रिश्चियन बेल र दिवंगत हीथ लेजरको प्रमुख भूमिका रहेको यो चलचित्रले यो सातासम्ममा ६ करोड ६४ लाख डलर कमाइसकेको छ। क्रिष्टोफर नोलनको निर्देशन रहेको यो चलचित्र कुनै कमिक्स पढेजस्तो रहस्य र रोमाञ्चले भरपुर छ।

यसमा कमिक्समा हुनेजस्तो चमेरे पात्र ब्याटम्यान गथम सहरको सुरक्षा गर्दै अपराधको विपक्षमा लडेको देखाइएको छ। स्व. अभिनेता हीथ लेजरको यो अन्तिम चलचित्र हो। उनलाई यसमा जोकर बनेर खलपत्रको रुपमा अभिनय गरेको देख्न सकिन्छ।

जोकर तर, खतरनाक अपराधी। जो आतंक फैलाएर त्यसमा आफ्नो सर्वोच्च स्थान बनाउन चाहन्छ। उसको निसाना बन्छन् ब्याटम्यान(क्रिश्चियन बेल) र उनका सहयोगी लेफ्टिनेन्ट जिम गर्डन (गैरी आल्डम्यान) र अटार्नी हार्वे डेंट। यो जोकर मान्छेलाइ हसाउदैन, आतंकित पार्छ र आफै खुशी हुन्छ। ब्याटम्यानलाई खराब चरित्रका भएको बताएर सहरवासीमाझ जोकर आफ्नो स्थान मजबुत पार्ने हतकण्डा अपनाउन तल्लीन हुन्छ।

जोकर सानैमा बुबाबाट शोषणको सिकार भएको हो। यही कारण उ निर्दोष मानिसहरुबाट प्रतिशोध लिन खोज्छ। जोकरको षडयन्त्र भयानक हुन्छ। सहर बचाउन ब्याटम्यान, जिम र अटार्नीका लागि असम्भव हुने निर्णय लिनुपर्ने बाध्यता आइपर्छ। यसले उनको अस्तित्वमै खतरा आउँछ। यो लडाइमा ब्याटम्यानका साथी छन् , उनलाई सबैभन्दा बढी बुझ्ने बटलर अल्फेड (काइकल केन) , उ भूमिगत चमेरे गुफाको रक्षक पनि हो।

स्पेशल इफेक्ट्सको भरपुर उपयोग गरिएको यो चलचित्रमा नायक ब्याटम्यान, उनका सहयोगी र खलपत्र जोकरबीचको लडाइका दृश्यहरु रोमाञ्चपुर्ण छन्। स्पेशल इफेक्ट्सको उपयोग, लडाइ र रहस्यको प्रस्तुतिमा रमाइलो मान्ने किसोर र युवा दर्शकका लागि यो चलचित्रले आकर्षित गरिरहेको छ।

No comments: