Monday, October 25, 2010

हिउँचितुवा पच्छ्याउँदै

- आनन्द गौतम
                       ताप्लेजुङको  घुन्सा बस्ने हिमाली चुन्दाकको बाल्यकाल हिउँचितुवाको हैरानी खेप्दै बित्यो । त्यो जन्तुबाट आफ्ना पशु जोगाउन चिन्ता र चितुवालाई कसरी मार्ने भन्ने उनलाई सधैं लागिरहयो । गोठ लिएर जंगल जाने चुन्दाकको पहिलो ध्यान चौरी र याकलाई हिउचितुवाको आक्रमणबाट बचाउनका केन्द्रित रहन्थ्यो । चरनमा लगेका चौरी,याक र तीनका बाछाबाछीलाई हिउ“ चितुवाले आक्रमण गर्थ्यो । उनी चितुवा मार्न बाटो ढुकेर बस्थे । खम्बाछेन छेउको नाकथुनमा गोठ लगेको बेला चितुवाले चौरीको बाछा खाइदयो । रीसको झोकमा उनले चितुवाका तीन बच्चा मारिदिएको एक दसक अघिको घटनाको सम्झना अहिले पनि ताजै छ ।   
'गोठ रुङन बसेको थिए, चौरीका तीन बाछा हराए, उनले अतित सम्झँदै भने 'खोज्दै जाँदा बिरालाका जस्ता तीनवटा चितुवाका बच्चा भेटेको थिएँ । त्यसको नजिकै तीनवटै बाछा चितुवाले मारेर लडाएको रहेछ ।'  बाछा मारिएको घटना थाहा भएपछि बुवाआमाको गाली खाने डरले उनले चितुवाका तीनैवटा बच्चा उठाए । 'मैले बोरामा हालेर लगेको थिएँ, उनले भने 'बुवालाई देखाएँ अनि घुन्सामा बगाइदिएँ ।' घटनाको रातभर गोठमा माउ चौरीहरु बाछो खोज्दै कराए । नजिकको भीरमा आफ्ना बच्चा हराएको जनाउ दिदै 'हुँ हुँ' गर्दै चितुवाको रोएजस्तो आवाज आइरहयो । 'त्यो रातभर चितुवाले बच्चा खोज्दै कराएको सुनेर मैले नकाम गरेछु भन्ने भइरहयो, उनले भने 'त्यसपछि यिनलाई कहिल्यै केही गर्दिन भन्ने लाग्यो । मैले कसम नै खाएँ ।' 
तीनै घुन्साका चुन्दाक अहिले हिउचितुवाको सबैभन्दा नजिकका साथी बनेका छन । उनको अध्यक्षतामा यहा घाङलुङ हिउचितुवा संरक्षण समितिसमेत गठन  गरिएको छ । उनीसगै समितिमा आबद्धको दिनचर्या अहिले हिउचितुवाको संरक्षणका काममा बित्ने गरेको छ ।  
               स्थानीयस्तरमा संरक्षण समिति बनाएर काममा जुटेका गाउलेले लामो समयदेखि अहिले चितुवालाई नजिकबाट  नियाल्न भने पाएका छैनन् । उनीहरुले मांसाहारी यो जन्तुको संख्या याक, नाक मारेको संख्या, पाइला गणना गर्दै र त्यसको पिसाबको गन्धले अनुमान गर्दै आएका छन ।  बर्सेनी जंगलमा अलिअलि हिउ जम्मा हुन थालेपछि उनीहरुको खोजी अभियान सुरु हुन्छ । 'हिउ जमेको बेला संख्या पत्ता लगाउन सजिलो हुन्छ, स्थानीय डण्डु सेर्पाले भने 'यो बेला पाइलाको छाप देख्न सकिन्छ ।' उनका अनुसार ओडारहरुका चितुवाको गन्ध भेटिन्छ । ढुङ्गैढुङ्गा भएको अग्लो ठाउमा बस्न मन पराउने चितुवा रातीराती आहाराको खोजीमा सक्रिय हुन्छ । 
             चालु वर्षको अनुगमनले घुन्सा र आसपासको क्षेत्रमा हिउचितुवा ४५ देखि ५० वटाको संख्यामा भएको अनुमान  समितिका सदस्यहरुको छ । अघिल्लो बर्ष ३० देखि ३२ वटासम्मको आकडा थियो । लाक्पा छेतेन सेर्पाले भने 'यो बर्ष १५ देखि २० वटासम्म बढेको हुनुपर्छ । हामीले गणना गर्दा त्यस्तै पायौं ।' सेर्पाका अनुसार यो बर्ष मात्रै दुधपोखरी क्षेत्रमा चितुवाले चारवटा वस्तु मारेको छ । रामजेल, याङमा, जिङसाङलापास नाकामा र माथिल्लो गिरिगिल्लामा उल्लेख्य हिउचितुवा रहेको अनुमान गरिएको छ । 'नजिक जान सकिदैन, उनले भने 'टाढाबाट हामीले खिचेका फोटामा चितुवा स्पष्ट छैन ।'  
                ३ हजार मिटरदेखि ५ हजार ४ सय मिटरसम्ममा यो जन्तुका लागि करीब ३० हजार वर्ग किलोमिटर क्षेत्रफल उपयुक्त वासस्थान मानिन्छ । हिमाली भेगका आठ वटा संरक्षीत क्षेत्रमा पाइने यो जनावर कञ्चनजंघा संरक्षण क्षेत्रमा भने याङमा, ओलाङचुङगोला, घुन्सा, लेलेप, याम्फुदिन क्षेत्रमा पाइने तथ्यांकमा उल्लेख छ । हिमालीका अनुसार संरक्षण क्षेत्रको रामजेल, खाम्वाछेन, नाक्छेन्दा, जानु वेसक्याम्प, थाङगाछेन, नाङगोला पास, सिसियर, गिरिगिल्ला, रामदान, रोनाक, पाङपेमा, जिम्वुबारी, पियुङ, लुम्बासाम्बा, फाङजाथुङसा, घुन्साछागा, थाङगाछेनलगायतका क्षेत्रमा पाइन्छ । साइटिस अनुसूचीमा सूचीकृत यो जनावर नेपालका उच्च हिमाली क्षेत्रहरु शे-फोक्सुण्डो, अन्नपूर्ण, सगरमाथा, लाङटाङ, कञ्चनजंघा संरक्षण क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची-१ तथा आइयूसीएन रेड डाटा बुकमा समेत उल्लेख गरिएको छ ।  मुलुकमा यसको संख्या ५ सयको हाराहारीमा रहेको अनुमान छ ।  
              आठदेखि नौ बर्षसम्म बाच्ने यो जनावर हल्का खैरो रङमा कालो थोप्ला भएको ठूलो टाउको लामो पुच्छर भएको हुन्छ । जंगली भेडा, बाख्रा, कस्तुरी मृग, र मुसा प्रजाति खाएर बाच्ने यो जन्तुका लागि चोरीसिकार र वासस्थान विनास मुख्य संकट बनेको छ ।
            कञ्चनजंचा संरक्षण क्षेत्र आसपासमा स्थानीयवासीका लागि यो जन्तु घरपालुवा पशुको शत्रु हो । पछिल्लोपटक हिउचितुवाले खाएका घरपालुवा जनावरका लागि पशु बीमाको कार्यक्रम ल्याइएको छ । चितुवाले नै मारेको ठहर भएका करिब ३५ वटा पशुलाई बीमाअन्तर्गत क्षतिपूर्ति पनि दिइएको स्थानीयवासीले बताए । 'एउटा याक मारिदा १५/२० हजारको क्षति हुन्छ, डुण्डुले भने 'व्यक्तिगत क्षति सहेर हिउचितुवा जोगाउने कुरामा कोही सहमत थिएनन् । बीमा कार्यक्रमपछि मान्छेको धारणा फेरिएको छ ।' 
तस्बिरमा 
- हिमाली चुन्दाक र डण्डु सेर्पा खम्वाछेन क्षेत्रमा हिउचितुवा खोज्दै ।
- हिउचितुवाले खाएको याक हेर्दै अनुगमन समिति सदस्य ।
- मृत भेटिएको चितुवाको छाला नाप्तै ।
तस्बिरहरु : लेखक र कञ्चनजंघा संरक्षण समिति

(जैविक विविधताको विषय रुचाउनेका लागि पठनीय होला भन्ने उदेश्यले यो स्टोरी कान्तिपुर दैनिक कोसेलीको ०६६ चैत ६/ मार्च २०, २०१० को पूर्वाञ्चल संस्करणको अंकबाट साभार गरिएको हो । )

हिउचितुवाका बारेमा अझ बढी जान्न मन लागे तलको लिंकमा जान सकिन्छ 


Sunday, October 24, 2010

क्यामेरा ट्रयापमा मिल्के

रामायणका पात्र रामचन्द्र, सीता र लक्ष्मण । १४ वर्षको वनवास । दरवारबाट केही कुकुर साथै लागेर गए । कुकुर हराए । राम-लक्ष्मणले सकेजति खोजी गरे । भेटिएनन् । अन्ततः रामले वरदान दिए - 'तिमीहरु आफैं बाँच्न सक्ने होउ । मान्छेबाहेक भेटेका सबै खाउ । जहाँ रहेपनि आफै आफ्नै पौरखमा बाँच ।' ताप्लेजुङको फुरुम्बुका देवी विष्ट (७०) ले यस्तो किवदन्ती भनिरहँदा कुकुर खोजेर फिरेका तन्नेरी अम्बिकाप्रसाद खतिवडा (२९) छक्क परे । लाग्यो, खोजी गरेको विषय पौराणिक कथासँग जोडिएको पनि रहेछ । 
फिरेर आएपछि उनलाई खान मन लागेको थिएन । कमजोरी महसुस भएको थियो । धूपध्वाँर अनि झारफुक गरिरहेका विष्ट यतिकै कहाँ थामिन्थे । 'त्यो मिल्केले आपतै खेलाको हो नि,' उनले भने 'धन्य बाँचियो । मार्थ्यो होला ।' गोठ गएका बेला बन कुकुरको समूहले उनको एउटा बाख्रो मार्‍यो । झट्ट देखे । कसेर झटारो हाने । छाउरोलाई लाग्यो । चिर्पटको तोडले छाउरोको इहलीला सकियो । कुकुर रिसाए । उनलाई घेरे । बाख्राको बथानमा चारपाउँ टेकेर घुस्रिएपछि आवाज लगाए 'गुहार गुहार कुकुरले मार्न लागे । गुहार ।' अरु गोठाला आइपुगेपछि कुकुरको समूह त्यहाँबाट भागे । थोरै कुप्रा कायाका कालाकाला विष्ट चाउरी मुहारले बोले, 'त्यो बेला बाँचेकै हो नि । म तन्नेरी थिएँ त्यो बेला । त्यसपछि कहिल्यै जम्काभेट भएन ।' 
०००
सातो बोलाउन फुङलिङस्थित खतिवडाको घर आएका विष्टका किवदन्तीका लेखोट कतै भेटिन्नन् । विराटनगरको गायत्री संस्कृत विद्यालयका शिक्षक पं कृष्णप्रसाद गुरागाइ भन्छन् 'वाल्मिकीको रामायणमा त्यसरी रामसँगै वनवासमा कुकुर पनि गएको भन्ने प्रसंग कतै छैन ।' पौराणिक कथाहरुमा मान्छेसँगै घरपालुवा र जंगली जनावरका प्रसंग जोडिएर नआउने भने होइनन् । 'हामीकहाँ नेपाल-भारतमा पढिने रामायण धेरै भाषामा अनुवादित छन् । १ सय २१ भाषामा छन्,' उनी भन्छन् 'चीन, कम्बोडिया र इण्डोनियशियामा पढिने रामायणमा हाम्राभन्दा केही प्रसंग फरक पनि छन् ।' हालसम्मको अध्ययनमा हेक्का भएसम्म वनवासमा कुकुर साथै लागेर गए भन्ने कतै उल्लेख नभएको दावी गुरागाइको छ । 
किवदन्तीका लागि विश्वसनीय आधार हुनु जरुरी छैन । तर, अम्बिकाको खोजी ताप्लेजुङका विभिन्न गाउमा स्थानीयले 'वनकुकुर, ठाडाकाने, मिल्के' र अंग्रेजीमा 'ढोले' वा 'एशिएटिक वाइल्ड डग' भनिने जनावरको हो । मेचीअञ्चलको उत्तरवर्ती पहाडी जिल्ला ताप्लेजुङको नाङखोल्याङका जन्मिएका यी तन्नेरी अध्ययन सिध्याउन आफ्नै घरमास्तिर आँखाले नभ्याउने विकट पाखा र जंगलभित्र आइपुगे । पोखरास्थित वनविज्ञान अध्ययन संस्थानमा स्नातकोत्तरको अन्तिम वर्ष शोधका लागि उनले यो विषय छनोट गरेका हुन् । 
०००
'बल्ल बल्ल घर आइपुगेको छोरो जंगल पो जान्छु भन्छ, मत आत्तिए नि,' आमा सुशीला (५४) भन्छिन्, 'दिनै मान्छे अपहरण, लुटपाट अनि मारे भनेर रेडियो फलाकीरहन्थ्यो अनि डर लाग्दैन त !' अम्बिकाले आमालाई आफ्नो खोजी बारे सुरुमा खुलस्त बताएका थिएनन् । तीन वर्षअघि घर आउदा उनले बाघको अध्ययनमा आफ्नो रूचि रहेको बताएका थिए । 'साउनको महिना पानी परेको परेकै छ, जताततै पहिरो जान्छ, खोलानाला बढेका हुन्छन्,' उनी थप्छिन्, 'आफ्नो सन्तानले कष्ट ब्योहोरेर केही गरोस् जस्तो कसलाई लाग्छ ? मलाई उ जाने कुरा ठीक लागेको थिएन ।' 
खतिवडाका पिता पेशाले शिक्षक हुन् । नाङखोल्याङकै प्राविमा २३ वर्ष पढाएपछि अवकाश लिएका देवीनारायण भन्छन्, 'उसको करका अघि हाम्रो के चल्छ । करिअरको कुरा हो ।' मातापितालाई बलले राजी पारेपछि मात्र घरमा अम्बिकाको यात्राका लागि तयारी सुरु भयो । मकै भुटेर जाँतोमा पिधी सातु बनाइयो । पहिल्यै बयममा राखेका कागतीको अचार, गुन्द्रुक, सातु घरबाट तयारी भएपछि बजारबाट ३० किलो चामल, केही प्याकेट विस्कुट र चाउचाउ पनि पोकोमा हालियो । यात्राका लागि अम्बिकाले जीपीएस, एउटा अटोफोकस क्यामेरा र १६ वटा क्यामेरा ट्रयाप (स्वचालित क्यामेरा) केही दिनअघि व्यवस्था गरेका थिए । क्यामेरा ट्रयाप उनलाई अध्ययनमा सघाउन राष्ट्रिय प्रकृति संरक्षणको कोषको पहलमा चितवनको सौराहास्थित जैविक विविधता संरक्षण केन्द्रले उपलब्ध गराएको थियो । दुइ भरियालाई अघि लगाएपछि उनको यात्रा सुकेटार, देउराली, फावाखोलाहुँदै  सिकैचाको काडेभञ्ज्याङ पुग्यो । साउन २६ को विहान ८ बजेको यात्रा त्यहाँ बटुवा वास बस्न बस्तीमा पुग्दा साँझको ७ बजेको थियो । 
०००
गन्तव्य याम्फुदिन ताकेर हिडेको टोलीमा अम्बिका, उनीसँगै वातावरण विषयका साथी राजेश झा, तापेथोक गाविसबाट  भरिया आएका रेशम लिम्बू र अर्का एक छन् । दोस्रो दिन विहानको यात्रा तेर्सो, उकालो लाग्दै तेल्लोक, पेदाङ, फुम्फेडाडाहुँदै मामाङ्खेको लक्ष्मी माविनजिक पुग्यो । १७९७ मिटर उचाइमा अवस्थित मामांखे हिउँदमा हिउँ झेल्ने सानो गाउँ हो । 'चिसो स्याठ चलेको थियो, सिमसिम पानी पर्न थालेको थियो,' अम्बिका भन्छन्, 'दोस्रो दिन थियो । धेरै गलेको र भोक लागेको महसुस भएको थियो ।' 
भरियाले तोङ्बा खादै प्यास मेटाए । दुइ विद्यार्थीका लागि हरिया मकै पोलेर खाने व्यवस्था भयो । तेस्रो दिन ६ घण्टाको यात्रापछि टोलीले याम्फुदीन-८ टेक्यो । त्यहाँका कञ्चनजंघा संरक्षण क्षेत्रका नर्सरी नाइके तार्सदीप गुरुङ भेटिए । पहिल्यै खबर गरेकाले मिल्केसँग सम्बन्धित सुत्र त्यहीँ फेला पर्‍यो । त्यहाँ भेटिएका गुरुङ हिउचितुवा संरक्षण समितिका सदस्य भएकाले वन्यजन्तु सम्बन्धित घटना टिपोटमा उनी अभ्यस्त थिए । समितिले चलाएको पशुधन बीमा कार्यक्रमले उक्त क्षेत्रमा हिउँचितुवाले घरपालुवा मारे वा क्षति पुर्‍याए घटनाको प्रकृति हेरेर क्षतिपूर्ति दिने गरेको छ । समितिमा त्यसै साता स्थानीय टासी लामाले आफ्नो माउ गाइ र चौरीको बाछो वन्यजन्तुले मार्‍यो भन्दै क्षतिपूर्ति माग्दै निवेदन हालेका थिए । 
'टासीको गाइ र चौरीको बाछो मिल्केले मारेको रहेछ,' गुरुङले सुनाए, 'टासीले पाइला देखेको रैछ, अनि उसको निवेदन आको हो ।' गुरुङको भनाइलाई स्थानीय कञ्चनजंघा माविका प्रअ कुमार माबोले समर्थन जनाए । उनले भने 'यो क्षेत्रमा हिउँचितुवाभन्दा वनकुकुरले नै मारेको घटना छन् ।' सुत्र भेटेपछि टोलीले गाउँलेसँग छलफल र जानकारी बटुल्दै त्यो दिन बितायो । राजेश त्यही बसेर जलवायु परिवर्तनको अध्ययन गर्ने भए । 
त्यहाँबाट दुवै भरिया फुङलिङ फर्किए । हिमाली स्याठको माथिल्लो यात्रामा टोलीका सदस्य फेरिए । अब अम्बिकालाई साथ दिन तार्सदीप,टासी लामा, लाक्पा सेर्पा र नयाँ दुइ भरिया थिए । त्यहाबाट ४५ मिनेट मास्तिरको भोटेगाउमा दुइ दिन टोली थामियो । अघिल्लो यात्रा एक दिनको हिडाइपछि याङ्मुङखर्क पुग्यो । त्यहाँको अर्को बिहानदेखि अम्बिकाले ब्याग फुकाए । क्यामेरा ट्रयाप झिके । अनि एक/दुइ किलोमिटरको दूरिमा ठाउँठाउँ क्यामेरा ट्रयाप राखियो । 'हामीले वनकुकुर हिड्ने बाटो पहिल्याएका थियौ,' अम्बिका भन्छन्, 'अनि मात्र क्यामेरा फिट गर्दै अघि बढियो ।' पानी थामिएन । छाताले छेलिदै भिज्दै अघि बढ्दा अबको यात्रामा उनलाई साथ दिन टासी र लाक्पामात्र थिए । 
०००
गोठ खोजेर वास बस्दै मिल्केको मलमुत्र पहिल्याउदै हिडेको विद्यार्थीलाई हिमाली गाउँका लाक्पा र टासीले बेला-बेला आश्चर्य पनि जनाए । 'किन के खोजेको हो यस्तो !,' टासीले भने, 'जंगल-जंगल खोजेर पनि यस्तो पढाइ हुन्छ ?' अम्बिकाले बुझनेसम्म बताए । वनकुकुरको खोजी नेपालका लागि नौलो हो । यो जन्तु मान्छे नजिक आउँदैन । घरपालुवाभन्दा बढि चलाख र जंगलमा वासस्थान फेरि फेरि विचरण गर्छ । विश्वमा यसको संख्या २ हजार ५ सय भन्दा कम्ती छ । विश्व संरक्षण संघ (आइयूसीएन) ले यसलाई दुर्लभको सूचीमा राखेको छ । 
हिमाली गाउँका सोझा बासिन्दाका मगजले धेरै पहिल्याउने कुरा थिएन । बाह्रैमास चिसो भइरहने । पानी र हिउँ पर्ने अनि गोठको बास बस्दै चौरी, भेडा, गाइ-बाख्रा बाल्दै तिनीहरुबाटै आर्थिक उपार्जन गर्दै आएकालाई जन्तु सुरक्षित हुनुपर्छ भन्ने मात्र हेक्का छ । 
टोलीले सामेवा देउरालीदेखि नयाँझोडेनी डाँडासम्म क्यामेरा ट्रयाप राख्दै गएपछि फर्कने तय हुँदा यात्राको बाटो कहालीलाग्दो थियो । अम्बिका सुनाउँछन्, 'ल्हासेको पहिरो खतरा थियो । हामी फिर्दा रात परेको थियो । अगाडि बढ्ने बाटो पहिल्याउन गाह्रो भयो ।' बाटाका क्यामेरा जडानको काम सकिएर वनकुकुरले गरेका दिसा पहिल्याएर हेलखर्कहुँदै पेमादीनसम्म पुगियो । फर्कने बाटो दोस्रो थियो । राधाफोक, चैराम, सैसर , अन्धाफेदी, तोरनदीनहुदै ल्हासे पुगेर गोठको बास भयो । 'खाना बोकेपनि पानीमा भिजियो, लडियो, विरामी परियो,' उनले भने, 'धेरै हिडेपछिमात्र गोठ भेटियो । थकान धेरै भयो ।' 
गोठमा अम्बिका र लाक्पाको अवस्था उस्तै थियो । गोठका दिलकुमारले खाना बनाए । खाने व्यवस्था गरे । त्यो दिन गोठ बाहिर निस्केर अघि बढ्ने साहस जुटेन । यात्राको २० दिन बितिसकेको थियो । अम्बिका सम्झन्छन्, 'त्यहाँबाट फिरेर क्यामेरा ट्रयाप खोल्ने काम गर्दै हिडियो ।' सबैमा २/२ जीबीका कार्ड थिए । झिक्दै आफ्नो क्यामेरामा हालेर रिभ्यु हेर्दै जादा चरा र चौरी धेरै क्याप्चर गरेका थिए । अन्ततः १२ नम्बर क्यामेरा ट्रयापले वनकुकुर खिचेको पाएपछि उनले लामो सास फेरे । यो ठाउँ ३७५२ मिटर उचाइको सामेवा देउराली थियो । जहाँ भूइँको आडमा दोबाटोमा कीला ठोकेर राखिएको क्यामेरा १८ दिन बसेको थियो । जसमा १ सय २४ एमबीमात्र मेमोरी स्पेस खर्च भएको थियो । क्याप्चर भएकामा तीन वटामा मात्र वनकुकुर थियो । दिनको १ः५९ बजेदेखि ५ मिनेटभित्र  । 
०००
'एउटाले मात्र वनकुकुर भेटेछ,' अम्बिका भन्छन् 'आँखाले प्रत्यक्ष देख्न नपाएपनि फोटो स्पष्ट थियो । काम चल्यो ।' उनका अनुसार क्यामेराले तीनवटाको संख्यामा रहेकालाई खिचेको छ । यी तिनै क्यामेरा ट्रयाप हुन् जसलाई समयसमयमा बाघ गणनाका लागि पनि उपयोग गरिन्छ । उनलाई आफ्नो विषयभन्दा पृथक खिचाइमा आएका वन्यजन्तुलाई प्राथमिकता दिनु थिएन । तर, पदचाप थाहा पाएपछि आफैं खिच्ने स्वचालित क्यामेराले धेरै प्रजातिका चरा, याक र मलसाप्रो पनि खिचेको छ । अहिले शोधको अन्तिम तयारीमा रहेका उनलाई लाग्छ संरक्षित क्षेत्रभन्दा बाहिर पनि वन्यजीवन भेटिन्छन् । तिनको अध्ययन र संरक्षण गरिनुपर्छ । 
पंछी संरक्षण संघ प्रमुख डा. हुमबहादुर गुरुङको भनाइ पनि यस्तै छ ।  भन्छन्, 'संरक्षित क्षेत्र घोषणा भएका एरियाबाहिर भेटिने पंछी र जन्तु राष्ट्रिय वन अनि सामुदायिक वनका एरियामा छन् ।' घाँस-दाउराका लागि जोगाउनेहरुले वनको संरक्षण गर्दा वन्यजन्तुलाई पनि सकारात्मक प्रभाव परेको छ । तर, यिनलाई जोगाउन सामुदायिक वनकर्मीबीच विशेष खालका योजना चाहिने उनलाई लाग्छ । वन्यजीवन र पर्यावरणका विविधतालाई अध्ययनको विषय बनाउनेहरुबाट राष्ट्र र सम्बन्धित समुदायले जानकारीको लाभ पाउने अत्यधिक सम्भावना उपयोग हुन नसकेको अवस्था उनले देखेका छन् । गुरूङ भन्छन् 'जहाँ जुन कुराको अध्ययन गरिन्छ, त्यसको महत्व स्थानीयले थाहा पाए भनेमात्र हाम्रो प्राकृतिक संतुलन बनिरहन मद्दत मिल्छ ।' 
(६ कात्तिक ०६७ मा कान्तिपुर कोसेलीमा प्रकाशित) 


बनकुकुरका बारेमा अझ बढी जान्न मन लागे तलका यी लिंकमा जान सकिन्छ  
http://en.wikipedia.org/wiki/Dhole
http://www.cuon.net/dholes/
http://www.sandiegozoo.org/animalbytes/t-dhole.html
http://www.predatorconservation.com/dhole.htm

Saturday, October 23, 2010

भुत्ते कुटनीतिका सिकार शरणार्थी

शुक्रवार दिउँसो राजधानीबाट प्रसारित हुने एउटा एफएम रेडियोमा फर्माइसी गीतको कार्यक्रम चलिरहेको थियो ।  सञ्चालिकाले बारम्बार फोन गर्नेमध्येका एक स्रोताको फोन रिसिभ गरिन् । उनी मोरङ पथरीनजिक शनिश्चरे शिविरका कलर रहेछन् ।
दसैं कस्तो बित्यो भन्ने कुराको प्रसङ्गमा उनले एकै सासमा भने 'अन्तिम दसैं हो । अर्कोपालि कहाँ पुगिने हो । मजाले मानियो यसपालि ।' तेस्रो मुलुक पुनर्वासअन्तर्गत शरणार्थी शिविरका भुटानी जनता अहिले अमेरिका-युरोपका विभिन्न मुलुक पुगेका छन् । भुटानले नेपालीभाषी जनतालाई बेघर बनाएपछि मोरङ र झापाका शिविरमा शरण लिएको दुइ दसक नाघेको छ । उनीहरुका लागि घर फर्कन भरपर्दो कुटनीतिक पहल कहिल्यै हुन सकेन । पछिल्लोपटक उनीहरुका लागि संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिला इकाइले तेस्रो मुलुक पुनर्वासको उपाय सुझाएर कार्यान्वयनमा ल्यायो ।
एफएमकी आरजेलाई उनको जवाफलाई महत्व दिनुभन्दा गीत रोज्न आग्रह गरिन् । आफुलाई फलानो भनेर चिन्ने सबैका लागि भन्दै उनले नया हिन्दी चलचित्रको गीत रोजे । छोटो सम्वाद सकियो । गीत बज्यो । ती स्रोतासग सम्वाद लामो हुनसक्थ्यो । यद्यपि मनोरञ्जक कार्यक्रमका लागि त्यो शायद आवश्यक मानिएन । अथवा हुनसक्छ आरजेलाई शिविरका शरणार्थीको जीवन र अवस्था बारेमा बढि चासो भएन वा थिएन ।
गत असार पहिलो साता राजधानीबाट आएका एक सञ्चारकर्मी मित्र दीपक अधिकारीका लागि झापाको शान्तिनगरस्थित टिमाइ शिविर जानुपर्ने भयो । भुटानबाट विस्थापित एक परिवारकी महिलासग उहाले अन्तर्वार्ता गर्नु थियो । उनका श्रीमान भुटानको कुनै जेलमा थिए । छोराछोरी काठमाडौंको  स्कुलमा पढ्दै । एक्ली महिला शिविरको छाप्रामा कुरुस-काटासगै जीवनका दिन आसूमा उनीरहेकी ।
बेलडागी, खुदुनावारी र शनिश्चरे पुगेपनि टिमाइ पुगेको त्यो पहिलो अवसर थियो मेरा लागि । अघिल्ला तीन शिविर घुमेभन्दा टिमाइ फरक देखिएन । बास फोरेर छानो बनाइएका झुप्रा, त्यसअघिल्तिर घामबाट खाना पकाउने सौर्य चुलोमा भाडो । समूह-समूह बसेर आ-आफ्ना काम र गफमा तल्लिन शरणार्थी । भाषा नेपाली हो । त्यसैले हामीभन्दा भेषभुषामा फरक केही भेटिन्न । शिविरभित्र फलामका काम गर्नेहरु सानो छाप्रोमा घरेलु कृषि औजार बनाउन हतौडी र छिनो चलाइरहेका छन् ।
बाहिरबाट चिहाउन सकिने ठूला छाप्रा भएको स्कुल । धेरै नानीहरु पढिरहेका छन् । स्कुलेका तस्बिर खिच्न थाल्दा उनीहरुका गुरुहरु नजिक आए । परिचय सोधे । अनि त्यहाको अवस्था बताए । उनीहरुलाई भुटानकै भाषा, भूगोल र अवस्था बताउन सामाग्री पर्याप्त रहेनछ । अनि पढाउनेहरु पनि एक/दुइ गर्दै पुनर्वास कार्यक्रममा नाम निकालेर बाहिर जाने क्रम बढेपछि साना नानीहरुलाई अध्यापन गर्नेको अभाव बढ्दो रहेछ । टिमाइको प्राथमिक तह पढाइ हुने स्कुलमा करीव ६ सय बालबालिका रहेछन् । भीत्ताबाहिरबाट घामको प्रकाश कक्षामा पसेको छ । ३ कक्षाको एउटा कोठामा एउटा फुच्चे सहपाठीहरुलाई राजेशपायल राइको आधुनिक गीत सुनाइरहेको छ -'बल्ल बल्ल भेट भो दर्शन नमस्ते ।'
अनिश्चित भविष्य लिएर शरणार्थी जीवन बिताइरहेकाहरु अहिले धमाधम तेस्रो मुलुक गएका छन् । जान चाहनेहरु आफ्ना नाम सूचीमा पर्ला भनेर पालो पर्खिरहेका छन् । अनि नाम निस्केकाहरु जानका लागि विदावारीमा छन् । 'तिनीहरुले मेरो घर खोसे तर, भविष्य खोस्न सक्दैनन्' यो विश्व शरणार्थी दिवसको नारा हो । यसले शरणार्थी व्यथा बोल्छ । तर, उनीहरुका लागि थातथलोमा फिराउनुको साटो अर्कै मुलुकमा बसाइ लैजाने क्रमले तीव्रता पायो । सन् २००८ मार्चदेखि सुरु भएको नेपालस्थित शिविरका भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वास कार्यक्रममा हालसम्म ३१ हजार गइसकेका छन् । पुनर्वास कार्यक्रमले गएका चार महिना भरथेग गर्ने, त्यसपछि उनीहरु आफै बाच्ने हुनुपर्ने नियम छ ।

पढेलेखेका युवा पुस्ताका लागि यो सहज हुनसक्ला । तर, वर्षौदेखि खेती किसानी गरेर जीवनका उर्जाशील समय व्यतित गरेका शरणार्थीका लागि युरोप र अमेरिकाको जीवन सहज छैन । तापनि तत्काल तेस्रो मुलुक जानबाहेक अरु सहज विकल्प छैनन् ।

शरणार्थी समस्या समाधानका घरफिर्ती, पुनर्वास र स्थानीयकरण् । यी तीन विकल्पबाहेक अरु केही हुन सक्दैन ।  ग्लोबल ट्रेण्ड रिपोर्टले विश्वमा शरणार्थी संख्या बढ्दै गएको र घर फर्कनेको संख्या घट्दो रहेको सार्वजनिक गरेको छ । गत वर्ष २ लाख ५२ हजार शरणार्थी स्वदेश फर्किएको तथ्यांक छ । जुन सन् १९९० यताकै सबैभन्दा कम हो । आङ्खनो देश र घरभन्दा प्यारो मानिसलाई अरु केही नहोला । यस्ता आधारभूत अधिकारबाट शरणार्थीलाई बञ्चित नगर्न नेपालको दायित्व ठूलो छ । तर, कुटनीतिक पहलमा ध्यान पुर्‍याउन सधै ढिलाइ भइआएकै हो । राजनीतिक संकटबाट नेताहरुले मुलुकलाई कहिल्यै शान्तिको सास फेर्न दिएको अवस्था छैन । बुद्धि फिरोस् । अनि शरणार्थीका मामिलामा आफैबाट पहल हुन नसक्ने हो भने अन्तर्राष्ट्रिय समुदायसग हातेमालो गरेर अघि जाने बाटो पहिल्याओस ।

Tuesday, October 12, 2010

यस्तो सोचौं

'फेरि एकपटक म मेरो गरिब देशमा छु । जहाँ बिजुली, इन्टरनेटलगायत सुबिस्तासहित छैनन् । त्यसैले म फेसबुकका पोष्ट, म्यासेजहरुलाई निरन्तर फलोअप गर्न सक्दिन २ नोभेम्बरसम्म क्षमाप्रार्थी ।' माथिका हरफ एक जना हितैषी दाईको गत विहीवार विराटनगरबाट गरेको फेसबुकको स्टाटसबाट पैचो लिइएका हुन् । उहाको यस्तो स्टाट्सलाई आठ जनाले 'लाइक' भन्दै मन परेको संकेत गरे । नौ जनाले कमेन्ट लेखे । अनुमति नलिइ यहाँ लेख्ने भएकाले नाम उल्लेख नगरी पनि उनीहरुको कमेन्टमात्र पढौं । यस्ता थिए ।

- हुन्छ नि हजुर । नेपाली सबैलाई इन्टरनेटको पहुँचमा कहा“ पुग्न सकिन्छ र । विदेशमा बसुञ्जेल हो रहेछ नियमित ।
- हुन्छ नि हजुर ।
- के गर्नु हाम्रो तीतो यथार्थ ।
- केही छैन दाजु । फेसबुकमा भन्दा आफ्नो मातृभूमिमा टेक्दा खुशियालीले फेसबुकलाई केही क्षणका लागि भुलाइ दिन्छ नि । होइन र ।
- भैगो नि त ।
- तपाइको देशभन्दा बढि धेरै फेसबुक चलाउनेहरु छन् ।
- केही समस्या छैन । धन्दा नमानौ ।
- आफ्नो देशलाई गरिब भनेपछि अरुले के भन्छ दाइ । मलाइ त सिक्किमबाट काकडभिटा आइपुग्दा तातो भएपनि आफ्नै देशको हावा मन पर्छ ।
- नो प्रोब्लेम दादा ।

धेरैले देशको ब्रि्रेको राजनीतिलाई दोषारोपण गरेर देश छाडेका छन् । विराटनगरको आदर्श बिद्यालय पढेका ती दाई हिजोआज उनी हाल नेदरल्याण्डको अल्टि्रचमा बस्छन् । १९९७ मा पब्लिक पोलिसी म्यानेजमेन्टमा स्नातकोत्तर र त्यसको तीन वर्षपछि न्युयोर्कको कोलम्बिया विश्वविद्यालयबाट इकोनोमिक पोलिसी म्यानेटमेन्ट विषयमा स्नातकोत्तर गरेका उनी यो दसैंमा नेपाल भ्रमणमा छन् । साथीका माध्यमबाट फेशबुके साथी बनेका ती दाजुलाई तीन दिनअघि उद्घोषकै कार्यालयमा स्वागत गर्न पाइयो । मलाइ उहाको व्यक्तिगत जीवनबारे अझै पनि धेरै थाहा छैन ।
विज्ञ व्यक्तित्व , साहित्यका रुची र बाहिर बसेपनि देशका बारे चासो र चिन्ता राख्ने व्यक्ति भनेर चिन्छु । मेरो बुझाइ , सोचाइ र देशका बारे मैले सोचेजस्तै सोच सबैको हुनुपर्छ भन्ने होइन । तर, मलाइ लाग्छ, केही समय बाहिर बसेपछि काम लाग्ने गिदी भएकाहरु देशमा हुनुपर्छ ।
०००
समय परिवर्तन भएको छ । पढेकाहरु अझ पढ्न बाहिर जान्छन् । बाहिरै बस्दा रमाउँछन् । अनि उतै जान लालायित छन् । यहा श्रमको उचित मूल्य नपाएको अनुभव गर्नेहरुको लाम ठूलो छ । महिनाको हजारभन्दा बढि उनीहरु बाहिर पुगेका छन् । मेरो एउटा भाइ छ । काकाको एक्लो छोरो । लगातार जीमेल र फेशबुकको च्याटमा आइरहने । उसले एक दिन भन्यो ' दाजु, म कहा छु थाहा छ ।' मैले भने 'के कुरा गर्छस् † हेटौडा त हो नि ।' उसले भन्यो 'म त कोरिया आइपुगेको छु नि । थाहा छैन ।' मलाइ थाहा थिएन । उसले भनेपछि मात्र थाहा भयो । मैले उसलाई भन्नु नभन्नु भने । मेरो भावना उसको भन्दा फरक छ भन्ने लाग्छ । उ कम्प्युटरको हार्डवेयरको काम गर्थ्यो । महिनाको २५/३० हजार घरैबाट धाएर कमाउथ्यो । त्यति एउटा नेपालीका लागि पुग्ने कमाइ हो । जीवन चल्छ । सपना सबैका हुन्छन् । सबैले पछि हेर्दैनन् । अघि बढ्न नै चाहन्छन् । तर, जति गरेपनि जादा मान्छेले केही लादैन । जति परिश्रम, उपार्जन छन् , ती सबै छाडेर जानुपर्छ । छोराछोरी घरका लागि भर हुन् । अभिभावकका अत्यावश्यक बेलामा उनीहरु सगै उभिन सकेनन् भने ती भन्दा दुःख लाग्दा कुरा के हुन सक्लान् । उसले भन्यो 'म आइहालें । भनेजस्तो काम त छैन । तर, पनि केही महिना हेर्छु भएन भने फिर्छु ।' उसका कुरा ठीकै होलान् । तर, उ घर फिरोस् र, घरका लागि चाहिएका बेला उभिएको सुन्न पाइयोस् भन्ने मलाइ लाग्छ ।
०००
धेरै बाहिर गएका छन् । इन्टरनेटको च्याटमा भेट हुदा देश चिन्ता गर्छन् । तर, यहा गर्नेका लागि कामका अवसर रहेछन् भन्ने उदारहण पनि नभएका होइनन् । गत आइतवार जर्मनीको बर्लिनमा डा. एल्ब्रेच्ट हेनिङ र उनकी पत्नि क्रिष्टिनाले क्वाडि्रका नागरिक पुरस्कार पाए । विश्वका विभिन्न भागमा नागरिक समाजका लागि केही गर्नेहरुलाई यो पुरस्कार दिइने रहेछ । जर्मनीमा जन्मेका डा. हेनिङ दुइ दसकदेखि लहानमा छन् । उनले त्यहा सगरमाथा चौधरी आखा अस्पताल सुरु गरे । अस्पताल लहानमा मात्र सीमित भएन । त्यो विराटनगरसम्म आइपुगेर मुलुकमै आखाका रोगीका लागि सबैभन्दा बढि सेवा दिने संस्था भएको छ ।
               सबैमा बिशेषज्ञता हुदैन । तर, प्रयास नगरे केही हुन्न । जर्मनमा जन्मेका एक चिकित्सकले नेपालमा आएर केही गर्ने अभियान थाल्न सक्छन् भने नेपालीले गर्न नसक्ने भन्ने हुन्न । सबै प्रयासहरु सानो अभियानबाट थालनी हुन्छ । सकारात्मक प्रयासका लागि सहयोगी हातहरु खोज्न सकिन्छ ।
सबैले डा. हेनिङ जस्तो अभियान चलाउछु भन्ने सम्भव नहोला । तर, आफुले सक्ने र घर नजिक रहेर गर्न सकिने धेरै कामहरु छन् । देशलाई बुद्धि र बल अनि सकारात्मक सोच भएकाहरुको खाचो जहिल्यै छ । नेदरल्याण्डका रहेर १९ वर्षपछि विरोटनगर फिरी यहाँको बिद्युत-इन्टरनेटको व्यवस्थालाई दोष दिनेभन्दा आफै केही अभियान थाल्नेहरु चाहिन्छ । दसैंका लागि विदा लिएर घर आएकाहरुले केही त्यस्तो सोचलाई कार्यरुप दिन चाहे कति जाती हुन्थ्यो होला ।